बजाज अटो क्रेडिटमा थप ३० अर्ब लगानी हुने
काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी भारतीय कम्पनी बजाज अटोले आफ्नो पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था बजाज अटो क्रेडिट लिमिटेडलाई थप विस्तार गर्दैछ । बजाजले आगामी दुई आर्थिक वर्षमा यस इकाईका लागि ३० अर्ब रुपैयाँभन्दा बढी थप लगानी गर्ने छ । बजाज अटो क्रेडिटले व्यावसायिक कारोबार सुरु गरेको र अब विस्तार हुने बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले बताए । बजाज समूहको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) लोगो अनावरण गर्न आयोजित कार्यक्रममा उनले भने, ‘लगानी ३० अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।’ गत वर्ष अगस्टमा भारतीय रिजर्भ बैंक (आरबीआई) बाट इजाजतपत्र प्राप्त गरेपछि बजाज अटो क्रेडिटले १ जनवरी २०२४ देखि कारोबार सुरु गरेको थियो । रेटिङ एजेन्सी क्रिसिलका अनुसार ३१ जनवरी २०२४ सम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेको थियो । उसको कुल सम्पत्ति ७८ करोड रुपैयाँ थियो र ऋण १ अर्ब ५१ करोड रुपैयाँ थियो । ‘कम्पनीले प्रमोटर कम्पनी बजाज अटोबाट १ अर्ब ४५ करोड रुपैयाँको इक्विटी पुँजी प्राप्त गरेको छ र आर्थिक वर्ष २०२५/२६ मा ३३ अर्ब रुपैयाँभन्दा बढी प्राप्त गर्ने अपेक्षा गरेको छ,’ क्रिसिलका एक अधिकारीले भने । क्रिसिलका अनुसार कम्पनीका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन खरिदका लागि बजाज अटो क्रेडिटले ऋण उपलब्ध गराउने छ र सबै नयाँ कर्जा बजाज अटो क्रेडिटले चरणबद्ध रूपमा उपलब्ध गराउने छ । बजाज फाइनान्सले यसअघि नै बजाज अटो कारखानामा उत्पादन गरेका सवारीसाधनहरू नयाँ कम्पनीमा स्वतः हस्तान्तरण भइरहेका छन् । यो सबै काम जुन २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । बजाज अटो क्रेडिट बजाज अटोको पूर्ण स्वामित्वमा रहेको वित्त कम्पनी हो । यसमार्फत बजाज अटोका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन किन्न आउने ग्राहकलाई ऋण उपलब्ध गराइने छ । अहिलेसम्म यो काम बजाज फाइनान्सले मात्र गर्दै आएको थियो । समूहका दुई एकाइ बजाज फाइनान्स र बजाज हाउजिङ फाइनान्सलाई आरबीआईले माथिल्लो श्रेणीको एनबीएफसीका रूपमा वर्गीकृत गरेको छ । यस श्रेणीमा परेका कम्पनीहरूलाई एनबीएफसीहरूका लागि नियमहरू संशोधन भएको तीन वर्षभित्र सूचीकृत गर्नुपर्ने छ । नयाँ नियम १ अक्टोबर २०२२ देखि लागु भएको छ । बजाज फाइनान्स पहिले नै सूचीबद्ध छ तर बजाज हाउजिङ फाइनान्स अझै स्टक एक्सचेन्जमा छैन । बजाज समूहले आफ्नो हाउजिङ फाइनान्स शाखाको सूचीकरणबाट छुट मागेको छ । बजाज अटो क्रेडिटलाई क्रिसिलद्वारा एएएर/स्थिर/क्रिसिल ए1+ रेटिङ दिइएको छ । रेटिङलाई उचित ठहर गर्दै क्रिसिलले रेटिङ दिँदा कम्पनीले बजाज अटोबाट पूर्ण सहयोग पाउने कुरालाई ध्यानमा राखिएको छ र बजाज अटोका लागि पनि यो निकै महत्वपूर्ण रहेको बताएको छ । साथै, अनुभवी व्यवस्थापन टोली र पर्याप्त पुँजीलाई ध्यानमा राख्दै बलियो रेटिङ दिइएको क्रिसिलको भनाइ छ । बजाज अटोले आर्थिक वर्ष २०२४ को पहिलो ११ महिनामा देशमा २० लाख ६७ हजार ५ सय ८१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले ४ लाख २६ हजार ७ सय ४६ तीन पाङ्ग्रे सवारीसाधन पनि बिक्री गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशत बढी हो । चालु आर्थिक वर्ष वैशाखदेखि फागुनसम्ममा कुल २५ लाख ९४ हजार ३ सय दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । एजेन्सी
ललितपुरमा दुई जनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति ९ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । ‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन,’ उनले भने । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
साँगा-धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररूपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ । सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले बताए । धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताए। धुलिखेलमा खानेपानीको व्यवस्थापनमा एक करोड तथा ढल व्यवस्थापनमा चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ । आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ । उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ । पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँको सम्झौता भएको इन्जिनियर खनालले बताए । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ । रासस
माछापुच्छ्रे बैंकका संस्थापक श्रेष्ठ साढे १० लाख कित्ता सेयर बेचेर बाहिरिँदै
काठमाडौं । माछापुच्छे बैंकले १० लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि जारी गरिएको यो सेयरमा सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।
सिंगटी हाइड्रोको ४६.११ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले सोमबारदेखि ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर बोलकबल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो । कम्पनीले निष्काशन तथा बिक्री गरेको सेयर फागुन ३० गते बाँडफाँड गरेको थियो । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। नेप्समा यसकाे सेयर प्रतिकित्त २०० रुपैयाँभन्दा बढीमा काराेबार भइरहेको छ । बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चेरीकोट दोलखाबाट बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी चैत २० गते रहेको छ ।
यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार देशभरि आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेपे ढापपोखरी’
इलाम । इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ । सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवर्द्धन हुन नसकेको हो । चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराईले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरीमा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धनको काम गर्न समस्या भएकोे बताए । स्थानीयले ८ वर्षअघि बाँध बाँधेर पानी जम्मा गरी विकास र विस्तार गरेको ढापपोखरीको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नजाँदा ढापपोखरी संकटमा परेको उनको भनाइ छ । सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन । प्रचुर सम्भावना भएर पनि संकटमा परेको संरक्षण समितिका अध्यक्ष भट्टराईले बताए । ‘ढापपोखरी पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने, पोखरी वरिपरि पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सेल्फी पार्क बनाउनुपर्ने, पानीको फोहोरा फाल्ने संरचना निर्माण गर्नुपर्ने, डुंगा सञ्चालनका लागि व्यवस्थित बोटघर निमर्ण गर्नुपर्ने, वरीपरी ड्रेन बनाउनुपर्नेलगायतको संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक छ,’ अध्यक्ष भट्टराइले भने, ‘यसका लागि स्थानीय सरकारको हैसियतले सन्दकपुर गाउँपालिकाले स्वामित्व ग्रहण गरी आवश्यक पहल गर्नुपर्छ ।’ ढापपोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण आकर्षक गन्तव्यका रूपमा विकास भए पनि आवश्यक संरक्षणको अभावमा संकटमा परेको समितिका उपाध्यक्ष निरबहादुर फागोको फागोले बताए । ‘पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसको संरक्षण र प्रवर्द्धनसँगै र प्रचारप्रसार गर्न आवश्यक छ,’ उनले भने, ‘पोखरीको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकेमा धेरै पर्यटकको उपस्थिति हुने सम्भावना छ, त्यसका लागि तिनै तहको सरकारको ध्यान जान जरुरी छ ।’ ढापपोखरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आएको अध्यक्ष भट्टराईले बताए । सुरुका वर्ष पोखरीको संरक्षण र विकासका लागि केही बजेट आए पनि पछिल्लो चार वर्षदेखि आउनै छाडेको उनको गुनासो छ । ढापोखरीसँगै रहेको गजाधर–धनमाया रंगशाला र मन्दिरलाई समेत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको भए पनि स्रोतसाधनको अभावमा समस्या रहेको उनले बताए । ढापपोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । दुई सय १५ मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको पोखरीको क्षेत्र विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिने भट्टराईले बताए । विसं २०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर ढापपोखरी निर्माण अभियान सुरु गरेका थिए । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरीको निर्माण भएको हो । क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ । डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् । इलाम सदरमुकामदेखि करिब २१ किलोमिटर उत्तरमा पर्ने ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले घरबास सञ्चालन गरेका छन् । ढापपोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् ।
अतिक्रमित सरकारी जग्गाको लगत सङ्कलन गर्दै प्रशासन
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण सङ्कलन सुरु गरेको छ । प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र जालसाजीपूर्ण रुपमा व्यक्तिको नाममा भएको सरकारी जग्गाको लगत सङ्कलन गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । ‘विभिन्न सरकारी कार्यालयलाई अतिक्रमणमा परेको जग्गाको विवरण दिन भनेका छौं ।’ प्रजिअ अधिकारीले भने, ‘हामीले अहिले अतिक्रमण भएको जग्गाको विवरण सङ्कलन गरिराखेका छौं ।’ उनका अनुसार यहाँका केही स्थानीय तहले अतिक्रमणमा परेको जग्गा हटाउन प्रशासनसँग सहयोग मागेका छन् । अतिक्रमण भएको सार्वजनिक जग्गाको विवरण सङ्कलन गरेर अनुसन्धान तथा अभियोजन गरी गराई त्यस्ता जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने निर्णय गरिसकेको प्रशासनले जनाएको छ । प्रशासनले अतिक्रमणमा परेको यथार्थ विवरणको सूचना सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा ३० दिनभित्र उपलब्ध गराउन सार्वजनिक सूचना आह्वान गरेको छ । प्रशासनले अतिक्रमणमा परेको जग्गाको लगत सङ्कलन गर्न थालेपछि यहाँका स्थानीयले अतिक्रमित सरकारी जग्गा फिर्ता हुने आशा गरेका छन् । ‘यहाँ नगर विकासको धेरै बिघा जग्गा अतिक्रमण भएको छ ।’ स्थानीय रमेश कलौनीले भने- ‘प्रशासनको पहलले सरकारी जग्गा पुरानै अवस्थामा आउने अपेक्षा गरेका छौं ।’ उनले सरकारी जग्गा गैरकानुनी रुपमा लिजमा लिएर उपयोग भइरहेकाले प्रशासनले उक्त जग्गा खाली गराउनुपर्ने बताए । सडक डिभिजन, महाकाली सिँचाइ आयोजना र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जग्गा अतिक्रमणमा परेकाले खाली गराउन स्थानीय तहले प्रशासनसँग सहयोग मागेका छन् । ‘सरकारी जग्गाको अतिक्रमण जताततै देखिन्छ सरकारले विवरण सङ्कलन गरेर यथाशीघ्र फिर्ता ल्याउने पक्रिया सुरु गर्नुपर्छ ।’ स्थानीय योगेश भट्टले भने । अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल बाल सङ्गठन कञ्चनपुर, घरेलु तथा साना उद्योग कार्यालय, कृष्णपुर नगरपालिका र सङ्घीय आयोजना कार्यान्वयन एकाइ, धनगढी कैलालीले पत्र पठाएका छन् । प्रशासनले स्थानीय तहसँग समन्वय गरी यथाशीघ्र अतिक्रमण हटाउने निर्णय गरिसकेको छ । रासस