शिखर पावरको आईपीओ आजदेखि बिक्री खुला, १० हजार कित्ता आवेदन दिन पाइने
काठमाडौं । शिखर पावर डेभलपमेन्टले आज फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ४४ हजार ४०० कित्ता कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा चैत १ गतेसम्म आवेदन दिन समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन इजरायलमा रहेका सबै नेपालीलाई आग्रह गरेको हो । सूचनामा भनिएको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्ण सावधानी अपनाउनुहोस् र आ-आफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’ दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रय स्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ । दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक जारी गर्ने सूचनामा उल्लेख छ । आज अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव पूर्ण स्थिति बनेपछि दूतावासले नेपालीका लागि सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गरेको हो ।
आफ्ना सर्वोच्च नेता खामेनेई मारिएको इरानद्वारा पुष्टि, ४० दिने राष्ट्रिय शोक घोषणा
काठमाडौं । इरानले अमेरिकी र इजरेली आक्रमणमा परी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको औपचारिक पुष्टि गरेको छ । सरकारी टेलिभिजनमार्फत् देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरिएको जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त हमलामा खामेनेईकी छोरी, ज्वाइँ, नातिनातिना तथा एक बुहारीसमेत मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि भएको अमेरिकी–इजरेली आक्रमणमा खामेनेई मारिएको सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । उनले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरिका धेरै मानिसका लागि न्याय भएको’ दाबी गर्दै बमबारी जारी रहने चेतावनीसमेत दिएका छन् । साथै उनले इरानी जनताका लागि ‘आफ्नो देश फिर्ता लिने यो नै एक अवसर भएको’ टिप्पणी गरेका छन् । संयुक्त राज्य अमेरिका र इजरेलको आक्रमणको जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रतिआक्रमण गरेको जनाएको छ । दुबई, दोहा, बाहरेन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाइएको विवरण सार्वजनिक भएका छन् । दोहास्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेइद हवाई अखडालाई लक्षित गरी विस्फोट गराइएको जनाइएको छ । रोएटर्सका अनुसार इराकको एर्बिलस्थित अमेरिकी सैन्य अखडा नजिकै उडिरहेको एक ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालेको छ । इजरेलसँग सिमाना जोडिएको जोर्डनले आफ्ना सशस्त्र बलले दुईवटा बलिस्टिक क्षेप्यास्त्र अवरोध गरी खसालेको जनाएको छ । त्यसैगरी, संयुक्त अरब एमिरेट्सको दुबईस्थित फेअरमोन्ट द पाम होटल क्षेत्रमा विस्फोट भएको देखिएको छ । अधिकारीहरूका अनुसार पाम जुमेरा क्षेत्रमा रहेको एक भवनमा भएको उक्त घटनामा चार जना घाइते भएका छन् । रेडक्रसका अनुसार अमेरिका र इजरेलको हमलामा इरानमा दुई सयभन्दा बढी व्यक्ति मारिएका छन् । इरानी सञ्चारमाध्यमहरूले एक कन्या विद्यालयमाथि भएको आक्रमणमा कम्तीमा ८५ जना मारिएको दाबी गरेका छन् । खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन् । सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बनेका थिए । चार दशकभन्दा बढी समय सत्तामा रहेका खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले इस्लामिक गणतन्त्र इरानको राजनीतिक तथा सामाजिक दिशालाई प्रभाव पारेका थिए । उनको कार्यालयको व्यापक अधिकारका कारण उनी देशका सर्वाधिक शक्तिशाली व्यक्तिका रूपमा स्थापित थिए । बीबीसी
थुन्ने अनि सुन्ने होइन, अब सुन्ने अनि थुन्ने व्यवस्था गर्छौं : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मविश्वास गुमाएको अर्थतन्त्रलाई सबल बनाउन विश्वासको वातावरण बनाउनेतर्फ अग्रसर हुन जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले वीरगन्जमा आयोजना गरेको मधेस प्रतिज्ञा सभामा बोल्दै सभापति थापाले मुलुकको अर्थतन्त्रमा जताततै आत्मविश्वासको कमीको कारणले लगानी मैत्री वातावरण नभएकाले पनि कांग्रेस नेतृत्वको सरकार आएको खण्डमा अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामीलाई यहाँ विश्वास चाहिएको छ । सेयर तथा पुँजी बजारमा काम गर्नेलाई पनि विश्वास चाहिएको छ । स-साना व्यवसाय गर्नेलाई पनि विश्वास चाहिएको छ,’ सभापति थापाले भने । उनले कांग्रेसले ल्याएको चुनावी प्रतिज्ञा पत्रमा वर्षको १० लाख रुपैयाँसम्म आम्दानी गर्ने प्रत्येक नेपाली नागरिकले एक रूपैयाँ पनि कर तिर्न नपर्ने व्यवस्था गर्ने गरी प्रतिज्ञापत्र ल्याएको जानकारी दिए । ‘कम्तीमा १०-१५ वर्षसम्म नेपालको कर नीति स्थिर रहने व्यवस्था गर्छौं । पहिला थुन्ने अनि सुन्ने होइन । अब पहिला सुन्ने अनि थुन्ने व्यवस्था गर्छौं,’ उनले भने । सभापति थापाले व्यापारी तथा व्यवसायीको मनोबल नबढाइ आर्थिक गतिविधि चलायमान हुन नसक्ने स्पष्ट पारे । ‘आर्थिक गतिविधि नबढाइकन रोजगारी सृजना हुनै सक्दैन,’ उनले भने । रोजगारी सृजना सरकारी निकायले मात्रै नभएर निजी क्षेत्रले पनि रोजगारी सृजना गर्न सक्ने उनको भनाइ छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिलकुमार रुगँटाले पर्साको आर्थिक र विकासको एजेन्डालाई मूर्तरूप दिने बताए । नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का उम्मेदवार अजय कुमार चौरसिया र क्षेत्र नं ४ का उम्मेदवार रमेश रिजालले गगन थापा नेतृत्वको सरकारले युवापुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
चन्द्र प्रसादका ७ भाइ छोराले साढे ६ करोडमा बनाए शिव मन्दिर
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१ आपगाछीमा ६ करोड ६० लाख रुपैयाँको लागतमा चन्द्रेश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन् । मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरे । भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्र प्रसादका सन्तानले ५ कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताए । चन्द्र प्रसादका देशभर छरिएर रहेका ७ भाइ छोराका नाति तथा पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी चार वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन् । शिव मन्दिर निर्माणपछि पूजा अर्चनाका लागि खुला गरिएको छ । यहाँ दैनिक रूपमा भक्तजन पूजाआजा गर्न आउने गरेका छन् ।
३०० किसानबाट ११ हजार क्विन्टल धान खरिद, प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ
काठमाडौं । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको छ । कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३०० किसानबाट ४ करोड २३ लाख २४ हजार रुपैयाँको धान खरिद गरिएको हो । साथै कार्यालयको गोदाम भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको छ । प्रति क्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको हो । गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो । यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले धान बेचेको सो कार्यालयका सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य अत्यधिक भएकाले धान बिक्री गर्ने किसान अत्यधिक रूपमा आएका थिए । कम्पनीले प्रति किसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको छ । स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक साहले बताए । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ । धान बिक्री गर्ने किसानमध्ये धनुषा लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसान बढी रहेको उनको भनाइ छ । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर धान राख्ने ठाउँ कमीका कारण धान किन्न बन्द गरेको थियो । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिइन् ।
उत्तरगङ्गा नदीमा साढे ९ लाखमा मौलिकतासहितको साँघु निर्माण
काठमाडौं । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षाको समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको ९ लाख ५० हजार रुपैयाँको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। साँघुको सतहमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ । उनले भने, ‘पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधान भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।’ ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्ने गरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षान्तमा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो । साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकी पाटन र जलजला जाने पर्यटकले घस्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।
निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन फागुन २१ गते विभिन्न सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले सवारी साधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवा मैत्री बनाउन सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ । आयोगले दमकल, एम्बुलेन्स, शव वाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक पर्ने छैन । दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी साधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारी साधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन् । नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्र वाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारी साधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् । यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ ।