भन्सारमा नक्कली लेटरहेड बुझाएर सामान आयात गर्न खोज्ने अग्रवाल पक्राउ

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौंको लेटरहेड नक्कली पत्र बनाएर छोकडा आयात गर्ने व्यक्ति पक्राउ परेका छन् ।

बिहीबार पर्साको वीरगञ्ज रेशमकोटीबाट ५५ वर्षीय नवीनकुमार अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा (खजुर) आयातको लागि किर्ते अनुमतिपत्र तयार गरी वीरगञ्ज भन्सार कार्यालयमा पेश गरेका थिए । 

उनी सिम्भीन इन्टरनेशनल इम्पेश्स कालीक्सान काठमाडौंका सञ्चालकसमेत हुन् ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम नेपाल सरकारको २०७६ चैत २४ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम अर्को सूचना प्रकाशित नभएसम्म छोकडा पैठारीमा पूर्ण बन्देज लगाइएको थियो । 

उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौंको लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरेका थिए । 

अग्रवाललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसूरमा अनुसन्धानको क्रममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको थियो । 

वीरगञ्ज महानगरपालिका ११ आदर्श नगर, पर्साबाट पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Share News