जेनजी प्रदर्शनको अनुसन्धान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सोमबारको जेनजी प्रदर्शनलाई लिएर छानबिन समिति बनाउने निर्णय गरेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोएिको छ ।
१९ जनाको मृत्यु र सयौं घाइते भए पनि ओलीको आफ्नै अडान, सामाजिक सञ्जालको प्रतिबन्ध कायमै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै राखेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रतिबन्ध फुकुवा हुन आवश्यक नरहेको धारणा राखेको बुझिएको छ । प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न आवश्यक नरहेको धारणा बैठकमा राखेको एक मन्त्रीले बताए । ओलीले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने धारणा राखेको पनि बुझिएको छ । प्रदर्शनमा १९ जनाको मृत्यु र सयौं जना घाइते हुँदा पनि ओलीकोे अडान भने कायमै छ ।
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीको प्रदर्शको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । सोमबारको प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएका थिए ।
राजीनामा दिने तयारीमा गृहमन्त्री, पार्टी बैठकमा भने- पदमा बस्दिनँ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका हुन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएका हुन् । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सम्भवतः उनले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिन सक्नेछन् ।
सवारी आवागमन अस्तव्यस्त, हवाई उडान नियमित सञ्चालन
काठमाडौं । जेनजी प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियस्तरतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौं बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । ‘जेनजी’को प्रदर्शनले काठमाडौंका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाह पथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ ।
बानेश्वर क्षेत्रमा फेरि चल्यो गोली, ३ जना घाइते
काठमाडौं । बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। प्रहरीले गोली प्राहर गर्दा ३ जना घाइते भएका छन् । केहीबेर अघि बानेश्वर क्षेत्र सेनाले नियन्त्रणमा लिएपनि फेरि जेनजी प्रदर्शनकारी भेला भएपछि तनाव बढेको हो । घाइते ३ जना अस्पतालमा लगिएको छ ।
प्रहरीको क्रुरता : हालसम्म १८ जनाको मृत्यु, सिभिल अस्पतालको इमर्जेन्सीमै अश्रुग्यास प्रहार
काठमाडौं । प्रहरीको क्रुरताले सीमा नाघेको छ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले अत्यन्त दमन गरेको हो । प्रदर्शनका क्रममा घाइतेहरूको उपचार भइरहेको अस्पतालको इमर्जेन्सी रुममै प्रहरीले अश्रुग्यास प्रहार गरेको एक चिकित्सकले जानकारी दिए । सिभिल अस्पतालमा प्रहरीको चरम दमनपछि घाइते सम्हाल्न मुस्किल भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास हानेको हो । सिभिल अस्पतालको अवस्था अस्तव्यस्त रहेको छ । अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ । हालसम्म प्रहरीको गोली लागि १८ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालहरूमा सयौं घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ। जेनजी पुस्ताले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध आज देशभर प्रदर्शन गरेको हो । आन्दोलनकारीले नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गरेपछि प्रहरीले गोली चलाएको थियो । हाल सरकारी दमनको चौतर्फी विरोध भएको छ । धेरैले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसमेत गरेका छन् ।
आन्दोलनबीच नयाँ बानेश्वरका विद्यालयमा विद्यार्थी रोकिए, प्रहरीको समन्वयमा घर पठाउने तयारी
काठमाडौं । जेनजीको आन्दोलनका कारण लगाइएको निषेधाले नयाँ बानेश्वर क्षेत्रका विद्यालयहरूले विद्यार्थीहरूलाई होल्ड गरेका छन् । सोमबार अपरान्ह तीन बजे नै बिदा भएर घर जानुपर्ने विद्यार्थीहरू समाचार तयार पार्दासम्म विद्यालयमै रहेका छन् । प्रहरीले अभिभावक बोलाएर मात्र बच्चाहरू जिम्मा लगाउनु भनेपछि विद्यालयहरूले अभिभावक बोलाई जिम्मा लगाएर पठाउन थालेको उक्त क्षेत्रको एक विध्यालयका निर्देशक विमल घिमिरेले जानकारी दिए । उनले भने, ‘निषेधाज्ञाका कारण गाडीहरू नचलेकाले अभिभावक आउन पनि ढिला भएको छ । त्यसैले कक्षाकोठामै राखेर होमवर्क गराइरहेका छौं ।’ बानेश्वर क्षेत्रका काठमाडौं मोडेल स्कुल, अवेयरनेस इन्टरनेसनल स्कुल, रोजवड स्कुल, रत्नराज्य स्कुल लगायतका विद्यालयहरू रहेका छन् । अवेयरनेस स्कुलका निर्देशक घिमिरेका अनुसार बच्चाहरूलाई सुरक्षित तरिकाले घर पठाउन विद्यालय सञ्चालकहरू लागिरहेका छन् । उनले भने, ‘अहिले प्रहरीसँग समन्वय गरी गाडीमार्फत बच्चाहरूलाई घर पठाउने तयारी भइरहेको छ ।’ आन्दोलनको इपिसेन्टर मानिएको यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको प्रहरीको भनाइ छ । अहिले पनि आन्दोलन चलिरहेकोले विद्यालयहरूसँग समन्वय गरेर बच्चाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।