विकासन्युज

एकैदिन ८ अर्ब माथिको सेयर कारोबार, साउनयताकै उच्च बिन्दुमा परिसूचक

काठमाडौं । आइतबारको बजारमा एकैदिन ८ अर्ब माथिको सेयर कारोबार भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेको बजारमा दिनभरमा ८ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन विगत एक वर्षयताकै सर्वाधिक कारोबार हो । बजारमा परिसूचक पनि ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.५७ प्रतिशतले बढी हो भने गत साउन यताकै उच्च बिन्दु हो । बजारमा सोनापुर मिनिरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बढेको बजारमा १५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, नेपाल वेयरहाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दिी हाइड्रो, अप्पर तामाकोशी हाइड्रोपावर, न्यादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था र लिवर्टी इनर्जी कम्पनी रहेका छन् । त्यसैगरी, बजारमा कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१३ अंकले बढेको छ ।

अधिकांश सेवा अनलाइनबाट दिँदै त्रिवि, विद्यार्थीलाई सहज हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत अधिकांश सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । यससँगै अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अनलाइनबाटै लिन सक्नेछन् । साथै, यसबारे विस्तृत जानकारी माघ १० गते वेवसाइटमार्फत जानकारी गराइने समेत बताइएको छ ।

यति ब्रुअरीले आईपीओ जारी गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । यति ब्रुअरीले आईपीओ जारी गर्ने गर्ने भएको छ । यति ब्रुअरीले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । यति ब्रुअरीको रजिष्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ र यस यति ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं। ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरीले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटलद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।

एनसीएचएलबाट एकैदिन ८४ अर्ब बढीको कारोबार, एक अर्ब राजश्व संकलन

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा ८४ अर्बभन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो । एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल ईसीसी, एचसीएचएल आईपीएस र आरपीएस मार्फत् क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फछ्र्यौट भएको हो । विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस् अन्तर्गत कनेक्टआईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ । त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल आईपीएस र आरपीएस आरपीएसमार्फत् एक अर्ब ६ करोड रुपैयाँ बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजारभन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् । सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ । नेपाल सरकार र राष्ट्र बैंकले लिएको नीतिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक/वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरु आबद्ध भई प्रयोग गर्दै आएका छन् । सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखाहरु तथा मोबाइल बैंकिङ्ग प्लेट्फर्म मार्फत् आफ्ना दुई करोडभन्दा बढी ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन् ।

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा चितवनमा एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर  सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए । रासस

निगमको ‘वाइडवडी’ जहाज ‘ग्राउण्डेड’, दोहा उड्ने यात्रु अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडवडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए । ‘हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरुलाई आज साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ’, प्रवक्ता पौडेलले भने । निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौंबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो । रासस

सेयर बजारमा छायो हरियाली, ५३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि परिसूचक उकालो लागेसँगै बजारमा हरियाली छाएको हो । कारोबार शुरु भएको साढे दुई घण्टाको अवधिमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.१८ अंकले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले बढी हो भने परिसूचक २१७३.८० बिन्दुमा पुगेको छ । यो समाचार तयार पर्दासम्म ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको मूल्य घटेको छ ।

भारतले इन्जिनियरिङ क्याम्पसलाई दुई अर्ब १९ करोड दिएन, नयाँ भवनको योजना अलपत्र

ललितपुर ।  ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा विसं २०२३ देखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको थियो । दरबार परिसरमा इन्जिनियरिङ अध्ययन संस्थानका पहिलो डिन कुलरत्न तुलाधरको प्रतिमासमेत निर्माण गरिएको छ । विसं १९९० को भूकम्पले सामान्य क्षति पुर्याए पनि विसं २०७२ को भूकम्पले इन्जिनियरिङ अध्ययन संस्थानको प्रशासन रहेको आनन्द निकेतन दबारलाई क्षति पुर्याएको थियो । भूकम्पले जीर्ण अवस्थामा रहेको ऐतिहासिक दरबारलाई इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रशासनले मर्मत गरेर सञ्चालन गरेको छ । ललितपुरमा रहेका ऐतिहासिक राणाकालीन दरबारहरु, हरिहर भवन र नारायण भवन संरक्षणको अभावमा अलपत्र छन् । पुल्चोकको आनन्द भवन भने मर्मतपछि प्रयोगमा आएको छ । भूकम्पपछि पानी चुहिने समस्या रहेको ऐतिहासिक दरबारलाई मर्मत गरेर पानी नचुहिने बनाएको क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले बताए । विसं २०७२ को भूकम्पपछि भारत सरकारबाट रु दुई अर्ब १९ करोड रकम इन्जिनियरिङ अध्ययन संस्थानका भवन पुनःनिर्माणका लागि दिने सम्झौता भए पनि हालसम्म सहयोग नआएको पुल्चोक क्याम्पसका प्रमुख  आचार्यले जानकारी दिए । भारत सरकारबाट आउने रु दुई अर्ब १९ करोड रकममध्येमा ३५ करोड रकम आनन्द निकेतन भवनको पुनःनिर्माणका लागि हो । विस्तृत परियोजना प्रस्ताव तयार भए पनि सम्झौता अनुसार अझै काम सुरु भएको छैन । ऐतिहासिक दरबार भूकम्पपछि चारैतिर चर्केको छ । कतिपय झ्याल फुटेका छन् । भवन जीर्ण अवस्थामा रहे पनि विज्ञको सल्लाहअनुसार मर्मत गरेर कार्यालय सञ्चालन गर्न मिल्ने भएपछि कार्यालय यथावत् राखेको उनको भनाइ छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अहिले पनि सयौँ विद्यार्थी इन्जिनियरिङ अध्ययन गरिरहका छन् । यही क्याम्पसमा इन्जिनियरिङ पढेर धेरै विद्यार्थी इन्जिनियर बनेका छन् । भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक आनन्द निकेतन दरबार पुनःनिर्माणको पखाइमा भए पनि निर्माणका लागि भने कुनै निकायले चासो देखाएका छैनन् । रासस