७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ
सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो
काठमाडौं । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । तर, उक्त विधिका कारण सेयर मूल्यमा म्यानुपुलेट भएको भन्दै लगानीकर्ताले हटाउनुपर्ने माग गरिरहेका थिए । प्रवक्ता पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ । तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ ।
१ हजार १ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ । आइतबार सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
सिद्धि गणेश सहकारीको एकैचोटि ३ ठाउँमा साधारणसभा, नाफा साढे ४ करोड रुपैयाँ
भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रूपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । संस्थाले पहिलो पटक संस्था बाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा सम्पन्न गरेको हो । १७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिबार क्षेत्रगत रूपमा साधारणसभा गरेको हो । संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को स्रोत तथा उपयोगतर्फ ३ अर्ब २६ करोड ३१ लाख ४३ हजार १०९ रुपैयाँ र आय तथा व्ययतर्फ २५ करोड ४० लाख ९७ हजार ८५५ रुपैयाँको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो । आव २०८२/०८३ को स्रोत तथा उपयोग तर्फ ३ अर्ब ३६ करोड रुपैयाँ र आय तथा व्ययतर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित गरेको थियो । सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णुप्रसाद दुमरुद्वारा प्रस्तुत आव २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आव २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित गरेको छ । सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत आव २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को सेयर पूँजीमा ६ प्रतिशत कर कट्टीसहितको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ । यसैगरी, संस्थाका सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुसी प्रकट गरे । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययिता पूर्वक सम्पन्न गरेको जानकारी दिए । सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिँदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारे । संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको सेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६१३, सहकारी प्रवर्द्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरू २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरे । सिद्धि गणेश सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा अन्तर्गत कमल विनायक स्टार बैंक्वेटमा संस्थाका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ। कार्यक्रममा पूर्व अध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले गत आवमा सेयर अन्तर्गत ७२ लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्ति तर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिए । साथै, १७ हजार शेयर बाँकी रहेकाले आवश्यक परे थप सेयर निकाल्न सकिने जानकारी बताए । सञ्चालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१/८२ को प्रगति प्रतिवेदन र आव २०८२/८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरे । उनले सम्पत्ति शुद्धीकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरूबारे स्पष्ट पारे । यसैबीच संस्थाको क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरूको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरू समस्यामा पर्दै आएको बताए ।
हेटौंडा औद्योगिक क्षेत्रमा गतिविधि बढ्दै, चकलेट र एसीपी बोर्ड उद्योग सुरु हुने
हेटौंडा । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन्। हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उद्योग) केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए । ‘सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्, ‘उनले भने, ‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछान् ।’ यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको आएको थियो । गत २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योगसमेत सञ्चालनमा आएको थियो । उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । यस्तै, लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काँटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए । विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ । अमेरिका सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् । यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौंडा शाखालगायतका कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए । कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी छ ।
सानिमा बैंकको १ अर्ब ७ लाख रुपैयाँ लाभांश घोषणा
काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले ७.३६८५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५.२६ प्रतिशत, आर्थिक वर्ष २०७९/८० मा १४.७ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १०.९८ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १७.८९ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७२/७३ मा १५.७९ प्रतिशत, आव २०७१/७२ मा २१.०५ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत, आव २०६९/७० मा १०.५३ प्रतिशत, आव २०६८/६९ मा ५.५ प्रतिशत, आव २०६७/६८ मा ६.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बिहानैदेखि ३ मेसिन लगाएर तुइन खोलाको पहिरो पच्छ्याइँदै, अलपत्र यात्रुलाई निःशुल्क खाना
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसि रहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुइवटा उपकरण प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले दावी गर्नुभयो । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अलपत्र यात्रुलाई निःशुल्क खाना यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए । पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । मुग्लिन र नारायणगढ दुवै तर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो ।
यस्तो छ विभिन्न देशका लागि दशैँको टीका लगाउने साइत
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीय मानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए । समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए । यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५, भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ । यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, लण्डन बेलायतका लागि बिहान ०९ः१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेको ओस्लोका लागि बिहान १०ः०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ः११, अवुधावी युएइका लागि बिहान १०ः५५, दोहा कतारका लागि बिहान १०ः१३, बैंकक थाइल्याण्डका लागि बिहान १०ः४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०ः५७, तेल अभिभ इजरायलका लागि बिहान ११ः३५, सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, याङ्गून म्यानमारका लागि बिहान १०ः२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।