विकासन्युज

बडा दसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको साधना गरिँदै, को हुन् चन्द्रघण्टा देवी ?

काठमाडौं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।  यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्व प्राध्यापक तोयराज नेपालले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।​​​​​​​ चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।​​​​​​​ चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा पहिरो खस्दा केही दिनयता दैनिक जसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । मुग्लिन-नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली-खैरेनीटारबाट बाँयातर्फबाट भीमाद-मानपुर हुँदै डेढगाउँ-वुलिङटार-ढोडेनी-गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।  मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार-भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद-मानपुर कच्ची सडक ३५ किलोमिटर छ । मानपुर-डेढगाउँ कालोपत्रे (४० किमि), डेढ गाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।  मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन-नारायण सडक खण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले बताए । 

जेनजी आन्दोलनबाट भाटभटेनीमा ११ अर्बको क्षति, ६ अर्बका सामग्री पूर्णरूपमा जलाइए

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका क्रममा यो बराबरको क्षति भएको देखिएको हो । बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको छ । १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ ।  स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए । भवनभित्र रहेका सबै सामग्री पूर्णरुपमा आगजनी गरिएको थियो । त्यसबाहेक ९ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको छ । ९ वटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको, बाँकी ९ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए । उनले भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए । ‘सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,’ गुरुङले भने । प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए । भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ । ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ ।

ट्राफिक प्रहरीलाई गोल्छा ग्रुपले दियो २० वटा मोटरसाइकल

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ट्राफिक प्रहरीलाई २० वटा मोटरसाइकल प्रदान गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई ती मोटरसाइकलहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।  सहयोगस्वरूप प्रदान गरिएका सबै मोटरसाइकलहरू १५० सीसीका बजाज पल्सर मोडलका छन् ।  नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई सशक्त बनाउने उद्देश्यले उक्त मोटरसाइकल प्रदान गरेको गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले बताए ।  कार्यक्रम उनले ट्राफिक व्यवस्थापनमा बजाजको योगदानले अझ प्रभावकारी सेवा दिन ट्राफिक प्रहरीलाई सहज हुने विश्वास व्यक्त गरे । यसैगरी यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले भने, ‘बजाजको यो सहयोगले हाम्रो सेवा कार्यलाई थप गतिशील बनाउनेछ । यस्तो सहयोगले निजी क्षेत्र र राज्य संयोजनको राम्रो उदाहरण पेश गरेको छ ।’ गोल्छा ग्रुपले ट्राफिक प्रहरीको कार्य सहज र प्रभावकारी होस् भन्ने उद्देश्यका साथ यी सवारीसाधनहरू उपलब्ध गराएको हो । 

तुइनखोलामा ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक फेरि पूर्णरूपमा अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा मंगलबार दिउँसो पुनः सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित उक्त स्थानमा लगातार पहिरो खसिरहेकाले दुईतर्फी सवारी सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।  उनका अनुसार मंगलबार अपरान्ह ३ः२० बजे खसेको भीषण सुख्खा पहिरो अहिले पनि निरन्तर खसिरहेकोले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको छ । पहिरो खसिरहेकै कारण सडक नै भासिन सक्ने जोखिम बढेको जनाउँदै सुरक्षाका लागि सवारीसाधनहरूलाई तत्काल फर्काइएको छ ।  तुइन खोलामा पहिरोको संकट नयाँ भने होइन। । शुक्रबार साँझ ६ः०० बजेदेखि सुरु भएको सुख्खा पहिरोको श्रृंखला मंगलबारसम्म आइपुग्दा अझ भयावह बनिरहेको छ । मंगलबार बिहान मात्र धादिङको बेनीघाट रोराङ-१०, जवाङखोला (बाँदरे मोड) मा खसेको अर्को पहिरो झन्डै १० घण्टा प्रयासपछि हटाइएको थियो। त्यसपछि मात्र सडक दुईतर्फी रुपमा खुलाइएको थियो। तर अपरान्ह पुनः ठूलो पहिरो खस्दै आएको छ । प्रहरी र सडक विभागले जोखिमलाई मध्यनजर गर्दै सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। विशेषगरी काठमाडौं प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने यात्रुहरूले वैकल्पिक बाटो रोज्नुपर्ने अवस्था आएको छ । सडक विभागका अनुसार हाल प्रयोग गर्न सकिने तीन वैकल्पिक मार्गहरूमा काठमाडौंदेखि हेटौंडा हुँदै नारायणगढ, त्रिशूली-धुन्चे-गल्छी मार्ग, सिद्धलेक-गजुरी हुँदै जान सकिने जनाएको छ । सुक्खा पहिरो निरन्तर खसिरहेको र भु-स्खलनको सम्भावना कायमै रहेकाले स्थानीय प्रशासनले जोखिम मोलेर यात्रा नगर्न अनुरोध गरेको छ । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास हुनेछ । 

