विकासन्युज

वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष, सुनको मूल्य हालसम्मकै उच्च  

काठमाडौं । वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । परोक्ष प्रभाव भने विश्वभर देखियो । आपूर्ति शृङ्खला खलबलिँदा खाद्य सङ्कट, ऊर्जा तथा पेट्रोलियम सङ्कटलगायतको सामना मानव जगत्ले गर्नुपर्यो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा देखिएको व्यवधानलगायतका कारण मुद्रास्फीति उच्च रहन गएको पृष्ठभूमिमा हुन गएको ब्याजदरको बढोत्तरीले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त देखियो । कोभिड–१९ महामारीका कारण सिर्जित समस्याको निराकरण हुन नपाउँदै रूस–युक्रेन युद्ध र पछिल्लो समय इजराइल–हमास तनावका बाछिटा विश्व अर्थतन्त्रमा देखिए । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ । मुद्राकोषको गत अप्रिलको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२३ मा दुई दशमलव आठ प्रतिशत र सन् २०२४ मा तीन प्रतिशतले विस्तार हुने देखिएको छ । त्यस्तै, उच्च मुद्रास्फीतिको स्थिति विश्व अर्थतन्त्रका लागि यस वर्षको अर्को ठूलो समस्याका रूपमा रह्यो । सन् २०२३ मा विश्व मुद्रास्फीति सात प्रतिशत र सन् २०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण मुद्राकोषले गरेको छ । अधिकांश देशका केन्द्रीय बैङ्कहरूले सन् २०२२ को सुरुदेखि अवलम्बन गर्दै आएको कसिलो मौद्रिक नीतिको कार्यदिशालाई सन् २०२३ मा पनि कायमै राखे । विकसित मुलुकहरूले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रभाव वित्तीय बजारमा पर्न नदिन उदीयमान मुलुकहरूले पनि कसिलो मौद्रिक नीति अपनाए । चर्को ब्याजदर र कर्जा विस्तारमा सङ्कुचनको अवस्था अधिकांश मुलुकका बैङ्क वित्तीय संस्थामा देखियो । चर्को मूल्यवृद्धि र उपभोक्ता खपतमा ह्रासको स्थिति उपभोक्ता बजारमा देखियो । अमेरिकी बैङ्क धराशायी आर्थिक र वित्तीयरूपमा अमेरिकाले यस वर्ष सन् २००८ को आर्थिक मन्दीयताको सबैभन्दा खराब समयको सामना गर्नुपर्यो । गत मार्चमा अमेरिकाको सिलिकन भ्याली बैङ्क डुब्यो । वित्तीयरूपमा समस्याग्रस्त भएर निक्षेपकर्ताको बचतसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेपछि उक्त बैङ्कलाई गत मार्च १० मा क्यालिफोर्निया डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसल (डिएफपिआई) ले बन्द भएको घोषणा गर्यो । त्यस्तै, अमेरिकाकै सिग्नेचर बैङ्क मार्च १२ र रिपब्लिक बैङ्क मे १ मा बन्द भएको घोषणा गरियो । ती बैङ्कबाट ठूलो रकम लगानी भएका प्रविधि (टेक) कम्पनी डुब्नु र क्रिप्टोलगायत अभौतिक मुद्रा (भर्चुअल करेन्सी) को कारोबारमा ठूलो गिरावट आउनुलाईलाई अमेरिकी बैंकिङ प्रणाली धराशायी हुनुको मुख्य कारण मानिएको छ । त्यस्तै, बैङ्कका निक्षेपकर्ताको बैङ्कप्रति विश्वास नहुनु र आफ्नो बचत एकैपटक फिर्ता माग्नु ती बैङ्क डुब्नुको कारण बन्यो । आर्टिफिसियल इन्टेलिजेन्सको दबदबा  कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआई० को प्रार्दुभाव, प्रयोग र त्यसको परिणाममाथिको विमर्श विश्वभर नै यस वर्ष ‘हटकेक’का रूपमा रह्यो । सन् २०२२ को अन्त्यतिर च्याटजिपिटी आएपछि त्यसले विश्वभर नै एक किसिमको तरङ्ग सिर्जना गर्यो । ओपनएआईको च्याट जिपिटी, गुगलको च्याटबट, क्यारेक्टर डट एआई, क्विलवोट, मिडजर्नी, हगिङ फेस, बार्ड, नोभेल एआई, क्यापकटलगायतका एआई टुलहरू प्रयोगमा छन् । विद्युतीय उपकरण अर्थात् मेसिनले नै मानिस जसरी सोच्नसक्ने र निर्णय