सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्छौं : मन्त्री ज्वाला

<p>काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुने गरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेस गरिएको पनि जानकारी दिए । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी संसद [&hellip;]</p>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् ।

मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुने गरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेस गरिएको पनि जानकारी दिए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा सरकारले पेस गर्नेसमेत बताए ।

‘नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्ने गरी विकासमैत्री ऐनको रूपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेस गर्छौं’, उनले भने ।

विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले उक्त ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाइ थियो ।

आफू मन्त्री हुनेवित्तिकै सार्वजनिक सडकसम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँरूपमा अगाडि बढाउन प्रयास गरेको मन्त्री ज्वालाले बताए ।

‘यातायात व्यवसायीका सवालहरू, लाइसेन्सका विषयहरू, मजदुरका विषयहरू, यी तमाम विषयहरू यसमा समावेश गर्ने गरी त्यो ऐनलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउने गरी प्रयास गरिरहेका छौं,’ उनले भने, ‘र, त्यस सम्बन्धमा हामी फाइनल गर्नुभन्दा पहिले हामी व्यवसायी, मजदुरसँग सम्बन्धित संगठन र विज्ञहरूसँग छलफल गर्छौं ।’

मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानुनीरूपमै धेरै विषयहरू सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गरे ।

Share News