विकासन्युज

काठमाडौं-ग्वाञ्जाओ सिधा उडान, ९ देशका ११ गन्तव्यमा नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं उडान सेवा सुरु गर्ने भएको हो ।  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ ।  निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडा दर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए । निगमले निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं-ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । ९ देशका ११ गन्तव्यमा उडान नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब ९ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ । देशको सान र पहिचानसँग जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजा वाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपरान्हकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।  आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णय सिन्धु, धर्म सिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख समेत रहेका प्रा डा भट्टराईले बताए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधि पूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरू पिण्ड, पानीको आसले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथि सोह्र श्राद्धमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित छन् । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको छ । सोह्रश्राद्ध अपरान्ह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । यस अवसरमा उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको घुइँचो लाग्छ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । असोज ६ गते सोमबार घटस्थापना गरेसँगै दुर्गापक्ष सुरु हुन्छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।  कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत (सूचीसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।  विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए ।    समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे,  दिल्ली,  भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए । यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५,  भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ ।  यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, लण्डन बेलायतका लागि बिहान ०९ः१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेको ओस्लोका लागि बिहान १०ः०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ः११, अवुधावी युएइका लागि बिहान १०ः५५, दोहा कतारका लागि बिहान १०ः१३, बैंकक थाइल्याण्डका लागि बिहान १०ः४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०ः५७, तेल अभिभ इजरायलका लागि बिहान ११ः३५, सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, याङ्गून म्यानमारका लागि बिहान १०ः२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

युरोपेली विमानस्थलहरू ‘साइबर अवरोध’ बाट प्रभावित, उडान रद्द र ढिलाइ

काठमाडौं ।  ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रोलगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार ‘साइबर–सम्बन्धित अवरोध’ बाट प्रभावित भएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ । युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् । अवरोध इलेक्ट्रोनिक ग्राहक चेक–इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताएका छन् । शुक्रबार राति साइबर आक्रमण को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको छ । ब्रसेल्समा म्यानुअल चेक–इन र बोर्डिङ सेवा सुचारु गरिएको थियो, भने शनिबार उडान गर्ने यात्रुहरूलाई एयरपोर्टमा जानु अघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सूचना जारी गरिएको थियो । लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक–इन र बोर्डिङ प्रणाली पनि प्राविधिक समस्या बाट प्रभावित भएकाले उडानमा ढिलाई हुनु सक्ने जनाइएको छ।  बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण युरोपमा चेक–इनमा यात्रुहरुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाइएको छ । रासस

जेनजी पुस्ताले उठाएका मुद्दा सामान्य रुपमा नलिऔँ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन् । उनका अनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ । ‘नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का रूपमा लिनु हुँदैन । यो आन्दोलनले नयाँ युगको सुरुवात गरेको छ’‚ भट्टराईले भने । नयाँ पुस्ता (जेनजी)भन्नाले सन् १९९७ पछि जन्मेका, सूचना–प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी चेतनासँग हुर्किएका युवालाई बुझिन्छ । यही पुस्ता अहिले भ्रष्टाचार, अवसरविहीनता र असमानताविरुद्ध सडकमा उत्रिएको छ । भट्टराईका अनुसार नयाँ पुस्ताले केवल आन्दोलनमा सीमित नभई वैकल्पिक राजनीतिक संरचना निर्माण गर्ने क्षमता राख्छ । आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम राख्न नसको र जनताको सम्पत्ति दोहन गरेर सत्ताको दुरुपयोग गरेको भट्टराईले आरोप लगाए । यस्तो सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नु अपरिहार्य भएको उनको माग छ । हालै बनेको अन्तरिम सरकारबारे पनि भट्टराईले स्पष्ट पारेका छन् । उनले यो सरकारको भूमिका शान्ति सुव्यवस्था कायम गर्नु, जनधन क्षतिको छानबिन गर्नु र चुनावको तयारी गर्नु मात्र भएको स्पष्ट पारेका छन् । भट्टराईले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल सक्षम र योग्य व्यक्तित्व भएको बताए । उनका अनुसार रामेश्वर खनाल आर्थिक प्रशासन‚ कुलमान घिसिङ विद्युत् क्षेत्र र ओमप्रकाश अर्याल कानूनी क्षेत्रमा स्पष्ट दृष्टिकोण भएका पात्र भएको बताए । नेपालको विद्युत् क्षेत्र लामो समयदेखि सुधारको बाटोमा छ । खासगरी कुलमान घिसिङको नेतृत्वमा भएका उपलब्धिहरूले धेरैलाई आशा जगाएको बताएका छन् । भट्टराईले हालैको डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगी व्यवसायीले महसुल अनिवार्य रूपमा तिर्नुपर्ने कुराको खुलेरै समर्थन गरे । संसदीय प्रणालीले गठबन्धन, दल फुट, लोभ र स्वार्थ मात्र बढाएको छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याएर मात्र राजनीतिक स्थायित्व सम्भव हुने उनको धारणा छ । भट्टराईका अनुसार नयाँ पुस्ताले राजनीति केवल सडक आन्दोलनमा सीमित नगरी संस्थागत बनाउनुपर्ने बताए । उनले शहीदहरूको बलिदानलाई खेर जान नदिई नयाँ इतिहास कोर्ने जिम्मेवारी यही पुस्तामाथि आएको बताए ।   