लिनसक्ने क्षमतासहित बनाइएको एआईको प्रयोगका कारण विभिन्न पेशामा पार्नसक्ने असरको पक्ष एकातिर छ भने अर्कोतिर यसको दुरुपयोगको सम्भावनाबारे पनि विश्वभर अझै बहस चलिरहेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई ‘कोलिन्स वर्ड अफ दि इयर’को उपमा दिइएको छ । सुनको मूल्य हालसम्मकै उच्च यस वर्ष विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुग्यो । यही डिसेम्बर ४ मा विश्व बजारमा सुनको मूल्य प्रतिऔस अमेरिकी डलर दुई हजार एक सय ५२ दशमलव तीन डलर पुगेको थियो । भूराजनीतिक अस्थिरता र अमेरिकी डलरको भाउ घट्दै जाँदा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । त्यस्तै, केन्द्रिय बैङ्कहरूले आफ्नो भुक्तानी पर्याप्तता (रिजर्भ) बलियो पार्न बैङ्क नोटको सट्टा सुनलाई जम्मा गर्न थालेका कारण पनि मूल्य बढेको ठानिएको छ । सङ्कटग्रस्त श्रमबजार  मुख्यगरी प्रविधि कम्पनी र औद्योगिक क्षेत्रमा देखिएको समस्याका कारण कामदार कटौती गर्नुपरेको विषयले यस वर्ष विश्व श्रमबजारलाई तरङ्गित बनायो । गत जनवरीमा अमेजनले १८ हजार कर्मचारी कटौती गर्यो भने माइक्रोसफ्टले मार्चमा १० हजार कर्मचारी र त्यही महिना गुगलले १२ हजार कर्मचारी कटौती गर्ने निर्णय गरे । श्रमिक अधिकारका लागि अमेजन, वालमार्ट, फेडेक्स, टार्गेट, इन्स्टाकार्ट, अमेजनलगायत कम्पनीका कामदारले कोभिड महामारीपछि हड्ताल गर्नुपरेको समाचार विश्वभरका समाचार माध्याममा छाए । त्यस्तै, ‘राइटर्स गिल्ड अफ अमेरिका’ त्यहाँको मोसन पिक्चर्स र टेलिभिजन निर्माताको गठबन्धन विरुद्ध लामो समय आन्दोलन गरे । यो आन्दोलनको स्थिति सिर्जना हुनुमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण ‘कन्टेन्ट राइटर’ को जागिर खोसिएको विषयलाई पनि जोडेर हेरिएको छ । असमानताको वर्ष विश्व बैङ्कले आफ्नो समीक्षामा सन् २०२३ लाई असमानताको वर्ष भनेको छ । जलवायु परिवर्तन, युद्ध, खाद्य असुरक्षालगायतका कारण कोभिड महामारीको समयमा भन्दा पनि सन् २०२३ मा खराब स्थितिको सामना गर्नुपरेको उल्लेख गरेको छ । विश्व बैङ्कका अनुसार अहिले विश्वभर करिब ७० करोड मानिसले चरम गरिबीको सामना गरिरहेका छन् । त्यस्तै, करिब साढे १८ करोड मानिस अर्थात् विश्वको कुल जनसङ्ख्याको दुई दशमलव तीन प्रतिशत शरणार्थी र आप्रवासीका रूपमा बसिरहेका छन् । धनी र गरिबबीचको खाडल यस वर्ष थप गहिरिएको विश्व बैङ्कको ठहर छ । युद्धले अस्तव्यस्त विश्व व्यापार विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सार्वजनिक गरेको ‘वर्ल्ड ट्रेड स्टाटिस्टिकल रिभ्यु २०२३’ प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, कसिला मौद्रिक नीति, अधिकांश मुलुकमा देखिएको सार्वजनिक ऋणको चापलगायतका कारण सन् २०२२ जस्तै २०२३ मा पनि विश्व व्यापारले अपेक्षित गति लिन सकेन र सहज अवस्था बन्न सकेन । सन् २०२२ फेब्रुअरीदेखि चलिरहेको रुस–युक्रेन तनावका बाछिटा विश्व अर्थतन्त्रमा गम्भीररूपमा देखिइरहेका बेला गत अक्टोबर ७ मा इजराइल–हमास युद्ध शुरु भएपछि विश्व व्यापार थप अस्तव्यस्त भएको छ भने आपूर्ति श्रृङ्खला टुटेका छन् । यी दुई युद्धका कारण पेट्रोलियम र खाद्य पदार्थको बजार सबैभन्दा बढी प्रभावित हुन पुग्यो भने सहज आपूर्ति हुन नसक्दा मूल्यवृद्धि बढ्यो । विश्वको सबैभन्दा ठूलो चामल निर्यातक देश भारतले गत जुलाईमा निर्यात प्रतिबन्धको घोषणा ग¥यो । भारतले यस्तो निर्णय लिनुको मुख्य कारण भूराजनीतिक अस्थिरताका कारण बढ्दो खाद्य सङ्कटलाई मानिएको