हायात रिजेन्सीले सबै कर्मचारीलाई हटायो, तत्काल सञ्चालनमा नआउने
काठमाडौं । हायात रिजेन्सीले सबै कर्मचारीलाई हटाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएकाे आगजनी तथा तोडफोडले होटललाई ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउने अवस्था नभएकोले कर्मचारीलाई विदा गरेको हाेटलकाे भनाइ छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशाधन विभागलाई पत्र लेख्दै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएका छन् । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । पत्रमा जेनजी आन्दोलनमा होटलमा आगजनी हुँदा एक जना पर्यटकले चार तला माथिबाट हाम फालेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पनि जानकारी दिएको छ । कोभिड-१९ को असरबाट सुधार हुँदै गएको होटल जेनजी आन्दोलनले फेरि ठूलो आर्थिक समस्या सिर्जना गरेको र पर्यटकको पनि सामान लुटपाट हुँदा अन्तर्राष्ट्रिय स्तरमै होटलको ब्राण्डमा नकारात्मक धक्का लागेको बताएको छ । पत्रमा अहिले होटल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको उल्लेख छ । होटलको पुर्ननिर्माणका लागि करोडौं रकम आवश्यक हुने उल्लेख छ ।
फोनपेको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने र स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८२/८३ का लागि एनबिएसएम एसोसिएटस चार्ट्ड एकाउन्टेन्सलाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको छ ।
गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्दै, विजेताले नगद पुरस्कार पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा 'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ गरिमा रोड रेस २०८२ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी मंसिर ६ गते शनिबारका दिन काठमाडौंमा आयोजना हुनेछ । गत वर्षदेखि सुरु गरिएको गरिमा रोड रेसको यो दोस्रो संस्करण हो । यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा नयाँ थपिएको भेट्रान (महिला र पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीको हुनेछ । भेट्रान विधा यस वर्ष पहिलो पटक समावेश गरिएको हो, जसमा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका धावकहरू सहभागी हुन सक्नेछन् । प्रतियोगितामा करिब १ हजार धावकको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ । खुला विधामा विजेताले जनही ५० हजार रुपैयाँ, दोस्रोले ३५ हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ, चौथोले १५ हजार रुपैयाँ र पाँचौं स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १४ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौं स्थान हासिल गर्नेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने खुला समूहको दौड बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवनसम्म पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किएर सम्पन्न हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड पनि सोही स्थानबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ । प्रतियोगिता व्यवस्थित सञ्चालनका लागि गरिमा विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगिताको लागि कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ९०१–५९७०१७९० मा सम्पर्क गर्न सकिनेछ । गत वर्ष आयोजित गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० भन्दा बढी धावक सहभागी भएका थिए । यस वर्ष पनि सहभागी संख्या झनै उल्लेख्य हुने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।
बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणाली पूर्ण रूपमा स्वचालनमा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रणालीले बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउनेछ भने नियमन तथा निरीक्षण कार्यलाई अझ दक्ष र पारदर्शी बनाउन सहयोग पुर्याउनेछ । एपीआई एकीकरण अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीसम्बन्धी एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । प्रणालीमार्फत प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरू स्वतः प्रमाणीकरण हुनेछन् । सही विवरण भएको अनुरोध मात्र स्वीकृत हुने र त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत स्वचालित रूपमा बीमकलाई फिर्ता पठाउनेछ । यस एकीकरणका लागि नबिल बैंकले विशेष ‘मिडलवेयर’ प्रणाली विकास गरेको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणहरूलाई बैंकको कोर बैंकिङ प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा प्रदान गर्छ । यो सहकार्य नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको बताइएको छ । यसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन, उपनिर्देशक रविन्द्र श्रेष्ठ, तथा नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायतको उपस्थिति रहेको थियो ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६९ पैसा तोकिएको छ । ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ ।
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती
काठमाडौं । नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति अनुरूप करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको जनाएको छ । सोही अनुरूप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि मंगलबारको मितिदेखि नै लागू हुने गरी अन्त्य गरिएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए । निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको उनले बताए ।
१७ प्रतिशत लाभांश बाँड्ने एनएमबिको घोषणा
काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १७ गते दिउँसो साढे ३ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा दैनिक भत्ता वृद्धि सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
हिउँद भरि सुनसान हुन्छ बुकी पाटन
काठमाडौं । बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकी पाटन चिसो बढेपछि सुनसान भएको छ । सयौं गोठाला र हजारौं वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकी पाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकी पाटन पछिल्लो २ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकी पाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकी पाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा पर्ने बुकी पाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । बर्खा याममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकी पाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकी पाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकी पाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ । बुकी पाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौं हिमशृङखलाको दृश्यावलोकन गर्न सक्ने हुँदा बर्खाको समयमा बढी पर्यटक बुकी पाटन उक्लने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, ‘२ वर्षदेखि त बुकी पाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।’ नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकी पाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले बर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका-८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए । धेरै गोठालाहरूले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामा त्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकी पाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् । ‘यतिबेला त बुकी पाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले-पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ,’ सुनारले भने, ‘अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।’ चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँ खेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ । पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र बर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन् ।