‘स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न मिल्ने अवस्थामा छैन’

काठमाडौं । जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते जलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको पाइएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनले गरेको निरीक्षणकाक्रममा मन्त्रालय जलेर ध्वस्त भएको र तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको पाइएको हो । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताए ।  ‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वाल (पर्खाल)हरूमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ । जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ’, एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले भने । उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताए भने दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको जानकारी गराए । एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रर्दशनकारीहरूले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरूको निरीक्षणको कामलाई तिब्रता दिएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरूबाट आफूहरूले सो कामलाई निरन्तरता दिइएको बताए।

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ । आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ । आगजनीमा परी क्षतिग्रस्त करिब एक हजार सवारीसाधन पन्छ्याउने र व्यवस्थापन पनि सोही गतिमा चलेको देखिन्छ । मर्मत र रङरोगनका लागि केही श्रमिक खट कस्दै गरेका छन् भने कोही रङ लगाउन व्यस्त छन् । तोडफोड भएका झ्यालढोका मर्मतसम्भार गर्ने, टेबुल, कुर्सी, सोफालगायतका फर्निचर जलेर खरानी भएकाले ती फोहर हटाउन श्रमिकहरु तल्लीन भएको दखिन्छ । जेनजी प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सिंहदरबारको मर्मतसम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाउने निर्णयबमोजिम सो कार्य अघि बढाइएको हो । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहणका क्रममा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाई भित्तामा रङरोगन गरिने बताएका थिए । 'सिंहदरबारका कालो लागेको भित्ता रङरोगन गर्छौं, हामी विनाशबाट चाँडै उठ्यौँ है भनेर सन्देश दिन जरुरी छ', उनले भने, 'तत्कालै मर्मतसम्भार र पुनःनिर्माण गरी केही महिनाभित्रै उठ्याैँ भन्ने सन्देश दिन्छौँ ।' प्रदर्शनका क्रममा कार्यालय क्षतिग्रस्त भए पनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारी गत भदौ २८ गते बिदाका दिन पनि कार्यालय आई सरसफाइ र मर्मतमा जुटेका थिए । हाल पूर्ण रुपमा क्षतिग्रस्त भएका मन्त्रालयका कर्मचारी ‘रोस्टर’ बनाएर हाजिरी गर्ने र सरसफाइमा जुट्दै आएका छन् । जेनजीको प्रदर्शनका क्रममा गत भदौ २४ सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, शिक्षा तथा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो । प्रदर्शनकारीले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयमा आज बिदाका दिनमा पनि मर्मतसम्भार र रङरोगन भइरहेको देखिन्छ । रङरोगनमा खटिएका श्रमिकहरु बाँसको खट बनाई, डोरीमा झुन्डिएर धमाधम काम गरिरहेका छन् । प्रदर्शनकारीले ध्वस्त तुल्याएका गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हकमा भने ठूलो क्षति पुगेकाले सामान्य मर्मत र रङरोगनले नपुग्ने भएपछि पुनःनिर्माण गरिने भएको छ । मन्त्रालय क्षेत्रका पार्किङस्थलमा जलेर नष्ट भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन जलेर असरल्ल बनेका सवारीको व्यवस्थापन पनि चलिरहेको छ । जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेका रक्षा, कानुन तथा संसदीय मामिला, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, परराष्ट्र, श्रम तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका मन्त्रालयमा सामान्य क्षति पुगेको छ । साथै नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग अराजक समूहबाट बचेका छन् । रासस