छ । यमनको हुथी समूहले यही डिसेम्बर पहिलो साता ‘रेड सी’को समुद्री मार्ग हुँदै गइरहेका पेट्रोलियम र कार्गो पानीजहाजमा आक्रमण गरे । यो समुद्री रुटबाट हुने व्यापारले विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । उक्त रुटमा हुथी समूहबाट भएको आक्रमणका कारण एसिया र युरोपको व्यापारमा नराम्रो असर परेको छ । श्रम बजारमा महिलाको योगदानबारेको अध्ययनलाई नोबेल पुरस्कार श्रम बजारमा महिलाको योगदानबारे गरिएको अध्ययनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनलाई यो पुरस्कार दिइएको हो । श्रम बजार र पारिश्रमिकमा हुने लैङ्गिक विभेद विषय नयाँ होइन । तर क्लाउडियाले शताब्दीऔँदेखि महिलाको कमाइ र श्रम बजारको सहभागिताबारे बृहत् अध्ययन गर्नुभएको थियो । यो अध्ययनको केन्द्रमा महिलाको विवाह र घरपरिवारप्रतिको जिम्मेवारीलाई राखेर विश्लेषण गरिएको र महिलाले गर्ने कमाइलाई बहुआयामिक पक्षबाट विश्लेषण गरिएको जनाइएको छ । ट्वीटरको रिब्राण्डिङ अर्बपति इलन मस्कले २०२२ अक्टोबरमा सामाजिक सञ्जाल ट्वीटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि यो विषयले विश्वभर चर्चा छायो । ट्वीटरलाई थप परिस्कृत र परिमार्जन गर्दै जाने बताउने गरेका मस्कले २०२३ जुलाई २३ देखि ट्वीटरलाई एक्सका रूपमा ‘रिब्रान्ड’ गर्नुभयो । एक ‘सुपर एप’का रूपमा एक्सलाई स्थापित गर्ने लक्ष्यसहित यस्तो निर्णय लिइएको मस्कको भनाइ थियो । त्यसो त ट्वीटर खरिदपछि पुराना कर्मचारीलाई मस्कले बर्खास्त गरेको र विभिन्न कानूनी उल्झनमा पर्नुपरेको विषय पनि चर्चामा रह्यो । धेरै मुलुकमा टिकटक प्रतिबन्ध सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याएको ठहर गर्दै गत कात्तिक २७ गते नेपाल सरकारले मामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । नेपालले मात्र नभई यस वर्ष अरु थुप्रै देशले चिनियाँ टेक–कम्पनी बाइटडान्सअन्तर्गतको भिडियो सेयरिङ प्लेटफर्म टिकटकलाई बन्देज गर्ने घोषणा गरे । व्यक्तिगत गोपनीयता र तथ्याङ्कको गोपनीयतामाथि प्रश्न उठाउँदै सन् २०२३ को फेब्रुअरीमा युरोपियन कमिसन, युरोपियन पार्लियामेन्ट र युरोपियन युनियन काउन्सिलले सरकारी कर्मचारीको मोबाइल डिभाइसमा टिकटक बन्द गर्ने निर्णय गर्यो । त्यस्तै निर्णय अमेरिका र क्यानडाले पनि गरे । ती देशका सरकारी कर्मचारीलाई ३० दिनभित्र आफ्ना डिभाइसबाट टिकटक हटाउन भनिएको थियो । संयुक्त अधिराज्य, न्युजिल्याण्ड, डेनमार्कलगायत देशले पनि टिकटकमाथि प्रतिबन्ध लगाए । विश्व तापमान हालसम्मकै उच्च नासाले २०२३ सेप्टेम्बर १४ मा पृथ्वीको तापमान हालसम्मकै उच्च विन्दुमा पुगेको जनायो । त्यस्तै, विश्व मौसम विज्ञान सङ्गठनले कोप २८ सम्मेलनका क्रममा सन् २०२३ लाई मानव इतिहासकै सबैभन्दा गर्मी भएको वर्षका रूपमा बतायो । अत्याधिक गर्मीका कारण हिमालय र अन्टार्टिकाको हिँउ तीव्ररूपमा पग्लिरहेको तथा समुद्रको सतह बढेको र पानी तातो हुँदै गएकोबारे सङ्गठनले विश्व समुदायको ध्यानाकर्षण गरायो । उदीयमान भारत गत मे महिनामा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बन्यो । त्यस्तै गत अगस्ट २३ मा भारतले चन्द्रयान–३ पठाएर चन्द्रमा पुग्ने चौथो मुलुक र चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बन्यो । रासस (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ शंकरकुमार रायमाझीको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको हो । रायमाझीको गत पुस ११ गते सेवा अवधि सकिएको हो ।

