विकासन्युज

नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतको घरमा आगलागी

काठमाडौँ । मंगलबार प्रर्दशनकारीहरुले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको घरमा आगजानी गरेका छन् ।  प्रर्दशनकारीहरुले बाफलस्थित घरमा आगजनी गरेका हुन् । सोमबारट युवा समूह जेनजीले सुरु गरेको आन्दोलन आज चर्किँदै गएको छ । अहिले धेरै स्थानमा आगजनी, तोडफोडको क्रम जारी छ । प्रदर्शनकारीले भिआइपी नेताहरूको सम्पतिलाई लक्षित गरेर तोडफोड आगजानी गरिरहेका छन् । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नरहेको भन्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

माधव नेपालको घरमा पनि आगजनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको कोटेश्वरस्थित निवासमा आगजनी र ढुंगामुढा प्रहार भएको छ । मंगलबार दिउँसो जेनजीहरूले नेपाल निवासमा आगजनी र ढुंगामुढा प्रहार गरेका हुन् ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । 'सरकार सही ढङ्गले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटक पटक आग्रह गयौँ । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पङ्क्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका ‘जेनजी पुस्ता’ माथिको दमन निन्दनीय छ,' विज्ञप्तिमा उल्लेख छ । महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनका क्रममा गरिएको सात बुँदे समझदारीको औचित्य समाप्त भएको उल्लेख गर्दै पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै अविलम्ब निर्णय गर्नुपर्ने र अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने बताएका छन् ।  ‘जेनजी पुस्ता’को न्यायोचित माग पूरा गर्न जोड गरिरहेको अवगत गराउँदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन सबल भुमिकाका लागि समेत महामन्त्रीद्वय थापा र शर्माले अपील गरेका छन् । सबै राजनीतिक दललाई बिद्यमान स्थितिमा खुला संवादमार्फत संयमतापूर्वक समाधानको पहलमा ऐक्यवद्धताका लागि समेत उनीहरुले अपील गरेका छन् । 

धनगढीमा पनि नेताहरूको घर र कार्यालयमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनका कारण धनगढी पनि तनावग्रस्त बनेको छ । जेनजीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।  उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाएका छन् ।  यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रमन्त्री आरजु राणाको घरमा पनि आगजनी भएको छ ।  यस्तै, कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन् ।   जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।  आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

६० जना लेखक र संस्कृतिकर्मीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं । ६० जना लेखक र संस्कृतिकर्मीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । ‘जेनजी’ आन्दोलनमा समर्थन जनाउँदै उनीहरूले सरकारले प्रदर्शनकारीमाथि गरेको दमनप्रति चर्को आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री ओलीलाई तुरुन्तै पदत्याग गर्न आग्रह गरेका छन् । साथै, सर्वपक्षीय संवादमार्फत आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल र राज्यका निकायलाई समेत आव्हान गरेका छन् ।

के प्रधानमन्त्री ओलीले आजै राजीनामा दिँदैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ । देशभर जेनजीको आन्दोलन चर्किएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेको चर्चा बढेको हो ।  प्रधानमन्त्री ओलीको निवास बालकोटमा पनि आगलागी भएको छ । उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् । 

हिल्टन होटलमा आगजनी

काठमाडौं । राजधानीको नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । मंगलबार दिउँसो जेनजीहरूले आगजनी गरेका हुन् ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।  आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।