विकासन्युज

सिटिजन लाइफको नाफा १२.३६ करोड, जीवन बीमा कोष १२ अर्ब पुग्यो

काठमाडौं । हालै सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढाएर १२ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क २.७० प्रतिशत बढेर २ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । साथै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ४.२३ प्रतिशत बढेर २ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती कोष १४ करोड ९६ लाख रुपैयाँ, जगेडा कोष ६८ करोड ९५ लाख रुपैयाँ र जीवन बीमा कोष १२ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ६ महिनामा कम्पनीले अभिकर्तालाई २७ करोड ५५ लाख रुपैयाँ कमिशन प्रदान गरेको छ । पुस मसान्तसम् कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकद्वारा विद्यालय र आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ। यसका साथै बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । विद्यालय र सेवाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोह लाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिक र बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाँउदा धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको व्यक्त गरे। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ। बैंकले १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त आयोजनामा वेबिनार सम्पन्न

काठमाडौं । इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा Transformative Resilience in Evolving Risk Landscapes  बिषयमा भर्चुअल माध्यम मार्फत २०८० साल माघ १० गते वेबिनार सम्पन्न भएको छ । उक्त वेबिनार Cyber Insurance , Parametric Modelling / Catastrophe Modelling मा आधारित रहेको थियो र वल्र्ड बैंक , र्टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेस का उच्च पदाधिकारीहरु प्यानलिस्ट मा रहेका थिए भने फेडेरलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका हुन् । कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा इन्स्योरेन्स ईस्टिच्युट नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले गरेका थिए । उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा र्निजिवन बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत बीमा प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो।

नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । नेपाल पेमेन्ट सोल्युशन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा । जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए। केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उहाँले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए । उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए । ‘धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ’, प्रमुख विष्टले भने, ‘त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् ।’ दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञानकेन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उहाँले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् ।  पालिकामा उनले गरेको केराखेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केराखेतीमा लागेका छन् । उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग  गर्दै आएका छन् । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् । स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएको बस्नेतले वार्षिक रु एक करोडको केरा बिक्री गर्ने गरेको बताए  । उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केराखेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए । ‘यही चालु आर्थिक वर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु’, उनले भने, ‘चाँडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले सबै किसानलाई लाभ दिन्छ ।’ उनले झापा गाउँपालिकाले केराखेतीलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे । उनी भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने ‘जैन डिप स्प्रिङ्कल सिँचाइ’ प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएका हुन् । यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए। उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए । रासस

महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते सकिँदै, ६ लाख ५ हजार कित्ता कारोबारमा आउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको लक इन पिरियड फागुन १३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको लघुवित्तले जनाएको छ । संस्थापक समूहको ६ लाख कित्ता र कर्मचारी समूहको ५ हजार कित्ता गरी कूल ६ लाख ५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको लघुवित्तको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ । लघुवित्तका अनुसार बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्था बमोजिम संस्थापक सेयरधनीको लकइन अवधि वि.सं २०८० असोज ३० गते समाप्त भएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम आईपीओ बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर तथा कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ । लकइन समाप्त हुने सम्बन्धमा धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि सूचीकृत कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् । लघुवित्तले वि.सं २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत)लाई आईपीओ निष्काशन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो ।

१०५ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ । नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो । उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।