बन्द भयो चियाको उत्पादन

मङ्लबारे । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनःवैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ । योबेला चियाको बोटलाई छाँटकाट गर्नुपर्ने हुन्छ । मल हाल्ने बेला पनि यही हो । केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन् । बर्खामा पलाउने झारलाईसमेत यही बेला फाल्ने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन दिएकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ । गत वर्ष नै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो । बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन् । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार सात सय ९० जनालाई तालिम दिएको थियो । नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्याङ्कमा उल्लेख छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ । उक्त बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझै पनि किसानलाई समस्या हुँदै आएको छ । रासस

विदेशमा गइ परिवार पाल्छु भन्ने युवालाई गृह प्रशासनले हत्या गर्यो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन् । सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाएको जिकिर गरे । उनले सरकारले दुई युवाहरुको हत्या गरेको बताए । भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ ? भन्दै प्रश्न गरे । ‘तपाई नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गइ कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो, यो महशुस गरेर तपाईंहरु यो बैठकमा बस्नुहोला, हामीले दुई होनहार युवाको हत्या गरेका छौँ, भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, मन्त्री प्रकाश ज्वालाले ढाँट्नुभएको छ, विभिन्न राजनीतिक आस्थामा तपाईले कार्यभार सम्हालीसकेपछि भएका घटनाहरुको दृष्टान्त दिनैपर्छ,’,उनले भने । सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे ।

यसरी मनाइयो टोपी दिवस (तस्बिरसहित)

काठमाडौं । ‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने मूल नाराका साथ आज ११ औं नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमबार बसन्तपुरमा भेला भएर ११ औं नेपाली‘टोपी दिवस’ मनाएको हो । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ । यस बर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ । जागरुक युवा अभियान नेपालका अभियन्ताहरुमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, शोभराज बराल, निरोज थापा र राजेश खत्री रहेका छन् ।

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

चौतारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा  र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन् । चीन जोड्ने प्रमुख नाकामात्र नभई पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी नाका बल्ल शून्यबाट उभिँदैछ । भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् । बर्सेनि धेरै सङ्ख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले भारी गिरावट आएको धारा संरक्षण समितिका सचिव विष्णुलाल श्रेष्ठ बताउँछन् । भोटेकोशी गाउँपालिकामा रहेको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाले पुनःनिर्माण गरेर पुरानै अवस्थामा फर्काए पनि त्यहाँ पर्यटक पुग्ने वातावरणको बनेको छैन । भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजारभन्दा बढी नागरिक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । सोमध्ये ५० हजारभन्दा बढी चीनका हुन्थे । अहिले यो कथाजस्तै भएको तातोपानीका व्यापारी दीपेन्द्र श्रेष्ठ बताउँछन् । भोटेकोशी र सुनकोशी नदीमा गरिने र्याफ्टिङ र बञ्जीजम्पको पर्यटन पनि नदी उत्खनन र प्रदूषणले बगरमा परिणत गराएपछि व्यवसायी निरुत्साहित छन् । ‘जलपर्यटनलाई अरु चुनौती छैन, जथाभावी दोहन र नदी प्रदूषणलाई नियन्त्रण नगरिँदा यहाँको भविष्य धर्मराउँदो छ’, सुकुटे बिच एडभेन्चर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा भन्छन् । विश्वका सानाठूला गरी छ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० नदीमा भोटेकोशी र सुनकोशी सातौँमा परेको छ । विसं २०५६ मा पहिलोपटक न्यूजील्याण्डका डेविट र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बञ्जीजम्प पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बञ्जी एड्भेन्चर’ हान्छन् । सडकलाई व्यवस्थित नबनाइएकाले बञ्जीसम्म आउने अवस्था जोखिम बन्दै गएको छ । भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीबाट पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तङ्ग्रिने चरणमा रहे पनि दैनिक ४० पर्यटक मात्रै आउने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायाङ्ग्री, ग्रेटटेल र पाँचपोखरी घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेका छन् । रासस

ठूला कम्पनीको शून्य लाभांश

काठमाडौं । पुँजी बजारमा अर्बाैं रूपैयाँ लगानी भएका ठूला कम्पनीहरूले सेयरधनीलाई लाभांश दिन नसक्ने जनाएका छन् । पब्लिक कम्पनीले धेरै नाफा गरे भनेर विरोध भईरहँदा अर्बाैं रूपैयाँ लगानी भएका कम्पनीहरूले लाभांश दिन नसक्ने घोषणा गरेका हुन् । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंकहरूसँग अर्बाैं रुपैयाँ पुँजी छ । तर, अर्बाैं पुँजी भएपनि गत वर्षको नाफाबाट आधा दर्जन बैंकहरूले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । तीन वटा बैंकको आधिकारिक धारणा आउन बाँकी छ । प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैंकले १६औं वार्षिक साधारणसभा पुस २९ गते अमृतभोग क्याटर्स कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकमा सेयर पुँजी २० अर्ब रूपैयाँ भन्दा बढी छ भने १० लाख भन्दा बढी सेयरधनी रहेका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, २१ अर्ब ६५ करोड बढी लगानी रहेको हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष सेयरधनीहरूलाई २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको डाकेको छ । यस्तै, साढे १४ अर्ब पुँजी भएको नेपाल बैंकको पुस ६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले लाभांश बिना नै ६४औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, १८ अर्ब ३६ करोड रुपैयाँ पुँजी रहेको एनएमबि बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे डाकेको छ । २६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको कुमारी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको भएपनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैन । बैंक सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । अधिकांश बैंकले लाभांश सम्बन्धि निर्णय गरेको भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्म कुनै निर्णय गरेका छैनन् ।

हुन्डाईले ल्यायो नयाँ वर्ष स्कीम, ५ लाखसम्म नगद छुट पाइने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट-२०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो । सोमबारबाट लागु भएको यो स्कीम देशभर रहेका हुन्डाईको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त स्कीममा हुन्डाईका गाडी किन्ने ग्राहकले मोडल अनुसार अधिकतम ५ लाखसम्म नगद छुट पाउने छन् । त्यस्तै ईभी किन्दा ‘गो-ग्रीन’ स्कीममा अतिरित्त ५० हजार नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी मोडल इयरको आधारमा अघिल्ला वर्षहरुमा बनेका कारमा ५ लाखसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र वार्षिक सवारी कर पनि कम्पनीले दिने छ । साथै, तुरुन्तै मूल्य पुराना गाडी मूल्याङ्कन र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । कम्पनीले आफ्नो पेट्रोलियम पदार्थबाट चल्ने कारमा ३ वर्ष वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ दिएको छ भने ईभीको ब्याट्रीमा ८ वर्ष र गाडीमा २ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भर १७ शोरुम र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिदै आएको छ ।