विकासन्युज

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । ‘गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए”’ उनले भने,’गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन् ।’ पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिए । ‘गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष भेटिएनन्’, उनले भने, ‘गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ ।’ नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौली गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक तथ्याङ्क आएको संयोजक चौधरीले बताए । ‘यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ’, उनले भने, ‘प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको सङ्ख्या घटिरहेको छ ।’ साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिए । ‘यस वर्ष खोया हाँसको सङ्ख्या विगतको भन्दा ५० प्रतिशतले कमी आएको पाएका छौँ’, उनले भने ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको सङ्ख्यामा कमी आएको हो, यस क्षेत्र खोया हाँसको प्रमुख बासस्थानको रूपमा रहेको थियो ।’ नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ । नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको चौधरीले बताए । ‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्’, चौधरीले भने, ‘यस क्षेत्रमा चखेवा, जलेवा र पानी गौँथली चरा धेरै पाइने गरेका छन् ।’ निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा पनि यस वर्ष कमी देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको चौधरीले बताए । बैकाल गैरी चरा भेटियो यस वर्षको चरा गणनका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । पक्षी गणना संयोजक चौधरीका अनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो । ‘नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको हो’, चौधरीले भने, ‘उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन् ।’ रासस

नेप्सेमा ४ बैंकको ७ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ वाणिज्य बैंकको झण्डै ७ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंकको गरी कूल ६ करोड ९० लाख ८९ हजार ८३० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । एभरेष्ट बैंकको १० प्रतिशत बोनस वापतको १ करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईसी एशिया बैंकको २० प्रतिशत बोनस वापतको ३ करोड ३५ लाख ३५ हजार ६१५ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२ प्रतिशत नगद गरी कूल ३०.५२ प्रतिशत लाभांश वितरण गरेको हो । सानिमा बैंकको ९ प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.७ प्रतिशत नगद गरी कूल १४.७ प्रतिशत लाभांश वितरण गरेको हो ।

बेष्ट फाइनान्सको सेयर बेच्ने ५ जना संस्थापक को हुन् ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्स कम्पनीले संस्थापक समूहको १ लाख ५ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेको हो । फाइनान्सका संस्था सेयरधनी प्रकाशरत्न तुलाधरको नाममा रहेको १४ हजार ७४२ कित्ता, कपुर प्रािद वैजुको ४२ हजार ९०२ कित्ता, दयाराम श्रेष्ठको २१ हजार ६१३ कित्ता, पुजा प्याकुरेलको २२ हजार ८२० कित्ता र भिम कृष्ण उदासको ३ हजार ४५७ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य तोकिएको छैन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बन्यो मिर्मिरे, कुन सूचकमा कस्तो छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु भएको छ । मिर्मिरे लघुवित्त दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो सूचीकृत संस्था बनेको छ । पुस मसान्तसम्म मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशत घटेर ३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । असोजमा ३ करोड ९९ लाख नोक्सानीमा रहेको संस्था दोस्रो त्रैमासमा भने नाफामा गएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेर १७ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ११.५१ प्रतिशत घटेर ३ करोड ९९ लाख रुपैयाँ, कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत घटेर २२ करोड ३३ लाख रुपैयाँ, सञ्चालन नाफा ४१.४८ प्रतिशत घटेर ४ करोड ८५ लाख रुपैयाँ र वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्रको चुक्ता पुँजी १.९० प्रतिशत बढेर ६६ करोड ५७ लाख रुपैयाँ, जगेडा कोष ९.१३ प्रपतशत बढेर ४२ करोड ८८ लाख रुपैयाँ, नक्षेप तथा सापटी ०.४० प्रतिशत घटेर ७ अर्ब ४९ करोड ६ लाख रुपैयाँ र कर्जा लगानी ३.३२ प्रतिशत घटेर ८ अर्ब २६ करोड ६४ लाख रुपैयाँ छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ७.५७ रुपैयाँ घटेर १०.२२ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६४.४१ रुपैयाँ छ । लघुवित्तको आधार दर १६.५६ प्रतिशत, कस्ट अफ फण्ड १०.४५ प्रतिशत र खराब कर्जा साढे ४ प्रतिशत छ ।

विद्युत महसुल नतिर्ने ९ सामुदायिक वितरक संस्थालाई कारबाही गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्सा अन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरे वापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ । पोखरिया वितरण केन्द्रमा गई ३५ दिनभित्र बक्यौता महसुल बुझाउन प्राधिकरणले आग्रह गरेको हो । तोकिएको समय सीमाभित्र बक्यौता महसुल नबुझाएमा सामुदायिक ग्रामीण विद्युतीकरण विनियमावली २०७१ को विनियम २८ को प्रावधान बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणका अनुसार पर्साका विभिन्न स्थानका देकुली, देउराली, पारसनाथ, शिवशक्ति, धोरे, विद्युत, उजाला, जीवनज्योति र प्रकाश विद्युत उपभोक्ता समितिले महसुल तिर्न बाँकी छ ।

दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

काठमाडौं । प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिएको छ । नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ । नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए । उनका अनुसार कार्यक्रम सुरु भएकै पहिलो तीन महिनामा ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । नगरप्रमुख योगीले भने, “उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम सुरु गरिएको हो ।” किसानको सम्मानका लागि ‘उत्पादन हातमा अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ । नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ । दैनिक १ हजार ५ सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक ४ सय लिटर दूध सङ्कलन हुँदै आएको छ । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक १५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । सहकारीले त्रैमासिकरुपमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । अध्यक्ष पाण्डेले भने, “हामीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ ।” नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध सङ्कलन गर्ने उक्त सहकारीको योजना छ । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध सङ्कलन गर्न नसकिएको पाण्डेले जानकारी दिए । स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको सङ्कलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी दिए । सहकारीमा दैनिक २५० लिटरसम्म दूध सङ्कलन हुँदै आएको छ । दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा, मूल्य २२० रुपैयाँ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर आज माघ ३ गतेदेखि बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीका अनुसार संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

किसानका लागि खेतमै प्रसारण लाइन, ९.६० रुपैयाँमा किनेर २.२५ रुपैयाँमा बेच्दै

काठमाडौं । सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत् प्राधिकरणका उच्च नेतृत्वसँग सो विषयमा छलफल गरेका हुन् । छलफलमा सहज रुपमा कृषि मिटर वितरण गर्ने, ग्रीड विस्तारलाई विशेष प्राथमिकतामा राख्ने र सिँचाइको सहज उपलब्धताका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग मिलेर काम गर्ने सहमति भएको छ । मन्त्री बस्नेतले कृषि मन्त्रालय र आवश्यक सरोकारवाला निकायसँग छलफलपछि ठोस रुपमा कामको रुपरेखा तयार हुने बताए । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यका साथ सरकार लागिपरेको, ठूला सिँचाइका आयोजनालाई विशेष प्राथमिकतामा साथ कार्यान्वयनमा लगिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई थप लाइन विस्तारका लागि आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे । सरकारको पछिल्लो विवरणअनुसार १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ । सिँचाइ सुविधा पुग्न बाँकी १० लाख हेक्टर पहाडका टार तथा तराईका केही क्षेत्र छन् । त्यसलाई पनि सिँचाइका अनेकन विकल्प तयार भइसकेको छ । कूल ३२ लाख १८ हजार कृषियोग्य भूमिमध्ये बाँकी क्षेत्र बाँझो भएकाले ती क्षेत्रमा पनि सिँचाइ सुविधा उपलब्ध गराउने विकल्पबारे सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ । मन्त्री बस्नेतले कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय किसान आयोगले आवश्यक सहजीकरण गरेर ठोस कार्ययोजना ल्याएको खण्डमा कार्यान्वयनमा लैजान कुनै समस्या नभएको बताए । कृषि क्षेत्रलाई आधुनिक र व्यवसायीकरण गर्न सकिए रोजगारीको अभिवृद्धि, खाद्यान्नमा आत्मनिर्भर हुने भएकाले त्यसप्रति सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ । सरकारले तराई मधेसमा एकीकृत सिँचाइका विभिन्न कार्यक्रम अगाडि बढाएको तथा स्यालो ट्यूबेल र डिप ट्यूबेलमार्फत पनि सुविधा उपलब्ध गराएको बताउनुभयो । थप व्यवस्थाका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनले बताए । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिल्वालले प्रतियुनिट ९.६० रुपैयाँमा खरिद गरेको बिजुली कृषि सिँचाइका लागि २.२५ रुपैयाँमा उपलब्ध गराइएको जानकारी दिए । प्राधिकरणले कृषि क्षेत्रका लागि १५ करोड युनिट बराबरको बिजुली उपलब्ध गराएको उनको भनाइ छ । सिँचाइका लागि थप बिजुलीको माग भइ आएको खण्डमा उपलब्ध गराउन प्राधिकरण तयार रहेको उनले बताए । व्यक्तिको नाममा रहेको जग्गामा कृषि मिटर उपलब्ध गराउन समस्या नभएपनि ऐलानी वा भाडामा लिएर खेती गर्ने किसानका हकमा केही समस्या रहेको उनको भनाइ छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले कृषि उत्पादन बढाउन र किसानलाई थप व्यावसायिक बनाउनका लागि सहज रुपमा सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले सहज रुपमा कृषि मिटरको प्रबन्ध गर्नुपर्ने र मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । छलफलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलगायतको उपस्थिति थियो ।