सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं। सानिमा बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
निःशुल्क सामूहिक विवाह : नगरपालिकाले नै दिन्छ जन्तीलाई भोजदेखि लत्ताकपडा
महोत्तरी । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’ को योजना ल्याइएको बताए । नेपाल सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका, आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनको भनाइ थियो । मनरा शिसवा नगरपालिकाले ११ औंँ नगरसभाबाट नगरक्षेत्रका इच्छुक, उमेर पुगेका, गरिब तथा विपन्न परिवारका बरबधुलाई सामूहिक विवाह सम्बन्धी योजना नै पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए । उक्त कार्यक्रमका लागि सोही सभाबाट १० पनि विनियोजन गरिएको उहाँले बताउनुभयो । मङ्सिर महिनाभित्र नगरपालिकाको प्रत्येक (१० वटै) वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन अभियान चलाइएको चौधरीले बताए । निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एक्कैचोटी एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए । तराई–मधेशमा दाईजो प्रथाले जरो गाडेकाले न्यून आय भएका, आर्थिक रुपमा कमजोर, तथा विपन्न परिवारले छोराछोरीको विवाह गर्न सक्षम नभएको गुनासो आएपछि पालिकाको नगरसभा बैठकबाट सामूहिक विवाहसम्बन्धी योजना पारित गरिएको प्रमुख पाण्डेयको भनाइ थियो । उनका अनुसार यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ । नगरपालिकाले विवाह गर्ने दुलही (केटी) अनिवार्य रुपमा यही नगरपालिका क्षेत्रभित्रको हुनुपर्ने शर्त राखिएको जनाउँदै विशेष गरी नगरक्षेत्रभित्रका केटीलाई लक्षित गरी यो कार्यक्रममा ल्याइएको नगर प्रमुख पाण्डेयले बताए । उनले पहिलो पटक नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै यसले सकारात्मक सन्देश दिए प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । रासस
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा, क्रुजभित्र रेष्टुरेन्टको सुविधा
नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए । ‘दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ’, उनले भने, ‘क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।’ सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उनले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए । ‘दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ’, उनले भने, ‘क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।’ सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उनले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए । एकपटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उनले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिए । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उनले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताए । क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताए । उनकाअनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ । ‘पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसिपले आफ्नो नियमति क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ’, बस्यालले भने । विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसिप नेपालकै पहिलो र एकमात्र क्रुजसिप भएको बस्यालको भनाइ छ । उनका अनुसार क्रुजसिप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । गएको याममा प्रतिदिन सरदर एक सय ५० जनाले क्रुजसिपमा यात्रा गर्ने गरेको बस्यालले जानकारी दिए । दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताए । उनका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ । क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खनन्का लागि क्रुजसिपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । भरतपुर महानगरपालिका–१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवद्र्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताए । अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनःसञ्चालनमा आएको क्रुजसिपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उनको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसिपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ । नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । ‘यसअघि क्रुज सञ्चालन हुँदा पनि क्रुजमा यात्रा गर्ने मानिस हाम्रा होटलमा आएर बस्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘क्रुजसिप नारायणी नदीमा सञ्चालन हुने कारण यसले चितवनको मात्रै नभएर नवलपुरको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याएको हामीले पाएका छौँ ।’ रासस
धितोपत्र बोर्डका अध्यक्षले गरे माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन
काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन सम्पन्न भएको छ । बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन गरेका हुन् । काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिजले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । माछापुच्छ्रे सेक्युरिटिजको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारको लागी माछापुच्छ्रे सेक्युरिटिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिजलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे । साथै, सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिजले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । त्यस्तै, माछापुच्छ्रे का अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिजले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिजका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिटका पदाधिकारीहरु, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, दुई लघुवित्तसहित तीन कम्पनीको सेयरमा सर्किट
काठमाडौं । बुधबार झिनो अंकले बढेको नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा एक अर्ब ६५ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । नेपाल पुनर्बीमा कम्पनीका संस्थापकले धमाधम सेयर बिक्री गरेसँगै बिहीबारको कारोबार रकम बढ्नमा टेवा पुगेको हो । एकैदिन कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । परिसूचक र कारोबार रकम दुबै बढेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये त्रिशुली जलविद्युत्को १० प्रतिशतले बढेर प्रतिकित्ता २९४.८० रुपैयाँ, समाज लघुवित्तको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३६.८० रुपैयाँ र सीवाईसी नेपालको सेयर मूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ९८४ रुपैयाँ पुगेको छ । टप गेनरको शीर्ष स्थानमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.८१ प्रतिशतले घटेर प्रतिकित्ता ७९१ रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका अधिकांश समूह हरिया देखिएका छन् । ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह बढेर हरिया देखिएका हुन् ।
नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार
काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बिहीबार कम्पनीको २९ लाख ७९ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा ८६ करोड ५९ लाख ५३ हजार २ सय रुपैयाँबराबरको कारोबार भएको हो । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बिहीबार नेप्सेमा कारोबार भएको हो । पछिल्लो समय विभिन्न तीन वटा कम्पनीले नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री गरिरहेका छन् । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र विशाल ग्रुपले कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका थिए । जसमध्ये नेपाल इन्स्योरेन्स र विशाल ग्रुपको सेयर पूर्ण रुपमा बिक्री भएको बुझिएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । हिमालयन लाइफले कम्पनीको १९ लाख ७९ हजार २४२ कित्ता सेयर खरिद गरेको हो । उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले खरिद गरेको हिमालयन लाइफ स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त सेयर कम्पनीले ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको हो । विशाल ग्रुपले भने प्रतिकित्ता ३० रुपैयाँसम्म कम मूल्यमा सेयर बिक्री गरेको छ । विशाल ग्रुपले बिक्रीमा राखेको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतले बताएको छ । विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । विशाल ग्रुपले बिक्रीमा राखेको संस्थापक सेयर छुट्टाछुट्टै मूल्यमा बिक्री भएको छ । नेप्सेका अनुसार प्रतिकित्ता २८० रुपैयाँका दरले २ लाख ७५ हजार ४५० कित्ता, प्रतिकित्ता २७८ रुपैयाँमा ५ लाख कित्ता र प्रतिकित्ता २७० रुपैयाँमा २ लाख २४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएको हो । विशाल ग्रुपले प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गर्दा ७ करोड ७१ लाख २६ हजार रुपैयाँ, प्रतिकित्ता २७८ रुपैयाँमा बिक्री गर्दा १३ करोड ३९ लाख ९० लाख रुपैयाँ र प्रतिकित्ता २७० रुपैयाँमा बिक्री गर्दा ६ करोड ६ लाख २८ हजार ५ सय रुपैयाँ असुल गरेको छ । यस आधारमा ग्रुपले कम्पनीको सेयर बिक्रीबापत् २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । विशाल ग्रुपले पहिलो पटक प्रतिकित्ता ३३५ रुपैयाँमा १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, सो मूल्यमा कुनै पनि लगानीकर्ताले सेयर खरिद गर्न तयार नभएपछि प्रतिकित्ता २७० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको थियो ।
सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश वटा उजुरी
काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा छ, टेकप्रसाद ढुंगानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए । उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन । समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मंसिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई-दुई जनाको गर्ने निर्णय भएको हो । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो । पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ । समितिका सभापति जबराले आज उनीविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उनको सुनुवाइ भोलि (शुक्रबार) २ः३० बजेका लागि तय भएको जानकारी दिए । बैठकमा मुलुक आर्थिक संकटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्र्ने माग गरेका थिए । सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने बताए । उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिए । रासस
थप सुरक्षित र व्यवस्थित बन्दै ठमेल क्षेत्र, एकैपटक जडान भए ८० वटा सिसी क्यामरा
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसी क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरिएको जानकारी दिए । अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरिएको बताए । ‘चार ठूला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ’, अध्यक्ष शर्माले भने । ठमेल क्षेत्रभित्र सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सिसि क्यामराले सहयोग पुग्ने बताए । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । यस्तै परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ ।