अर्थमन्त्रीको निर्देशनपछि नेप्से सूचकांकमा १५ मिनेटको व्यवस्था हट्दै
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ । सेबोनले शनिबार नै सञ्चालक समितिको बैठक राखेर ६ महिनअघि लागू गरिएको उक्त निर्णय उल्टाउन लागेको छ । पछिल्ला दिनमा सेयर कारोबारमा निरन्तर ओरालो लागिरहेको छ । जेनजी आन्दोलनपछि बिहीबार खुलेको सेयर कारोबारमा त झन् तीनपटक नकरात्मक सर्किट लागेको छ । सेयर कारोबार ओरालो लागेकै कारण लगानीकर्ता र ब्रोकरहरुले १५ मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए । धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा ६ महिनाका अघि चौथो संशोधन गरेर १५ मिनेटको औसत मूल्य गणनाको व्यवस्था गरिएको थियो । केही लगानीकर्ता र ब्रोकरहरूले उक्त संशोधनको विरोध गर्दै आएका थिए । मन्त्री खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले १५ मिनेट अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए । नेप्सेको सञ्चालक समितिले संशोधन प्रस्ताव पारित गरेर सेबोन पठाएपछि सेबोनले आज बैठक राखेको हो । सेबोन र नेप्सेका अधिकारीसहित केही लगानीकर्ताको मागअनुसार खराब वित्तिय अवस्था भएका लोक्याप कम्पनीको सेयर मूल्य घट्ने तर अन्तिम समयमा अस्वभाविक माग सिर्जना गर्ने प्रवृत्ति देखिएपछि १५ मिनेटको कारोबारलाई औसत गणना गरेर अन्तिम मूल्य कायम गर्ने व्यवस्था गरिएको थियो । ६ महिनाअघिदेखि लागू भएको यो व्यवस्थाअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू गरेको थियो । ७ चैत ०८१ देखि कार्यान्वयनमा आएको थियो । जेनजी आन्दोलनपछि पहिलोपटक खुलेको बिहीबारको सेयर बजार १६० अंकको पहिरो गएपछि नेप्से सूचकांक गणनाको विधि हटाउन माग गर्दै केही लगानीकर्ताले सेबोन घेराउ गर्न पुगेका थिए । उनीहरूको माग जसरी पनि १५ मिनेटको उक्त व्यवस्था हटाउनुपर्ने भन्ने थियो । अर्थमन्त्री खनालले यसअघि नै निर्देशन दिइसकेका कारण लगानीकर्ताले थप दबाब बढाएको अनुमान गरिएको छ ।
भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
काठमाडौं । यामाहा नेपालले देशभरका ग्राहकलाई लक्षित गरी ल्याएको दशैं–तिहार विशेष अफर 'राइड द ब्लू विद रोडिज' अन्तर्गत पहिलो विकली लक्की ड्र सम्पन्न भएको छ । ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो । सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए । २८ वर्षीय श्रीहरि पौडेल ‘रकेट’ उपनामले परिचित व्यावसायिक मोटरसाइकल रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका पाँच पटकका लगातार विजेता र सन् २०२४ का नेशनल च्याम्पियन समेत हुन् । उनी यामाहा नेपालका आधिकारिक रेसर पनि हुन् । यसपटकको ग्राण्ड उपहारका विजेता भैरहवाका बिनोद यादव बनेका छन् । यादवले नयाँ यामाहा बाइक जितेका छन्। दशैं अभियानमार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको यामाहाका लागि यो अर्को महत्वपूर्ण क्षण भएको कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले विजेतालाई बधाई दिंदै भने, 'यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिँदै आएको छ । ‘राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझ धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।' 'यामाहा राइड द ब्लू विद रोडिज' अभियानमा विभिन्न अफरहरू समावेश छन् । यस अन्तर्गत बाइक खरिदअघि अधिकतम १ लाख रुपैयाँसम्म नगद उपहार, खरिदपछि अधिकतम १० लाख रुपैयाँसम्म नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक जित्ने अवसर, फ्री हेलमेट, चार वटा निःशुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५ प्रतिशत छुट लगायतका सुविधा रहेका छन् । साथै, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ० प्रतिशत ब्याजसहितको ईएमआई सुविधा पनि उपलब्ध छ ।
