एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर
काठमाडौं । एनएमबि बैंकले एक अर्ब ८४ करोड रुपैयाँ बराबरको कर तिरेको छ । बैंकले आर्थिक ऐन २०८० बमोजिम विशेष व्यवस्थाको सुविधा लिई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि बैंकले सो रकम बराबरको कर तिरेको हो । बैंकले विगतमा अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिँदा तथा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा पाएको रकम र एफपीओमा प्राप्त रकमलाई आयमा समावेश गरी उक्त रकम करकार्यालयमा तिरेको हो । संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बुँदा बदर गर्न माग गर्दै एनएमबिसहित १६बैंकले गत भदौ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वाेच्चले सरकारको निर्णयलाई सदर गरेको हो ।
मदिरा उत्पादन र कुखुरा-बंगुर पाल्न नपाइने म्याग्दीको गाजने गाउँ
बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए । ‘यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्,’ उनले भने । बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन । तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ । गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५ औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए । पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो । रासस
७५ वर्षकाे उमेरसम्म पर्यटक घुमाइरहेका ‘टुरिस्ट गाइड’ सुरेन्द्र
काठमाडौं । ६ वर्ष अगाडिको कुरा हो । १२/१३ जना मान्छे अमेरिकाबाट आएर होटल ह्यातमा बसेका थिए । उनीहरूले पूरै होटल बुक गरेका थिए । यस्तो खबर उनले सञ्चारमाध्यमबाट थाहा पाएका थिए । होटल ह्यातको खबर थाहा पाएको एक दिन उनी घरमा बसिरहेका थिए । त्यही खबर थाहा पाएको त्यस्तै दुई–तीन दिनअघि अचानक सुरेन्द्र लोहनीलाई अमेरिकी दूतावासबाट फोन आयो । ‘सुरेन्द्र, आई एम कलिङ फ्रम अमेरिकन एम्बेसी । आर यु फ्री सम डेज आफ्टर टुमरो ?,’ फोनमा एक महिलाको आवाज आयो । सुरेन्द्रले भने, ‘एस म्याम, आई एम ।’ उताबाट फेरि आवाज आयो, ‘क्यान यु गो टु बौद्ध स्तुपा एट सिक्स थर्टी अन टुमरो मर्निङ ?’ उनले भने, ‘एस म्याम, आई क्यान ।’ बौद्ध जान सुरेन्द्रलाई स्पेसल ड्रेस (कोट पाइन्ट, टाई र जुत्ता) मा सजिएर आउन भनिएको थियो । त्यसो भनिरहँदा सुरेन्द्रलाई सानो मान्छे आउन लागेको होइन क्यारे भन्ने मनमा लागिसकेको थियो । त्यो दिन सुरेन्द्र तयार भएर सखारै ६ बजे नै बौद्ध स्तुपाको प्रवेशद्वार गेटमा पुगेर उभिए । ‘त्यहाँ अमेरिकन एम्बेसीबाट मान्छेहरू आए । पुलिसहरू पनि तैनाथ भइरहेका थिए । फुटपाथमा कसैलाई हिँड्न दिइएको थिएन । केही मान्छे फूलमाला लिएर पनि उभिइरहेका थिए,’ सुरेन्द्र उज्यालिँदै विकासन्युजसँग अनुभव सुनाउँछन्, ‘जब साढे ६ बज्यो, तब प्रहरीका भ्यान साइरन बजाउँदै आए । त्यहीबीचमा कालो लिमोजिन कार पनि सँगै आयो । कारको ढोका खुल्नासाथ त्यहाँबाट एक महिला ओर्लिइन् । उनी थिइन्, अमेरिकी संसदको पूर्वसभामुख न्यान्सी पेलोसी । उनीसँग अरू १२ जना कँग्रेस प्रतिनिधिमण्डल पनि थियो ।’ न्यान्सीलाई उनको बौद्ध स्तुपा घुमाउने टुरिष्ट गाइड (पर्यटक पथप्रदर्शक) सुरेन्द्र हुन् भनेर चिनाइएको थियो । गाडीबाट ओर्लिएको एकैछनिमा न्यान्सीले सुरेन्द्रलाई देखिन् । देख्नासाथ भनिन्, ‘हाई सुरेन्द्र, हाउ डु यु डु ?’ सुरेन्द्रले भने, ‘आई एम फाइन म्याम ।’ त्यसपछि न्यान्सी, उनको प्रतिनिधिमण्डल र सुरेन्द्र बौद्ध स्तुपा क्षेत्र प्रवेश गरे । न्यान्सीले बौद्ध स्तुपाका बारेमा सुरेन्द्रसँग विविध जानकारी मागिन् । सुरेन्द्रले आधा घण्टा न्यान्सीलाई बौद्ध घुमाए । ‘मैले बौद्ध स्तुपाबारे जानेजतिको सबै कुरा उहाँलाई बुझाएँ,’ सुरेन्द्र अहिले पनि पुलकित हुँदै भन्छन्, ‘अनि मैले न्यान्सीलाई स्तुपाभित्र लिएर गएँ । त्यहाँ पहिला नै खबर गरिएको थियो । मैले उनलाई त्यहाँको सिस्टम र उनीहरूले गर्ने सबै कामबारे जानकारी दिएँ ।’ ००० जीवनका पाँच दशकभन्दा बढी समयदेखि टुरिस्ट गाइड गरिरहँदाका अनेक अनुभव छन् सुरेन्द्रसँग । तर, न्यान्सी पेलोसीसँग बौद्धमा बिताएको ३० मिनेट ७५ वर्षीय सुरेन्द्रको जीवनकै सबैभन्दा अविष्मरणीय पल हो । ‘त्यहाँबाट बिदा हुने समय न्यान्सीले मलाई टोकन अफ लभ भनेर एउटा क्वाइन दिनुभएको थियो,’ उनले भने, ‘त्यसमा एकातिर उहाँको सिग्नेचर छ भने अर्कातिर अमेरिकी संसद भवनको फोटो छ । भोलिपल्ट अमेरिकी दूतावासबाट हाम्रो अतिथिलाई राम्रो गाइड गर्नुभएकोमा तपाईंलाई धेरै धन्यवाद भनेर प्रशंसापत्र पनि आएको थियो । ती क्षण मेरा लागि निकै अविष्मरणीय छन् ।’ न्यान्सी अमेरिकी संसदको ५२औं सभामुख हुन् । उनी दुई कार्यकाल सभामुख भएकी थिइन् । सन् २००७ देखि २०११ सम्म पहिलोपटक र २०१९ जनवरीबाट २०२३ जनवरीसम्म दोस्रोपटक । सुरेन्द्रले न्यान्सीलाई बौद्ध स्तुपा घुमाउँदा न्यान्सी पूर्वसभामुख थिइन् । ००० झण्डै ५० वर्षअघि एकजना योगी आएका थिए भारतबाट । उनले योगको सात दिने कार्यक्रम चलाएका थिए । त्यसमा सुरेन्द्रले पनि भाग लिएका थिए । त्यहाँ योगा गर्दा उनले एकदमै आनन्द महसुस गरे । त्यही बेला नै उनले योगाप्रति आफूलाई प्रतिबद्ध गरेका थिए । उनी दैनिक बिहान एक घण्टा योगा गर्छन् । ७५ वर्षको उमेरसम्म पनि उनी फुर्तिलो हुनुको राज हो योगा । ‘म जति पनि हिँड्न सक्छु,’ उनी आँटिले पारामा भन्छन्,’ दुई वर्षअघि पोखरा ट्रेकिङ गएको थिएँ । त्यहाँ ११ घण्टाको ट्रेक गरेँ, केही भएन । पर्यो भने अहिले पनि जान्छु भन्ने हिम्मत आउँछ ।’ ००० काठमाडौं खिचापोखरीमा जन्मिएका हुन् वरिष्ठ टुरिस्ट गाइड सुरेन्द्र लोहनी । उनले शान्ति निकेतन विद्यालयबाट विद्यालय शिक्षा सुरु गरे । उनका हजुरबुबाले डिल्लीबजारमा घर किनेपछि उनीहरू त्यहाँ बसाइँ सरेर गए । त्यहाँ आएपछि उनले डिल्लीबजारमा रहेको पद्मोदय विद्यालयबाट २०१८ सालमा एसएलसी पास गरे । नेवारी समुदायमा हुर्के बढेका सुरेन्द्रका टोलभरिका केटा साथी थिए । स्कुलमा पनि उनका प्रशस्तै साथी थिए । तिनै साथीसँग मिलेर सुरेन्द्र खुबै गुच्चा खेल्ने, चंगा उडाउने, टुँडिखेलमा गएर फुटबल खेल्ने गर्थे । उनी डिल्लीबजार आउँदा अहिलेजस्तै ठूला भवन बनेका थिएनन् । पुरानो घर खिचापोखरी जाँदा सुरेन्द्र त्यही टुँडीखेलको मैदान हुँदै जान्थे । राजा महेन्द्रको पालामा नै टुँडिखेल फिनिसिङ गरिएको उनलाई सम्झना छ । सुरेन्द्रका बुबा जुटमिलमा काम गर्थे । १८ वर्ष जुटमिलमा काम गरेपछि उनी फेरि नेपाल राष्ट्र बैंकको बोर्ड डाइरेक्टर भएर पनि काम गरे । त्यतिबेलाका सुमधुर र रमाइला सम्झना उनका मनसपटलमा अझै ताजै घुमिरहन्छन् । ००० एसएलसीपछि सुरेन्द्र त्रिचन्द्र कलेजमा आइकम गर्न व्यवस्थापन संकायमा भर्ना भए । पढाइमा पनि उनी मध्यम विद्यार्थी थिए । उनले बिकम पनि त्रिचन्द्र कलेजबाट नै पूरा गरे । व्यवस्थापनमै मास्टर्स (स्नातकोत्तर) पनि सक्काए । सन् १९६८ मा उनले मास्टर्स पढ्दै गर्दा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल नेपाली पढ्दै थिए । अर्थशास्त्रमा पूर्वअर्थन्त्री रामशरण महत र पूर्वमन्त्री अर्जुननरसिंह केसी पोलिटिकल साइन्स लिएर पढ्दै थिए । कलेज पढ्दा पनि उनी र उनका साथी खेलकुदका क्रियाकलापमा बढी सक्रिय हुन्थे । त्यहाँ पनि फुटबल, टेबलटेनिसलगायत खेलहरू आयोजना हुन्थे । त्यस्तै कलेजमै आयोजना हुने नाटकमा पनि