विद्युत बक्यौता उठाउन प्राधिकरण सक्रिय
काठमाडौं । अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत वक्यौता उठाउनेसम्बन्धि पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार यसै साता बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताए । उनले भने, ‘बक्यौतासम्बन्धि जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौं । बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छाैं। बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सी बोर्ड बैठक बस्छ ।’ बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत उनले बताए । घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए । तर उद्योगीहरुको विरोध र सरकारको असहयोगका कारण प्राधिकरणले भुक्तानी असुल नगरीकनै लाइन जोडिदिएको थियो । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।
लघु बीमकमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सरकारी गाडीको दाबी सबैभन्दा धेरै
काठमाडौं । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै सरकारी गाडीको दाबी परेको कम्पनीले जानकारी दिएको छ । मोटर बीमाको मात्रै १ करोड रुपैयाँको दाबी परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश रोकाले बताए । उनका अनुसार कम्पनीमा चारवटा सरकारी गाडीको बीमा दाबी परेको छ । जसमा चितवनको इच्छाकामना गाउँपालिकाको २ वटा, झापाको गाैरदह नगरपालिकाको एउटा र दाङको निर्वाचन कार्यालयको एउटा सवारी रहेको छ । कम्पनीमा बीमा दाबी आउने क्रम अझै जारी भएकोले दाबी रकम बढ्न सक्ने सीईओ रोकाले जानकारी दिए । बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ ।
जीर्ण आयोजनाका ठेक्का पूर्वाग्रहले होइन, कामको आधारमा तोड्छौंः मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे । ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति व्यापक छ । कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरबार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन । ठेक्का सम्झौता गर्ने तर लामो समयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न हुँदैन,’ उनले भने । ‘म आफै पनि इन्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाको पूर्ण जानकार छु, आयोजनातर्फबाट पनि गर्नु पर्ने काम नगरेको पनि त्यो पनि हेर्छौं, अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौं,’ उनले थपे । विदेशमा राम्रो काम गरिरहेका निर्माण व्यवसायी नेपालमा काम गर्दा भने असफल नदेखिएको उल्लेख गर्दै मन्त्री घिसिङले आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम रहेको सन्देश दिन आग्रह गरे । ‘निर्माण क्षेत्रमा अनियमिता र भ्रष्टाचार रहेका आम बुझाइ छ, जेनजी आन्दोलनपछि गठन भएको अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण रहेकाले निर्माण व्यवसायी पनि भ्रष्टाचार निर्मूल गर्नेतर्फ लाग्नुहोस्,’उनले भने । महासंघका तर्फबाट मन्त्री घिसिङसमक्ष निर्माण क्षेत्रका विद्यमान समस्यका विषयमा ज्ञापनपत्र पेश गरिएको थियो।
रााष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । उक्त विधेयकलाई राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।
७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ
सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो
काठमाडौं । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । तर, उक्त विधिका कारण सेयर मूल्यमा म्यानुपुलेट भएको भन्दै लगानीकर्ताले हटाउनुपर्ने माग गरिरहेका थिए । प्रवक्ता पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ । तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ ।
१ हजार १ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ । आइतबार सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
सिद्धि गणेश सहकारीको एकैचोटि ३ ठाउँमा साधारणसभा, नाफा साढे ४ करोड रुपैयाँ
भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रूपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । संस्थाले पहिलो पटक संस्था बाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा सम्पन्न गरेको हो । १७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिबार क्षेत्रगत रूपमा साधारणसभा गरेको हो । संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को स्रोत तथा उपयोगतर्फ ३ अर्ब २६ करोड ३१ लाख ४३ हजार १०९ रुपैयाँ र आय तथा व्ययतर्फ २५ करोड ४० लाख ९७ हजार ८५५ रुपैयाँको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो । आव २०८२/०८३ को स्रोत तथा उपयोग तर्फ ३ अर्ब ३६ करोड रुपैयाँ र आय तथा व्ययतर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित गरेको थियो । सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णुप्रसाद दुमरुद्वारा प्रस्तुत आव २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आव २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित गरेको छ । सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत आव २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को सेयर पूँजीमा ६ प्रतिशत कर कट्टीसहितको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ । यसैगरी, संस्थाका सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुसी प्रकट गरे । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययिता पूर्वक सम्पन्न गरेको जानकारी दिए । सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिँदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारे । संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको सेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६१३, सहकारी प्रवर्द्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरू २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरे । सिद्धि गणेश सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा अन्तर्गत कमल विनायक स्टार बैंक्वेटमा संस्थाका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ। कार्यक्रममा पूर्व अध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले गत आवमा सेयर अन्तर्गत ७२ लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्ति तर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिए । साथै, १७ हजार शेयर बाँकी रहेकाले आवश्यक परे थप सेयर निकाल्न सकिने जानकारी बताए । सञ्चालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१/८२ को प्रगति प्रतिवेदन र आव २०८२/८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरे । उनले सम्पत्ति शुद्धीकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरूबारे स्पष्ट पारे । यसैबीच संस्थाको क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरूको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरू समस्यामा पर्दै आएको बताए ।