विकासन्युज

आईपीओ ल्याउन लागेको स्टार अस्पतालको आम्दानी ५० प्रतिशत घट्यो, ८५ करोड ऋण लिँदै

काठमाडौं । सर्वसाधारणका लागि प्रथम सार्वजनिक निष्कासन (आईपीओ ) जारी गर्ने तयारीमा रहेको ललितपुर सानेपास्थित स्टार हस्पिटलको आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालको आम्दानी सन् २०२३ मा करिब ५० प्रतिशतले घटेको हो । अस्पतालले सन् २०२३ मा ४५ करोड १० लाख रुपैयाँबराबर व्यापार गरेको तथ्यांक सार्वजनिक भएको छ । यो गत वर्षको तुलनामा ३९.४६ प्रतिशतले कम हो । गत वर्ष २०२२ मा अस्पतालले ७४ करोड ५० लाख रुपैयाँबराबर व्यापार गरेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार स्टार हस्पिटलले २०२१ मा ९० करोड ३० लाख, २०२० मा २३ करोड ६० लाख र २०१९ मा १८ करोड २० लाखबराबर व्यापार गरेको थियो । अस्पतालले ८५ करोड ७० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्यसमध्ये दीर्घकालीन ऋण ८२ करोड ७० लाख छ जसले ‘इक्रा एनपी एलडी’ तथा अल्पकालीन ऋण ३ करोड छ जसले ‘एनपी डी’ रेटिङ पाएको छ । इक्राले स्टार हस्पिटलको ऋण रेटिङ इक्रा एनपी ए४ बाट घटाएर एनपी डी दिएको छ । स्टार २००७ मार्चमा स्थापना भएको अस्पताल हो । यसमा १ सय शैया छन् । कोरोनाकालमा भने स्टारले वृहत परिमाणमा व्यापार गर्न सफल भएको थियो । तर, पछिल्लोपटक अस्पतालको व्यवस्थापनमा पनि समस्या देखिएको छ । स्टार हस्पिटलमा ३ हजार ७ सयभन्दा धेरै संस्थापक लगानीकर्ता छन् । यसको चुक्ता पुँजी ६९ करोड रुपैयाँबराबर छ । पछिल्लोपटक स्टारले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।  अस्पतालले  थप चुक्ता पुँजी जुटाउन आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

डिशहोमको विजेता थापाले पाए एक लाख पुरस्कार

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेका पुरस्कार रकम हस्तान्तरण गरिएको छ । बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्य बहादुर थापा, सदस्य रज वहादुर बाेहरा, वडा नं. ३ का अध्यक्ष अजब बहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थितीमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुलाई हरेक हप्ता नगद एक लाख जित्न सफल भएका विजेतालाई कम्पनीले बधाई दिएको छ । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने र ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।

मर्जरमा गएकालाई टक्कर दिँदै शिखर र नेको इन्स्योरेन्स, ६ कम्पनीले उठाए अर्ब बढी प्रिमियम

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पौने १३ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले कार्त्तिकसम्ममा १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक प्रिमियम उठाएको छ । चार महिनामा कम्पनीले जसले ९६ हजार २३३ वटा बीमालेख बिक्री गरी एक अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । एक अर्ब बढीको प्रिमियम संकलन गर्नेको सूचीमा सलिकोसहित ६ वटा बीमा कम्पनी रहेका छन् । जसमा अधिकांश मर्जरमा गएका कम्पनीहरु छन् । प्राधिकरणको अनुसार सलिको, सिद्धार्थ प्रिमियर, शिखर, हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल र नेको इन्स्योरेन्सले एक अर्ब बढी प्रिमियम संकलन गरेका छन् । अग्रस्थानमा रहेको सलिकोलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पछ्याएको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा एक लाख एक हजार ७२ वटा बीमालेख जारी गरी एक अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स प्रिमियमको आधामा तेश्रो स्थानमा रहेको छ । इन्स्योरेन्सले एक अर्ब २७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले ४ महिनामा ९५ हजार ८६० वटा पोलिसीहरु बिक्री गरेको छ । आइजीआई प्रुडेन्सियलले एक अर्ब ९ करोड र नेकोले एक अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यी कम्पनीले ४ महिनामा क्रमशः ७६ हजार ८३० र ९९ हजार ६५० वटा बीमा पोलिसी बिक्री गरेका छन् । यता युनाइटेड अजोडले ८६ करोड ८३ लाख, एनएलजीले ८३ करोड ६२ लाख, सानिमा जिआईसीले ७१ क रोड ६७ लाख, प्रभुले ७० करोड ६१ लाख, दि ओरियन्टलले ५८ करोड ९९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख, नेपाल इन्स्योरेन्सले ४९ करोड ६१ लाख र नेशनल इन्स्योरेन्सले ४३ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्सले सबैभन्दा कम प्रिमियम संकलन गरेको हो । जारी बीमालेख संख्याको आधारमा पनि नेशनल इन्स्योरेन्सले सबैभन्दा कम पोलिसी जारी गरेको छ ।

