राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए । ‘आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।’ उनले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिए । ‘मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।’ उनले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए । सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।’ रासस
खादामालामै व्यस्त अर्थमन्त्री, ‘पिक आवर’मै बनाउन सकेनन् कोर टीम
काठमाडौं । वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएको आज २० दिन भयो । उनले नेतृत्व गरेको मन्त्रालय अहिले सबैभन्दा बढी व्यस्त हुने मन्त्रालय हो । आगामी जेठ १५ गते सार्वजनिक गर्नु पर्ने आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त हुनु पर्ने मन्त्रालय अहिले टिमविहीन ढंगले चलिरहेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको ‘पिक आवर’ र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको संघारमा अर्थमन्त्री बनेका वर्षमान पुन आफ्नो टीम निर्माणमा नलागेर खादा÷माला पैरिनमै व्यस्त भएका छन् । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूलाई सहयोग नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन समेत परिवर्तन गरेर आफ्ना विश्वासिला पात्र वर्षमानलाई अर्थमन्त्री बनाएका थिए । तर, वर्षमानले अर्थमन्त्रालय सम्हालेको एक महिना पुग्न लाग्दा पनि बजेट निर्माणमा कुनै वास्ता गरेका छैनन् । पुन अर्थमन्त्री भइसकेपछि नेपाल राष्ट्र बैंक, भन्सार विभाग र उद्योग विभागले पछिल्लो समयको वित्तीय अवस्थाका सूचकहरू सार्वजनिक गरिसकेका छन् । ती सूचकहरूले अर्थतन्त्रको आय व्यय कमजोर प्रदर्शन भइरहेको र आन्तरिक क्षेत्र चलायमान हुन नसकेको संकेत देखाएका छन् । सरकारले लक्ष्यअनुसारको राजस्व पनि संकलन गर्न सकिरहेको छैन । मन्त्री भएको एक साता नपुग्दै मन्त्री पुनले पुँजी बजार सुधार गर्नका लागि नियामक निकायसँग एक साताको समय सीमा राखेर सुझाव मागेका थिए । तर, त्यसपश्चात मन्त्री पुनले अर्थतन्त्रलाई चलयामान बनाउने विषयमा अन्य कुनै निर्णय गर्न सकेका छैनन् । विभिन्न दातृ निकायका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने, मन्त्रीको जिम्मेवारी पाएकोमा शुभकामना लिने लगायतका विषयमा मन्त्रीको दैनिकी बितिरहेको छ । अर्थमन्त्रीको सचिवालयमा रहेर अहिले उनका पारिवारिक निकटका पात्र सन्तोष पुन, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले अनौपचारिक रूपमा काम गरिरहेका छन् । तर, अर्थतन्त्रको नीतिगत क्षेत्रको विज्ञ तथा सल्लाहकार स्तरको कुनै व्यक्तिलाई भने मन्त्री पुनले नियुक्त गर्न सकेका छैनन् । मन्त्रीको सचिवालयमा अनौपचारिकरूपमा काम गरिरहेका गुरुङले विज्ञहरूको नियुक्तिको विषयमा आफूलाई जानकारी नभएको र आफूले समेत अनौपचारिक रूपमा काम गर्दै आएको बताएका छन् । अर्थविद् केशब आचार्यले भने मन्त्रालयकै कर्मचारीलाई विश्वासमा लिएर काम गर्न सक्ने हो भने छुट्टै सल्लाहकार वा विज्ञ नियुक्तिको आवश्यकता नपर्ने बताउँछन् । तर, यसले योे पार्टीलाई भोट दिन्छ भन्ने हिसाबले नहेरिकन काम गर्दा अर्थमन्त्रीको सबैभन्दा नजिकको सल्लाहकार भनेको अर्थसचिव भएको उनको बुझाइ छ । तर, पछिल्लो समय निवर्तमान अर्थमन्त्री डा. महतले मन्त्रालयमा निर्माण गरेको व्यूरोक्र्याट्सहरूको मुख्य टिम अर्थात् सचिवहरूदेखि महाशाखा सम्हाल्ने सचिवहरूको टिम नै सरुवा हुनसक्ने हल्ला मन्त्रालयमा फैलिएको छ । जसले गर्दा मन्त्री र कर्मचारीबीचमा यतिबेला अविश्वासको वातावरण उत्पन्न भएको छ । असन्तुष्ट कर्मचारीलाई विश्वाल दिलाउनुको सट्टा उनले त्यसलाई अवज्ञा गर्दै भेटघाट तथा