विकासन्युज

वडाध्यक्ष ढकालले २ अर्ब मूल्य पर्ने धोबी खोलाको सरकारी जग्गा हिनामिना गरेको आरोप

काठमाडौं । काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले धोवी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नलाई सिफारिस गरेको भन्दै सामाजिक विकास समाजले छानबिन गर्नुपर्ने माग गरेको छ । समाजले पत्रकार सम्मेलन गरी सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका वडाध्यक्षले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु गम्भीर आपत्तिजनक भएको भन्दै अध्यक्ष ढकाललाई निलम्बन गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेको हो । ‘निज वडाध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नं ५ कित्ता नं १४३ को जग्गामध्ये कै स्थानीय समुदायको हितमा प्रयोग हुँदै आएको साविक धोबी खोलाको सरकारी जग्गालाई नै वडाध्यक्ष ढकालले नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झण्डै २ अर्ब मूल्य पर्ने धोबी खोलाको १२ रोपनीभन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ भ्रष्टाचारजन्य कार्य गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ । वडाध्यक्ष ढकालले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको भनी स–प्रमाण विभिन्न मिडियामा आएको समाजको भनाइ छ ।

स्रोत नखुलेको साढे ३३ लाखसहित एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार रुपैयाँ हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

हवाई इन्धनको मूल्य घट्यो, भारतमा भन्दा नेपालमा सस्तो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य सूचीमा हवाई इन्धनको मूल्य घटेर आएको हुँदा मंगलबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर २०० अर्थात् प्रतिलिटर २६ रुपैयाँ घटाएको निगमले जनाएको छ । अब नयाँ बिक्री मूल्य सूची अनुसार आन्तरिकतर्फ प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ नयाँ बिक्री मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर १ हजार १५० अर्थात् प्रति लिटर करिब १५१ रुपैयाँ तोकिएको निगमले जनाएको छ । मूल्य समायोजन पश्चात् भारतको तुलनामा नेपालमा बिक्री गरिने हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्य प्रति लिटर ३.६९ रुपैयाँ सस्तो रहेको बताइएको छ ।

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट

काठमाडौं । सरकारले अर्थमन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरूपमा नेपाली टोली गठन गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता शर्माले भनिन्, ‘बाढी पहिरोका विषयमा आजै संसद्मा गृहमन्त्रीज्यूले विस्तृतमा संसद्मै बोलिसक्नुभएको छ, त्यसकारण सरकारको आधिकारिक धारणा त्यही नै हुने भयो, अत्यन्त दुःखद् घटना भयो, धेरै मानिस विस्थापित हुने अवस्था आयो, मानवीय र धनजनको क्षति हुने जुन अवस्था बन्यो, त्यसको निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ, सरकार उद्धार, राहत, पुनःस्थापनामा लागि नै रहेको छ ।’ राहत पुनःस्थापनाभन्दा पनि उद्धारलाई प्रभावकारी बनाउने मुख्य विषय भएको र त्यसका निम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिनुभएको उनको भनाइ थियो ।

पिछडिएको वर्गलाई वित्तीय क्षेत्रमा सहभागी गराउन एनबीए र यूएसएआईडीले गरे सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद सञ्चालन गर्ने छ । साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरुसंग छलफल गरी उनीहरुको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा दुबै पक्षले जोड दिनेछन् । प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी (एसएमई) र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ्ग कारोबारसँग सम्बन्धित नीति तथा पद्घतिमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी, यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको परियोजना हो ।

नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले उक्त डिस्काउन्ट पाउने भएका हुन् । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ । नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

यामाहाका बाइक तथा स्कूटर किन्दा सडक कर नलाग्ने

काठमाडौं । यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर नलाग्ने भएको छ । दुई पाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले घोषणा गरेको ‘ट्याक्स रिल्याक्स’ अफर अन्तर्गत पहिलो दुई वर्षको लागि सडक कर निः शुल्क हुने भएको हो । उक्त अफर अन्तर्गत दुईपाङ्ग्रे सवारी किन्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुने छन् । दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने भएकाले यामाहाले पहिलो दुई वर्षको लागि करहरूको जिम्मा लिने कम्पनीले बताएको छ । ‘यामाहामा सवारी गर्नु अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौं, यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन्, यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिवद्धता देखाउँछ,’ यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने । यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको छ । यो अफर कुनै पनि यामाहा शोरुममार्फत लिन सकिने छ ।

सुदूरपश्चिमका मन्त्री सिंहको उपचारको क्रममा निधन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको गाडी दुर्घटनामा परेपछि उपाचारकाे लागि नेपागञ्ज लगिएका उनको उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।