विकासन्युज

खर्च धान्न मुस्किल परेपछि मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स-साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ । सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको उनको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनले बताए । सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएका छन् । यसैबीच, नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रासस

वसन्तपुरमा मनाइयो ११ औँ नेपाली टोपी दिवस

काठमाडौं । ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औं नेपाली टोपी दिवस मनाइएको हो । दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताइएको छ । उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान, हाम्रो राष्ट्रिय पहिचान टोपी लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

अङ्ग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल

भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । अङ्ग्रेजी नयाँ वर्र्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटक नगरकोट पुगका छन् । आइतबार राति बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । लामो समय ओरालो लागेको पर्यटन व्यवसायमा दुई वर्षयता चहलपहल बढेको र यस वर्षको अङ्ग्रेजी नयाँ वर्र्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक अशोक थापा बताउँछन् । उनले भने, ‘विदेशी पर्यटकको चाप पनि बढ्दै गएको छ, स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ ।’ सामान्यदेखि तारे होटलमा नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप निकै बढेपछि व्यवसायी उत्साहित भएका छन् । स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका होटल मेरीगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउँछन् । उनी भन्छन्, ‘कोरोनापछि पहिलोपटक यतिधेरै पर्यटक आएका छन् ।’ चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्षमा आन्तरिक पर्यटक नै बढी मात्रामा घुम्न आएका बताए । उनले भने,’एकसाता अगाडिदेखि होटल बुक भएका थिए, कोठा नै नपाउने अवस्था आयो, नेपालीमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छौँ ।’ चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताए । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । उनले नगरकोटदेखि चाँगुनारायण मन्दिरको प्रचारप्रसार गर्न भ्रमण वर्ष मनाउन लागिएको बताए । सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको संगमस्थल रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँ पर्यटकले रातभरि नाचगान गरी नयाँ वर्ष मनाएको होटल व्यवसायी रामसुन्दर बकेक्ले बताए । नयाँ वर्षका लागि आफ्नो होटल सात दिन अघि नै बुक भएको उनको भनाइ छ । रासस

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सिके राउत पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । अध्यक्ष राउतसँगै प्रदर्शनकारीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । माईतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।

मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस १३ गते बसेको बैठकले करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार संस्थाले नगद लाभांशबापत कुल ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

उपकार लघुवित्तका दुई सञ्चालकको राजिनामा स्वीकृत

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाका दुई सञ्चालकोको राजिनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्याम प्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।

नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा आयोग गठन

काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो । आयोगका सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आउँदा दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझाव पेस गर्ने गरी आयोगले आजैदेखि काम थाल्ने उनले जानकारी दिइन् । ‘यो आयोगलाई एउटा कार्यादेश दिइएको छ । उक्त घटनामा भएको मानवीय, भौतिकलगायतका अन्य क्षतिको विवरण अध्ययन, विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गर्ने, दोषी देखिएको जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्ने’, उनले भनिन् । यो आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक कदम चाल्ने उनले बताइन् । गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।