काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु भएको छ । मिर्मिरे लघुवित्त दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो सूचीकृत संस्था बनेको छ ।
पुस मसान्तसम्म मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशत घटेर ३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । असोजमा ३ करोड ९९ लाख नोक्सानीमा रहेको संस्था दोस्रो त्रैमासमा भने नाफामा गएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेर १७ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ११.५१ प्रतिशत घटेर ३ करोड ९९ लाख रुपैयाँ, कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत घटेर २२ करोड ३३ लाख रुपैयाँ, सञ्चालन नाफा ४१.४८ प्रतिशत घटेर ४ करोड ८५ लाख रुपैयाँ र वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्रको चुक्ता पुँजी १.९० प्रतिशत बढेर ६६ करोड ५७ लाख रुपैयाँ, जगेडा कोष ९.१३ प्रपतशत बढेर ४२ करोड ८८ लाख रुपैयाँ, नक्षेप तथा सापटी ०.४० प्रतिशत घटेर ७ अर्ब ४९ करोड ६ लाख रुपैयाँ र कर्जा लगानी ३.३२ प्रतिशत घटेर ८ अर्ब २६ करोड ६४ लाख रुपैयाँ छ ।
लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ७.५७ रुपैयाँ घटेर १०.२२ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६४.४१ रुपैयाँ छ । लघुवित्तको आधार दर १६.५६ प्रतिशत, कस्ट अफ फण्ड १०.४५ प्रतिशत र खराब कर्जा साढे ४ प्रतिशत छ ।