सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज (सोमबार) जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त विषयमा दुवै पक्षको छलफलका लागि यही वैशाख २२ मा बोलाउने आदेश भएको छ । गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए । काठमाडौंका नदी किनाराका सुकुम्वासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको विरूद्द रिट निवेदन दायर गरिएको हो । रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो ।
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
काठमाडौं । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । सो स्थानका संरचना भत्काउन आज (सोमबार) २४ वटा जेसिबी प्रयोग गरिएका थिए । त्यसक्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो । सुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैं बस्ती छाडेका थिए । आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ ।
सीईओ बन्ने अवसर : नेपाल पूर्वाधार निर्माण कम्पनीमा दरखास्त आह्वान
काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई आगामी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । आवेदन दिन उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, व्यापार प्रशासन, वाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । शैक्षिक योग्यताका साथै पूर्वाधारको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ । उमेरको हकमा ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले दरखास्त दस्तुरवापत ५ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको कम्पनीको खातामा जम्मा गरी सोको सक्कल भौचर आवेदनका साथै पेश गर्नुपर्नेछ । आवेदनका साथमा व्यक्तिगत विवरण (सीभी), शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरू, नागरिकताको प्रतिलिपि र बढीमा पाँच हजार शब्दको खामबन्दी ‘व्यावसायिक कार्ययोजना’ अनिवार्य रूपमा बुझाउनुपर्नेछ । यदि उम्मेदवार सरकारी वा अन्य संगठित संस्थामा कार्यरत भएमा सम्बन्धित निकायको सहमति पत्र समेत आवश्यक पर्ने सूचनामा उल्लेख छ । छनोट प्रक्रियाका क्रममा कुनै पनि झुटा कागजात पेश गरेको पाइएमा जुनसुकै चरणमा दरखास्त रद्द गरिने कम्पनीले स्पष्ट पारेको छ ।
शारीरिक अशक्त बालबालिकाको उपचारमा प्रभु बैंकको साथ, साढे ७ लाखको चेक हस्तान्तरण
काठमाडाैं । प्रभु बैंकले बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापना केन्द्रलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सबिन शम्शेर राणाले केन्द्रका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमारयादवलाई चेक हस्तान्तरण गरे । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनस्र्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरूका साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
शारीरिक अशक्त बालबालिकाको उपचारमा प्रभु बैंकको साथ, साढे ७ लाखको चेक हस्तान्तरण
काठमाडाैं । प्रभु बैंकले बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापना केन्द्रलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सबिन शम्शेर राणाले केन्द्रका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमारयादवलाई चेक हस्तान्तरण गरे । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनस्र्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरूका साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
एनटीसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटीसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गते देखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको छ । यो अवधिका सबै प्याकेज यही वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको एनटीसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । यस व्यवस्थाबाट एनटीसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ ।
नर्भिक हस्पिटलको बुक–बिल्डिङ ‘रोड शो’ सम्पन्न, संस्थागत लगानीकर्ता आकर्षित
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने तयारीस्वरूप आयोजना गरेको ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले नर्भिकको वर्तमान सञ्चालन अवस्था, वित्तीय सबलपक्ष र आगामी रणनीतिक विस्तारका योजनाहरू प्रस्तुत गर्दै लगानीकर्ताहरूलाई अस्पतालको दिगो विकासबारे प्रस्ट पारेका थिए । सो अवसरमा लगानीकर्ताहरूले मूल्य निर्धारण र मूल्याङ्कन पद्धतिका बारेमा आफ्ना धारणा राख्दै नर्भिकले अवलम्बन गरेको मूल्य खोजी प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै खुसी व्यक्त गरे । लक्ष्मी सनराइज क्यापिटलले सहभागीहरूलाई बुक-बिल्डिङको संरचना, नियामक प्रावधान र मूल्य निर्धारणका आधारहरूका बारेमा विस्तृत जानकारी गराएको थियो। यस रोड शोको सफल समापनले नेपालको पुँजी बजारमा पारदर्शी र बजार(आधारित मूल्य निर्धारण प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य खुलाई ५ कार्य दिनभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो सिलबन्दी आशय पत्र बुझाउनुपर्ने व्यवस्था रहेको छ ।