कात्तिक २ देखि काठमाडौं–कोलकाता सिधा उडान भर्दै बुद्ध एयर
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय तर्फको दोस्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकातामा १९ अक्टोबर (कात्तिक २) बाट पुनः सुरु गर्ने भएको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को बैशाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो । सुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ । यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरूको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरू पनि सञ्चालन गरिरहेको छ । नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको हो । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास बुद्ध एयरको रहेको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एक मात्र हुने कम्पनीले जानकारी दिएको छ ।
निजी केबलकार पनि अब सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
काठमाडौं । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा निर्धारण गरेको छ । आइतबार बसेको बैठकले मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो । निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा पाल्पाको सत्यवती दर्शन प्रालि, इलामको सानो पाथीभरा केबलकार प्रालि, कास्कीको सिक्लेश अन्नपूर्ण केबलकार प्रालि, मौलाकालीको ड्रिम्स हिल्स प्रालि, अर्घाखाँचीको सुपा देउराली केबलकार प्रालि र सिन्धुपाल्चोकको सूर्य कुण्ड गोसाइँकुण्ड केबलकार प्रालि रहेका छन् । यसैगरी, औद्योगिक ग्राम अन्तर्गत सुनसरीको बराहक्षेत्र औद्योगिक ग्राम र डोटीको जोरायल औद्योगिक ग्राम रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको आयोजनामा झापाको दमक औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र, चितवनको शक्तिखोर औद्योगिक क्षेत्र, दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र रहेका छन् । त्यस्तै, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत दुई क्षेत्र तोकेको छ । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत रहेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रहेका छन् । त्यस्तै, नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना, अमलेखगन्ज देखि चितवनको लोथर सम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना रहेका छन् । हेनूहोस् सूचना :
विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख मनोज सिलवालले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्दशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । सिलवालले मंगलबार रत्नपार्कस्थित प्राधिकरणका मुख्यालमा पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण
काठमाडौं । अर्थमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले संघीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । सोमबार मन्त्रीपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेर समेत गरेका थिए । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए । जसअनुसार मंगलवार मन्त्री खनालले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । जेनजी पुस्ताको आन्दोलनसँगै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ७ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ ।
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोडिने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए । दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे । ‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ । आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?,’ उनले चेतावनी दिँदै भने । ‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई/मधेमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’मन्त्री घिसिङले थपे । भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।
५८ अंकले बढ्यो नेप्से, ८ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचक ५८ अंकले बढेर २६८२ बिन्दुमा पुगेको छ । आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ । मंगलबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनिर्भसल पावर कम्पनीको १८ करोड, हिमालयन डिस्टीलरीको १८ करोड, शिवम् सिमेन्टको १६ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार समूह १.८३ प्रतिशतले बढेको छ । आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
काँकरभिट्टा नाकामा आयात ९ प्रतिशत बढ्दा निर्यात घट्यो, राजस्व भने बढ्यो
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख अर्थात् नौ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा ७ अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको दुई महिनामा ३ अर्ब ६ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ८६ करोड २८ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । उक्त निर्यात २० दशमलव ६९ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताए । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरुमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन्भने आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् । कार्यालयका अनुसार चालु आव २०८२/८३ को पहिलो दुई महिनामा आयात निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा आठ दशमलव ६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख नौ हजारले बढी हो ।
एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले यो सुविधा प्रयोग गर्न डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।