काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । महासंघको ६० औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान पुर्याउने निजी क्षेत्र नै मुलुकको वास्तविक आर्थिक इन्जिन भएको उल्लेख गरे । अध्यक्ष ढकालले पूर्वाधार निर्माणदेखि हरेक सेवा प्रवाहमा निजी क्षेत्रको संलग्नता रहेको चर्चा गर्दै निजी क्षेत्रको अनुपस्थितिमा मुलुकको समृद्धिको कल्पना समेत गर्न नसकिने बताए ।
आफ्नो कार्यकालमा महासंघले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग मिलेर निजी क्षेत्रका एजेण्डाहरूलाई सामूहिक रूपमा अगाडि बढाएको उनले बताए । उनले कालोबजारी ऐन लगायतका पुराना कानूनहरूमा सुधार ल्याउन गरिएको प्रयास र निजी क्षेत्रको साख अभिवृद्धि गर्न ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन योजना’ (पीएसपीपी) पारित हुनुलाई ठूलो उपलब्धि मानेका छन् ।
उक्त योजनाको प्रभावकारी कार्यान्वयन भएमा निजी क्षेत्रले अझ सशक्त रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने उनको विश्वास छ ।
उनले भने, ‘विगत तीन वर्षमा हामीले पुराना कानुनहरूको संशोधन र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उल्लेखनीय पहल गरेका छौँ । सरकार र निजी क्षेत्रबिच ‘पक्ष र प्रतिपक्ष’ को जस्तो सम्बन्ध रहनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ र यसमा हामी एक हदसम्म सफल पनि भएका छौँ । निर्वाचनको प्रतिष्पर्धा भोट हाल्ने दिनसम्म मात्र सिमित हुनुपर्छ ।’
महासंघको आगामी नेतृत्व चयनका सन्दर्भमा बोल्दै अध्यक्ष ढकालले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरेको तर त्यो सम्भव हुन नसकेको जानकारी दिए । उनले नयाँ आउने नेतृत्व र टिमले निजी क्षेत्रका अधुरा कामहरूलाई पूर्णता दिनेमा विश्वास व्यक्त गरे ।