विकासन्युज

काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चित कालीन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

रगत अभावपछि झापाबाट ७१ पाउन्ड रगत काठमाडौं पठाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउन्ड रगत काठमाडौं पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।  काठमाडौंमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइएको सभापति ढकालले जानकारी दिए । जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातीबाट आज बिहान ५ बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । 

बालेनले भने- साँच्चै नै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरौटेहरुको बा भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बोलनले यस्तो आरोप लगाएका हुन् ।  प्रधानमन्त्री ओलीलाई नै इंगित गर्दै उनले कहिल्यै छोराछोरीका बुबा हुन नपाएकाले अरूका छोराछोरी मर्दाको पिडा थाहा नपाएको बताए ।  ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्,’ उनले लेखेका छन् ।  उनले अगाडि लेखेका छन्, ‘यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस् ।’  त्यसपछि ह्यासट्यागमा केपी ओली एज टेरोरिस्ट लेखेका छन् ।

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश, आवतजावत गर्न समेत नपाइने

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।  कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।   कर्फ्यु आदेश जारी भएका क्षेत्र भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५): पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णु देवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म । सानेपा क्षेत्र (वडा नं २): पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म । च्यासल क्षेत्र (वडा नं ९): पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।  प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको जनाए । 

इटहरीमा जेनजीको प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते

काठमाडौं । सुनसरीको इटहरी उप-महानगरपालिकामा सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारण घाइते भएका छन् । आन्दोलनका क्रममा भीड अनियन्त्रित भएपछि प्रहरीमाथि ढुङ्गा मुढा प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।  प्रहरीको तर्फबाट अश्रुग्यास, हवाइफायर र जङ्गी राउण्डसमेत फायर भएको उनले बताए । उनका अनुसार कुन-कुन हतियारबाट के-कति फायर भएको भनी यकीन गर्न बाँकी छ । प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते भएका जनाउँदै १३ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।  घटनामा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी सहायक निरीक्षक महेन्द्रप्रसाद यादव, प्रहरी निरीक्षक मेघराज अर्याल, प्रहरी निरीक्षक कोमल ठाकुर, प्रहरी नायब निरीक्षक सोमनाथ ढुङ्गाना, प्रहरी सहायक हवल्दार पुरुषोत्तम थानदार, प्रहरी जवान नितेशकुमार मण्डल, रवीन दर्जी घाइते भएका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।  उनका अनुसार सशस्त्र प्रहरीतर्फ सञ्जय थोकर, कुसाङ सिंह सशाङ्क, सञ्जय थारु र सुशील थारु घाइते भएका छन् । प्रदर्शनका क्रममा दुई जनाका मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, प्रदर्शनका क्रममा मोरङ बूढीगङ्गा गाउँपालिका-७ का १९ का सान्तनु ढकाल, इटहरी-४ का १६ वर्षीय अनमोल पन्त, इटहरी-१० का १६ वर्षीया सम्झना विक, रामधुनी-८ का १६ वर्षीय आशिष चौधरी, १८ वर्षीय आदर्श चौधरी, इटहरी-५ का १६ वर्षीय विकुल साह घाइते भएका छन् । घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा धनकुटा छथर जोरपाटी गाउँपालिकाका २१ वर्षीय अङ्कीत भण्डारी, धनकुटा नगरपालिका-८ का २४ वर्षीय गोपी बस्नेत, महालक्ष्मी नगरपालिका-१ घर भई इटहरी-५ डेरा गरी बस्ने २९ वर्षीय रोशन कार्की, मोरङ सुन्दरहरैँचा-७ गोठगाउँका १९ वर्षीय कोमल मिश्र, सुनसरी धरान-१८ का १९ वर्षीय मानस राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।  मोरङ सुन्दरहरैँचा-१० की १३ वर्षीया युविका महत, मोरङ सुन्दरहरैँचा-१० का १६ वर्षीय सञ्जु छाला याख्खा, भोजपुर हतुवागढी गाउँपालिका-१ घर भई इटहरी-४ डेरा गरी बस्ने १९ वर्षीय प्रवेश राई, इटहरी-४ डेरा गरी बस्ने २६ वर्षीय आशकुमार राई, २१ वर्षीय भुपाल राई, झापा भद्रपुर घर भई इटहरी-९ मा डेरा गरी बस्ने मनोज आचार्य, धनकुटा महालक्ष्मी नगरपालिका-२ घर भई इटहरी-५ मा डेरा गरी बस्ने १७ वर्षीय सरोज बूढाथोकी र इटहरी-१७ का १६ वर्षीय सुशन खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रण, सुशासनलगायत सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् ।  उनले सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न आमनागरिकले भरोसा गरेका पूर्वप्रधानन्यायाधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘यसका लागि संविधान संशोधन गर्नेदेखि भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कानुनलाई आवश्यक संशोधन गरेर द्रुत गतिमा काम गर्नुपर्छ,’ महामन्त्री थापाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरे । नेता थापाले विज्ञप्तिमार्फत् जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भयो, त्यो दुःखद र अस्वाभाविक भएको उल्लेख गरे । उनले आन्दोलनमा बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएको समेत स्पष्ट पारे । नागरिकले आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै सार्वजनिक बहसमा भाग लिने र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च बनेको सामाजिक सञ्जाल बन्द गर्नु गलत भएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० संविधान र कानुनसम्मत नभएकाले खारेज गर्न माग गरेका छन् ।  जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा अवाञ्छित र हिंसात्मक गतिविधि भएकाले आन्दोलनका कार्यक्रम संवादमार्फत संयमता पूर्वक अगाडि बढाउन र संयम अपनाउन उनले आग्रह गरे । 

ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये ८ जनाको मृत्यु, ५ जनाको पहिचान खुल्यो

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेका मध्ये ८ जनाको मृत्यु भएको छ भने हालसम्म ५ जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभ राज श्रेष्ठ, काठमाडौं कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौं वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौंको सिभिल अस्पतालमा ३ जना, ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २ जना, त्रिवी शिक्षण अस्पतालमा १ जना,, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा २ जनाको निधन भएको छ । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 

आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर  रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।