एमालेमा सचिवालय बैठकको तयारी, अध्यक्ष ओली वन टु वन भेटघाटमा व्यस्त

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकको तयारी सुरु गरेको छ । पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक भएसँगै सचिवालय बैठकको तयारी सुरु भएको एक पदाधिकारीले जानकारी दिए ।  सचिवालय बैठकको तयारीस्वरूप अध्यक्ष ओलीले पदाधिकारीहरूसँग गहन संवाद सुरु गरेका छन् । उपमहासचिव प्रदीप ज्ञवालीसँग अनौपचारिक रूपमा लामो संवाद गरेका ओलीले पार्टीका अन्य पदाधिकारीहरूसँग पनि संवाद सुरु गरेका छन् ।  पार्टीका एकजना पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष ओली सकेसम्म दशैं अगाडि नै सचिवालय बैठक राख्ने सोचमा रहेका छन् ।  ‘पछिल्लो वस्तुस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्न ढिलो भएको भन्ने बुझाइ अध्यक्षज्यूको छ,’ ती पदाधिकारीले भने । अध्यक्ष ओलीले उपमहासचिव ज्ञवालीसँगको लामो परामर्शपछि महासचिव शंकर पोखरेललाई गुण्डुस्थित निवासमा बोलाएका थिए । पछिल्लो समय ओलीले उपमहासचिव ज्ञवालीलाई अलि बढी विश्वास गर्न थालेको बताइएको छ । निर्वतमान प्रधानमन्त्री ओलीले महासचिव पोखरेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव पद्या अर्याललाई पनि निवासमा बोलाएर संवाद गरेको ती नेताले जानकारी दिए । ओलीले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि निवासमा बोलाएर कुराकानी गरिसकेका छन् ।  सचिवालयमै अल्पमतमा पर्न सक्ने सम्भावना भएपछि ओलीले सबै पदाधिकारीलाई एक्लाएक्लै भेट्ने रणनीति अख्तियार गरेका हुन् ।  एमालेका ती पदाधिकारीका अनुसार असोज १२ गतेलाई सचिवालय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यदि उक्त दिन बैठक आयोजना गर्न नसकिए दशैं अगाडि बैठक बस्ने सम्भावना अत्यन्त न्यून रहेको उनले जानकारी दिए । भदौ १९ मा पछिल्लो पटक एमालेको सचिवालय बैठक बसेको थियो । भदौ २० देखि २२ सम्म भएको दोस्रो विधान महाधिवेशन पछि एमाले कुनै पनि सार्वजनिक फोरममा संस्थागत रूपमा देखिएको छैन । एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेको बेलामा हुन लागेको सचिवालय बैठकको बेग्लै महत्त्व रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्।  उपाध्यक्ष गुरु बराल, महासचिव पोखरेल, उपमहासचिव ज्ञवाली, अर्का उपमहासचिव विष्णु रिमाल र सचिव पद्या अर्याल तत्काल पार्टी पुनर्गठन गर्न नहुने पक्षमा छन् ।  उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव गुरुङ पर्ख र हेरको अवस्थामा रहेका छन् । उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङ पछिल्लो समय निर्णायक देखिन्छन् । उपाध्यक्ष रामबहादुर थापा निस्क्रिय छन् । सचिव टोपबहादुर रायमाझी निलम्वनको अवस्थामा रहेका छन् । सचिव छविलाल विश्वकर्माले पौडेलको विचार पर्खेर बसेका छन् भने अर्का सचिव रघुवीर महासेठ अहिलेसम्म खुलेका छैनन् ।

सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले स्वतन्त्र रूपमा भाग लिन सक्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गराउनु सरकारको मुख्य दायित्व भएको बताए । उनले निर्वाचन आयोगलाई आवश्यक सबै सहयोग र व्यवस्था मिलाउन ढिलाइ नगर्ने आश्वासनसमेत दिए । उनले भने, 'फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने सरकारको जिम्मेवारी हो । सबैलाई चुनावमा सहभागी हुन सक्ने अवसर दिलाउन सरकार अर्जुनदृष्टिले लागिरहेको छ ।' मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको यथार्थ पत्ता लगाई छानबिन गर्ने र दोषीमाथि कारबाही अघि बढाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । साथै, उनले आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहका मागलाई सम्बोधन गर्दै सरकारले जनताले महशुस गर्ने गरी काम अघि बढाउने बताए । सार्वजनिक सेवामा सुधार ल्याउन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलको भनाइ छ ।

युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिसेयर १८४२ रुपैयाँ बाँड्ने

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको कम्पनी सचिव गोविन्द बहादुर शाहीले जानकारी दिए । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।