चांगनको नयाँ ईभी थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो
काठमाडौं । थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभी नेपाल भित्रिने भएको छ । चांगनका लागि नेपालको अधिकारिक वितरक एमएडब्लु वृद्धिले सो गाडी भित्र्याउन लागेको हो । सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने एमएडब्लु वृद्धिले जनाएको छ । चीनको प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड चांगन डीपल २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्सपोमा अत्यन्त चर्चित बनेको छ । ब्रान्डको फ्ल्यागशिप मोडल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा एक अग्रणी खेलाडीको रूपमा आफ्नो स्थानलाई बलियो बनाएको हो । थाइल्याण्डमा चांगन डीपलको आधिकारिक प्रवेश यसको विश्वव्यापी विस्तार रणनीतिमा एउटा महत्वपूर्ण कदम हो । ब्रान्डले २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेसनल मोटर एक्सपोमा आफ्ना नवीन र प्राविधिक रूपमा उन्नत गाडीहरू प्रदर्शन गरेको थियो जहाँ उसलाई थाई उपभोक्ताहरूबाट व्यापक ध्यान र चासो प्राप्त भएको थियो। एस ०७ ईभी एसयुभीलाई प्राप्त अत्याधिक प्रतिक्रिया र ३२०० भन्दा बढी बुकिङ नै चांगन डीपलको उच्च गुणस्तरिय पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्दै आधुनिक चालकहरूका विकसित आवश्यकता पूरा गर्ने प्रतिबद्धताको बलियो प्रमाण रहेको बताइएको छ । थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा हेरिरहेको बताइएको छ। नेपाली उपभोक्ताहरूले चांगन डीपलको शक्तिशाली पर्फर्मेन्स, उन्नत प्रविधि र पुरस्कृत डिजाइनको साथ यसले प्रदान गर्ने भिन्नताको अनुभव गर्न यसको प्रतीक्षा गर्न सक्नेछन्। यसमा भएको शक्तिशाली इलेक्ट्रिक मोटरले उत्साहजनक पर्फर्मेन्स दिन्छ र सहज ड्राइभिङ गतिशीलता प्रदान गर्दछ । लामो दूरीसम्म टिक्ने ब्याट्रीले न्यूनतम चार्जिङ आवश्यकताहरूसँग सुविधाजनक र प्रभावकारी यात्रा प्रदान गर्दछ । स्टाइलिश र एरोडायनामिक बाहिरी लुक्स रहेको यस गाडीमा परिष्कृत इन्फोटेनमेन्ट प्रणाली, चालक–सहायता सुविधाहरू, व्यापक सुरक्षा प्रणाली जडान गरिएका छन् । एस ०७ ईभी एसयुभीले नेपाली चालकहरूको मन मुटु जित्नेमा चांगन डीपल विश्वस्त भएको कम्पनीको भनाइ छ । गुणस्तर, नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धताका साथ यो ब्रान्ड नेपालको द्रुत गतिमा बढ्दो विद्युतीय सवारीको बजारमा प्रमुख खेलाडी बन्ने कम्पनीले जनाएको छ ।
नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५.४५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ७९५.४५ रुपैयाँलाई आधार मानेर हुनेछ ।
सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट हुने भएको छ । सिटिजन्स बैंक र दरबारमार्ग, काठमाडौं स्थित अक्टेभ काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान
काठमाडौं । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता गराइएको छ । अध्ययनका क्रममा पीडित र साहुबीच पाँच अर्ब ५७ करोड १९ लाखको लिखत कारोबार भएको पाइएको तर साहुहरूले सात अर्ब ६२ करोड ८० लाख असूल हुन बाँकी रहेको भनेर दाबी गरेका पाइएको थियो । त्यसमध्ये कूल एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र गरी टुंग्याइएको आयोगले जनाएको छ । अहिलेसम्मको मिलापत्रपछि साहुको लिखत पाँच अर्ब ८९ करोड ९३ लाखबाट घटेर चार अर्ब १७ करोड ६ लाखमा आइपुगेको समेत आयोगले जानकारी दिएको छ । आयोगले विसं २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितको निवेदन सङ्कलन गरेको थियो । मधेसका आठ जिल्लाबाट २१ हजार पाँच सय ५२ र पश्चिम नवलपरासीबाट एक हजार आठ सय ६२ निवेदन परेका थिए । सबैभन्दा बढी निवेदन बारामा परेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी देखिएको बताए । उनका अनुसार हिजो मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगले बुझाएको उक्त प्रतिवेदनमा जिल्लागत विवरण र समाधानको विकल्प