विकासन्युज

प्रधानमन्त्री कार्कीले सम्हालिन् सबै मन्त्रालय, ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने

काठमाडौं । नवनियुक्त सुशीला कार्कीले सबै मन्त्रालय आफूले नै सम्हालेकी छन् । शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय सम्हाल्ने भएकी हुन् ।  अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नेगरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।   

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ, राष्ट्रपतिले भने : देश सफल होस्, जनता बाँचुन्

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् ।  शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाशीध लगायतको सहभागिता छ । शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएपछि राष्ट्रपति पौडेलले देश सफल होस् र जनता बचाउनुहोस् भन्दै शुभकामना व्यक्त गरे ।  शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘बधाई छ । धेरै-धेरै शुभकामना । कार्यकाल सफल होस् । देश सफल होस्, जनता बचाउनुस् ।’  जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।  

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौंः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण रहेको बताएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त र संसद विघटन गर्ने सहमति पछि सबैलाई खबरदारी गर्न आग्रह गरे ।  हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको उनको भनाइ छ ।  ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ पोखरेलको अपील छ ।

नेपाल बारले भन्यो : सुशीला कार्कीको नियुक्ति असंबैधानिक

काठमाडौं । नेपाल बार एसोशिएसनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । नेपाल बारले उनको नियुक्ति नेपालको संविधान २०७२  विपरीत भएको बताएको हो ।  बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजय प्रकाश मिश्रले नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई संवैधानिक आयोग बाहेक अन्यत्र  नियुक्ति नगर्ने स्पष्ट व्यवस्था गरेको भएपनि अहिलेको नियुक्ति गैरकानूनी भएको बताएका हुन् ।  नेपालको संविधानले प्रधानमन्त्री  बन्न प्रतिनिधि सभा सदस्य हुनै पर्ने बाध्यकारी व्यवस्था गरेको मिश्रले बताए । उक्त बाध्यकारी प्रावधान न विपरीत भएको नियुक्तिलाई कुनै पनि हालतमा संवैधानिक मान्न नसकिने अध्यक्ष मिश्रले बताए । यस्तै, प्रतिनिधि सभा विघटन वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि यो नियुक्ति असंवैधानिक भएको बताए । विकासन्युजलाई प्रतिक्रिया दिँदै भट्टराईले नयाँ सरकारको पहिलो काम नै असंवैधानिक भएको तर्क दिए ।  जेनजी आन्दोलनपछि गठित सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक बाटो रोजेको वरिष्ठ अधिवक्ता भट्टराईको धारणा छ ।   

सुशीला कार्कीको एकपछि अर्को रेकर्ड, पहिलो महिला प्रधानन्यायधीशपछि प्रधानमन्त्रीमा पनि इतिहास

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छन्  । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने तय भएको छ । त्यसपछि संसद विघटन हुने बताइएको छ ।  कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । विराटनगरमा जन्मिएकी ७३ वर्षीया कार्कीको जन्म वि.सं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो ।  उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन् । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानूनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो ।    अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन् । उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।    वि.सं २०४५ देखि २०४७ सम्म कार्की तत्कालीन कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् । त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन् ।  कार्कीले तीन दशकभन्दा लामो समयमा वकालत गरेपछि उनी न्यायाधीशका रूपमा सिधै सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् । उनले प्रधानन्यायाधीशका रूपमा एउटा गर्विलो छवि निर्माण गरेकी छन् । उनी २०७३ मा प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् ।  

अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् सुशीला कार्की, सपथ ९ बजे

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्  । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने तय भएको छ । त्यसपछि संसद विघटन हुने भएको छ ।   

यसरी चिटिक्क पारियो नयाँ प्रधानमन्त्री बस्ने कार्यकक्ष {फोटोफिचर}

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि सिंहदरबारमा कार्यकक्ष तयार गरिएको छ । शुक्रबार दिनभर नयाँ प्रधानमन्त्री बस्ने कार्यकक्षा तयार गरिएको हो ।  जेनजीको प्रदर्शनकारीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेपछि गृहमन्त्रालय रहेको भवनमा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिएको हो ।  प्रधानमन्त्रीको कार्यकक्षका लागि कुर्सी, सोफा र टेबलहरु चिटिक्क पारेर राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीहरुबीच शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उनी आजै राति प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन् । त्यस लगत्तै राष्ट्रपछि पौडेलले प्रतिनिधिसभा विघटन गर्दैछन् ।