विकासन्युज

सुनको मूल्य एकैदिन प्रतितोला १३ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँमा कारोबार भएको छ ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौं । सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

भारतीय विदेशमन्त्री एस जयशंकर आए नेपाल

फाइल तस्बिर काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। भारतीय वायुसेनाको शिेष विमानबाट बिहान साढे ९ बजे जयशंकर नेपाल आइपुगेका हुन् । उनलाई नेपालका समकक्षी परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । जयशंकरले आज उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनको बिहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । जयशंकर दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

कोरियन भाषा परीक्षा फाराम भर्न दुई दिन थप

काठमाडौं । कोरियामा पानीजहाज निर्माण (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा दिएर बसेका परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभाग महानिर्देशकस्तरको निर्णयले दुई दिन आवेदनको लागि म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा दुई दिन थप गरी पुस २० गनेसम्म फारम भर्न पाइने रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ । गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ । अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय संवेदनालाई ध्यानमा राखी समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै

काठमाडौं । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ । मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्दी घटाउँदै प्रदेश र स्थानीय तहको दरबन्दी बढाउने उद्देश्यले ओएनएमको काम अन्तिम चरणमा पुर्‍याइएको बताए । उनका अनुसार हालै मात्र मन्त्रीपरिषद्ले प्रधानमन्त्री कार्यालयका ६८ वटा पदका दरबन्दी घटाउने निर्णय गरेको थियो । दरबन्दी घटेर फाजिलमा भएका कतिपय कर्मचारी अवकाश भएपछि स्वतः त्यो पद खारेज हुने छ । उनले भने, ‘अहिले पनि कतिपय जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा कर्मचारीको अभाव छ । ती कार्यालयमा अब ओएनएम सर्भेबाट फाजिलमा परेका कर्मचारीलाई पठाइने छ । बढी कर्मचारी भएका कार्यालयबाट कर्मचारीलाई झिकेर कर्मचारी कम भएका कार्यालयमा पठाउन सरकारले ओएनएम गर्न लागेको हो ।’ सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को बजेट वक्तव्यको बुँदा नं। ४७ मा सार्वजनिक खर्च पुनरवलोकन आयोग, २०७५ ले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सरकारको स्थायी संरचनामा दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्था खारेज गर्ने उल्लेख गरेको छ । उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायलाई एकअर्कामा गाभिने बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै बजेटकै बुँदा नं। ५० मा सबै सरकारी सेवाको नियामक निकाय र सार्वजनिक संस्थानमा चालु आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने, सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने उल्लेख भए अनुसार मन्त्रालयले ओएनएमलाई अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ । मन्त्रालयले तयार गरेको ओएनएम मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउने छ । नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डेले प्रशासनिक असन्तुलनलाई सन्तुलन बनाउने गरी ओएनएम सर्वेक्षण गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘अहिले कतिपय मन्त्रालयमा कुनै पदका कर्मचारी अत्यावश्यक भएको तर कुनै पदका कर्मचारी अनावश्यक छन् । अहिलेको सन्दर्भमा सरकारले सङ्घका कार्यालयमा समग्र कर्मचारी दरबन्दी घटाउने गरी तयार गर्न लागेको ओएनएम सर्वेक्षणले प्रशासनिक चुस्तता कायम गर्न थप सहयोग पुग्ने छ ।’ सरकारको कामलाई समयसापेक्ष गर्न कतिपय पद घटाउनुपर्ने र कतिपय पद बढाउनुपर्ने भएकाले सरकारले समय समयमा ओएनएम सर्वेक्षण गरी प्रशासनिक संरचनालाई प्रभावकारी बनाउँदै जानुपर्ने, अहिले पनि अनुगमन र निरीक्षण गर्ने पर्याप्त जनशक्ति छैनन् । अत्यावश्यक पद थप्ने र अनावश्यक पद घटाउँदै जाने गरी ओएनएम सर्वेक्षण गर्न उनले सरकारलाई सुझाव दिए । सरकारले संविधान र कानुनले प्रशासनिक काम गर्नका लागि दिएको अधिकारलाई प्रभावकारी बनाउने गरी समय समयमा ओएनएम सर्वेक्षण गर्दै आएको छ । आजको गोरखापत्रबाट ।

सानिमा जिआईसी इन्स्योरेन्सको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसमेत उल्लेख गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएको छ ।

सानिमा रिलायन्स लाईफले डाक्यो साधारणसभा

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाईफ र रिलायन्स लाईफको आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/८०को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २६गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

प्रभु बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै, को-को हुन् ?

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरिन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरिन लागेका हुन् । बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेका हुन् । विभिन्न संस्थापक ११ जना सेयरधनीहरुले ३ लाख ३२ हजार कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक सेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठको २८ हजार १३३ कित्ता, कुमार पौडेलको ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीको ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीको ८ हजार ५ सय कित्ता, तिलक बहादुर प्रधानको ३८ हजार ४४ कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, सीताराम के.सी.को २६ हजार ५ सय कित्ता, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टको ३ हजार ५०९ कित्ता, करिस्मा राउतको १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलको ७९३ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आहवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।