विकासन्युज

के प्रधानमन्त्री ओलीले आजै राजीनामा दिँदैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ । देशभर जेनजीको आन्दोलन चर्किएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेको चर्चा बढेको हो ।  प्रधानमन्त्री ओलीको निवास बालकोटमा पनि आगलागी भएको छ । उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् । 

हिल्टन होटलमा आगजनी

काठमाडौं । राजधानीको नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । मंगलबार दिउँसो जेनजीहरूले आगजनी गरेका हुन् ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।  आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई एक वर्ष जेल सजाय, अदालतको फैसला स्वीकार

काठमाडौं । थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ । एक न्यायाधीशका अनुसार थाक्सिनको सजायको कार्यान्वयन ठीकसँग भएको थिएन, त्यसैले बैङ्ककको प्रहरी अस्पतालमा गरिएको नजरबन्दलाई जेल सजायको रूपमा गणना गरिएको थिएन । एक दशकभन्दा बढी समय स्व–निर्वासनमा बिताएपछि थाइल्यान्ड फर्केका थाक्सिन जेलमा एक दिनभन्दा कम समय बिताएपछि स्वास्थ्य कारण देखाएर अस्पतालमा भर्ना भएका छन् ।  उनको आठ वर्षको सजायलाई राजा महा भाजिरालोङ्गकोर्नले एक वर्षमा कम गरिदिए र अस्पतालमा छ महिना बिताएपछि उनी प्यारोलमा मुक्त भए । सो घटनाले उनलाई विशेष सुविधा दिइएको हो कि होइन भन्ने प्रश्न उठ्यो, साथै उनी साँच्चै बिरामी थिए किन थिएनन् भन्ने विषयमा पनि शङ्का प्रकट भयो । अदालती कार्यवाहीपछि थाक्सिनलाई बैङ्कक रिमान्ड जेल पठाइयो । फैसलापछि उनको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको सन्देशमा थाक्सिनले अदालतको निर्णय स्वीकार गरेको जनाउँदै लेखेका छन्, 'म भविष्यप्रति ध्यान दिन चाहन्छु, चाहे कानूनी कार्यवाही होस् वा मसँग सम्बन्धित द्वन्द्वहरू । आजदेखि, म स्वतन्त्र भए पनि, देश र जनताको हितका लागि विचारको स्वतन्त्रता राख्छु ।' फैसला आउनुअघि थाक्सिन आफ्ना दुई छोराछोरी, पिन्टोङ्टा सिनावात्रा र पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्रासहित अदालत पुगेका थिए।  गत महिना अदालतले पेटोङटार्नलाई कम्बोडियाली सिनेट अध्यक्षसँगको राजनीतिक सम्झौतासम्बन्धी फोन कललाई नैतिक उल्लङ्घन मानेर पदबाट हटाएको थियो ।  फैसलापछि पेटोङटार्नले राजाले थाक्सिनको सजाय कम गरिदिएकोमा धन्यवाद दिँदै भने, 'म बुबाको बारेमा चिन्तित छु, तर गर्व पनि छ कि उहाँले देशका लागि धेरै ऐतिहासिक क्षण सिर्जना गर्नुभएको छ । यो कठिन समय हो, तर हामी अझै राम्रो भावनामा छौँ।'  थाक्सिन सन् २००१ देखि २००६ मा सैन्य कूले उनलाई अपदस्थ नगरेसम्म प्रधानमन्त्री थिए । उनको निष्कासनपछि थाइल्यान्डमा करिब दुई दशक लामो राजनीतिक ध्रुवीकरण सुरु भयो, जसले उनका समर्थकलाई सहरी बासिन्दा, उत्साही राजावादी र सेना समर्थकहरूसँग आमनेसामने बनायो । सन् २००८ मा थाक्सिन आरोपहरूको सामना गर्न थाइल्यान्ड फर्किए तर जमानत छोडेर फेरि विदेशतिर लागे र एक दशकभन्दा बढी समय निर्वासनमा रहे । कार्यालय छाडेपछि उनले राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै थुप्रै मुद्दा र आपराधिक अभियोगको सामना गरे ।  गत महिना, एक आपराधिक अदालतले उनलाई शाही मानहानि (लेज–माजेस्टे) आरोपबाट निर्दोष ठहर गरेको थियो । उक्त आरोपमा दोषी ठहर भएको भए उनलाई १५ वर्षको जेल सजाय हुन सक्थ्यो ।  

बानेश्वरमा एक जनालाई लाग्यो गोली

काठमाडौं । नयाँ बानेश्वरमा फेरि एक जनालाई गोली लागेको छ । प्रहरीले प्रदर्शकारीलाई गोली प्रहार गरेको हो ।  सोमबार मात्रै प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् ।   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, हवाइ आवागमन ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाे छ । काठमाडौंबाट सञ्चालन हुने सबै आन्तरिक तथा बाह्य उडानहरू अस्थायी रूपमा बन्द गरिएको हाे । विमान कम्पनीहरूबीच सम्पन्न आपतकालीन बैठकपछि यस्तो निर्णय गरिएको बताइएको छ ।  उडान स्थगनको कारणबारे विस्तृत जानकारी भने आउन बाँकी छ । सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको र चाँडै थप विवरण सार्वजनिक गरिने बताइएको छ । 

एमालेसँगको ७ बुँदे औचित्य सकियो, काँग्रेसबाट मन्त्री बनेकालाई फिर्ता हुन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको जनाएका छन् ।  साथै, थापा र शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित वरपरका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य सुरक्षा परिस्थिति प्रतिकूल बन्दै गएपछि विमानस्थल बन्द गर्न लागिएको हो । अधिकारीका अनुसार हाल आकासमा रहेका जहाजलाई मात्रै अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित हुनेछन् । यसबीच विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट समेत बन्द गरेर विमानस्थलभित्रका अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार अपरान्ह ओली निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।