नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट, को–को सिफारिस भए ?
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको आइतबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैंकको सीईओ पदका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्ट गरिएको हो । योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफासिर गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए । बैंकका सीईओका लागि देवेश प्रसाद लोहनी, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, दिर्घ बहादुर अर्याल, कृष्ण प्रसाद आचार्य, छबिराज पन्त, राजुनाथ खनाल, बिष्णुदेव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ र प्रताप सुवेदीले आवेदन दिएका थिए । बैंकका पूर्व सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि बैंकले नयाँ सीईओका लागि विज्ञापन आह्वान गरेको थियो ।
त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोह आज, साढे १२ हजार विद्यार्थी दीक्षित हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज सोमबार हुँदैछ । समारोह बिहान साढे ११ बजेबाट दशरथ रङ्गशालामा सुरु गरिने त्रिविले जनाएको छ । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गरिने भएको हो । ४९ औँ दीक्षान्त समारोह प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि हुने भएका छन् । यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुने भएका छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् । यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो । यसैबिच दीक्षान्त समारोहका लागि पार्किङ स्थल पनि तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वल्र्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो । टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ । त्यस्तै विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधनहरू, वल्र्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।
सहकारी सञ्चालक विदेश फरार, पीडित धर्नामा
काठमाडौं । सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता बचत फिर्ताका लागि धाएका २ वर्षसम्म पनि जम्मा गरेको पैसा पाउन नसकेपछि धर्ना र सहकारीका सञ्चालकविरुद्धको विरोधमा दैनिक एकजुट हुन थालेका हुन् । सहकारीले २ वर्षदेखि मागे जति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा ७ हजार ७ सयभन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको १ अर्ब २० करोड ८० लाख ४८० रुपैयाँ रहेको उनले जानकारी दिए । समितिले सहकारी विभाग नयाँ बानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा ६० करोड रुपैयाँ ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । ६ करोड रुपैयाँ मात्र धितो राखेर लगानी गरेको पाइएको सहकारी बचत पीडित समस्या समाधान कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले सुनाए । धर्नामा दैनिक पीडितको सङ्ख्या बढ्न थालेको छ । पीडित बढ्न थालेपछि जोरपाटी सुन्दरीजल सडक अवरुद्ध नहोस् भनी ट्राफिक प्रहरी नै खटाउन थालिएको छ । आइतबारको धर्नालाई सम्बोधन गर्दै सहकारी बचतकर्ता राष्ट्रिय अभियानका अध्यक्ष कुस्लव केसीले बचतकर्ता समस्यामा परेकाले राज्यले बचतकर्तासँग लिएको ५ प्रतिशत रकम फिर्ता गरेर समस्या समाधानमा सहयोग गर्नुपर्नेमा जोड दिए । राजनीति गर्नेहरु मिलेर सहकारीमा समस्या आएको उल्लेख गर्दै उनले बचतकर्ता एक भएर सडकमा आएमात्र बचत फिर्ताका लागि दबाब सृजना हुने भनाइ राखे । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म सङ्घर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन् । ६ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित रोजी पोखरेलले बताए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए । सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन् । सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले ७० लाख रुपैयाँ ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् । श्रेष्ठ अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ । सहकारी खोलेपछि सञ्चालकका झुपडी दरबारमा बदलिएको तर बचतकर्ताको पैसा फिर्ता हुन नसकेकाले पीडित सङ्गठित हुन थालेका हुन् ।रासस
प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गर्यो टिभीएस रोनिन, मूल्य ४ लाख ४९ हजार रुपैयाँ
काठमाडौं । टिभीएस मोटर कम्पनीले टिभिएस रोनिन ’मोडर्न-रेट्रो’ मेसिन सार्वजनिक गरेको छ । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभीएस मोटर कम्पनीले नेपालका ग्राहकहरूका लागि टिभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो । टिभीएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न-रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । यसै अवसरमा ८ स्थानीय ब्लगर/ईन्फ्लुएन्सर/सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभीएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू-भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो । कम्पनीका अनुसार टिभीएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिन्छ । २२५ सीसीको यस मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर-टू-वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ । टिभीएस रोनिनले यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्ने कम्पनीको दावी छ । लन्चको बारे बोल्दै प्रिमियम, टिभीएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभीएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको बताए । त्यस्तै, लन्चको बारेमा टिप्पणी गर्दै पीटी टिभीएस मोटर कम्पनीका अध्यक्ष निर्देशक जे थङ्गराजनले यो मोटरसाइकलको लन्चले कम्पनीको उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिवद्धतालाई जनाउने बताए । टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस रोनिनको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्ने बताए । टिभीएस रोनिन नेपाली बजारमा टीडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबीएस) मा उपलब्ध हुनेछ । पुस महिनादेखि नेपालभरका टिभीएस मोटर आउटलेटहरूमा उपलब्ध हुने टिभीएस रोनिनको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
इलेक्ट्रीशियनलाई लिट्मस केबल्सको ७ महिने योजना : स्मार्टवाचदेखि दुबईसम्मको यात्रा
काठमाडौं । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी ७ महिने योजना ल्याएको छ । कम्पनीले उनीहरुलाई “लिटमस केबल्सः इको वाईरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा ,” नामक योजना ल्याएको हो । जसको मुख्य उद्देश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने हो । कम्पनीका अनुसार लिट्मस केबल्सको इकोवायर जेठएच, नेपालको जिरो हलोगेन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पीभीसी पोलिमरहरूद्वारा बनाइएको तार हो । यसै कारणले, आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन-मुक्त ग्याँसहरू कम गर्दछ, जसले यसलाई सुरक्षित र वातावरण मैत्री बनाउने कम्पनीको दावी छ । यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । साथै, १५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका र २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि इलेक्ट्रीशियनहरूले इकोवायर जेठएच खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ । र, उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन् । कम्पनीको अनुसार यो योजना २०८० पुस १ गतेदेखि आगामी २०८१ असार ३१ गतेसम्म जारी हुने छ ।
हिमालयन रिको आईपीओमा मागभन्दा बढी आवेदन, अब कहिलेसम्म होला बिक्री ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । मागभन्दा कमको आवेदन परेपछि समय थपेर बिक्रीमा राखिएको उक्त आईपीओमा आइतबारसम्ममा मागभन्दा बढी आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । सो अनुसार उक्त आइपीओमा ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । इन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आईपीओको बिक्री खुला गरेको थियो । तर उक्त अवधिसम्म माग बमोजिमको आवेदन नपरेको हुनाले कम्पनीले समय लम्बाएको थियो । अब भने कम्पनीले माग बमोजिम आवेदन प्राप्त भएको खण्डमा भने सार्वजनि सूचना प्रकाशन गरि बिक्री खुला भएको चार कार्यदिनपश्चात कुनै पनि दिन बन्द हुने जानकारी गराएको छ । त्यसैले मागभन्दा बढी आवेदन परेको हुनाले इच्छुक आवेदकले भोलि अर्थात पुस २ गते सोमबारसम्म मात्र आवेदन दिन पाउने सम्भावना बढी छ । यद्पि कम्पनीले हालसम्म बिक्री बन्दको विषयमा कुनै पनि सूचना जारी गरिसकेको भने छैन । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
साउदी अरबबाट रेमिट्यान्स पठाउने तामाङले पाए सिटी एक्सप्रेसको मेगा बम्पर उपहार
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । विजेताको नाम हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा छनोट भएको हो । सोअनुसार साउदी अरबबाट रेमिट्यान्स पठाएका राजु तामाङ विजेता भएका छन् । उनले आफुले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा गरेर ५ लाख ३० हजार ७ सय ५० रुपैयाँ जित्न सफल भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने यो उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार रुपैयाँ र २ जनाले मासिक उपहार जनही एक लाख रुपैयाँ जित्न सफल भईसकेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
आवश्यकताअनुसार मन्त्रिमण्डल फेरबदल हुन सक्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन गर्न सकिने बताएकी छिन् । आईतबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पारिन् । सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताउँदै उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको बताइन् । ‘सरकारले लय गुमायो की भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन । सरकार आफ्नो उद्देश्यमा अविचलित छ । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराहरु छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । अहिले मन्त्रीहरु केही परिवर्तन हुन्छ की भन्नेकुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन, यो सम्भावना तत्काल छैन ।’ उनले भनिन् । प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको समेत स्पष्ट पारेकी छिन् ।