सार्वजनिक बिदामा सरकारी निकाय खुल्छन्, सेवाग्राही आउँदैनन्
काठमाडौं । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही अनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाइ छ । दैनिक करिब औसत दुई सय सेवाग्राही राहदानीसम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा कार्यालयमा आज ७३ जनाको पालो भए पनि २८ जना मात्र लिन आएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै, दैनिक एक सय २० देखि दुईसयसम्म राष्ट्रिय परिचयपत्र लिन आउने गरेकोमा आज जम्मा पाँच जनामात्र आएको उनको भनाइ छ । श्रेष्ठले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राहीहरु सेवा लिन सोचेअनुरुप नआउने गरेको बताए । ‘सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारीहरु सेवामा हाजिर छौँ’, उनले भने, ‘तर, सेवा लिन आउँदैनन्, जानकारी नभएर पनि हुनसक्छ ।’ गृह मन्त्रालयले २०७९ चैत २ गतेदेखि राजपत्रमा प्रकाशित गरी जिल्ला प्रकाशन कार्यालय काठमाडौँले १८ प्रकारका सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार उक्त कार्यालयले चाडपर्व तथा दिवसमा नियमित सेवा प्रवाह गर्नुपर्नेछ । कार्यालयका अनुसार उभौली पर्व–चण्डीपूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जम्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिशमस डे, किराँत समुदायको उद्यौली पर्व, योमरी पुन्हि–ज्यापू दिवस, तमुल्होसार, बुद्ध जयन्ती, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर ईद र मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा जस्ता सार्वजनिक बिदामा सेवा प्रवाह गर्ने निर्णय भएको छ । रासस
इकोविट इलेक्ट्रिक स्कूटरमा फेस्टिबल स्किम, ११ हजार नगद छुट
काठमाडौं । इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरको लागि फेस्टिबल भाइब्स स्किम सुरु भएको छ । भदौ १५ देखि मसान्तसम्मको लागि फेस्टिबल भाइब्स स्किम ल्याइएको कम्पनीले बताएको छ । यस्तो स्किममा इकोविट ब्राण्डका स्कूटर खरिदमा ११ हजार छुटको व्यवस्था गरेको कम्पनीले विज्ञप्ति जारी गरेर बताएको छ । त्यसका साथै, एक बर्षको कर समेत कम्पनीले तिरिदिने र हरेक स्कुटरको साथमा हेलमेट समेत निःशुल्क दिने बताइएको छ । त्यसैगरी, स्कूटरको खरिदमा फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फाइनान्स र एक्स्चेन्जमा छुट सुविधाको स्किम लागू नहुने कम्पनीले बताएको छ । इकोविटका स्कुटरहरु खरिद गर्दा न्युनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशतसम्मको फाइनान्स सुविधा पाउने छन् । त्यसैगरी, अधिकतम १८ महिनासम्मको सरल किस्तामा शुन्य प्रतिशत व्याजदर लागु हुने कम्पनीले बताएको छ । पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साट्न पनि पाइने कम्पनीले बताएको छ ।
केरुङबाट हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न
सिमकोट । काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए । खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताएका छन् । खाद्यान्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए । उक्त खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । ती खाद्यान्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यान्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिनेछ । तिब्बती मार्ग हुँदै आउने खाद्यान्न हवाईमार्गको खाद्यान्नभन्दा ढुवानीदर सस्तो पर्नेछ । काठमाडौंँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यन्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न चार हजार आठ सय ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल १५ हजार पाँच सय लिमिटेडले तिर्दै आएको छ । रासस
ट्वीटरमा पनि अडियो र भिडियो कलको सुविधा हुने
काठमाडौं । एलन मस्कले अब ट्वीटरबाट पनि अडियो र भिडियो कल गर्न सकिने सुविधा ल्याउने घोषणा गरेका छन् । ट्वीटरमा चाँडै ल्याउन लागिएको अडियो र भिडियो कलको सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबै माध्यममा उपलब्ध हुने उनले बताएका छन् । उनी ट्वीटरमा लेखेका छन्, ‘एक्समा चाँडै अडियो र भिडियो कलको सुविधा दिइनेछ । यो फिचर आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्टको कम्प्युटरमा प्रयोग गर्न सकिनेछ ।’ ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ । आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्ने एलन मस्कले भनेका छन् । ट्वीटर खरिद गरेपछि उनले विभिन्न परिवर्तनहरु गर्दै आएका छन् । उनले केही समय अघि ट्वीटरको लोगोबाट चरा हटाएर एक्स चिह्न राखेका छन् । त्यसबाहेक, ट्वीटरले केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै ल्याउने बताएको छ ।
बागमती नदीको सुन्दरता बढाउँदै पार्क