प्रस्तुत गरिएको छ । दुईचार निवेदन परेका र अहिलेसम्म सुल्झिसकेका २९ जिल्लासमेत गरी ३९ जिल्लामा अनुचित लेनदेनको समस्या नरहेको अध्यक्ष कार्कीले जानकारी दिए । सरकारले द्रुतमार्गबाट गत चैतमा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोगमा उत्तमराज सुवेदी र गणेशप्रसाद अर्याल सदस्य छन्। अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृह मन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले टुंग्याउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । संसद्ले यससम्बन्धी कानुनसमेत पारित गरी कार्यान्वयनमा आइसकेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव
चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड) मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार श्रेणीविहीन गेम स्काउट १०६ जनाको दरबन्दी भएकोमा जम्मा ४५ कार्यरत छन् । सिनियर गेम स्काउट द्वितीय श्रेणी ३४ जनाको दरबन्दी रहेकोमा १४ जना मात्र छन् । सिनियर गेम स्काउट चतुर्थ श्रेणी तीन जनाको दरबन्दी रहेकोमा सबै पद रिक्त छ । रेञ्जर १९ जनाको दरबन्दी रहेकोमा १६ जना कार्यरत छन् । उनका अनुसार संरक्षण अधिकृत, प्रमुख संरक्षण अधिकृतसँगै लेखा, प्रशासनका कर्मचारी भने दरबन्दी अनुसार छन् । हात्ती बोहकको दुई सय २८ जनाको दरबन्दीमा एक सय ३३ जना कार्यरत छन् । ९५ जनाको दरबन्दी रिक्त छ । ती सबै प्रत्यक्ष फिल्डमा खटिने कर्मचारी हुन । हात्तीसार तर्फ स्वीकृत दरबन्दी एक सय ५५ जना रहेकोमा एक सय ४४ जना मात्र कार्यरत छन् । हात्ती तर्फ ११ जनाको दरबन्दी रिक्त छ । जुन जनशक्ति प्रत्यक्ष रुपमा फिल्डमा कार्यरत हुन्छ । निकुञ्जको कूल दरबन्दी तीन सय ८३ रहेको छ । यसमध्ये दुई सय ७७ जना कार्यरत रहेका छन् भने १०६ जनाको पद रिक्त रहेको तिवारीले जानकारी दिए । उनले भने ‘रिक्त रहेका कर्मचारी सबै फिल्डमा खटिने कर्मचारी हुन ।’ यो निकुञ्ज नौ सय ५२ दशमलब ६३ वर्ग किलोमिटरमा फैलिएको छ । जसको ६२९ दशमलब ३७ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताए। हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापन लगायतका काम प्रत्यक्ष रुपमा फिल्डमा खटिएर गर्नुपर्छ । यस्तै समस्या ग्रस्त वन्यजन्तुको उद्धार तथा व्यवस्थापन, नियमित गस्ती, पेट्रोलिङ्, स्थानीय सरोकारवालासँग समन्वय, मध्यवर्ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, अध्ययन अनुसन्धान, वन्यजन्तुको बासस्थान तथा व्यवस्थापन जस्ता कार्य कर्मचारी अभावका कारण कठिनाइ भएको उनले बताए। घडियाल गोही, पाटेबाघ, डल्फिन, एकसिङ्गे गैँडा, हात्ती जस्ता दुर्लभ वन्यजन्तु भएकाले निकुञ्जका सबै क्षेत्रमा पुगेर संरक्षणमा जुट्नुपर्ने हुन्छ । जनशक्ति कम हुँदा काममा समस्या परेको विषयमा माथिल्लो निकाय जानकारी भएको उनले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले मुख्य रुपमा गेम स्काउटको दरबन्दी अनुसार जनशक्ति नहुँदा समस्या भएको बताए। यो जनशक्ति भर्ना भएपछि छोटो समयमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएर जाने र थप जनशक्तिका लागि समय लाग्ने हुँदा समस्या आएको जानकारी दिए । गेम स्काउट पदमा रहेकाले खरिदारमा आन्तरिक प्रतिस्पर्धाबाट जानसक्ने भएकाले धेरै त्यस तर्फ जाँदा दरबन्दी रिक्त हुने र लोकसेवा आयोगले पदपूर्ति गर्न समय लाग्ने गरेको छ । उनले कार्यक्षेत्रमा खटिने जनशक्तिलाई अभाव हुन नदिन नीतिगत रुपमा सुधारका लागि माथिल्लो तहमा पहल भइरहेको बताए । यो जनशक्ति अस्थायी रुपमा राख्नुपर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । अहिले गेम स्काउट पदमा रहने यहाँको आवश्यकता भन्दा दक्ष हुने भएकाले दिगो रुपमा नरहँदा समस्या भएको उनको भनाइ छ । रासस
काठमाडौं विश्वविद्यालयका एक हजार ८३८ विद्यार्थी दीक्षित
