काठमाडौं । अब पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गर्न विभिन्न निर्देशनहरु पालना गर्नुपर्ने भएको छ । विज्ञापन बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ को वर्गीकरणमा परेका पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गर्दा विभिन्न ३ वटा निर्देशन कार्यान्वयन गर्नुपर्ने भएको हो ।
मंसिर २४ गते एक विज्ञप्ति जारी गर्दै बोर्डले सबै सञ्चारगृहहरुलाई ३ निर्देशन बुँदे दिएको हो । जसमा पत्रपत्रिकाले पत्रसाथ उपलब्ध गराइएका विज्ञापनहरु २०८० साल पौष महिनाको लागि भएकोले सोही महिनामा मात्र प्रकाशन गर्नुपर्ने छ ।
त्यस्तै, विज्ञापन प्रकाशन गर्दा फरक अंकमा नदोहराइकन फरक फरक विज्ञापन प्रकाशन गर्न अर्थात महिना भरीमा एउटा विज्ञापन एक पटक मात्र प्रकाशन गर्न बोर्डकोनिर्देशन छ ।
त्यसैगरी, पुस महिनाको विज्ञापन प्रकाशन गरेपछि विज्ञापन प्रकाशन गरिएका पत्रपत्रिका र बील पौष महिनामा नै वा माघ महिनाको ७ गतेभित्र अनिवार्यरुपमा बोर्ड/हुलाक निर्देशनालय/कार्यालयमा पेश गर्नुपर्ने बोर्डको निर्देशन छ ।
पत्रपत्रिकाले आगामी पुस महिनामा उक्त निर्देशनअनुसार काम गर्नुपर्ने छ । सो बमोजिम नगरेमा लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको रकम भुक्तानी नहुने बोर्डले जानकारी गराएको छ ।