विकासन्युज

वीरगञ्जमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर लगाइएको कर्फ्यु आदेशलाई हटाएर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार (आज) बिहान ९ः४५ बजेदेखि लगाइएको कर्फ्युलाई साँझ ४ः३० बजेदेखि निषेधाज्ञामा सीमित हुने आदेश जारी गरेका हुन् ।  जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटनाको सम्बन्धमा तीनबुँदे सहमति गरेसँगै प्रजिअ दाहालले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेका हुन् ।  ‘समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षसँग आज भएको सर्वपक्षीय बैठकमा भएको निर्णयसमेतका आधारमा उक्त कर्फ्यु  आदेशलाई निरन्तरता दिइरहनुपर्ने नदेखिएकाले आज साँझ ४ः३० बजेदेखि लागू हुने गरी उक्त कर्फ्यु  आदेश हटाइएको छ’, प्रजिअ दाहालले भने। परिस्थिति पूर्ण रूपमा सामान्य भई नसकेको अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगरको चारकिल्ला क्षेत्रमा मङ्गलबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पूर्वमा बाइपासरोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघरचोकलाई सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । 

धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल गठन

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । सोमबार (आज) गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । 

झापा प्रशासनले भन्यो - निर्वाचन प्रचारप्रसारमा उम्मेदवारलाई गाली नगर्नूं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्काप्रति लाञ्छना लगाउने, गाली गलौज गर्ने, दल तथा उम्मेदवारको झण्डा र व्यानरहरू जलाउने कार्य नगर्न अनुरोध गरेको छ ।  कोही कसैप्रति घृणा वा द्वेष फैलाउने, हुलहुज्जत गर्ने, व्यक्तिका निजी घर तथा सार्वजनिक स्थल लगायतका ठाँउमा निर्वाचन आचारसंहिता विपरित उम्मेदवारको पार्टीका झण्डा तथा व्यानर लगायतका सामग्रीहरु राख्ने जस्ता गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसी त्यस्ता गतिविधिहरू नगर्न र नगराउन अनुरोध गर्ने निर्णय भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईले बताए । अवाञ्छित गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।  निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गरी निर्वाचन सम्बन्धी गतिविधिहरू गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय महिला फुटबलकी कप्तान सावित्रा भण्डारीले उपचारका लागि मागिन् आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आर्थिक सहयोग मागेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले घुँडाको एसीएलमा पहिले शल्यक्रिया गरिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको र त्यसको उपचारका लागि आर्थिक सहयोग आवश्यक भएको जानकारी दिइन् । ‘पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो भए अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझै म उपचारको लागि भौतारिइरहेकी छु,’ उनले भनिन् । उनले सामाजिक सञ्जालमा युएस डलर ८० हजार डलरको आवश्यक रहेको खुलाएकी छन् । आजको नेपाली मूल्य बराबर १ करोड १६ लाख ४६ हजार रुपैयाँ आवश्यक परेको बताएकी छन् । एन्फाले सहयोग गर्ने वाचा गरे पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको उनको भनाइ छ । चोट लागेपछि तीन सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको थियो, तर एन्फाले सहयोग गर्ने भने पनि त्यसमा ध्यान नदिएको उनी बताउँछिन् । ‘मैले पटक–पटक प्रयास गरेँ, सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । अघिल्लो साता एन्फाका अध्यक्षले नै मेरो उपचारमा प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र बाँकी प्रक्रिया आफैं गर्न भन्नुभयो । एकातिर मैले पहिले सुरु गरेको प्रक्रिया रोकियो, अर्कोतिर झन्डै दुई महिनापछि शल्यक्रियाको मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले थपिन् । उनले खेलिरहेको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको जानकारी दिइन् । ‘चोट गम्भीर छ र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकोले म पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राख्छु । क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिनेछ । तर उक्त रकम शल्यक्रिया र सात–आठ महिनाको रिह्याबका लागि अपुग हुने भएकाले समर्थकबाट सहयोग माग्न आएको हुँ,’ उनले लेखिन् । उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले खुलाएकी छन् । सरकारले सहयोग मागे पनि सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढेको छैन । सावित्राले आफ्नो खेलकुद करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको बताइन् । ‘हरेक पटक साहसका साथ पार गरेको र यसपटक पनि पुनः माथि उठ्न तपाईंको सहयोग आवश्यक छ । यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि मेरा साथमा आम समर्थकहरू छन् । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनिन् ।  

धितोपत्र अभौतिक सञ्चालन निर्देशिका २०८२ सार्वजनिक

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लि (सीडीएससी) ले ‘धितोपत्र अभौतिक सञ्चालन निर्देशिका, २०८२’ सार्वजनिक गरेकाे छ । सोमबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा कार्यक्रम आयोजना गरी सीडीएससी​​​​​​ले साे  निर्देशिका सार्वजनिक गरेकाे हाे । सीडीएससीका अनुसार हाल संस्थापक र सर्वसाधारण सेयर फरक–फरक ISIN मा रहेका कारण डेटा मिलान, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रियामा जटिलता देखिएको छ। प्रस्तावित निर्देशिकाले आवश्यक प्रक्रिया पूरा गरी एउटै ISIN मा मर्ज गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। यस्तो मर्ज प्रक्रियामा लगानीकर्ताबाट कुनै अतिरिक्त शुल्क नलाग्ने सिडिएससीले उल्लेख गरिएको छ। उक्त निर्देशिका स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड समक्ष पेश गरिएको सिडिएससीलेले जनाएकाे छ निर्देशिका कार्यान्वयन अघि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । स्वीकृतिपश्चात मात्र यो लागू हुनेछ। संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्नुअघि कम्पनीको वार्षिक साधारण सभाबाट पारित गराई सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ । सीडीएससीले पूँजी बजारमा तथ्यांक एकरूपता, विश्वसनीयता तथा पारदर्शिता कायम गर्न, लगानीकर्ताको कानुनी तथा आर्थिक अधिकार संरक्षण गर्न र समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त निर्देशिका ल्याएको जनाएको छ । प्रस्तावित व्यवस्थाअनुसार संस्थापक सेयरलाई ‘लक–इन अवधि’भित्र सर्वसाधारण सेयरभन्दा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर प्रदान गरिनेछ भने लक–इन अवधि समाप्तिपश्चात आवश्यक प्रक्रिया पूरा गरी एउटै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बरमा मिसाउन सकिने व्यवस्था गरिएको छ । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उल्लेख गरिएको छ । सीडीएससीका अनुसार, यस व्यवस्थाले पूँजी बजारमा तथ्यांक शुद्धता, विश्वसनीयता तथा निष्ठा अभिवृद्धि गरी दीगो आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।   आयोजित कार्यक्रममा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल धितोपत्र बोर्डका पदाधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि, विभिन्न संघ–संस्था तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

धनगढीमा नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकले जनाएको छ । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो । बैंकले यसप्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने समेत उल्लेख गरेको छ । बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो । उक्त शिविरबाट १२० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ ।  जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ ।  शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएकाहरु, हातका औँलाहरु टाँसिएकाहरु, हात र खुट्टामा पाँच वटाभन्दा बढी औँलाहरु टाँसिएकाहरु, बिस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाको पैतला भित्रतिर फर्किएकाहरुले निःशुल्क उपचार पाउनेछन् ।  साथै जटिल समस्या भएका बिरामीलाई काठमाडौँको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ । सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजारको हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन् । जसमध्ये औसतमा दुई हजार एक सयको मृत्यु हुने गरेको छ । जलन दुर्घटनाबाट बाँच्ने अधिकांशमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेका छन् । जसका कारण पीडितहरुमा दीर्घकालीन अपाङ्गता निम्त्याउने जोखिम रहन्छ ।  जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । उपचारका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यता भएकाले आर्थिक रुपमा कमजोरहरुले उपचार नै नगर्ने देखिएको छ । 

टिकटकर तुल्सीलाई प्रहरीले भन्यो : सामाजिक सञ्जालमा भ्रम नछर्नू

काठमाडौं । ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुल्सी अधिकारीलाई  सामाजिक सञ्‍जालमा भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा उनले अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य गरेकाले ललितपुर प्रहरी परिसरले अनुरोध गरेको हो । कुमार चिमोरियाले तुल्सीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए । यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन् । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । दुई मुद्दामा अनुसन्धान भइरहेको विषयमा अनुसन्धाननलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेष्ण जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ समेत उनलाई प्रहरीले सजग गराएको छ । तुल्सी टिकटकमा बढी चर्चित छिन् ।  

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष 'डिलर अफ द इयर' अवार्डबाट सम्मानित

काठमाडौं । नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जितेको छ । यो सम्मान जेसीबी इन्डिया लिमिटेडद्वारा श्रीलंकामा १८ फेब्रुअरीमा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलन २०२६ मा प्रदान गरिएको हो । एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा कम्पनीका सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो । ‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री प्रदर्शन, बजारमा मजबुत उपस्थिति तथा उच्च ग्राहक सन्तुष्टिको मूल्यांकनका आधारमा प्रदान गरिन्छ । कडा प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा आफ्नो अग्रणी स्थान कायम राख्दै यो उपाधि लगातार चार वर्षसम्म जित्न सफल भएको कम्पनीले जनाएको छ । अवसरमा अध्यक्ष अग्रवालले यो उपलब्धिले कम्पनीको नेतृत्व क्षमता, कार्यशैली र ग्राहकको विश्वासलाई पुनः पुष्टि गरेको बताए । उनले यो सम्मान देशको पूर्वाधार निर्माणमा संलग्न सम्पूर्ण निर्माण व्यवसायी, प्राविधिक, इन्जिनियर तथा सेवा प्रदायकहरूको साझा सफलता भएको उल्लेख गर्दै नेपालको सडक, पुल, जलविद्युत, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे । सन् १९६४ मा स्थापित एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू अर्थमुभर्सले ब्याकहो लोडर, एक्जाभेटर, ह्वील्ड लोडर तथा टेलिह्यान्डलरलगायतका उपकरण उपलब्ध गराउँदै आएको छ । कम्पनीले देशभर बलियो सर्भिस नेटवर्कमार्फत निर्माण क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।