काठमाडौं । काठमाडौं विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९औं दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे । दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन् । त्यस्तै एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताए । समारोहमा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत् माष्टर इन हायर एजुकेशनमा ९ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो । यसैबीच विश्व विद्यलायले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ८४दशमलव२६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो । त्यस्तै एमबी ए तहमा सबैभन्दा बढी तीन दशमलव ८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा तीन दशमलव ७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अङ्क ८०दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी तीन दशमलव ९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बास्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो । दीक्षान्त समारोह शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासको पनि सहभागिता थियो । रासस
सीएनआई र पीडब्लूसीले सार्वजनिक गरे जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने प्रतिवेदन
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र पीडब्लूसी (प्राइसवाटरहाउसकपर्श पीडब्लूसी) भारतले संयुक्त रुपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका छन् । सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रुपमा यसलाई महत्वपूर्ण मानिएको छ । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु सुझाइएको छ । यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य शृंखला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरु कसरी पुँजीकरण गर्न सकिन्छ भन्ने विषयहरु प्रतिवेदनमा समेटिएका छन् । विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरुको लागि रोडम्याप तयार गर्न ठोस कदमहरु र योजनाहरुको रुपरेखा प्रस्तुत गरेको बताए । यसमा जोखिम न्यूनीकरण रणनीतिको रुपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरुलाई समर्थन गर्ने सरकार, बहुपक्षीय र द्विपक्षीय एजेन्सीहरुजस्ता विभिन्न सरोकारवालाको भूमिकाका विषयहरुसमेत समेटिएका छन् । पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशक जयवीर सिंहले जलवायु अनुकूलन व्यवसायका लागि एक जिम्मेवारी मात्र नभएर रणनीतिको आवश्यकता रहेको बताए। जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिम सहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । यस प्रतिवेदनले एक लचिलो र दिगो व्यवसायीक वातावरण निर्माण गर्न सहयोग गर्ने उनको विश्वास थियो । सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरुमध्ये एक रहेको बताए । जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्वपूर्ण हुने बताए । यो प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ । साथै, यसले व्यावसायिक सुरक्षामात्र नभएर राष्ट्रको समग्र आर्थिक स्थिरतामा पनि योगदान पुर्याउने विश्वास गरिएको छ । यो प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकुलनलाई बुझ्न र सम्बोधन गर्नका लागी महत्वपुर्ण मार्गनिर्देशन प्रदान गर्नेछ। यो रिपोर्ट व्यवसाय, नीति निर्माताहरु र संस्थाहरुका लागि जलवायु परिवर्तन अनुकुलन गर्न महत्वपूर्ण स्रोत हुने विश्वास गरिएको छ ।
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)
काठमाडौं । काठमाडौं विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बुधबार काठमाडौँ विश्वविद्यालयद्वारा धुलिखेलमा आयोजित २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा सहभागी हुँदै । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काठमाडौं विश्वविद्यालयद्वारा धुलिखेलमा आयोजित २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबारकाठमाडौं विश्वविद्यालयद्वारा धुलिखेलमा आयोजित २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा दीक्षित विद्यार्थी । तस्बिर : रासस