डोंगफेंग मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन घोषणा, प्रिमियम ईभी ब्रान्ड ‘भोया’ अलग लिस्टिंगमा
काठमाडौं । डोंगफेंग मोटर ग्रुपलाई प्राइभेटाइज गर्ने योजना सार्वजनिक भएलगत्तै कम्पनीका सेयर मूल्य शुक्रबार हङकङ बजारमा तीव्रगतिमा बढ्दै करिब आठ वर्षयताको उच्च विन्दुमा पुगेका छन् । रिपोर्ट अनुसार, प्रस्तावित प्राइभेटाइजेसन सम्झौता करिब ७ अर्ब अमेरिकी डलरबराबर हुनेछ । यसलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटो उद्योगमा यसको प्रभावकारी भूमिकाको संकेतका रूपमा लिएका छन् । बजारमा घोषणापछि डोंगफेंगका सेयरहरू झण्डै ६९५ अंकले बढेर ५७५ अंकभन्दा माथि बन्द भएका छन् । चीनको अग्रणी अटो कम्पनीका रूपमा सस्तो, भरपर्दो र 'भ्याल्यु फर मनी' गाडीका लागि चिनिने डोंगफेंगले प्राइभेटाइजेसनमार्फत दीर्घकालीन रणनीति लचिलो बनाउन, छिटो निर्णय लिन र सञ्चालन क्षमतामा मजबुती ल्याउने तयारी गरेको जनाएको छ । यसैबीच, कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड ‘भोया’लाई हङकङ स्टक एक्सचेन्जमा अलग लिस्टिंग गर्ने तयारीसमेत गरिरहेको छ । इलेक्ट्रिक गाडी बजारमा तीव्रगतिमा बढ्दो प्रतिस्पर्धाबीच भोया कम्पनीको प्रविधि, डिजाइन र दिगोपनको प्रतिनिधि ब्रान्डका रूपमा अघि सारिएको छ । लिस्टिङपछि उत्पादन दायरा विस्तार र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिइएको छ । डोंगफेंग मोटर ग्रुपले आगामी दिनमा पनि किफायतीपन, नयाँपन र प्रविधिमैत्री समाधानमार्फत ग्राहकलाई भरपर्दो सवारीसाधन उपलब्ध गराइरहने प्रतिबद्धता जनाएको छ ।
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ । शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ : ०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको महानगरले जानकारी दिएको छ । महानगरको सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन अब आउने सातादेखि गर्ने तयारी छ । प्रमुख काफ्लेले भने, 'महानगरले बजार अनुगमन गर्दा केन्द्रबाट पनि अनुगमन टोली, सुरक्षा निकायसहितको सहभागितामा मात्र गर्ने गरेको छ । आन्दोलनका कारण सरकारका सबै संयन्त्रहरू काममा फर्किसकेको अवस्था नभएकाले आगामी सातादेखि मात्र अनुगमन गरिने तयारी गरिएको हो ।' बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गर्ने गरेको छ । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने पनि सहायक प्रवक्ता काफ्लेले जानकारी दिए । कामपा अनुगमन टोलीले विगतका वर्षहरूमा पनि सुपरमार्केट खाद्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षमा ध्यान दिन सुझाव दिने गर्दै आएको थियो । अनुगमनको क्रममा कमजोरी भेटिए वा उपभोक्तालाई ठगी गरे पाइए कानुअनुसार जरिवाना र थप कारबाही गरिने समेत गर्ने कामपाले चेतावनी दिएको छ । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने पनि महानगरको भनाइ रहेको छ । अन्य समयमा पनि फुटफुट बजार अनुगमन गर्दै आएको कामपाले चाडपर्वमा भने नियमितजस्तै अनुमगन गर्ने गरेको छ । बर्खाको समयमा महानगरले पिउने पानी राखिएको जारको नियमितजस्तै अनुगमन गरेको थियो भने मापदण्डविपरीतका करिब ३०० जार नष्ट समेत गरेको थियो । त्यस्तै उपभोक्ताले गरेका गुनासोको आधारमा होटल र मिठाई पसलको अनुगमन गर्दा खाद्य वस्तु भेटिएपछि रु दुई लाख जरिवाना गराएको थियो ।
रविको मुद्दा चलेका सबै अदालत खरानी, योजनाबद्ध आक्रमण भएको अंकगणितीय पुष्टि
पुस्कर कोइराला गत २३ गतेको जेनजी प्रदर्शनमा क्रममा राज्यले गरेको दमनको प्रतिकार स्वरूप २४ गते देशभर आगजनी भयो । प्रदर्शनकारीहरूले देशभरिका विभिन्न सरकारी कार्यालयहरूसँगै विभिन्न अदालत समेत आगजनीमा परे । देशभरका ७७ वटा जिल्ला अदालतमध्ये १० अदालतहरू आगजनी भएका छन् । यसरी आगजनी भएका अदालतको विश्लेषण गर्दा एउटा तथ्यमा विचार गर्नुपर्ने देखिन्छ । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहकारी ठगी सम्बन्धी मुद्दा ५ जिल्ला अदालतमा चलिरहेका थिए । ती अदालतहरूमा काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालत थिए । १० अदालत जल्दा लामिछाने विरुद्ध मुद्दा चलिरहेका सबै अदालत जलेका छन् । अब लामिछानेको सहकारी ठगी मुद्दा रहेर पनि जल्न बाँकी जिल्ला अदालत छैनन् । उनको मुद्दा नभएका केही थप अदालतहरूमा मात्र आगजनी भएका देखिन्छ । यसले रवि लामिछानेका विचाराधीन मुद्दा भएका ५ वटै अदालतहरू कसरी जले ? के त्यो संयोग मात्र थियो वा नियोजित थियो ? १० जलेका अदालतहरूमा रवि लामिछानेका मुद्दा रहेको १०० प्रतिशत अदालत कसरी कसरी परे भन्ने प्रश्न उठाउँछ । यस्तो घटना पूर्णत संयोगवश भएको मान्नेहरू पनि छन् । यस्तो संयोगको सम्भावना कति हुन्छ ? तथ्यगत विश्लेषण गर्नु उपयुक्त हुन्छ । यो घटनाको विश्लेषणका लागि हाइपरज्यामितीय सम्भाव्यता मोडेल उपयुक्त छ । किनभने देशभर अदालतहरूको कुल संख्या सीमित छ, ७७ वटा । 'सफलता’ अर्थात् रवि लामिछानेका मुद्दा भएका अदालतहरूको संख्या निश्चित छ, ५ वटा । जलाइएका अदालतहरूको नमूना (१० वटा) कुल संख्याबाट छनोट गरिएको हो र एउटै अदालत दोहोर्याएर जलाउन सकिँदैन । हामीले यही नमूना भित्र सबै ५ वटा “सफलता“ पर्ने सम्भावना खोजिरहेका छौं । सजिलोसँग बुझ्न अर्को एक उदाहरणलाई हेरौं । मानौं एउटा भाँडोमा जम्मा ७७ वटा बल छन् । ती मध्ये ५ वटा रातो बल छन् (रवि लमिछानेका मुद्दा भएका अदालत) । बाँकी ७२ वटा सेता बल छन् (रवि लमिछानेका मुद्दा नभएका अदालत) । अब आँखामा पट्टि बाँधेर भाँडोबाट १० वटा बल निकाल्न भनियो (१० अदालत जलाइयो) । त्यो ७७ बटा बलको पोकोबाट १० बटा बल निकाल्दा के सबै ५ वटा रातो बल (लमिछानेको मुद्दा भएका अदालत अदालत) पनि निस्कन्छन् ? अंकगणितले यसो भन्छ । यदि ७७ वटा अदालतहरूमध्ये १० वटा अदालतहरू अनियमित रूपमा जलाइएको भए, रवि लामिछानेका मुद्दा भएका सबै ५ वटै अदालतहरू ती जलेका १० अदालतभित्र पर्ने सम्भावना कति थियो ? यस्तो अवस्थामा सामान्य गणितीय हिसाबले हाइपरज्यामितीय सम्भाव्यता गणना गर्दा यस्तो घटनामा यस्तो संयोग पर्ने सम्भावना ०.००००७८ प्रतिशत हुन आउने रहेछ । अर्थात १२ लाख ८० हजार मध्ये १ अर्थात शून्य बराबर । गणनाले देखाएको अत्यन्त न्यून सम्भावना (करिब १२ लाख ८० हजार मा १ पटक मात्र) ले यो प्रष्ट बनाउँछ कि ७७ वटा जिल्ला अदालतमध्ये जलेका १० अदालत संयोगवश मात्र छानिएको भए, सबै ५ वटा रवि लमिछाने सम्बन्धित अदालत जल्ने घटना पर्न असम्भव थियो । हाइपरज्यामितीय विश्लेषणले यो देखाउँछ कि रवि लामिछानेका सबै ५ वटै मुद्दा भएका अदालतहरू संयोगवश जल्ने सम्भावना अत्यन्तै न्यून छ । यद्यपि गणितले संयोगलाई पूर्णरूपमा नकार्दैन । यद्यपि तथ्याङ्कीय असम्भाव्यताले मात्र जानाजानी निशाना बनाइएको प्रमाणित गर्न सक्दैन । यो एक सामान्य अंकगणितबाट देखिएको असामान्य नतिजा मात्र हो । गणितीय रुपमा असम्भव जस्तै देखिएको यस्तो घटना कतै योजनाबद्ध ढंगले वा लक्षित उद्देश्यका कारण भएको त हैन ? यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।
लाभांश सिजन : ५० कम्पनीको लाभांश घोषणा, कुनकाे कति ?
