विकासन्युज

पुरानो शैलीले नयाँ देश बन्दैन, २०९२ सम्मको सोचसहित कांग्रेस बदलियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरानो शैलीले नयाँ देश बनाउन नसकिने दावी गरेका छन् । बुधबार (आज) जनकपुरधाममा आयोजित कांग्रेसको प्रतीज्ञासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशलाई सम्हाल्न कांग्रेस बदलिएर आएको उपसभापति शर्माले बताए ।  ‘पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन,’ शर्माले भने, ‘नयाँ संसद्, नयाँ सरकार बनाउने मात्रै होइन, हामी बदलिनुपर्छ । नवीन ढंगले अघि बढ्न मधेसमा आएका छौं । हामी नयाँ भएर आएका छौं ।’ उपसभापति शर्माले आजका लागि मात्र नभई २०९२ सालका लागि सोंचिरहेको बताए ।  ‘आजका लागि मात्रै सोच्ने होइन। हामी २०८२ सालको लागि मात्रै होइन, २०९२ सालका लागि सोचिरहेको छौं,’ उनले भने।  जेनजी आन्दोलनपछि कांग्रेस मात्रै बदलिएको उनको जिकिर छ ।  प्रतीज्ञासभामा प्रतीज्ञापत्र पनि सार्वजनिक भएको छ ।

कांग्रेसको प्रतीज्ञापत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको प्रतीज्ञापत्र सार्वजनिक भएको छ । पार्टी सभापति गगनकुमार थापाले बुधबार (आज) जनकपुरमा आयोजित प्रतीज्ञासभामा प्रतीज्ञापत्र सार्वजनिक भएको हो । सार्वजनिक भएको प्रतीज्ञापत्र संक्षिप्त अंश हो ।  विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ ।

साढे तीन सय शब्दको भाषणमा फत्ते बोले बालेन (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम पुगेर परिवर्तनको उद्घोष सभालाई सम्बोधन गरे । रास्वपाले आयोजना गरेको सो सभामा बोलेका बालेनले संक्षिप्त रुपमा धेरै विषयहरु प्रस्तुत गरे । उनले आफूले सपनामा सुदूरपश्चिम बनेको देखेकोदेखि देशलाई स्विट्जरल्यान्ड बनाउनेभन्दा पनि त्यसभन्दा ठूलो सम्भावना सुदूरपश्चिममा रहेको र रास्वपाले ठूलो भन्दा पनि स–सानो विषयलाई सम्बोधन गरेर काम गरेर देखाउने बताए ।  यस्तो छ उनको सम्बोधनको पूर्णपाठ  नमस्कार । कि छन् हालचाल ? निकाइ छौं कि नाइ ? बेली छकालै एउटा सुइना देख्या थें । सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा ग¥न्र्या हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।  बोहरा जी (दिपक बोहरा) बुझ्या छौं कि नाइ ? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु प¥यो, स्वास्थ्य उपचार पाउनु प¥यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन डेढ वर्षमा बन्नु प¥यो, त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुप¥यो ।  यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने ? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस, एमाले, माओवादी र सबै नेपाली जनता हिड्ने बाटो बनाउँछ ।  मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्यान्डको बाउ बढिमालिका यही छ किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यही छ, खप्तड नेशनल पार्क यही छ किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ?  हामी नेपालीहरु माल भाको चाल नपाएको मान्छेहरु पर्यौं । भाको चिज देखाउनै सक्या छैन, सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ, ८ लाख १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन यहाँको गीतहरु काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ काठमाडौंसँग ।  सुरुमा त गीत बज्नुप¥यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ । तर, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा । सुदूरपश्चिमलाई सुनजिक प्रदेश बनाउनुप¥यो त्यो हो रास्वपाको एजेन्डा । तपाईंहरुलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ । म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो । काम दिनुस् है ।  तपाईंहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो के-के छ तपार्इंहरुको काम उम्मेदवारहरुलाई हाम्रो पार्टीमा मान्छेहरुलाई हाम्रो काम यो  हो भनेर लिष्ट दिनू । भोट नदिए पनि हुन्छ बरु कामको लिष्ट दिनू, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्न पर्दैन । काम हेर्नूहोला । म धेरै बोल्दिनँ । धेरै–धेरै धन्यवाद । सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तम्लाई । धेरै–धेरै माया । 

वारेन बफेटले बेचे अमाजोनको ७७ प्रतिशत हिस्सेदारी, मिडिया क्षेत्रमा पुनः प्रवेश

काठमाडौं । अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर हाथवेले विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमाजोनमा रहेको आफ्नो ७७ प्रतिशत हिस्सेदारी बेचेको छ । उक्त बिक्री सन् २०२५ को चौथो त्रैमासमा गरिएको हो, जसअन्तर्गत कम्पनीले १.७ अर्ब डलर बराबरका सेयर विक्री गर्‍यो ।  हालै अमाजोन​​​​​​को सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो । यस महिनामात्रै कम्पनीको सेयर लगातार नौ दिन घटेको थियो, जसका कारण यसको बजार पुँजीकरण (मार्केट क्याप) करिब ४१० अर्ब डलरले घटेको थियो । यद्यपि मंगलबार कम्पनीको सेयर १.१९ प्रतिशतले बढेर बन्द भएको थियो । बर्कशायर हाथवेले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले अघिल्लो त्रैमासमा एपलमा रहेको ४ प्रतिशत हिस्सेदारी पनि बेचेको छ, जसको मूल्य २.७ अर्ब डलर बराबर रहेको छ ।  साथै मिडिया क्षेत्रमा पुनः प्रवेश गर्दै कम्पनीले न्यूयोर्क टाइम्समा लगानी गरेको जनाएको छ । बफेटले सन् २०२० मा मिडिया क्षेत्रबाट बाहिरिँदै आफ्नो न्यूजपेपर व्यवसाय बेचेका थिए । सन् २०२५ को अन्त्यसम्म बर्कशायर हाथवेका न्यूयोर्क टाइम्सका ५.०७ मिलियन सेयर थिए, जसको कुल मूल्य ३५१.७ मिलियन डलर रहेको थियो । बफेटको कम्पनी बर्कशायर हाथवेले मिडिया क्षेत्रमा पुनः प्रवेश गरेपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा यसको व्यापक चर्चा सुरु भएको छ । विदेशी सञ्चारमाध्यमहरूले बर्कशायरको पछिल्लो लगानी निर्णयलाई ‘रणनीतिक पोर्टफोलियो पुनःसन्तुलन’ का रूपमा व्याख्या गरेका छन् ।  विशेषगरी टेक कम्पनीहरूमा केही हिस्सेदारी घटाउँदै कम्पनीले गुणस्तरीय मिडिया व्यवसायतर्फ ध्यान मोडेको संकेत देखिएको विश्लेषण गरिएको छ । विदेशी समाचार स्रोतहरूका अनुसार बर्कशायरले न्यूयोर्क टाइम्समा गरेको लगानीलाई दीर्घकालीन मूल्य अवसरसँग जोडिएको छ । डिजिटल सब्स्क्रिप्सन मोडेलको बलियो वृद्धि, स्थिर नगद प्रवाह र ब्रान्ड विश्वसनीयता जस्ता पक्षहरूले मिडिया उद्योगमा पुनः आकर्षण बढाएको तर्क प्रस्तुत गरिएको छ ।  डिसेम्बरको अन्त्यसम्म बर्कशायर हाथवेका प्रमुख होल्डिङ्समा एप्पल (२२.६० प्रतिशत), अमेरिकन एक्सप्रेस (२०.४६ प्रतिशत), बैंक अफ अमेरिका (१०.३८ प्रतिशत), कोकाकोला (१०.२० प्रतिशत) र शेभरोन कर्प (७.२४ प्रतिशत) रहेका छन् । एपलमा कम्पनीको लगानीको कुल मूल्य ६२ अर्ब डलर रहेको छ । हालै वारेन बफेटले बर्कशायर हाथवेको कार्यकारी नेतृत्व छोडेका छन् । उनको स्थानमा जनवरी १ देखि ग्रेग एबललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । यद्यपि बफेट कम्पनीका अध्यक्ष (चेयरम्यान) का रूपमा भने यथावत् रहेका छन् ।

उपत्यकाको वायू प्रदूषणमा कमी, विश्वकै तेस्रो प्रदूषित सहर काठमाडौं आज १४ औं स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ ।  ग्याल्पो ल्होसारका अवसरमा बुधबार (आज) सार्वजनिक बिदा रहेको छ ।  मङ्गलबार दिउँसो १३ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ ।  एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मंगलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर भएको थियो । आज भने काठमाडौं १४ औं स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् । वातावरणविद् भुषण तुलाधारका अनुसार वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ । ‘सवारीसाधनको धुवाँले प्रत्यक्ष रूपमा प्रदूषण बढाउँछ । गत माघ १ गतेदेखि इँटाभट्टा सञ्चालनमा आएका छन्, जसबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणको अर्को कारण हो,’ उनले भने । उनका अनुसार फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसम सुरु हुनुले पनि प्रदूषण बढ्ने जोखिम हुन्छ । त्यसैले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको तुलधारको सुझाव छ ।  प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ ।  ‘सार्वजनिक यातायातका कारण प्रदूषण बढ्ने कुरा सत्य हो । विस्तारै विद्युतीय बस (ईभी) को सङ्ख्या बढिरहेको छ, जसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,’ उनले भने ।  एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत) मानिन्छ । १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद्का रूपमा मान्ने व्यवस्था गरेको छ । यस्तो अवस्थामा फोहोर जलाउने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ । राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा अन्य जोखिमपूर्ण प्रदूषण नियन्त्रणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषण जोखिमयुक्त स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नियमित अनुगमन गर्ने उल्लेख गरिएको छ । 

सुुदूरपश्चिमका मतदातामाझ बालेनले भने– भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएका छन् । बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गरे ।  उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासनसमेत दिए ।  रास्वपालाई भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो ।  उनले भने, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनूस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो ।’ सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका साहले आँखाबाट चस्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गरे ।  वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताए ।