गत आवमा ३५ वस्तुको गुणस्तर पारित
काठमाडौं । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए । ‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं’, उनले भने । परिषद्ले अघिल्लो आव २०७८/७९ मा १५ तथा आव २०७७र७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो । विभागका अनुसार आव २०७९/८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन् । साथै १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ । विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आवमा दुई सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिए। जसमा सात ८९ नमूना सङ्कलन गरेर जाँच गरिएको उनको भनाइ छ । विभागले गत आवमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ । विभागले एक वर्षमा दुई हजार चार सय ४५ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परीक्षण सम्पन्न गरेको छ । दुई हजार एक सय ११ क्यालिब्रेसन सेवा प्रदान गरेको छ भने १८ वटा तालिम गोष्ठी प्रदान गरेको जनाएको छ । विभागले गत आवमा चार सय ३३ उद्योगको नवीकरण सम्पन्न गरेको छ । यस्तै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्नका लागि आवेदन दिएका एक सय ३० उद्योगको निरीक्षण तथा नौ वटा इजाजतपत्र र प्रमाणपत्र खारेज गरेको छ । धनुषा, सर्लाही, महोत्तरी, रामेछाप र सिन्धुली जिल्लाका ११ पेट्रोल पम्पको निरीक्षण गरेकामा तीनवटालाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए । विभागले कारबाहीवापत गत आवमा चार करोड ४२ लाख ९४ हजार २३२ राजस्व सङ्कलन गरेको छ ।
मिसन ०८४ सही नेतृत्व छान्नसके मात्रै सम्भव छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे । उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताउनु भयो । उनले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए । उनले भने, ‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आवद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाई उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरु मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो, मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’ सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए ।
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ । विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको । त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ । दुई करोडको सियो र सेफ्टी पिन आयात विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा रु दुई करोडभन्दा बढी रकम बाहिरिएको छ । गत आवमा एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले रु ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आवमा रु एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।
मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ स् अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए। विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले रु ३६ अर्ब ६६ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलायइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लागेका छन्। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा ५० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका छन् । कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन्। नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनी कृषि क्षेत्रमा होमिएका हुन् । किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उनले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना बनाएका छन् । ‘बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ’, कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।’ लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । ‘हाम्रो परिवार ३५र३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुध्द एयर सुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो’, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धानखेतीका लागि चुनौती थपिएको उल्लेख गरे । उनले भने, ‘धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।’ पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनको भनाइ छ । ‘हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं’ ,उनले भने, ‘निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।’ कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ । ‘खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं’,उनले भने, ‘अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।’ बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उनको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रापाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे । मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपालनै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए । ‘चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको भाउ बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन’, उनले भने, ‘किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।’ उनका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ । रासस ।
भरतपुर भ्रमण वर्ष : ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा
चितवन । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो । भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहेका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहनुभएको छ । यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ । विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ । सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उनले जानकारी दिए। नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ । चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उनले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताए। यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ । भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरुपमा मनाउने बताइन् । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उनको भनाइ छ । विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उनको भनाइ छ । भ्रमण वर्षको अवसरमा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोधसमेत गर्न लागिएको उनले जानकारी दिइन् । देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उनको भनाइ छ । नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिइन्। भ्रमण वर्षअघि नै भौतिक पूर्वाधारलगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदै छ । महानगरभित्र ३० भन्दा बढी महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उनले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताइन् । महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ । जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिङ्गो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
फाइल फाेटाे काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव -बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे ९सन् २०२३-३२० कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सङ्कल्प दोब्बर, वृद्धि झण्डै तेब्बर उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई ३५ पुगेको थियो । नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ । सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए । बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ । हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो । विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए। साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए। बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
बुटवलमा दोस्रो पटक एनओजी राइड
काठमाडौं । टिभिएस मोटरको नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट शुरु भएर बनबाटिका, बुटवल पुगेर समापन भएको थियो । राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ भने अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।
कलश स्टकले पायो नेप्सेबाट सदस्यता, साउनमै कारोबार सुरू गर्ने
काठमाडौं । कलश स्टक मार्केट प्रालिले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रमाणपत्र प्राप्त पश्चात् अब कलश स्टकले ७४ नम्बरबाट ब्रोकरकोरुपमा कारोबार सञ्चालन गर्ने कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले बताए । कलश स्टक ब्रोकरले बुद्धनगरमा कार्यालय खोलेको छ । निकट भविष्यमा नै देशका विभिन्न स्थानमा शाखा विस्तार मार्फत सेवा प्रदान गर्ने योजना रहेको छ । ब्रोकरले निक्षेप सदस्यता सेवा समेत सञ्चालन गरी ग्राहकलाई छिटो छरितो एवं आकर्षक सुविधासहित कारोबार गर्ने योजना बनाएको अधिकारीले बताए । ब्रोकरले साउन महिना भित्रै औपचारिकरुपमा कारोबार सञ्चालन गर्ने जानकारी उनले बताए ।