पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो । सो बैठकमा पाथीभरामा केबलकार निर्माण गर्ने भन्नेबारेमा वर्षौंदेखि चर्चा भए पनि काम सुरु हुन नसकेकाले त्यसमा आवश्यक सहजीकरण गरी निर्माण प्रक्रिया अघि बढाउनका लागि उक्त निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । बैठकले जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा आवश्यक तयारीका साथै असहमत पक्षसँग वार्ताका लागि नौ सदस्यीय वार्ता टोली गठन गरेको हो । सो समितिका सदस्यमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल रहेका छन् । पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाएकाले ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने भन्दै विरोधमा रहेको पक्षसँग वार्ता गरेर सर्वपक्षीय सहमति जुटाई निर्माण सुरु गर्न वार्ता समिति गठन भएको हो । केबलकार निर्माण पक्षले भने संरचना निर्माण अघिका सबै प्रक्रिया पूरा गरी निर्माण थाल्ने योजनामा रहेको र यहाँका कुनै पनि मौलिकतामा निर्माणका कामले असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । सो बैठकमा पाथीभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेलले पाथीभरामा केबलकार निर्माणका लागि कानुनीलगायतका आवश्यक पक्रिया पूरा भएकाले निर्माण सुरु गर्ने वातावरण बनाउन स्थानीय स्तरबाटै सहयोग हुनुपर्ने बताए । यता जिल्लाका सबै राजनीतिक दलहरुसहित सरोकारवालाले केबलकार निर्माण गरी जिल्लालाई समृद्ध बनाउनपर्नेमा जोड दिँदै आएका छन् । पाथीभरामा केबलकार निर्माण भए मन्दिरको दर्शनका लागि भक्तजनलाई सहज हुने साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र जिल्लाको आम्दानीमा समेत वृद्धि हुने भन्दै यहाँका अधिकांश स्थानीयले लामो समयदेखि केबलकार निर्माणको चर्चा मात्र भएकाले अब काम नै सुरु गर्न माग गर्दै आएका छन् । पाथीभरा क्षेत्रमा प्राकृतिक सम्पदाको कम क्षति र मौलिकतालाई जोगाउँदै स्थनीय आम सर्वसाधारणले लाभ लिनसक्ने गरी केबलकार निर्माण गर्न मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जोड दिँदै आएका छन् । बुधबारको बैठकमा पनि सबैले यही धारणा राखेका थिए । कम्पनीले पनि स्थानीयको शेयरसमेत रहने गरी स्थानीय साझेदारी मोडलमा केबलकार निर्माण गर्ने जनाउँदै आएको छ । यसैबीच बैठकमा पाथीभरामा सङ्कलन भएको सुनचाँदी साथै तामा र घण्टी व्यवस्थापन गर्नुका साथै आवश्यक अन्य व्यवस्थापनको पनि निर्णय भएको छ । बैठकले पाथीभरामा सङ्कलन भएको सुनचाँदी प्रचलित मूल्यमा आवश्यक प्रक्रिया पूरा गरी बिक्री गर्ने र पाथीभरा पदमार्गमा स्थान यकिन गरी तामाको प्रवेशद्वार निर्माण गर्ने निर्णय पनि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । रासस
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा…
रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् । उनले भनिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।’ परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे जानकारी दिइन्। ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भने, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।’ उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् । उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् । रासस
सोनापुर मिनरल्सले डाक्यो १६औँ वार्षिक साधारण सभा, बैंकको ऋण अनुमोदन गर्ने
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले माघ २६ गते दाङ्गको होटल माला इनमा बिहान १० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन र प्रबन्ध सञ्चालक तथा अन्य सञ्चालकको सेवा सुविधा सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको उद्देश्य थप संशोधन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित नाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा सहभागी हुन सक्ने छन् ।
राष्ट्र बैंकले ६ वटा सवारी बेच्दै, मूल्य साढे ६ लाखदेखि २५ लाख ५५ हजारसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनी ६ वटा सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने जनाएको छ । बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी माघ २२ गतेभित्र सिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले बिक्रीमा राखेका सवारीको मूल्य ६ लाख ६३ हजार रुपैयाँदेखि २५ लाख ५५ हजार रुपैयाँसम्म तोकेको छ ।
आरएसडिसी लघुवित्तको नाफा ६.९३ करोड, खराब कर्जा १.८२ प्रतिशत पुग्यो
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १२ प्रतिशत घटेर ६ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा लघुवित्तको नेट फि एण्ड कमिसन आम्दानी ८१ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपैयाँ, सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ र वितरण योग्य नाफा १०.७९ प्रतिशत अर्थात् ४ करोड ७४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ, जगेडा कोष १२ करोड १० लाख रुपैयाँ, सापटि ६ अर्ब १ करोड रुपैयाँ र कर्जा प्रवाह ६ अर्ब ६४ करोड रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०७ गुणा छ । यस अवधिमा लघुवित्तको खराब कर्जा बढेको छ । गत वर्षको पुसमा ०.८१ प्रतिशत एनपीएल रहेकोमा बढेर १.८२ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको ११.९० प्रतिशत, कस्ट अफ फण्ड ११.०८ प्रतिशत छ ,
कामना सेवाको नाफा ३२ प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो, अधिकांश सूचकमा छलाङ
काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ९५ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको नेट फि एण्ड कमिसन आम्दानी १२ करोड ३२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १६ करोड रुपैयाँ, सञ्चाल नाफा ३७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १०..६४ प्रतिशत अर्थात् १७ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेड कोष १ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३.३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.३६ गुणा रहेको छ । बैंकको खराब कर्जा दर पनि घट्दो छ । गत वर्ष ३.७० प्रतिशत रहेकोमा पुससम्म घटेर खराब कर्जा ३.४२ प्रतिशत मा झरेको छ । यस्तै, आधार दर ११ प्रतिशत, कर्जा निक्षेप (सीडी) रेसियो ८०.४१ प्रतिशत रहेको छ ।
प्रधानमन्त्री दाहालको विदेश भ्रमण, आज युगान्डा प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुने छन् । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम रहेको छ ।
गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्म कर्जा दिने, २ दिनमै स्वीकृत हुने
काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुलाई ५० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले ग्राहकको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित उक्त रकमसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको हो । उक्त कर्जा सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले बताएको छ । साथै, गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ । यो योजना अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ ।