विकासन्युज

निजी क्षेत्रको ८० अर्ब बराबर सम्पत्ति नष्ट, दोषीमाथि कारवाही गर्न माग

काठमाडौं । जेनजी आक्रमणबाट निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले संकलन गरेको प्रारम्भिक विवरणले यस्तो देखाएको महाससंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।  विशेषगरी ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय विवरणमा दोहोरोपन हुनसक्ने उनले बताए ।  प्रधानमन्त्री सुशीला कार्कीसँग आइतवार भएको छलफलका क्रममा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको माग राखेका छन् । आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको रूपमा हेरिएको उनले टिप्पणी गरे ।  महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको तथ्य उनले प्रधानमन्त्री कार्कीलाई सुनाए।  साथै अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।  युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारवाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भै निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराएका थिए ।  छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।  युवापुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्ने बताए । नयाँ संरचना निर्माण गर्न आवश्यक सामान ल्याउन प्रभावित व्यवसायीलाई भन्सार लगायत शुल्कमा छुट दिन पनि महासंघले आग्रह गरेको छ । नागरिक एपबाट व्यवसाय दर्ता एवं खारेजी लगायतका सेवा लिन सकिने एवं कर बुझाएपछि नवीकरण गर्नुपर्ने बाध्यता हटाउनु पर्ने माग महासंघले निरन्तर उठाइ रहेको छ । छलफलका क्रममा चालु पूँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदान लगायतका वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्फ व्यवसायीहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

भारतमा थप विद्युत् निर्यात गर्न मन्त्री घिसिङले थाले पहल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलेले दशैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन भारतीय राजदूतसँग आग्रह गरेका छन् ।  अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारत समक्ष प्रस्ताव पेश गरिएको छ । इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो ।  जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवबाट जानकारी गराइएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।  नवनियुक्त मन्त्री घिसिङलाई  भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो ।  ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा छलफल भएको थियो ।  

भारत–पाकिस्तानसहित सात युद्ध रोकिएको दाबी गर्दै ट्रम्पले मागे ‘नोबेल’ पुरस्कार

काठमाडौं । डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानसहित सात संघर्ष रोकिएको दाबी गर्दै नोबेल पुरस्कारको माग गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल पुरस्कारको कुरा उठाएका छन् । यस क्रममा उनले भारत र पाकिस्तानबीच गत मे महिनामा भएको संघर्षको पनि उल्लेख गरेका छन् । शनिबार राति (अमेरिकी समय अनुसार) एक कार्यक्रममा ट्रम्पले भने, ‘ट्यारिफ र व्यापारका कारण हामी सातवटा अलग–अलग युद्ध रोक्न सफल भयौं… हामीले भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचको युद्ध रोक्यौं ।’ ‘आर्मेनिया र अजरबैजान वर्षौंदेखि लड्दै आएका थिए… भारत र पाकिस्तानबीचको युद्धलाई व्यापारमार्फत रोक्यौं । उनीहरू व्यापार गर्न चाहन्थे,’ उनले थपे । ट्रम्पले आफूले गर्दा  सबै युद्ध रोकिएको र ६० प्रतिशत देश व्यापारकै कारण रोकिएको दावीसमेत गरे ।  ट्रम्प यसअघि पनि धेरैपटक भारत–पाकिस्तानबीचको संघर्ष रोक्ने दाबी गरिसकेका छन् । तर भारतले हरेक पटक उनको दाबी खारेज गर्दै आएको छ ।

४४ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड

चितवन । लगातारको वर्षापछि खसेको पहिरोका कारण ४४ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी रूपमा खुलेको छ । पहिरो पन्छाउने कार्य तीव्र पारिएपछि आइतबार अपरान्ह सवा चार बजेबाट यातायात पुनः सञ्चालनमा आएको सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख नारायण लामिछानेले जानकारी दिए । यद्यपि माथिबाट ढुंगा र माटो खसिरहने सम्भावना भएकाले यात्रु र चालकलाई सतर्क रहन आग्रह गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुलनजिकै शुक्रबार साँझ खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सयौं सवारीसाधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए । मुग्लिन-नारायणगढ सडक ४४ घण्टादेखि अवरुद्ध

