विकासन्युज

देउवा निवासमा पनि तोडफोडको प्रयास, अगाडि बढे प्रदर्शनकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पनि ताडफोड हुने प्रयास भएको छ । जेनजीहरु देउवाको घरतर्फ प्रस्थान भएर तोडफोड गर्ने प्रयास भएको हो ।  केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ ।  उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो । 

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पूँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ । सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ‘

कृषिमन्त्रीबाट रामनाथ अधिकारीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सार्वजनिक रूपमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दै वर्तमान सरकारको अलोकतान्त्रिक रवैयाप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।  अधिकारीले आफ्नो राजीनामा वक्तव्यमा भदौ २३ गते अर्थात् सोमबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा युवाहरूले शान्तिपूर्ण रूपमा सरकारको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध प्रदर्शन गर्दा भएका दमन र हिंसात्मक कारबाहीहरूले स्तब्ध र चिन्तित भएको उल्लेख गरे । ‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो ।  त्यसको बदला व्यापक रूपमा दमन, हत्या र बल प्रयोग हुनु निकै दुःखद र निन्दनीय हो,’ अधिकारीले भने ।  उनले अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा कुनै सम्झौता हुन नसक्ने बताए ।  राजीनामा पत्रमा अधिकारीले सरकारमा बसिरहनु आफ्नो नैतिकता र पार्टीले प्रदान गरेको शिक्षाविरुद्ध भएको जनाउँदै, देश र जनतासमक्ष क्षमायाचना गर्दै पदबाट अलग हुने निर्णय लिएको स्पष्ट पारे । नेता अधिकारीले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? भन्दै प्रश्न गरे । उनले साना बालबालिका र युवाहरूको दमन तथा हत्या भएको समाचारप्रति गहिरो दुःख व्यक्त गर्दै, वर्तमान सत्ताको यो प्रवृत्तिलाई तानाशाहीतर्फको संकेत भनेका छन् ।  ‘पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्छ । लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन,’ उनले भने ।

प्रचण्डको घरमा तोडफोड, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच मुडभेड

काठमाडौं । जेनजीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा तोडफोड गरेका छन् । नेताको घर र निवासमा तोडफोड गर्ने तयारीका साथ प्रदर्शनकारी प्रचण्डको घरमा तोडफोड गर्न पुगेका हुन् ।  प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीसँग मुडभेड भएको छ । 

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, आक्रामक बने जेनजी

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । जेनजीले मन्त्री गुरुङको घरमा आगजनी गरेका हुन् ।  प्रहरीका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको बताइएकाे छ । 

सरकार छोड्ने तयारी कांग्रेस, शेखरले आफ्नो पक्षका मन्त्रीलाई दिए राजीनामाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले सरकार छोड्ने तयारी गरेको छ । अहिले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार सञ्चालन भइरहेको छ । अब कांग्रेसले एमालेसँगको साझेदारी ताड्ने तयारी गरेको हो । त्यसको संकेत कांग्रेस महामन्त्री गगन कुमार थापाले गरेका छन् ।  उनले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ, पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन, अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ, प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ उनले भनेका छन् ।  यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् ।  कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।

जेनजीलाई बाबुरामले भने : आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बीचमै नछाड्नू

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बीचैमा जछाड्न जेनजीलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका छन् ।  ‘अधिकतम् र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ, संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न,’ उनले भनेका छन् ।  आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ’भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउन आग्रह गरेरका छन् । त्यस्तो कार्य भैहाले पनि त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्ने उनको भनाइ छ ।  यस्तो छ उनको भनाइ  GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल प्रिय नवयुवा साथीहरू, अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन! भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना! देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ! साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला: - आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ। - संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न। - आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र 'भेडाको छाला ओढेर आउने ब्वाँसाहरू' लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ। - 'भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्' भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न। तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना! - बाबुराम भट्टराई  

कर्फ्यु लागेका क्षेत्रमा बैंक नखुल्ने, आज सेयर कारोबार पनि नहुने

काठमाडौं । काठमाडौंको उपत्यकाका तीन जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेपछि बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर, रभक्तपुर जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने भएका हुन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानले जानकारी दिए । उनका अनुसार कर्फ्यु लागेका क्षेत्रमा बैंकको डिजिटल सिस्टममा काम गर्ने कर्मचारीहरू भने बैंकमा गएर आन्तरिक रुपमा काम गर्न सक्नेछन् ।  ‘सकेसम्म कर्फ्यु लागेको क्षेत्रमा शाखा, एटीएममा कर्मचारीहरू नजान नै भनिएको छ । कहिलेकाहीँ अत्यावश्यक परेको छ भने स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ । सकेमसम्म नजाने नै हो,’ उनले भने ।  राष्ट्र बैंकको पनि अत्यावश्यक पेमेन्ट सिस्टम राष्ट्रियस्तरमा चल्ने भएकाले आईटी, पेमेन्टको काम भने सुचारु हुने उनले बताए ।  ‘कफ्र्यु लागेको क्षेत्रमा आवतजावत नै बन्द गरेपछि नखुल्ने हो । तर, बैंक तथा वित्तीय संस्थाको केन्द्रीकरण भएको हुँदा आन्तरिक रुपमा डिजिटलको काम भने चल्छ,’ उनले भने ।   साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार पनि नहुने भएको छ । नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कर्फ्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार स्थगन गरिएको छ  कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनका अनुसार कर्फ्यु को आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ । नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाएको छ ।