सरकार र सिम्याटबीच साझेदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्याट) बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी पत्रमा हस्ताक्षर भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा र सिम्याटका तर्फबाट ब्राम गोभाट्सले मन्त्रालयमा हस्ताक्षर गरे । यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने बताइएको छ। समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ । यो समझदारीले लामो समयदेखिको यी निकायहरुको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विश्वास लिइएको छ । समझदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५–२०३५) मा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

कोका-कोला बेभरेजेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक

काठमाडौं । कोका-कोला बेभरेजेज नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । कोका-कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको हो । कम्पनीका अनुसार रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो । नेपालभरका २५६ वितरकहरू १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका-कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने विश्वास लिएको छ । कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ । यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिविलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । बोटलर्स नेपालका म्यानेजिङ्ग डिरेक्टर दीपक नाथ सेन्यिलले भने, ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो। यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिव्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौं।’ ‘अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवल प्ले स्टोर वा एप स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग इन गर्न सक्छन् । हाम्रा आउट्‌लेटहरुको डिजिटल एविस्पयन्सलाई अझै सुधार गर्न र उनीहरुको कार्य विधीलाई अझै प्रभावकारी बनाउन हामीले क्युआर कोडबाट मात्र भुक्तानिहरु लिने निर्णय गरेको छ ‘ सेन्यिलले भने ।

मौरीपालनबाट वार्षिक ७ लाख आम्दानी गर्दै कास्कीका युवा

कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् । उनले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा रहेको विकट बस्तीमा मह र महुरीसहितको घार बिक्रीबाट एक वर्षको अवधिमा रु सात लाख आम्दानी गरेको २७ वर्षीय ढकालले जानकारी दिए । ‘परम्परागत खरले छाएको घुमाउने घरैभरि र वरिपरि करेसाबारीमा राखिएका ३२ वटा मौरीका घारबाट उत्पादित महको मुख्य बजार पोखरा हो’, उनले भने, ‘घरबाट मह प्रतिकिलो रु एक हजार चारसय र माग अनुसार सम्बन्धित स्थानमा पुर्‍याउँदा थप रु एक सय लिने गरेको छु ।’ तोगीगाउँ भन्दामाथि बस्ती नभएको चिसो भए पनि झुल्के घाम लाग्ने उक्त पाखोमा महत्त्वपूर्ण जडीबुटीको खानी तथा घना जङ्गल भएकाले मौरीका लागि प्रशस्त चरण क्षेत्र रहेको ढकालले बताए । यहाँ उत्पादित अर्ग्यानिक मह र घारको माग तीव्र रहेको उनले जानकारी दिए । कात्तिकरमङ्सिरमा मात्र तीन सय केजी मह उत्पादन भई बिक्री गरेको ढकालले बताए । उनका अनुसार एक वर्षको अवधिमा ३८ थान मौरीसहितको घार समेत बिक्री भएको छ । मौरी सहितकोप्रति घारलाई रु दश हजारमा बिक्री वितरण गर्दै आएको उनको भनाइ थियो । गाउँका अधिकांश घारमा सेरेना जातका मौरी रहेका छन् । बुबाले विसं २०६७ देखि सुरु गरेको मौरीपालन यतिखेर व्यावसायिक रुपमा परिणत भएको बताउँदै ढकालले भने, ‘गाउँमा बसेर २० घार मौरी पाल्ने हो भने कोही पनि भोकले मर्नुपर्दैन ।’ उमेरले समूहले नछेक्ने, खासै समय पनि दिनु नपर्ने, बिक्री हुँदैन कि भन्नु नपर्ने, मौरिपालनबाट राम्रो आम्दानी लिन सकिने हुँदा पैसा कमाउन जन्मथलो र परिवार छोडेर विदेश र सहरतर्फ भौँतारिनु नपर्ने उनको भनाइ थियो । मौरीपालक किसान सोमनाथ खनालका अनुसार घर र आसपासमा मौरीका २२ घार छन् । यस सिजनमा उत्पादन भएको ६५ लिटर मह बिक्रीबाट रु एक लाख तीस हजार आम्दानी भएको उनले जानकारी दिए । महको मागअनुसार पोखराको लेकसाइडमा प्रतिलिटर रु दुई हजारका दरले बिक्री गरेको बताउँदै उनले भने, ‘मौरीलाई खासै ध्यान दिनुपर्दैन । असिनापानीको बढी डर हुन्छ । मलछाप्रो, अरिङ्गाल, चिभेचरो, कमिला, खपटेकीरालगायत जङ्गली जनावर, चराचुरुङ्गीबाट जोगाउनु भने पर्छ ।’ कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजको भण्डारकारुपमा लिइने बहुउपयोगी खाद्य वस्तु प्राप्त हुने महको सेवनकर्ता बढेपछि पछिल्लो समय मागसमेत बढेको किसान बताउँछन् । स्थानीय मौरिपालन गर्दै आएका अगुवा किसान पित्रृराज लामिछानेले महभन्दा मौरीसहितका घार बिक्रीमा विशेष ध्यान दिँदै आएका छन् । मह उत्पादन गरी बिक्री गर्नुभन्दा मौरीसहितका घार बिक्री वितरण गर्दा व्यावसायिक मौरीपालन विस्तार हुने, मह उत्पादन वृद्धि हुनुका साथै रोजगारीसमेत सिर्जना हुने उनको विश्वास छ । एक वर्षको अवधिमा आफ्नो र छिमेकीको गरी रु ३५ लाख मूल्य बराबरका तीन सय पचास गोलासहितका घार बिक्री गरेको बताउँदै लामिछानेले भने, ‘यस क्षेत्रमा रहेका सबै घरमा धेरैरथोरै घार छन् । गाउँमा वार्षिक रु एक करोड भन्दा बढी सहरको पैसा आउने गरेको छ ।’ कात्तिकरमङ्सिर र फागुन महिनामा मौरीले गोला वृद्धि गर्ने भएकाले सोही समयमा नयाँ घारमा राख्न उचित हुने उनको भनाइ थियो । कास्की जिल्लाका पाँचवटै स्थानीय तह तथा छिमेकी जिल्ला गोरखा र स्याङजामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै लामिछानेले उनले थपे, ‘अन्य काठको तुलनामा टुनी जातको काठमा बनाइएको घारको मूल्य बढी हुन्छ ।’ एउटा घारबाट फुटाएर एक वर्षमा १० घारसम्म मौरी बनाउने गरेको उनले बताए । स्थानीय सरकार एवम् विभिन्न सङ्घसंस्थाले किसानलाई मौरी घार वितरण गरेपनि प्रविधि र ज्ञानको अभावमा उनीहरुले उचित फाइदा लिन नसकेका लामिछानेको भनाइ थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरी सहितको एक घार वितरण गरेसँगै यस क्षेत्रमा मौरीपालन सुरु भएको लामिछानेले जानकारी दिए । गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखिनै यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरीघार विस्तारमा जोड दिँदै आएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए । किसानलाई घारसहित आवश्यक तालिम, अत्याधुनिक प्रविधि, सुरक्षाका सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए । मह उत्पादनका लागि आवश्यक सीप, ज्ञान र प्रविधिमा सहयोग गर्दै आइएको गुरुङले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिकाका अधिकांश वडामा मह उत्पादनको प्रचुर सम्भावना रहेको छ । पालिकाले पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्षमा १५ देखि २० लाख मूल्य बराबरका मौरीसहितका घार खरिद गरी किसनालाई वितरण गर्ने योजना बनाएको गुरुङले जानकारी दिए । यसमा पालिकाकोतर्फबाट ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको उनले बताए । गाउँपालिकाका विशेष गरी तोगी, याङजाकोट, घ्यामरुङलगायत स्थानमा राम्रो मह उत्पादन हुने जनाउँदै अध्यक्ष गुरुङले भने, ‘मौरीसहितको घार पाउन त्यति सहज छैन । लम्तरी तोगीका किसना पित्रृराज लामिछानसँग घार लिनको लागि छ महिलाको समय लाग्ने र झण्झटिलो खरिद प्रक्रियाले थप असहज हुने गरेको छ ।’ गण्डकी प्रदेशको राजधानी पोखराबाट विजयपुर, कालिका, माझठानाको सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । सौरेसम्म पक्की सडक भए पनि बाँकी गाउँसम्म पुग्न कच्ची मोटर बाटो पुगेको छ । रासस

