राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, कहिले आउला आईपीओ ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा स्वीकृति दिई प्रमाणपत्र दिएको छ । प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो । यससँगै अब साविकको राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट बीमा ऐन, २०७९ बमोजिमको जीवन बीमा व्यवसाय गर्ने छ । साविकको राष्ट्रिय बीमा संस्थानले प्रस्ताव गरेअनुसार संस्थानलाई कम्पनीमा परिणत गरिएको हो । कम्पनीमा परिणत भएसँगै अब कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्नुपर्छ । बीमा ऐन अनुसार कम्पनीले एक वर्षभित्रमा पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्नुपर्ने हुन्छ । संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।
प्रहरीद्वारा ३३ बोरा चिनी बरामद
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा ९१६५० किलो० चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए । घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बिपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो । प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । रासस
प्राधिकरणलाई आजियाटाको जवाफ : एनसेलको सेयर खरिद बिक्रीमा नेपालको कानुन पालना गर्छौं
काठमाडौ । एनसेल आजियाटाले सेयर खरिद बिक्रीमा नेपालको कानुन पूर्ण रुपमा पालना गर्ने बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै आजियाटाले आफू नेपालको कानूनको पालना गर्न प्रतिवद्ध रहेको बताएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी गराए । अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले एनसेल खरिद बिक्रीमा नेपालको कानून पालन गर्न एनसेल आजियाटाले तयार रहेको बताएका हुन् । यसअघि आजियाटाले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिई एनसेलको सेयर किनबेच गरेको भन्दै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेखेको थियो । जसमा सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको समेत जानकारी गराइएको थियो । यस्तो छ एनसेल आजियाटाले पठाएको जवाफी पत्र यस कम्पनीको सेयरधनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रमा उल्लेखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियामली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिद बिक्रीका लागि भएको दुई पक्षीय सम्झौता समेतका कागजातहरु तदारुकतासाथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवतग गराउन चाहन्छौं । एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानूनी कर्तव्य पालनमा सदैब जागरुक र कटिबद्ध रहेको प्राधिकरणमा अवगत नै छ । अतः तहाँको पत्रमा उल्लेखित नियमावली र विनियामवलीका प्रावधानहरुको पूर्ण पालना गर्न सदाझैं एनसेल आजियाटा प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनयामवली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजातहरु संलग्न गरि दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियामली, २०७६ को विनियम ४ (क) बमोजिम त्यहाँ प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौं ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठको उपचारका क्रममा गरिएको परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएको हुन् । अस्पतालका चिकित्सक डा अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ । सघन उपचार कक्षमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको हालस्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूबीच सामान्य कुराकानीसमेत भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
न्यूरोडका सुन व्यापारी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ । प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गरे । उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको बताए । सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन । बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए । अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे । ‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहेका दाहालले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।’ विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरुले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताए । ‘सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेका छैनौँ । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्’, प्रधानमन्त्री दाहालले भने, ‘म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।’ उनले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गरे । ‘सोह्रौँ योजनामा के कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्दछु ।’ सो अवसरमा प्रधानमन्त्री दाहालले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो । रासस
१ लाख बढीले पाए नेपाल वेयरहाउजिङको आईपीओ, साढे ८४ हजारको आवेदन रद्द
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार गोलाप्रथामार्फत् बाँडफाँट भएको उक्त आईपीओमा १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । गत मंसिर १० गतदेखि १३ गतेसम्म जारी भएको उक्त आईपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ९१ हजार ९९८ जनाको आवेदन योग्य रहेको र बाँकी ८४ हजार ५६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको थियो । र, बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने दोश्रो चरणमा सर्वसाधारणमा जारी गरिएको थियो । उक्त आईपीओको रिजल्ट सिडिएससीले सञ्चालनमा ल्याएको आईपीओ रिजल्ट डट सिडिएससी डटकम डट एनपी बाट हेर्न सकिने छ ।
विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रहरीको अनुरोध
काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो । यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । ‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ ।