उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त
काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
५५ वटा चार्जिङ स्टेशन बनाउँदै एमएडब्लू वृद्धि, फोटोनका गाडी मात्र चार्ज गर्न मिल्ने
काठमाडौं । फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले देशका विभिन्न ठाउँमा ५५ वटा चार्जिङ स्टेशनको निर्माण गर्ने भएको छ । विद्युतीय सवारीको विस्तारसँगै चार्जिङ स्टेशनको आवश्यकता ठम्याई कम्पनीले चार्जिङ स्टेशनको निर्माण गर्ने योजना बनाएको हो । पहिलो चरणमा १५ र दोस्रो चरणमा ४० वटा गरी जम्मा ५५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार केही चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आइसकेका छन् भने केही स्टेशनहरु निर्माणको चरणमा छन् । महेन्द्रनगर, जनकपुरमा चार्जिङ स्टेशन तयार भई सञ्चालनमा आइसकेको एमएडब्लू वृद्धिका सेल्स हेड रविन आचार्यले बताए । चियाबारी, मुलकोट लगायतका ठाउँमा केही दिनभित्र चार्जिङ स्टेशन सञ्चालनमा आउने उनको भनाइ छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ मा चार्जिङ स्टेशन निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । आचार्यका अनुसार कम्पनीले यो वर्ष करिव ३५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । कम्पनीले जडान गरेको चार्जरबाट सबै गाडी भने चार्ज गर्न मिल्दैन । उक्त चार्जरबाट फोटोनका गाडी र कारहरू मात्र चार्ज गर्न मिल्ने आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले तोकेको शुल्क अनुरूप नै शुल्क बुझाएर गाडी चार्ज गर्न सकिने उनको भनाइ छ । सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार ४० किलोवाटको चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज हुन्छ । कम्पनीका अनुसार स्टेशन अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । पहिलो चरणमा तयार हुने १५ वटा चार्जिङ स्टेशन मध्ये १२ वटा ६० किलोवाटका र बाँकी ३ वटा क्रमशः १२०, ४० र ३० किलोवाट क्षमताका हुनेछन् । विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको आचार्यले बताए । ‘फोटोनका ईभी गाडी किनेर सञ्चालन गर्दा सहज रूपमा ती गाडीलाई चार्ज गर्न सकियोस् भनेर स्टेशनको निर्माण गर्ने योजना बनाएका छौं’, उनले भने, ‘चार्जिङ स्टेशनले गाडी चार्ज साथै सुरक्षित यात्रा गर्नमा मद्दत पुर्याउने छ ।’ कम्पनीले अधिकांश रुटमा चल्ने गाडीलाई लक्षित गर्दै चार्जिङ स्टेशनको निर्माण गरिरहेको छ । ईभी गाडीका प्रयोगकर्ता बढेसँगै ईभीका लागि चाहिने पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्य राखी चार्जिङ स्टेशन निर्माण गरिएको आचार्यको भनाइ छ । सर्भिस सेन्टर पनि विस्तार गर्दै एमएडब्लू वृद्धिले गाडी बिक्री पछिको सर्भिसलाई पनि मध्यनजर गर्दै सर्भिस सेन्टर पनि विस्तार गर्दै जाने योजना बनाएको छ । कम्पनीले हाल १० वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आएकोमा २ वटा थपेर १२ वटा सर्भिस सेन्टर बनाउने योजना बनाएको कम्पनीले जनाएको छ । ‘हामी सबै डिलरलाई थ्रीएस दिन्छौं, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कभर हुने गरी सर्भिस र सेल्स नेटर्वक विस्तार गर्दै छौं,’ विकासन्युजसँग कुरा गर्दै आचार्यले भने । विश्वभरी फोटोन मोटर्सका एक करोड १० लाख गाडी बिक्री भएका छन् । नेपालका सडकमा करिब ५ सय वटा फोटोनका गाडीहरू कुद्ने गरेको कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिका अनुसार फोटोनका डिजेल, पेट्रोल, हाइड्रोजन, इलेक्ट्रिक, आदि गाडी उपलब्ध छन् । पछिल्लो समय एमएडब्लू वृद्धिले नेपालमा १४ र १५ सिटर ‘हाई रुफ ईभी भ्यान’ पनि सार्वजनिक गरेको छ । फोटोन मोटर्सले सन् २००३ देखि ईभी गाडी र २००५ मा इलेक्ट्रिक बसको उत्पादन गर्दै आएको छ । हाल फोटोनले विश्वभर २२ वटा फ्याक्ट्रीबाट आफ्ना उत्पादन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा अध्यक्ष ढकालले गरे २५३ कर्मचारीलाई सम्मान
काठमाडौं । ग्लोबल आइएमई बैंकले १७ औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन् । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्ति भन्दा मिहिनेत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरुलाई आग्रह गरे । कर्मचारीको अथक मिहिनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पु¥याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । बैंकका वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सेयर बजार २७ अङ्कले बढ्यो, चार अर्ब चार करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक २७.९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सातवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव १० र प्रभु स्मार्ट फन्डको सेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्यामा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २६ करोड ६३ लाख ९१ हजार चार सय १६ बराबरको पाँच लाख ७० हजार सात सय १७ कित्ता सेयर किनबेच भएको छ ।
टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशत पुग्यो
एजेन्सी । टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०.७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहले गरेका छन् । यद्यपि, राष्ट्रपति रेसेप तैयप एर्दोगानको बजारमामिला अध्ययन गर्ने अर्थशास्त्रीहरूले नयाँ टोलीले आगामी चार महिनाभित्र मुद्रास्फीति अहिलेसम्मकै उच्च विन्दुबाट घट्न थाल्ने बताएका छन् । दशकौं लामो उच्च मुद्रास्फीति दर सन् २०२२ को अक्टोबरमा ८५ प्रतिशत पुगेको थियो र त्यसपछि स्थिर आरोहण सुरु हुनुअघि नै यो दर घटेको थियो । टर्कीको आधिकारिक वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६४.७७ प्रतिशत सम्म पुगेको छ, जुन नोभेम्बरमा ६१.९८ प्रतिशत रहेको थियो । तर, मासिक २.९३ प्रतिशतको वृद्धि दर विगत छ महिनामा सबैभन्दा कम हो । कोनोटोक्सिया इन्भेस्टमेन्ट हाउसका बजार विश्लेषक बार्टोस्ज साविकीले भने, ‘मुद्रास्फीतिको प्रवृत्तिमा केही सुधार आएको छ र पछिल्ला महिनाहरूमा मुद्रास्फीति दर स्थिर भएको छ ।’ क्यापिटल इकोनोमिक्सका लियाम पीचका अनुसार पछिल्लो तथ्याङ्कले केन्द्रीय बैंकलाई सामान्यतया सान्त्वना दिनेछ । उच्च ब्याज दरलाई ‘सबै दुष्टहरूको आमा र पिता’ भनेका एर्दोगानलाई विश्लेषकहरूले यसका लागि जिम्मेवार देखेका छन् । राष्ट्रपति एर्दोगानले सन् २०२१ मा ‘नाम मात्रको स्वतन्त्र’ केन्द्रीय बैङ्कलाई उधारो लागत घटाउन निर्देशन दिनुलाई विश्लेषकहरूले मुद्रास्फीतिको श्रृङ्खलालाई बढाउने वर्तमान् समस्याको जड मानेका छन् । गत वर्षको मे महिनामा पुनः चुनाव जितेपछि आफ्नो पूरानो प्रतिबद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन उनले टर्कीका चर्चित अर्थविद् मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको रूपमा र पूर्व वाल स्ट्रीटका कार्यकारी प्रमुख हाफिज गए एर्कानलाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गरेका थिए । एर्दोआनको उच्च ऋण लागतको विगतको घृणालाई तोड्दै केन्द्रीय बैङ्कले महत्वपूर्ण ब्याज दरलाई ४२.५ प्रतिशतबाट ८.५ प्रतिशतमा झारेको छ । दुई दशकभन्दा बढी सत्तामा रहेपछि आर्थिक नीति उल्टाउने बृहत् सङ्केत एर्दोगानले नयाँ कार्यक्रमलाई समर्थन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषले तयार गर्यो बहाल व्यवस्थापन कार्यविधि मस्यौदा
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बहाल मस्यौदा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरी मन्त्रलयमा पेश गरेको छ । बहाल व्यवस्थापन कार्यविधी बनाएर कोषको आम्दानी वृद्धी गर्ने जनाएको छ । कार्यविधि नबन्द कोषको अचल सम्पती कौडीको मुल्यमा प्रयोग हुँदै आएको छ । कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवदीको संयोकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले आज सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई मस्यौदा बुझाएको हो । मस्यौदा अध्यान गरेर कार्यन्वयमा लाने मन्त्री किरातीले बताएका छन् ।
एपोलो हाइड्रोको आईपीओ प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल
काठमाडौं । एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल साउन २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको छ ।
सौराहामा पर्यटक बढेसंगै व्यवसायी उत्साहित, ९० प्रतिशतभन्दा बढी होटल बुकिङ
काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए । ‘यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या पुरानै लयमा फर्कन्छ’, उनले भने, ‘सौराहाका ९० प्रतिशतभन्दा बढी होटल बुकिङ छन् । भारतमा सार्वजनिक बिदा भएका कारण पनि घुम्न आउने भारतीय नागरिक बढेका हुन् ।’ चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो । सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश–विदेश जाने योजना रहेको बताउँदै उनले ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको जानकारी दिए । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताए । ‘यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनु पर्दैन’, उनले भने, ‘थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।’ सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका अध्यक्ष नरेश गिरीले बताए । उनका अनुसार सौराहामा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य छ । यहाँ झण्डै दुई सय रेष्टुरेन्ट छन् । सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटल छन् भने पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ । रासस