काठमाडौं । गत चैत २४ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले निर्देशन दिए- नेपाल टेलिकम (एनटिसी)को प्रिपेड सेवा अन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउनु । एनटिसीले पनि मन्त्रीको निर्देशन बमोजिम सोही दिनदेखि लागू हुने गरी २८ दिनबाट बढाएर ३० दिन पुर्यायो ।
मन्त्रीको निर्णयलाई सुरुआती चरणमा उपभोक्तामैत्री कदमका रूपमा हेरियो । किनकि अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्ने र उही मूल्यमा थप दुई दिन सेवा पाउने अपेक्षा गरिएको थियो । सरकारले यसलाई उपभोक्ताको खर्च व्यवस्थापन सहज बनाउने र डेटा, भ्वाइस तथा एसएमएस सेवामा अतिरिक्त सुविधा दिने कदमका रूपमा व्याख्या गरेको थियो । यस अवधिमा एनटीसीले सबै प्याकेजको अवधि २८ दिनबाट ३० दिन पुर्याएको छ ।
तर, व्यवहारमा लागू हुँदा केही फरक देखियो । समयावधि बढेसँगै केही प्याकेजको मूल्य पनि बढाइएपछि उपभोक्ताबीच असन्तुष्टि चुलिएको छ । एनटीसीले अवधिसँगै एउटै प्याकेजमा १ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेपछि ग्राहकहरू असन्तुष्ट बनेका हुन् ।
एनटिसीका सहायक प्रवक्ता प्रकाश थापा क्षेत्रीका अनुसार एक/दुई वटा प्याकेजमा मात्रै रकम वृद्धि गरिएको हो भने धेरैजसो प्याकेजमा केवल समयावधि बढाइएको छ । उनका अनुसार ७९९ रुपैयाँको प्याकेजलाई ६९९ रुपैयाँबाट १ सय रुपैयाँले बढाइएको हो, जससँगै डेटा सुविधा पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ ।
‘उक्त प्याकेजमा डाटा १५ जीबीबाट बढाएर १५० जीबी पुर्याइएको छ । मूल्यसँगै भ्यालु पनि उच्च बनाइएको हो,’ उनले भने । उनका अनुसार अन्य केही प्याकेजमा पनि सेवा विस्तार गरिएको भए पनि अधिकांशमा केवल म्याद (भ्यालिडिटी) मात्र २८ दिनबाट ३० दिनमा बढाइएको छ ।
प्रवक्ता क्षेत्रीले कम्पनीले प्याकेज परिमार्जन गर्दा ग्राहकको माग, प्रयोगको प्रवृत्ति र बजार प्रतिस्पर्धालाई आधार बनाएको बताए । ‘ग्राहकको आवश्यकता, प्रतिस्पर्धी बजारको अवस्था र विश्लेषणपछि नै प्याकेज तयार गरिएको हो,’ उनले भने ।
उनका अनुसार कम्पनीको ‘बिजनेस इन्टेलिजेन्स’ प्रणालीमार्फत ग्राहकको प्रयोग विश्लेषण गरेर नयाँ प्याकेज तयार गरिएको हो । ‘थोरै पैसामा धेरै सुविधा दिने उद्देश्यले प्याकेज परिमार्जन गरिएको हो,’ उनले भने ।
क्षेत्रीले ८० प्रतिशत प्याकेजमा केवल समयावधि मात्र बढाइएको र मूल्यमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारे । उनका अनुसार मूल्य बढाइएका प्याकेजमा सेवा पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ, जसले ग्राहकलाई थप फाइदा दिने अपेक्षा गरिएको छ ।