ललितपुर । कुनै समय फोहोरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यो स्थान यतिबेला मानिसको समय काट्ने थलो बनेको छ । बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ । विशेषगरी बागमती किनारमा सुकुम्वासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं २०६३ मा पार्कको निर्माण गरिएको हो । अहिले पार्कमा ३५ भन्दा बढी जातका दुई हजारभन्दा बढी बिरुवा छन् । पार्क निर्माण समितिले समय–समयमा थप वृक्षरोपण पनि गर्दै आएको छ । यस क्षेत्रमा टेकुदोभानदेखि ललितपुर महानगरपालिका–४ मलपोखरीसम्म राजतीर्थ पार्क, सहिद पार्क, बिपि पार्क र मोनमोहनपार्क गरी जम्मा चार पार्क छन् । पार्क व्यवस्थापनको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भाडामा लिएको छ । बागमती नदीले छोडेको प्रतिजग्गा संरक्षण र हरियाली वातावरणसहित बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले पार्क निर्माण पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापामगर बताउँछन् । उनका अनुसार ललितपुर महानगरपालिका–२ देखि ललितपुर महानगरपालिका–४ सुन्दरघाटसम्मको बागमतीले छाडेको जमिनलाई पार्कका रुपमा विस्तार गरिनेछ । ‘कुनै समय यहाँ फोहोर व्यवस्थापन गर्ने डम्पिङ थियो । २०६२ सालमा फोहोर व्यवस्थापन समिति ललितपुरबाट प्राप्त भएको तीन लाख सहयोगबाट पार्कको निर्माण सुरु भएको हो । पार्क निर्माण र संरक्षणका लागि बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरिरहेका छन्,’ संस्थापक अध्यक्ष थापाले भने । पार्क प्रवेश निःशुल्क गरिएको छ । फोहोरका कारण दुषित देखिने बागमती नदी छेउमा हरियाली पार्क निर्माण भएपछि यस क्षेत्रमा मानिसको चहलपहल बढिरहेको छ । पार्क निर्माणपछि फोहोर फाल्न पनि रोकिएको छ । पार्कको हरियालीले बागमती नदी छेउको बस्ती र नदीको शोभा बढाएको छ । रासस
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई बुधबार राती वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रोस्टेडको समस्याका कारण उनी अस्पताल भर्ना भएका हुन् । मन्त्री खड्काको सचिवालयका अनुसार, बुधबार राती नै उनको प्रोस्टेडबाट प्रोस्टेडको शल्यक्रिया गरिएको छ । उनको अवस्था सामान्य रहेको सचिवालयले बताएको छ । तर, डाक्टरको सल्लाहअनुसार खड्का केही दिन अस्पतालमै रहनेछन् ।
प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन् । राष्ट्रिय सहमतिको सरकारको नेतृत्व भने पुष्पकमल दाहालले नै गर्नुपर्ने मन्त्री किरातीले बताए । ‘हाम्रो सबैभन्दा ठूलो शत्रु भनेकै भ्रष्टाचार, अशिक्षा र गरिबी हो । एक्कासौं शताब्दीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन’, उनले भने । राष्ट्रिय सहमतिको सरकार बनाउँदा अरुलाई भूमिका दिने क्रममा मन्त्री पद त्याग्नु पर्दा आफूले सबैभन्दा पहिले त्याग गर्ने उनले बताए । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै उनले नयाँ ऐन, कानूनहरु निर्माणमा लागेको बताए ।
चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजार भन्दा बढी मुटुको शल्यक्रिया
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्य सहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ । क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जीयोप्लास्टीक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो । मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए । डा रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको रु एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् । चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उनले जानकारी दिए। डा रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताए । उनले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट समेत बिरामी आउने गरेको बताए। राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति यहाँ रहेको जिकिर गर्दै उनले भने, ‘हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ । अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथल्याब पनि छ ।’ हिँड्दा छाती दुख्ने, छाती भारी हुने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिए। मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताए । मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सक डा रेग्मी परिचित भएकाले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको उनको भनाइ थियो । विगत दस वर्षमा मुटुको शल्यक्रियाको सङ्ख्या धेरै भएको र पछिल्लो तीन वर्षमा यो सङ्ख्या अत्याधिक बढेको थियो । प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘विदेश जाने बिरामीलाई सोही स्तरको सेवा हामीले दिन सकेका छौँ ।’ रासस