मौरी चराउन चितवनका किसान चिउरी पाखामा
भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् । ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।’ उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए । चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए । ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ’, उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।’ उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए । चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए । ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो ।’ चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए । उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् । जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउँछन् । उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।
पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँ घट्यो, अब कति पर्छ ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । इण्डियन आयल कर्पोेरेसनले मंसिर २९ गते पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३.०७ रुपैयाँ र डिजेलमा ३.१६ रुपैयाँ मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्रै मुल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४.५० रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको लिटरको १५४ .५० रुपैयाँ पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।
मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब रुपैयाँ कर संकलन
काठमाडौं । सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू भएपछि एकै दिन ११ अर्बभन्दा बढी कर संकलन भएको छ । मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि धमाधम बैंक तथा वित्तीय संस्थाले कर तिर्न थालेका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको हो । अर्थमन्त्री डा.महतले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए । संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बुँदा बदर गर्न माग गर्दै बैंक तथा वित्तीय संस्थाहरूले गत भदौ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वाेच्चले सरकारको निर्णयलाई सदर गरेको हो ।
अब एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो । ‘यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निर्क्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहन नपर्ने व्यवस्था मिलाउने गरेका छौं’, उनले भने । यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पूर्जी लिएर आउनुपर्ने व्यवस्था थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उनले जानकारी दिए । स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असारमसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ । समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन् । विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आइटी शाखाबाट एकजना रहन जनाइएको छ । एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन् । यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन-तीन महिनाको औषधि पाउने भएको उनले बताए । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक-एक महिनाका लागि औषधि दिने गरिन्थ्यो । बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शूल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ । औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन । विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल रु एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउँछन् । एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप रु सात सय थप्नुपर्छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् । रासस
नेशनल फण्डको पहिलो साधारण सभाले पारित गर्यो प्रस्तावित लाभांश
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । मंसिर २८ गते सम्पन्न फण्डको पहिलो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । स्थापनाको पहिलो वर्षमै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ । नेशनल फण्ड विभिन्न संगठीत संस्थाहरुको ७५ प्रतिशतभन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो ।
कामना सेवाको सीबीओमा दिपेन्द्र सुवेदी नियुक्त, बैंकिङ क्षेत्रमा १७ वर्षको अनुभव
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) मा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । नवनियुक्त सीबीओ सुवेदीले शुक्रबार आफ्नो पदबहाली गरेका छन् । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदी कामना सेवामा जानुअघि सांग्रिला डेभलपमेण्ट बैंकमा कार्यरत थिए । सुवेदीको नियुक्तिले बैंकको व्यवसाय वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ । उक्त स्वागत तथा पदबहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो । बैंकले हाल १३५ वटा सञ्जाल, ७७ वटा एटीएमबाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
काठमाडाैं । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र मार्शल कानून अन्तर्गत समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्नेछ,’ युक्रेनी वित्त मन्त्री सेर्गी मार्चेन्कोले भने। ‘ईएफएफ कार्यक्रमले युरोपेली सङ्घमा पूर्ण एकीकरणको बाटोमा युक्रेनी सरकारको आर्थिक कार्यक्रमको विकासको लागि एक ठोस आधार बनाउनेछ,’ मार्चेन्कोले भने । गत मार्चमा आईएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पु¥याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलर बराबरको ४८ महिनाको ईएफएफ व्यवस्था स्वीकृत गरेको थियो । यस कार्यक्रम अन्तर्गत पूर्वी युरोपेली यस मुलुकले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ । रासस