विकासन्युज

हालै आईपीओ बिक्री गरेको भगवति हाइड्रोको लाभांश घोषणा, डाक्यो साधारणसभा

काठमाडौं । सर्वसाधारण लगानीकर्तालाई आईपीओ जारी गरेको पहिलो वर्ष नै भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०.५२६३ प्रतिशत अर्थात् ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते काठमाडौंमा बिहान १० बजे २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस  ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

५ लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

काठमाडौंका १५ पुल सौन्दर्यीकरण पार्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ । बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो । कामपा हरियाली प्रवद्र्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको हो । उनले यी सबै पुलको बारेमा अध्ययन गरी ड्रइङ डिजाइन तयार गरिरहेको बताए । आयोजनाले विष्णुमती पुलमा क्यारी निर्माण गरी सोमाथि २ फिट जाली बिच्छ्याएर लहरेफूल रोप्ने कार्य जारी राखेको छ । जाली राख्दा नदीमा फोहोर फ्याँक्न नमिल्ने व्यवस्था गर्न लागेको हो । यो पुलको सौन्दर्यीकरण सकिएपछि अवस्था हेरेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्ने जानकारी दिँदै आयोजनाका इन्जिनियर घनश्याम पौडलले भने, ‘पुल निमाण गर्ने कारब १० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ ।’ कामपाले पुल र पुलको परिसरमा सौन्दर्यीकरण गर्न १ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ । आयोजना प्रमुख थापाले पुलको अवस्था हेरेर पार्क, बगैंचा, रूख रोप्नेलगायतका सौन्दर्यीकरण गर्ने तयारी गरेको जानकारी दिए । आयोजनाले धोबीखोला करिडोरमा रहेको कालोपुल, रातोपुल, निलोपुल, पहेँलो पुल, बिजुलीबजार, परोपकार, कोटेश्वर र शंखमूल पुलको एकैसाथ सौन्दर्यीकरण गर्ने तयारी गरेको छ । यसअघि महानगरले बिजुलीबजार र ताहाचलको पुलमा बिजुलीले भिलिमिली बनाएको थियो । शहरी सौन्दर्यीकरण गर्न सबै पुलमा विशेष सजावट गर्ने तयारी थालिएको आयोजना प्रमुख थापाको भनाइ छ । उनले भने, ‘सम्बन्धित वडा कार्यालयको सहयोगमा पुलमा कस्तो सौन्दर्यीकरण गर्ने भन्ने विषयमा सुभाव संकलन गरिरहेका छौं ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

नेपाल हाइड्रोको ७ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन

काठमाडौं । नेपाल हाइड्रोको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ७ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरी प्रतिकित्ता ३४५.७९ रुपैयाँ कायम गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १७औं वार्षिक साधारणसभा पुस १२ गते काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

एनएमबि बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । एनएमबि बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । एनएमबि जन्मभूमि रेमिट्यान्स खातामा भने अन्य खाताको तुलनामा २ प्रतिशत बढी ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

काठमाडौं । एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिए । समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उनले बताए । संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताए । समितिले एनसेलको सेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ । समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ । सरकारले यही मङ्सिर २१ गते एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । रासस

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नवनियुक्त अध्यक्ष र सदस्यलाई निर्देशन दिए । मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए । रासस

लोककल्याणकारी विज्ञापन प्रकाशन गर्न बोर्डको तीन बुँदे निर्देशन, अटेरी गरे रकम भुक्तानी नहुने

काठमाडौं । अब पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गर्न विभिन्न निर्देशनहरु पालना गर्नुपर्ने भएको छ । विज्ञापन बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ को वर्गीकरणमा परेका पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गर्दा विभिन्न ३ वटा निर्देशन कार्यान्वयन गर्नुपर्ने भएको हो । मंसिर २४ गते एक विज्ञप्ति जारी गर्दै बोर्डले सबै सञ्चारगृहहरुलाई ३ निर्देशन बुँदे दिएको हो । जसमा पत्रपत्रिकाले पत्रसाथ उपलब्ध गराइएका विज्ञापनहरु २०८० साल पौष महिनाको लागि भएकोले सोही महिनामा मात्र प्रकाशन गर्नुपर्ने छ । त्यस्तै, विज्ञापन प्रकाशन गर्दा फरक अंकमा नदोहराइकन फरक फरक विज्ञापन प्रकाशन गर्न अर्थात महिना भरीमा एउटा विज्ञापन एक पटक मात्र प्रकाशन गर्न बोर्डकोनिर्देशन छ । त्यसैगरी, पुस महिनाको विज्ञापन प्रकाशन गरेपछि विज्ञापन प्रकाशन गरिएका पत्रपत्रिका र बील पौष महिनामा नै वा माघ महिनाको ७ गतेभित्र अनिवार्यरुपमा बोर्ड/हुलाक निर्देशनालय/कार्यालयमा पेश गर्नुपर्ने बोर्डको निर्देशन छ । पत्रपत्रिकाले आगामी पुस महिनामा उक्त निर्देशनअनुसार काम गर्नुपर्ने छ । सो बमोजिम नगरेमा लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको रकम भुक्तानी नहुने बोर्डले जानकारी गराएको छ ।