उनी भाग लिन्थे । ००० सुरेन्द्र आइकम पढ्ने बेला नेशनल ट्रेडिङको अफिस अहिले याक एण्ड यती होटल भएको ठाउँमा थियो । त्यहाँ असिस्टेन्ट पदका लागि भ्याकेन्सी खुलाएको थियो । उनी र उनका साथी मिलेर त्यहाँ एप्लाई गरे । परीक्षा दिए र उनीहरूको त्यहाँ नाम पनि निस्क्यो । उनले त्यहाँ ६ महिनामात्रै काम गरे । ‘म त्यहाँ काम गर्दा कलेजमा बिहान पढाइ हुन्थ्यो,’ सुरेन्द्रले सुनाए, ‘काम गर्न जानका लागि मैले दुइटा विषयको पढाइ छुटाउनुपर्ने भयो । त्यसो गर्नुपरेपछि मेरो ती विषयमा पढाइ पनि कमजोर हुँदै गयो ।’ पढाइ कमजोर हुँदै गएपछि घरबाट पनि सुरेन्द्रलाई जागिर नखान र पढाइमा ध्यान दिन सुझाव आयो । ‘घरमा बुबाले पढाइ सकेर पो जागिर खाने त, यसरी त पढाइ पनि बिग्रिन्छ, पढाइ सकेरमात्रै जागिर खानू भन्नुभयो, मैले ६ महिनामात्रै काम गरेँ,’ उनी सम्झिन्छन् । उनले पढ्नकै लागि भनेर जागिर छाडे । तर, उनका साथीले भने जागिरलाई निरन्तरता दिए । उनका साथीको ठूलो पोस्टमा बढुवा हुँदै गएको पनि उनले सुनाए । त्यो टर्निङ प्वाइन्ट पढाइलाई निरन्तरता दिएका सुरेन्द्रले एमकम पनि सके । जागिर छाडेको हुनाले यसै घरमा बसेर पत्रिका पढिरहेका थिए । उनले गोरखापत्र पढ्दै गर्दा त्यहाँ भएको एउटा सूचनामा उनको नजर गयो । त्यहाँ लेखिएको थियो– ‘जो कोही गाइड बन्न चाहनुहुन्छ भने दर्खास्त दिनुहोला’ । त्यो सूचना निकालेको थियो पर्यटन विभागले । सूचना पढेपछि सुरेन्द्रले त्यहाँ एप्लाई गर्ने विचार गरे । उनले त्यो खबर साथीलाई पनि सुनाए । उनीसहित चार साथीले त्यहाँ अन्तर्वार्ता दिए । विभागले उनीहरू सबैलाई छान्यो । त्यसपछि सुरु भयो तालिम । तालिम लिइसकेपछि उनीहरूको परीक्षा भयो । परीक्षामा पास पनि भए । ‘त्यतिबेला ३–३ महिनामा परीक्षा हुन्थ्यो,’ उनले भने, ‘वर्षको अन्तिममा फाइनल परीक्षा हुन्थ्यो । पास हुनका लागि ७० प्रतिशत अंक ल्याउनुपथ्र्यो ।’ सुरेन्द्रले गाइड नै बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । एमकमको परीक्षा दिएका उनले रिजल्टका लागि तीन महिना कुर्नुपथ्र्यो । त्यो खाली समयको सदुपयोग गर्ने उद्देश्यले उनी त्यहाँ जोडिएका थिए । ००० २०२९ सालमा सुरेन्द्रले त्यसबेलाको टप ट्राभल कम्पनी यती ट्राभल्सबाट गाइडिङ पेसा सुरुवात गरे । त्यहाँ पनि उनले ६ महिनामात्र काम गरे । त्यसपछि उनले चिया विकास समितिमा अधिकृत चौथो श्रेणीमा काम गरे । त्यहाँ उनले टोकला चियाको मार्केटिङ गरे । त्यहाँ काम गर्दाको अनुभ पनि गजबको भएको उनी सुनाउँछन् । ‘मैले काम गर्दा मेरो अफिस बालाजु थियो, त्यहाँ बेलायतका एकजना मार्केटिङ हेड थिए,’ उनले सुनाए, ‘त्यतिबेलाका चिया विकास संस्थानका अध्यक्षले राम्रोसँग काम गर्नुभयो भने बेलायतीको ठाउँमा तपाईंलाई राख्छौं भने ।’ ६ महिना नपुग्दै बोर्डको निर्णयले सुरेन्द्रलाई मार्केटिङ हेड बनायो । ५–६ वर्ष काम गरेपछि उनको दोस्रो श्रेणी र अर्को ६–७ वर्षपछि उनको प्रथम श्रेणीमा बढुवा भयो । उनले सुरुदेखि अन्तिमसम्म नै मार्केटिङ हेरे । मार्केटिङ गर्दाका अनुभव पनि सुरेन्द्रसँग कम रमाइला छैनन् । ‘बजार बुझ्नका लागि बेलाबेला गइरहन्थेँ । असन, इन्द्रचोक, नयाँसडक हाम्रा बजार थिए । कसैले चियाको मूल्य बढी भयो भन्थे, कसैले सरकारी कम्पनीले पनि भारतबाट ल्याएको चियाभन्दा पनि महँगो बेच्ने भन्थे,’ उनी सम्झिन्छन्, ‘त्यतिबेला सरकारी सामान एकदमै सस्तो हुनुपर्छ भन्ने मान्यता थियो । चियाको मूल्य ७० रुपैयाँ थियो । हम्रो मार्जिन त्योभन्दा अलिकति कम हुन्थ्यो । मान्छेलाई कन्भिन्स गर्ने काम सजिलो होइन ।’ त्यो बेला, झापा, इलाम, कन्यामजस्ता ठाउँबाट चिया काठमाडौं ल्याएर प्रशोधन गरी बजार पुर्याउने गरिएको उनी बताउँछन् । त्यतिबेला उनको सरकारी तलब महिनाको ३ हजार रुपैयाँ थियो । ००० यती ट्राभल्समा काम गर्ने क्रममा नै गाइडको लाइसेन्स लिइसकेका सुरेन्द्रलाई चिया विकास समितिबाट रिटायर हुनासाथ के गर्ने भन्ने तनाव भएन । उनले त्यहाँबाट रिटायर भइसकेपछि फेरि टुरिस्ट गाइडको काम सुरु गरे । उनलाई एडभेन्चर ट्राभल्स एजेन्सीबाट गाइडिङका लागि अफर आयो । तर, उनले फ्रिलान्सर भएर काम गर्न थाले । उनलाई एकपछि एक ट्राभल एजेन्सीबाट अफर आउन थाल्यो । ‘त्यसरी जब होल्डर भएर काम गरिनँ मैले,’ उनी भन्छन्, ‘आफ्नै घरमा बस्ने, आइडेन्टीटी उपलब्ध गराउने हो । राम्रो काम गर्नेका लागि कामको कमी हुँदैन ।’ अहिलेसम्म सुरेन्द्रले तीन दर्जनजति ट्राभल कम्पनीका लागि काम गरिसकेका छन् । टुरिस्ट गाइडिङका अनेकौं अनुभव सँगालेका छन् सुरेन्द्रले । उनी अंग्रेजी भाषामा टुरिस्टलाई गाइड गर्छन् । हुन त उनले बिकम पढ्ने बेला नै जापानी र फ्रेन्च भाषा सिकेका थिए । उनले गाइड नै गर्छु र मलाई यो चाहिन्छ भनेर सिकेका भने होइनन् । ‘केही भाषा सिक्यो भने विदेश नै जानुपर्यो भने पनि काम लाग्छ भनेर सिकेको थिएँ,’ उनले भने, ‘त्यतिबेला युनाइटेड नेसनमा काम गर्ने धेरैजना विदेश गएका थिए । मलाई पनि अवसर धेरै ठाउँमा थियो ।’ तर, आफूले सिकेका दुई भाषा जापानी र फ्रेन्च भने काम नलागेको उनी बताउँछन् । सुरेन्द्रले टुरिस्ट गाइड बनेर नेपालका अधिकांश पर्यटकीयस्थलमा पर्यटक घुमाइसकेका छन् । उनी चितवन, पोखरा, भैरहवा, लुम्बिनी, पाल्पा र काठमाडौं उपत्यकाका सबै ठाउँ पुगेका छन् । ००० आधा जीवनभन्दा बढी अवधि पर्यटकसँग बिताएका सुरेन्द्रसँग अनेकौं अविस्मरणीय पल छन् । ‘अमेरिकीलाई घुमाउँदा धेरै आनन्द आउँछ,’ उनी सुनाउँछन्, ‘अमेरिका उन्नत देश त्यसै भएको रहेनछ । नेपाल आउने बेला पनि यो विकासशील देश हो । यिनीहरूले पनि विकास सिक्दैछन्, हामीले सहयोग गर्नुपर्छ भनेर सोच्ने रहेछन् । उनीहरू एकदमै स्नेही मान्छे हुन् । उनीहरूसँग घुलमिल हुँदा मलाई धेरै रमाइलो लाग्छ ।’ नेपाल आउने पर्यटकले नेपालसँग विकास गर्ने प्रशस्त माध्यम हुँदाहुँदै पनि किन विकास हुन नसकेको भन्ने प्रश्न गर्ने सुरेन्द्र बताउँछन् । ‘उनीहरू खासगरी हाम्रो देशको भाषा, संस्कृति, इतिहास, धर्म, वेषभूषा, सम्पदा लगायतका बारेमा जान्न इच्छुक हुन्छन्,’ उनी भन्छन्, ‘हाम्रा १६औं शब्तादीमा बनेका मठमन्दिर देख्दा उनीहरू दंग पर्छन् । त्यतिबेला तिमीहरू यति उन्नत रहेछौ, हाम्रो त केही थिएन १६औं शताब्दीमा भन्छन् ।’ सुरेन्द्रले अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडालगायत देशका टुरिस्टलाई गाइड गरेका छन् । उनीहरूलाई गाइड गर्ने क्रममा अनेकौं कुरा सिक्न र सिकाउन पाउँदा उनलाई खुसी लाग्ने गर्छ । ‘यति धेरै विदेशीलाई घुमाएँ र अझै पनि घुमाउँदै छु,’ उनी भन्छन्, ‘अहिलेसम्म मैले त्यस्तो नमिठो अनुभव गर्नुपरेको छैन ।’ ००० लगनशील भएर लाग्ने हो भने गाइडिङ पेसामा रहेर पनि आनन्दले जीवन निर्वाह गर्न सकिने सुरेन्द्रको अनुभव छ । ‘निरन्तरता दिनुपर्यो पहिलो कुरा,’ उनी भन्छन्, ‘आफ्नो भाषा सुधार गर्दै जानुपर्यो । साइट सिइङ गर्न जाने बेला हामीले पर्यटकलाई विस्तार गर्ने विषयवस्तुको राम्रो ज्ञान भयो भने दुःख हुन्छ जस्तो मलाई लाग्दैन ।’ आफ्ना हातखुट्टा चल्दासम्म गाइड गरिरहने सुरेन्द्र बताउँछन् । उनले धेरै देशका पर्यटकलाई गाइडिङ गरे । तर, उनलाई पश्चिमी देशका मान्छे गाइड गरिरहँदा उनीहरूको मधुर बोली, म्यानर, खाना खाने तरिका, उठबस र व्यक्तित्व निहार्दा निकै घत लाग्ने गर्छ । ‘मैले उनीहरूको त्यो व्यक्तित्व अपनाउन धेरै परिश्रम गरेँ,’ उनी भन्छन्, ‘कति सफल भएँ थाहा छैन । तर, म उनीहरूबाट धेरै इम्प्रेस्ड (प्रभावित) छु, हामी आफूलाई धर्म संस्कृतिका हिसाबले कल्चर्ड कन्ट्री त भन्छौं, उनीहरू आफ्नो बानी व्यवहारलाई कल्चर मान्छन्, यो हामीले अनुशरण गर्नुपर्ने एउटा पक्ष छ ।’ ००० सन् १९९८ देखि २००१ सम्म नेपालको पर्यटकीय अवस्था एकदमै राम्रो भएको सुरेन्द्र बताउँछन् । त्यसपछि दशक लामो आन्तरिक द्वन्द्व, प्राकृतिक विपत्तिले हेर्न लायक संरचना ढलेपछि बिस्तारै पर्यटक कम हुँदै गएको उनको अनुभव छ । ‘आन्तरिकरूपमा हेर्ने हो भने पर्यटकका लागि चाहिने वातावरण हामीले सिर्जना गर्न सकेका छैनौं,’ उनी भन्छन्, ‘हामीसँग अझै विश्वलाई देखाउनुपर्ने धरोहर धेरै बाँकी छन् । तर, तिनीहरूको हुनुपर्ने संरक्षण, त्यहाँ जाने बाटोघाटो र सुगमता विकास गर्न सकेका छैनौं ।’ पर्यटक जान रुचाउने क्षेत्रमा बाटोघाटो नभएको सुरेन्द्र बताउँछन् । सबै पर्यटक ट्रेकिङ नै गर्न रुचाउँछन् भन्ने नहुने उनको भनाइ छ । ‘धेरै पर्यटक हिमाली क्षेत्रमा जान रुचाउँछन्, माउन्टेन फ्लाइट गर्न रुचाउँछन्, जाने माध्यम हवाई मार्ग हो,’ उनी भन्छन्, ‘हाम्रा जहाजलाई युरोपियन युनियनदेखि लिएर आइकाओसम्मले ब्ल्याक लिस्टमा राखेको छ, यसले पनि नराम्रो सन्देश प्रवाह भइरहेको छ ।’ काठमाडौंलाई मात्रै टुरिज्म हब भनेर भन्न नमिल्ने सुरेन्द्रको तर्क छ । ‘हामीकहाँ आउने पर्यटक ट्रेकिङ जान्छन्, हिमाल जान्छन्,’ उनी भन्छन्, ‘काठमाडौंको ट्राफिक जुन छ, त्यो एकदमै डरलाग्दो छ, हामीले एयरपोर्टबाट होटल लैजाने समयमा उनीहरूले यो अवस्था नजिकबाट नियालिरहेका हुन्छन्, यहाँको धुलो, धुवाँ, ट्राफिक अस्तव्यस्तता देखेर यसकै लागि हामीले ८–१० हजार डलर खर्च गरेका हौं त भनेर प्रश्न पनि गर्छन् ।’ सरकाले देखेको पर्यटनबाट देशको समृद्धिको सपना अहिले भइरहेका प्रयासबाट मात्रै सम्भव नहुने सुरेन्द्र बताउँछन् । ‘सरकारले पर्यटक भित्र्याउन केही गरेकै छैन,’ उनी भन्छन्, ‘गरेको भए कागजमै गरेको होला, सुरुमा गर्नुपर्ने महत्वपूर्ण काम भनेको ट्राफिक नियन्त्रण हो, भिसामा पनि सहुलियत दिनुपर्यो, पूर्वाधार विकास हुनुपर्यो, गाडीबाट चढ्ने र झर्ने ठाउँ तोकिनुपर्यो, उनीहरूको सहजता हेनुपर्यो, तब न लक्ष्य पूरा हुन्छ ।’ पर्यटन मन्त्रालय, पर्यटन विभाग तथा पर्यटन बोर्डले देशमा भएका ट्राभल ट्रेड तथा गाइडलाई पर्यटनका के समस्या छन् भनेर सोध्नुपर्ने बताउँछन् उनी । समस्या पहिचान गरेर समाधानतर्फ लाग्न सकियो भने मात्रै नेपालमा पर्यटक वृद्धि गरेर समृद्धिको सपना साकार हुने उनी बताउँछन् ।
प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जनप्रतिनिधिले ‘दलभन्दा ठूला जनता हुन्’ भन्ने कुरालाई बिर्सनु हुँदैन : सांसद कार्की
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन् । ‘हामी किन दलभन्दा माथि उठ्न सक्दैनौँ रु दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ’, उनले भनिन्, ‘तर कुनै पनि दलले देश र जनताको हितमा बोल्छ भने एक भएर काम गर्नसक्नुपर्ने हो ।’ दलीय ह्वीपका कारण पनि सांसद स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘सातवटा प्राज्ञिक प्रतिष्ठानमा उच्च पदाधिकारीको चयन भइरहँदा ३२ पदाधिकारीमा एकजना महिला पर्नुभएन । योग्य र क्षमतावान महिला नभएका भने होइनन्’, संसदीय अभ्यासको एक वर्षको अनुभूति साट्दै उनले सुनाइन्, ‘त्यही कुरा सदनमा उठाउँदा मेरो पार्टीका सांसदमात्र सहमत हुने र अन्य दलका महिला सांसद त्यसमा समर्थन जनाउन सक्नुहुन्न, किनकि उहाँहरूलाई पार्टीको ह्वीप लाग्छ ।’ अर्कातर्फ उनले संसदभित्रै पनि महिला सांसदपछि पार्न खोजिएको महशुस हुने बताइन् । ‘हामी दुई सय बढी सांसद छौँ । तर काम गर्ने बेला अरु सबै सांसद निरीह भएर बसेको हुन्छ’, उनले भनिन्, ‘अग्रभागमा पुरुषहरूमात्र छन् । महिलाहरू नगन्य छन् । महिलालाई अगाडि आउन दिइएको छैन । त्यही पार्टीको १०–१५ जनाले निर्णय गर्ने र सदन चलाउने हो भने राज्यले दुई सय ७५ जनामा किन खर्च गर्नु ?’ प्रसूति एवं स्त्रीरोग विशेषज्ञका रूपमा ३५ वर्ष सेवा गरेकी डा कार्कीका लागि यो पहिलो संसदीय अभ्यास हो । स्वास्थ्य सेवामा लामो समय बिताएकी उनी राजनीतिक गतिविधिसँग अभ्यस्त भए पनि यसअघि आफूसँग राजनीतिका लागि समय नभएको जानकारी दिइन् । “मैले राजनीति गर्छु भनेर सोचेको थिइनँ । यो एउटा सुन्दर संयोग थियो”, उनले भनिन् । सरकारी चिकित्सकका रूपमा १५ वर्ष देशका विभिन्न स्वास्थ्य सस्थामा काम गरेकी डा कार्कीले पछिल्ला समय काठमाडौँ मेडिकल कलेजको प्रधानाध्यापक, प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ प्रसूति एवं स्त्रीरोग विशेषज्ञको भूमिकामा २१ वर्ष काम गरिन् । उनले भनिन्, ‘उक्त कलेज खरिद बिक्रीका क्रममा मैले राजीनामा दिएँ । त्यही बेला नयाँ राजनीतिक पार्टी रास्वपाको उदय हुँदै थियो, उहाँहरूसँग कुराकानीका क्रममा समाज र देशलाई केही दिन सक्छु भन्ने हुटहुटीले जोडेको हो । मेरो राजनीतिक यात्रा त्यहीँबाट सुरु भयो ।’ रास्वपाबाट समानुपातिक सांसद डा कार्कीले विधायिकाको रूपमा पहिलो वर्ष सिकाइ र अध्ययनमा धेरै केन्द्रित भएको जानकारी दिइन्। विधायिकाका लागि अध्ययनशील बानीको विकास अनिवार्य भएको उनको बुझाइ छ । ‘म राजनीति गरेरै यहाँसम्म आएको होइन । तर चिकित्सकीय भूमिकामा मात्र होइन, जनप्रतिनिधिका रूपमा पनि धेरै अध्ययन जरुरत देखेँ । संविधान, प्रतिनिधिसभाका नियमावली, संसदीय अभ्यास र सम्बन्धित प्रचलित ऐन कानुन अध्ययन गर्न समय खर्चिएँ’, उनले बताइन् ‘अध्ययनसँगसँगै संसदीय अभ्यास गर्यौँ र नयाँ पार्टी भएकाले पार्टी विस्तारमा पनि केही समय खर्चिएकै हो ।’ संवादका क्रममा ६५ वर्षीया सांसद कार्कीले एक वर्षको संसदीय अनुभवलाई सिकाइका दृष्टिकोणबाट अर्थपूर्ण रहेको बताइन् । राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यसमेत रहेकी सांसद कार्कीले कानुन निर्माणमा आफूले कुनै पनि प्रयासमा नचुकेको दाबी गरिन् । तर सदनबाट एक वर्षमा एक विधेयकमात्र पास भएकोप्रति भने उनी सन्तुष्ट छैनन् । उनले विशेषत स्वास्थ्य, शिक्षा र भ्रष्टाचार सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएकी छिन् । भ्रष्टाचार नै समस्याको मूल जड भएको उहाँको भनाइ छ । उनले भनिन्, ‘स्वास्थ्य, शिक्षा र रोजगारीको प्रवर्द्धन गर्नुपर्ने राज्य नै भ्रष्टाचारमा लिप्त हो कि भन्ने आशङ्का आमजनतामा उब्जिएको छ । विद्यमान समस्या र चुनौती कसरी समाधान गर्ने भन्नेमा कसैको ध्यान छैनजस्तो देखिन्छ ।’ आमजनतामा सरकार र समग्र नेपाली राजनीतिक दलप्रति अविश्वासको खाडल बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् । जनभावनाअनुरुप काम गर्न अहिलेको नेतृत्व चुकेको उनको बुझाइ छ । उनले भनिन् ‘जनप्रतिनिधि सबै बसेर विभिन्न समस्या र चुनौतीको समना एवं समाधानका लागि छलफल गर्ने अभ्यास कम छ । तर सदन दलहरूबीचको वक्तृत्वकलाको प्रतिस्पर्धाजस्तो हुँदै आएको छ ।’ उनले संसद्को विभिन्न समयमा जनसरोकारका विषयप्रति सरकारको ध्यानााकर्षण गराउन पनि सम्बोधन हुन नसकेको बताइन् । ‘स्वास्थ्यमा यस्ता धेरै विषय उठाए जुन सुन्दा सामान्य लागे पनि त्यसको गहिरो प्रभाव आममानिसमा परिरहेको छ, त्यस्ता विषयमा राज्य गम्भीर बन्न सकिरहेको छैन’, उनले भनिन्, ‘आफू सरकारमा नहुँदा ‘डेलिभर’ गर्न ग्राहो छ । बोल्दामात्र सरकारले कति विषय सुन्दैन, कतिपय अवस्थामा निरीह महसुस हुन्छ ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रणालीको विकास गर्नुपर्नेमा जोड दिइन् । सरकारी अस्पतालप्रति जनताको विश्वास आर्जन गर्न स्वयं नेतृत्वले सरकारी अस्पतालबाट सेवा लिनुपर्ने उनको भनाइ छ । ‘यदि हाम्रो स्वास्थ्य संस्था सुधार्नु छ भने देशका शीर्षनेता एवं उच्च पदाधिकारीलाई देशभित्रकै सरकारी अस्पताल जानुपर्ने कानुन निर्माण गर्नुपर्ने कुरा उठाउँदै आएको छु’, उनले भनिन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिको प्रवेशले धेरै कुरा बिग्रिएको उनको धारणा छ । उनले स्वास्थ्यमा दरबन्दी थप्ने, स्वास्थ्यकर्मीको पारिश्रमिकमा मूल्याङ्कन र समीक्षा गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै चिकित्सक एवं स्वास्थ्यर्कीप्रतिको बुझाइमा सकारात्मक सोच आवश्यक भएको बताइन् । ‘स्वास्थ्य संस्था राम्रो हुन चिकित्सकमात्र आवश्यक छ भन्ने बुझेका छौँ । तर स्वास्थ्य संस्था भनेको पियनदेखि सबै स्वास्थ्यकर्मी जरुरत हुन्छ’, उनले भनिन्, ‘चिकित्सा शिक्षाको महँगो शुल्क नघटाउने तर स्वास्थ्यकर्मी र चिकित्सकको पारिश्रमिक एवं सेवा–सुविधालाई नहेरिदिँदा उहाँहरूलाई प्रोत्साहन मिल्दैन ।’ संवादका क्रममा उनले संसदीय तालिका बनाउनुपर्ने बताइन् । ‘हामीले संसद्मा पटक–पटक ‘क्यालेण्डर’को माग गरिरहेका छौँ । यो वर्षमा हामीले के–के काम गर्छौँ, त्यसको तालिका त हुनपर्यो नि’, उनले भनिन्, ‘जनतालाई भेट्न देशका दूरदराज पुगिरहँदा यहाँ सदन सुरु भएको थाहा हुँदैन । कतिपय अवस्थामा बिहान ११ बजे बोलाएर बैठक साँझ ५ बजेसम्म बस्न सक्दैन ।’ महोत्तरीको औरहीमा जन्मिएकी उनले विद्यालयको प्राथमिक शिक्षादेखि उच्च शिक्षा हासिल गर्न र चिकित्सक बन्न धेरै सङ्घर्ष गर्नुपर्यो । ‘छोरीलाई पढाउनु हुँदैन भन्ने त्यो समयबाट चिकित्सा क्षेत्रको उच्च पदाधिकारी तहसम्मको मेरो यात्रा अवश्य पनि सहज थिए’, उनले बताइन् । कक्षा ७ मा अध्ययन गर्दैगर्दा आमाको उपचारका लागि काठमाडौँ आएपछिका दिनको स्मरण गर्दै उनले भनिन्, ‘त्यो समयमा गाउँमा स्वास्थ्यकर्मीको अभावका कारण आमाको उपचारका लागि काठमाडौँ आउन बाध्य भयौँ । काठमाडौँमा मधेसको केटी भनेर भर्ना लिन मानेन । मेरो मामाले पद्मकन्या डिल्लीबजारमा जसोतसो भर्ना गर्दिनुभयो ।’ विद्यालय जीवनमा सधैँ प्रथम भएको उनले देशभित्रै पर्याप्त रोजगारी र सुनिश्चित भविष्यको आधार नबनाएसम्म युवा विदेश पलायन रोक्न नसकिने गुनासो गरिन् । ‘नेताज्यूहरूले जेल गएको आन्दोलनको अनुभव सुनाउनुहुन्छ । उहाँहरूको राजनीतिक कर्मसँगसँगै हामी जनताले भोग्नुपरेका अनुभुति पनि कम छैनन् जस्तो लाग्दछ मलाई’, उनले भनिन्, ‘रोजगारीको अभावमा नेपालीहरू विदेशिन बाध्य छन् । मेरै बालबच्चा बाहिर जान्छन् मैले रोक्न सक्दिनँ । यहाँ रोजगारी र भविष्य सुनिश्चित गर्नसके कसलाई आफ्नो सन्तान बाहिर पठाउन मन हुन्छ ?’ रासस
नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उनले भने, ‘टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।’ यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उनले जानकारी दिए । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन । उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उनका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ । गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ । गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो । तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी)को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । रासस
नेफ्स्कून महासचिवमा सापकोटाको उम्मेदवारी
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभामा सापकोटाले महासचिवको उम्मेदवारी घोषणा गरेका हुन् । संघको बहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशील छन । यहि पौषको ७ र ८ गते काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारण सभामा देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदै छ । सहकारी अभियान भित्रको मजबुद संगठनको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लियर अभियान भित्र भावी नेतृत्वको विषयमा विभिन्न अडकलवाजीहरु चलिरहेका छन् । तीन ठूला राजनैतीक दलहरुको बाहुल्यता रहेको नेफस्कुनमा सबै पार्टीले आआफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । राष्ट्रिय सहकारी विकास वोर्डको कार्यकारी सदस्य सहित राष्ट्रिय युवा परिषदको समेत सदस्य समेत रहेका सापकोटा नेफ्स्कूनको लुम्विनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन् । पछिल्लो समय साकोस अभियानमा देखिएको अविश्वास र अभियान भित्रको शुद्धिकरण रहेको र राज्यसँग नीतिगत बहस पैरवी र अभियानलाई सहि दिशामा डोर्याउन सक्ने नेतृत्वसँग कार्यगत एकता हुनसक्ने सापकोटाको धारणा छ । नेफ्स्कूनको ३२औं साधारणसभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहासचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक सहित तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन हुँदै छ । हाल नेफ्स्कूनमा करिब पाँच हजार बचत तथा ऋण सहकारी संघ संस्था आबद्ध छन् ।
चोभारको मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, कति लाग्छ शुल्क ?
काठमाडौं । काटमाडौंको चोभार स्थित मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ । जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई एड्भेञ्चरु, दोस्रोलाई डेयर डेभिल्सु र तेस्रोलाई द फनु नामाकरण गरिएको छ । लोकप्रिय नायिका वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी छन् । उनले ३ चरणको जिपलाइनमा अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन् । जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । जेबी एड्भेन्चरले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृती लिएपश्चात जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए । दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुने उनको भनाइ छ । १ सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए । कति लाग्छ शुल्क ? कम्पनीले जिपलाइनको पुरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ । टेण्डम (जोडी) जिपलाइनको मज्जा १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ । विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् । कसरी पुग्ने ? एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटरको दूरीमा मन्जुश्री पार्क पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडी चडेर जान सकिन्छ । रिङरोडको बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ । बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ । एड्भेन्चर हब बनाउने भावी योजना ? कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । जिपलाइन पनि सोही अन्तर्गतको परियोजना भएको महर्जन बताउँछन् । उनले भने, ‘हामीले जिपलाइन सञ्चालन गरिसकेपश्चात क्रमश: अन्य गतिविधि पनि लञ्च गर्छौं । जसका लागि तयारी भइरहेको छ । यो ठाउँलाई एडभेञ्चर हब बनाउने हाम्रो लक्ष्य हो ।’ कम्पनीले चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरु गर्ने महर्जनले बताए ।