काठमाडौं । लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू गत वर्षको नाफाबाट सेयरधनीहरुलाई प्रतिफल वितरण गरिरहेका छन् । विशेषगरी पुँजी बजारका लगानीकर्ताहरूले यो समयलाई लाभांश सिजनको रूपमा लिने गर्छन् । आफूले लगानी गरेको कम्पनीले नाफाबाट अधिकतम प्रतिफल वितरण गरोस् भन्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन्छन् । साथै, यो समयमा लगानीकर्ताहरु गत वर्ष आर्जन गरेको नाफाबाट कुन कम्पनीले कति प्रतिफल वितरण गर्याे, कुन कम्पनीले कति प्रतिफल दिन सक्ला भनेर विश्लेषण गरिरहेका हुन्छन् । आर्थिक वर्ष सकिएपछि कम्पनीहरुले वार्षिक साधारण सभा (एजीएम) आह्वान गर्छन् । वार्षिक साधारण सभा आह्वान गरेका कम्पनीको एजेण्डामा लाभांश प्रस्ताव छ की छैन भनेर लगानीकर्ताहरुले ठूला आँखा बनाएर हेर्ने गरेका छन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० सूचीकृत कम्पनी र ४० वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिसकेका छन् । १० सूचीकृत कम्पनीको लाभांश घोषणा माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । ४० वटा म्युचुअल फण्डको लाभांश गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० वटा म्युचुअल फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् । लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुले इकाईधनीहरुको खातामा प्रतिफल बराबरको रकम समेत पठाइसकेका छन् । सिटिजन्स क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड-२ इकाईधनीलाई ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई १२.७५ प्रतिशत लाभांश वितरण गरेको हो । गरिमा क्यापिटलले गरिमा समृद्धि योजनाको ५.१० प्रतिशतका दरले ६ करोड ३७ लाख ५० हजार रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१को १२ प्रतिशत, हिमालयन क्यापिटलले हिमालयन ८०-२० इकाईधनीलाई करसहित १६.१६ प्रतिशत लाभांश वितरण गरेको हो । कुमारी क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । क्यापिटलले कुमारी धनवृद्धि योजनाको इकाईधनीलाई १०.५ प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५ प्रतिशत, कुमारी सबल योजनाको ९ प्रतिशत र कुमारी सुनौलो लगानी योजनाको करसहित ८.८८ प्रतिशत लाभांश वितरण गरेको हो । लक्ष्मी सनराईज क्यापिटलले ६ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोषका इकाईधनीलाई २० प्रतिशत, लक्ष्मी भ्यालू फण्ड-२ का इकाईधनीलाई १५ प्रतिशत र शुभ लक्ष्मी कोषका इकाईधनीलाई १६ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डको १३.५ प्रतिशत प्रतिफल वितरण गरेको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङले ३ वटा म्युचुअल फण्डका इकाईधनीलाई लाभांश वितरण गरेको छ । कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ को समान १३/१३ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईएमबि एस क्यापिटलले ४ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीले एनआईबिएल ग्रोथ फण्डको १० प्रतिशत, एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को ७/७ प्रतिशत र मेगा म्युचुअल फण्डका इकाईधनीलाई ११.७५ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, मुक्तिानाथ क्यापिटलले मुक्तिनाथ म्युचुचल फण्डका इकाईधनीहरुलाई ३.८ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईसी एशिया क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डका लागि गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत अर्थात् १० करोड ३० लाख २० हजार रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत अर्थात् १० करोड ८१ लाख २५ हजार रुपैयाँ र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत अर्थात् ७ करोड ९५ लाख ३२ लाख ४१० रुपैयाँ नगद लाभांस वितरण गरेको हो । एनएमबि क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कम्पनीले एनएमबि फिफ्टीको १५ प्रतिशत, एनएमबि सरल बचत फण्ड-इको ४.१८ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को १५ प्रतिशत लाभांश वितरण गरेको हो । प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत र प्रभु स्मार्ट फण्डको १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले आरविवि म्युचुअल फण्ड-१ को २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड-२ को १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ नगद लाभांश वितरण गरेको हो । सानिमा क्यापिटलले २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीलेसानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । सिद्धार्थ क्यापिटलले ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । कम्पनीले सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को १७ प्रतिशत, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ-२ को २० प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ८ प्रतिशत लाभांश वितरण गरेको हो ।