सेयर बजारमा १११.७० अंकको उछाल, ९ अर्ब बढी कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार  १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा पुगेको छ।  जेनजी प्रदर्शनपछिको पहिलो दिन १६० अंकले घटेर  सेयर बजार क्र्यास भएको थियो । गत बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो ।  आज कारोबार रकमसमेत ९ अर्ब १९ करोड पुगेको छ । २ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको  हो ।  आज २२४ वटा सेयरको मूल्य बढ्दा २८ वटाको घटेको छ ।  आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन् । निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ ।  त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ ।  त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ । बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ ।  सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो । उक्त कम्पनीको ८३ करोडको कारोबार भएको हो ।

ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा लगेका विभाग सम्बन्धित मन्त्रालयमै फर्काइँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका तीन विभाग तततत मन्त्रालयमा फर्काउने तयारी भइरहेको छ । आज (आइतबार) बस्न लागेको मन्त्रिपरिषद बैठकले तीन विभाग मन्त्रालयमा फर्काउने तयारी गर्न लागेको स्रोतले जानकारी दियाे । २०७४ पछि बनेको तत्कालीन केपी ओली सरकारले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो ।   मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले मन्त्रिपरिषद कार्य विभाजन नियमावली शंसोधन गरेपछि राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत आउनेछन् ।  यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमै फर्काइने प्रधानमन्त्री कार्यालयका एक सहसचिवले विकासन्युजलाई जानकारी गराए । सम्भवतः आज बस्ने बैठकले सो निर्णय गर्ने र आज तयारी नपुगे लगत्तै बस्ने बैठकबाट सो निर्णय गर्ने तयारी भएको बुझिएको छ । तर प्रशासनका विज्ञहरूले अन्तरिम सरकारले गर्न लागेको भनिएको उक्त निर्णयको आलोचना गरेका छन् । पूर्वसचिव शारदाप्रसाद त्रितालले ती विभागहरू प्रधानमन्त्री कार्यालयमै राख्नुपर्ने बताउँछन् ।  उनी भन्छन्, ‘पछिल्लो समय कोलीसन सरकार बन्न थालेपछि प्रधानमन्त्री सूचनाबाट विमुख हुने अवस्थालाई मध्यनजर गर्दै तत्कालीन सरकारले यी विभाग प्रधानमन्त्री मातहत नै राख्ने निर्णय गरेको हो ।’ सरकारमा प्रधानमन्त्री एक दलको अर्थ र गृह अर्कै दलको पनि हुन सक्ने भएकोले प्रधानमन्त्रीलाई प्रत्यक्ष सूचना पुग्न ढिलो हुँदा आवश्यक निर्णय ढिलो हुने भएकोले यि बिभाग प्रधानमन्त्री कार्यालय मातहत हुनुपर्ने त्रितालले दाबी गरेका छन् । सरकार भने सके आजै कार्यविभाजन नियमावली शंसोधन गर्ने र ती विभागलाई अर्थ र गृहमै फर्काउने तयारीमा छ । शक्तिशाली मानिएका यी विभागहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । २०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि फिर्ता गराउने बहस चलेको थियो। तर उनले पनि पहल गरेका थिएनन् ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको आठौं वार्षिक सभा सम्पन्न

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले कम्पनीको उद्देश्य परिवर्तन र सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए ।  साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र  विजय बहादुर शाहले  कम्पनीको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सभाले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने र आव २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति पारित गरेको थियो ।  त्यसैगरी, जारी तथा चुक्ता पूँजी ५० करोड पुर्‍याउने क्रममा प्रिमियममा थप संस्थापक सेयर बिक्री गर्न, ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ । नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको  हो । यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको छ ।

हिमालबाट नयाँ गाडीको ताँती

काठमाडौं । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि हिमाली जिल्ला मुस्ताङबाट चिनिया गाडीहरू धमाधम भित्रिरहेका छन् । मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) सञ्चालनमा आएपछि ५ दिनमा ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागको तथ्याङ्क अनुसार कोरला नाका सञ्चालनमा आएदेखि २०९ वटा विद्युतीय सवारी साधन (ईभी)सहित ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । गत असार २४ गते रसुवास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध छ । तर, चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) गत भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । पूर्णरुपमा संचालन आएदेखि असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा माल बाहक ढुवानी साधनमा रहेका माल वस्तु जाँच पास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक किशोर बर्ताैलाले बताए ।  उनका अनुसार हाल कोरला नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकेको छ ।  तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौंमा चिनियाँ सामग्री आयात तथा निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो । भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ बताउँछन् ।  ‘कोरला नाका सञ्चालनपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ । गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरला नाकाबाट सामान ल्याउँदा सस्तो पर्छ,’ उनले भने । समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत वर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले बताए ।