दुई निर्जीवन लघुबीमा कम्पनीले उठाए एक करोड बढी प्रिमियम, कुनले कति ?

काठमाडौं । सञ्चालनमा रहेका दुई निर्जीवन लघुबीमा कम्पनीले एक करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले कात्तिक महिनासम्ममा ५ हजार ६५० वटा बीमालेख बिक्री गरी एक करोड बढी बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये नेपाल माईक्रो इन्स्योरेन्सले ६१ लाख ३१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कात्तिकसम्ममा कम्पनीले ३ हजार ४०५ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले २ हजार २४५ वटा पोलिसी बिक्री गरी एक करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कार्त्तिक महिनामा मात्रै नेपाल माइक्रोले ३० लाख ८५ हजार र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले ४५ लाख १३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । उक्त एक महिनामा दुई कम्पनीले २ हजार ६७८ वटा बीमालेख बिक्री गरेका छन् ।

एक सातापछि नेप्सेमा झिनो सुधार, कारोबारको शीर्ष स्थानमा अधिकांश बीमा कम्पनी

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको परिसूचक बुधबार भने समान्य ३.३३ अंकले बढेको छ । यससँगै बुधबारको परिसूचक मंगलबारको तुलनामा ०.१८ प्रतिशतले बढेर १८४१.०४ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार भने एक अर्ब १४ करोड रुपैयाँमा खुम्चिएको छ । बजारमा सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । कारोबारको शीर्ष पाँचौं स्थानमा रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ३४ लाख, सन नेपाल लाइफको ७ करोड ३० लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ७९ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ७८ रुपैयाँले बढी हो ।