सुशीला कार्की आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुँदै, प्रतिनिधिसभा विघटन हुने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीहरुबीच शुक्रबार दिनभर भएको छलफलपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेर संसद विघटन गर्ने सहमति भएको हो । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि राष्ट्रपछि पौडेल संसद विघटन गर्न तयार भएको बुझिएको छ । यो जानकारी उनले शीर्ष राजनीतिक दलका नेताहरुलाई पनि गराइसकेका छन् ।
अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्नुपर्छ: ट्रक व्यवसायी
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हाल अवरुद्ध भएको सडक यातायात सेवा तत्काल सुचारु गर्न सबै पक्षलाई आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका मागहरूलाई शान्तिपूर्ण संवाद र सहकार्यको माध्यमबाट सम्बोधन गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको हो । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा राजनीतिक, सामाजिक र आर्थिक सुधारका विषयमा उठाइएका मागहरू सरकार, सम्पूर्ण राजनीतिक दलहरू तथा सरोकारवाला निकायहरूले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा कठिन परिस्थितिमा पनि नेपालका सुरक्षा निकाय तथा नागरिक समाजका अगुवाहरूप्रति विश्वास व्यक्त गर्दै, सहकार्यद्वारा देशलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ । महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालन गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ । महासंघका अनुसार यातायातको सहज प्रवाह विना मुलुकको आर्थिक गतिविधि असम्भव हुन्छ । उद्योग–व्यापार, कृषि उत्पादन र सर्वसाधारणको दैनिकी समेत यसैमा निर्भर हुने भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ । सवारीसाधन नचल्दा दैनिक उपभोग्य वस्तु, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्म गम्भीर असर परेको छ । यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा पारेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन् । ’ महासंघले कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्र चलायमान बनाउने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने माग गरेको छ । साथै, आन्दोलनका कारण दैनिक रूपमा घाटा बेहोरिरहेको यो क्षेत्रका व्यवसायीलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।
आन्दोलनमा भएको क्षतिप्रति सीएनआईको गहिरो दुःख, व्यवसायिक वातावरण बनाउन आग्रह
काठमाडौं । देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको धनजनको क्षति प्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनले मुलुकलाई नयाँ चरणतर्फ डोर्याउने विश्वास समेत व्यक्त गरेको छ । परिसंघका अनुसार सुशासन भ्रष्टाचार निवारण र पारदर्शिताप्रति युवा पुस्ताले उठाएका मागलाई उच्च महत्व दिनुपर्नेमा जोड दिइएको छ । ‘विद्यमान अन्यौलतालाई चिर्दै मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्ने आम नेपालीको चाहनामा हामी प्रतिबद्ध छौं,’ परिसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटप्रति परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ । ती घटनाले उद्योग–व्यवसायीहरूलाई त्रसित तुल्याएको भन्दै यसले लगानी, रोजगारी र औद्योगिक गतिविधिमा गम्भीर असर पारेको चेतावनी दिएको छ । ‘लगानीकर्ताले त्रास र भयबीच काम गर्नुपर्ने अवस्था रह्यो भने स्वदेशी र विदेशी दुवै लगानी प्रभावित हुनेछन्,’ परिसंघले जनाएको छ । यसका लागि परिसंघले सुरक्षाको प्रत्याभूति दिँदै निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाइदिन सरकारलाई आग्रह गरेको छ । परिसंघका अनुसार आन्दोलनमा क्षतिग्रस्त सार्वजनिक र निजी संरचना पुनःनिर्माणका लागि खर्बौं लगानी आवश्यक पर्नेछ । राज्यको स्रोत मात्रले पुनर्निर्माण सम्भव नहुने भन्दै निजी क्षेत्रलाई सहज वातावरण दिनुपर्नेमा जोड दिइएको छ । बिहीबार साँझ सम्पन्न राष्ट्रिय परिषद बैठकपछि परिसंघले युवा पुस्ताले उठाएका आकांक्षा मूर्तरूप दिन निजी क्षेत्र शसक्त रूपमा प्रयत्नशील रहने प्रतिबद्धता जनाएको छ ।
२० हजार लाइसेन्स र ६ लाख बढी इम्बोस्ड नम्बर प्लेट जले, सेवा लिन दुई महिना लाग्ने
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं मीनभवनस्थित यातायात व्यवस्था विभाग जलेर नष्ट भएको छ । आगजनीमा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेसिनलगायत अन्य सामाग्री जलेर ध्वस्त भएको विभागले जनाएको छ । अहिले जीर्ण अवस्थामा रहेको भवन मर्मत गरेर चलाउन सक्ने अवस्था नरहेको विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवले जानकारी दिए । विभागका अनुसार करिब २० हजार लाइसेन्स वितरणका लागि राखिएको थियो। यादवले लाइसेन्ससहित इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छाप्ने मेसिन जलेर ध्वस्त भएको जानकारी दिए । विभागबाट लिने सेवा सुरु हुन अझै दुई महिना लाग्नसक्ने उनले बताए । यसअघि विभागले तत्काल लाइसेन्स आवश्यक पर्नेलाई निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराउँदै आएको थियो । अहिले भने वैदेशिक रोजगारीमा जाने तथा सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ । विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाइ गर्ने मेशिन आगलागीबाट ध्वस्त भएपछि सेवा अनिश्चित बनेको हो । विभागले असोज १ बाट नयाँ दर्ता, नवीकरण र नामसारी गर्दा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । विभागका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएका थिए । त्यसमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै थियो । ६ लाख १९ हजार इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएको विभागको भनाइ छ । विभागका अनुसार साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो । अहिले कोशीबाहेक बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णालीका लागि नम्बर प्लेट तयार थियो । यसमध्ये थोरै संख्यामा मात्र पठाइएको थियो । यस्तै, विभागका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर नष्ट जलेका छन् ।
जेनजी आन्दोलनपछि बैंकका सीईओ र उद्योगी व्यवसायीसँग गभर्नरको भेट
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । जेनजी आन्दोलनपश्चात के कति क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर डा.पौडेलले बैंकर र उद्योगी व्यवसायीहरूसँग छलफल गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार गभर्नर पौडेलले नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । ‘वर्तमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । साथै भेटमा के कस्तो समस्या भयो र कति क्षति भएको छ भन्ने विषयमा गभर्नरले जानकारी लिनु भयो,’ प्रवक्ता न्यौपानेले भने । उनका अनुसार धेरै लामो छलफल भएको छैन । छोटो भेट गरेर वर्तमान विषयमा जानकारी लिने काम मात्रै हो ।
क्षतिग्रस्त संरचना सञ्चालन गर्न कामना सेवा विकास बैंकको सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय सञ्चालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ । जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उक्त फर्निचरहरु हस्तान्तरण गरिन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरि कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरे । बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरण सहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कार्यालय पूर्ण रूपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरे । बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरू पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।
स्वास्थ्य मन्त्रालय जलेपछि आपतकालीन सेवा वीर अस्पतालबाट
काठमाडौं । काठमाडौंस्थित रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको छ । मन्त्रालयभित्र रहेका दर्जनौं सवारीसाधनदेखि कागजात सबै जलेका छन् । मन्त्रालय नै जलेपछि अहिले कर्मचारीहरू घरमै बसेर काम गरिरहेको मन्त्रालयले जनाएको छ । तीन दिनसम्म लगातार दन्किरहेको आगोले कुनै पनि भाग र सामग्री बाँकी नराखेको मन्त्रालयका पदाधिकारीले बताएका छन् । मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी) भवन पूर्ण रूपमा जलेको छ । मन्त्रालयले यो केन्द्रलाई वीर अस्पतालको एउटा कोठामा सारेर वीरबाट कामलाई निरन्तरता दिएको जनाएको छ। केन्द्रले देशभरका अस्पतालमा समन्वय गरेर काम गरिरहेको छ । मन्त्रालयको अर्को भवनको टुंगो नलागेसम्म केन्द्रले वीरबाट र अन्य कर्मचारीले घरबाटै काम गर्ने भएका छन् ।
अर्को साता सेयर कारोबार नहुने
काठमाडौं । अर्को साता सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विज्ञप्ति जारी गर्दै सेयर कारोबार नहुने जनाएको हो । आगामी आइतबारदेखि बिहीबारसम्म कारोबार नहुने भएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० उपदफा (१) खण्ड (घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार नेप्सेले कारोबार नगर्ने भएको हो ।