विकासन्युज

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

काठमाडौं । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् ।      सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।      स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौंका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ ।   

सकस सुल्ट्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक धोबीघाटमा जारी

काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनको मिति तोक्ने विषयमा परेको सकस सुल्ट्याउन पदाधिकारी बैठक बसिरहेको छ । आइतबार बिहान ललितपुरको धोबीघाटस्थित एक होटलमा बसेको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा बसेको हो। बैठकमा आसन्न महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए ।  शनिबार बसेको पदाधिकारी बैठकमा पनि यही विषयमा लामो छलफल भए पनि सहमति जुट्न नसकेपछि आइतबार पुनः बैठक बोलाइएको हो । महामन्त्री गगन थापाले कार्यतालिका टुंगो नलागे आफू केन्द्रीय समिति बैठकमा सहभागी नहुने अडान सार्वजनिक गर्दै आएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने पुस १६ देखि १९ गतेभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्दै आएका छन् । उता सभापति शेरबहादुर देउवा पक्षले भने वैशाख महिनाको अन्त्यतिर महाधिवेशन गर्न सकिने मत राखेको छ । कार्यतालिकाबारे सहमति नजुटेकै कारण शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।  आजै दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पुनः बैठक बस्ने कार्यक्रम रहेको छ ।

तत्काल ठूलो मात्रमा कर्जा प्रवाह नहुने, ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थीति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ । पछिल्ला दिनहरुमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गर्न थालेको हो । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । गत बुधबार पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरुमा निक्षेप उठाएको थिएन । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको यसबाट प्रष्ट देखिएको छ । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ वैशाख १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन, लेदो बगेको स्थानमा ‘डाइभर्सन’ गरियो

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । 'सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ', उनले भने। यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो । गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । 'सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो', उनले भने । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

नेशनल लाइफले गण्डकी प्रदेशका २२० अभिकर्तालाई गर्‍यो सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशबाट बीमाशुल्क संकलन गरी योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट सीईओ क्लब सदस्यमा चयन भएका अभिकर्तालाई सदस्यता प्रमाणपत्र वितरण तथा विशेष सम्मान गरिएको थियो । साथै, आफ्नै कोड र संजालमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई  पुरस्कार प्रदान गरियो । सो अवसरमा गण्डकी प्रदेशबाट ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ उपाधि प्राप्त अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादासहित सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले भने, 'सीईओ क्लब र नेशनल अवार्ड योजना अन्तर्गत प्रदेश-प्रदेशमा सम्मान कार्यक्रम गर्दै जाने कम्पनीको योजना हो । गण्डकी प्रदेशबाट शुरुवात गरिएको यो कार्यक्रम अब अन्य प्रदेशहरूमा निरन्तर सञ्चालन गरिनेछ ।' उनले थपे, 'कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा ‘सीईओ क्लब सदस्यता योजना’ सुरु गरिएको हो र यसमा हालसम्म १६०० भन्दा बढी अभिकर्ता चयन हुनु योजना सफलताको सूचक हो ।' कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । बीमा क्षेत्रमा सफल हुनका लागि धेरै व्यक्तिसँग सम्पर्क विस्तार गरी बीमा पोलिसी प्रस्ताव गर्न सक्ने ज्ञान र आत्मविश्वास आवश्यक हुने उनको भनाइ थियो । सम्मान कार्यक्रमपछि अभिकर्ताहरूले यो प्रशिक्षणले आफूहरूमा व्यवसायिक ऊर्जा र प्रेरणा थपेको प्रतिक्रिया दिएका छन् । सम्मान प्राप्त अभिकर्ताहरूले भने, 'हाम्रो मेहनतको कदर गरिएको महसुस भयो, यसले अझ राम्रो काम गर्ने उत्साह जगाएको छ ।'

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै, महाधिवेशन एजेन्डामा केन्द्रित छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार (आज) मध्यान्ह १ बजे बस्ने भएको छ । शुक्रबारका लागि तय गरिएको बैठक विवादका कारण स्थगित भएपछि आज बस्न लागेको हो । बैठकमा पार्टीको १५‍‍औं महाधिवेशनसम्बन्धी एजेन्डामा प्रमुख रूपमा छलफल हुने बताइएको छ । गत बैठकमा महामन्त्री र संस्थापन पक्षबीच फरक–फरक कार्यतालिका प्रस्ताव भएपछि विवाद उत्पन्न भएको थियो । आजको बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताहरूको सानो स्वरूपको बैठक बोलाई सहमति खोज्ने प्रयास गरेका छन् । सहमति जुटेपछि मात्रै केन्द्रीय कार्यसमिति बैठक औपचारिक रूपमा सुरु गरिने पार्टी स्रोतले जनाएको छ ।

नेपाल पुनर्बीमाको सञ्चालकमा अर्थमन्त्रालयका उपसचिव निरौला नियुक्त

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन् । कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी निरौला सञ्चालक पदमा नियुक्त भएका हुन् । उनलाई अर्थमन्त्रालयको असोज २५ गतेको निर्णयअनुसार नेपाल रिको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको छ । कार्तिक १३, १४ र १५ गते तीन दिनसम्म चलेको उक्त कार्यक्रम मनोरञ्जन, सीप विकास र क्षमता अभिवृद्धिमूलक गतिविधिसहित सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रसाईँले कम्पनीले नियमित रूपमा गर्दै आएको स्तरीय तालिम तथा कार्यक्रमहरूले अभिकर्ता लिडरहरूको व्यवसायिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अभिकर्ताहरूको पहिचान स्थापित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको मनोरञ्जनात्मक साँझले सहभागीहरूलाई थप ऊर्जावान र प्रेरित बनाएको धारणा राखे । तीन दिनसम्म चलेको कार्यक्रममा देशभरबाट २ सयभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता थियो । कार्यक्रममा 'द आर्ट अफ सेलिङ' का लागि प्रशिद्ध अन्तर्राष्ट्रिय प्रशिक्षक अरनिको सिंहले बीमा बिक्री कलासम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएका थिए, जसले सहभागीहरूमा नयाँ उत्साह र आत्मविश्वास जगाएको थियो । कार्यक्रमको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुति रहेको थियो, जसले कार्यक्रमलाई थप रंगिन बनाएको सहभागीहरूले बताएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको प्रेरणा, सम्मान र सीप विकासका उद्देश्य राखी विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको जनाएको छ ।