शुभकामना लिले कार्यक्रमलाई मात्रै जोडि दिइरहेका छन् । अर्थमन्त्रीले व्यूरोक्रेसी बाहेक पनि सल्लाहकार राखेर काम गर्दा योजना निर्माणदेखि समस्याहरूको पहिचान र सम्बोधन गर्न सजिलो हुने आचार्य बताउँछन् । ‘अर्थतन्त्रको ज्ञान खासगरी नेपाली अर्थतन्त्र कसरी चलेको छ, समस्याहरू के छन्, सबै समस्या समाधान गर्न नसकिए पनि प्राथमिकीकरण गर्ने राम्रो सेन्स भएको मान्छे सल्लाहकारमा राख्नुपर्यो,’ आचार्यले भने । साथै राजनीतिक रूपमा सबैसँग समान व्यवहार गर्न सक्ने र अन्तर मन्त्रालय समन्वय गर्नसक्ने क्षमता भएको व्यक्ति लिएर काम गर्न सकेमा अर्थमन्त्रीलाई काम गर्न सहज हुने उनको बुझाइ छ । तर, मुख्य विषय मन्त्रीमा नै अर्थतन्त्रको विषयमा जानकार भएको र व्युरोक्रेसीलाई निर्देशन दिने क्षमता हुनु पर्ने उनी बताउँछन् । ‘सल्लाहकार राख्ने भनेर अर्थतन्त्रको ज्ञान कम भएको ‘डाइहार्ड’ माओवादी वा वाईसीएलको मान्छे राख्दिनु भयो भने त्यो सल्लाहकारले सल्लाह दिने भन्दा पनि भाँड्न सक्छ,’ उनले भने । ‘मन्त्रीलाई पनि अर्थतन्त्रको ज्ञान भएको हुनुपर्छ, भएन भने पनि मलाई व्यूरोक्रेसीले चिप्ल्यायो की चिप्ल्याएन भन्ने थाहा पाउन सक्ने क्षमता मन्त्री स्वयंमा हुनुपर्छ’, आचार्यले थपे । बजेट ल्याउन ठिक दुई महिना बाँकी रहँदा अर्थमन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा कुनै सुरसार छैन । बजेट व्यवस्थापन महाशाखाले बजेट निर्माणका लागि कुनै तालिका समेत बनाएको छैन । विगत वर्षको तुलनामा अहिले बजेट निर्माणको काममा ढिलाइ हुने संकेत देखिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । साथै राजस्व सचिवको नेतृत्वमा बनेको राजस्व परामर्श समितिको बैठक समेत बस्न सकेको छैन । निवर्तमान अर्थमन्त्री डा. महतले पनि मन्त्रीको जिम्मेवारी लिएपछिको केही समयपछि मात्रै विज्ञहरूको नियुक्ति गरेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अर्थविद डा. पोषराज पाण्डेलाई उनले सल्लाहकारमा नियुक्त गरेका थिए ।
नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, १९ सय बढी विद्यार्थी लाभान्वित
काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंक नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो । मार्च १८ देखि २४ गतेसम्म विश्वभर प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । नबिल बैंकले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ । ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ । वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएका थिए । त्यस्तै मधेश प्रदेशका २२० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएका थिए । बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि र्यालिमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए । लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन् । गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बिच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो । अन्तिम नतिजा यसै साता घोषणा गरिदैँछ । यस कार्यक्रम अन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ । नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ । युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
सेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक १०.१४ अङ्कले बढेर दुई हजार ४१.७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा वित्त समूह ०.०६, जीवन बीमा समूह ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.११ र जलविद्युत् समूह १.५८ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० बराबर रुपैयाँको कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता सेयर किनबेच भएको छ ।
नेपालमा जलविद्युत उत्पादनका लागि सहकार्य गर्न तयार छौँँ : राजदुत हेमन्दोयल डिल्लम
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मौरिससका (गैरआवासीय) राजदुत हेमन्दोयल डिल्लमबीच काठमाडौंमा भेटवार्ता भएको छ । मंगलबार इप्पानको कार्यालयमा अध्यक्ष कार्की र मौरिससका राजतदुत डिल्लमबीच नेपालको जलविद्युत उत्पादन र लगानीका विषयमा कुराकानी समेत भएको छ । भेटमा मौरिससका राजतदुत डिल्लमले नेपालसँग आफूहरुको सांस्कृतिक हिसावमा राम्रो सम्बन्ध रहेको बताए । उनले नेपाल र भारतबीच आर्थिक,सामाजिक र सांस्कृतिक हिसावले गहिरो सम्बन्ध रहेको बताए । उनले नेपालमा पर्यटकीय सम्भावना राम्रो रहेको भन्दै लुम्बीनी र पोखरामा धेरै पर्यटकीय सम्भावना रहेको बताए । राजतदुत डिल्लमले नेपाल जलविद्युतमा राम्रो सम्भावना भएको देश भएकाले जलविद्युत उत्पादनमा जोड दिँदा अन्य सम्भावना बढ्दै जाने उल्लेख गरे । उनले विद्युत उत्पादन गरी भारत लगायत अन्य देशमा बेच्नसक्ने सम्भावना रहेको बताए । उनले नेपालमा जलविद्युत नै सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले जलविद्युत उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राखे । विश्वका अन्य देशबाट समेत जलविद्युतमा लगानी ल्याउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । मौरिससका राजतदुत डिल्लमले जलविद्युत नेपालमा मात्रै नभएर विश्वमा नै धेरै महत्वपूर्ण रहेको जानकारी दिए । उनले विकसित मुलुकमा समेत सबैभन्दा ठूलो लगानी जलविद्युतमा रहेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँग नेपालको जलविद्युत उत्पादनमा लगानीका विषयमा सहकार्य अगाडि बढाइने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) नेपाललाई जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान गरिरहेको देखिएको जानकारी दिए । उनले जलविद्युत उत्पादनमा निजी,सरकारी र सार्वजनिक क्षेत्रको संयुक्त लगानी र कामले मात्रै पूर्णता पाउन सक्ने बताए । जलविद्युत उत्पादनको लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियतको आवश्यकता रहेको बताए । जलविद्युत उत्पादन र खपतको लागि जीटुजी सम्झौता वा निजी क्षेत्र निजी क्षेत्रबीचको साझेदारीमा काम गर्ने वातावरण नेपाल सरकारले वातावरण बनाउन आवश्यक रहेको जानकारी दिए । इप्पानका अध्यक्ष कार्कीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै उत्पादनको लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताए । लगानीको लागि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरिरहेको जानकारी दिए ।
गुल्मीमा निर्माण सुरु भएको ७ वर्षसम्म पनि बनेन पुल
गुल्मी । मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माण सुरु पनि भयो । तर त्यही क्रममा दुई पटकसम्म पुल भाँचियो । जसका कारण हालसम्म पनि पुल निर्माण सकिएको छैन । दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण सुरु गरिएको छ । डिजाइन परिवर्तनपछि स्टल ट्रस ब्रिज निर्माण सुरु गरिएको हो । मुसिकोटको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्यद्वार मानिन्छ। लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिस कहिले पुल निर्माण होला भनेर पर्खाइमा छन् । स्वीस सरकारको रु चार करोड १४ लाख ४४ हजार सात सय २२ को आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम ललितपुरका प्राविधिक अधिकृत धिराजा पौडेलले जानकारी दिए । आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफुहरु आशावादी भएको पौडेलले बताए । उनले सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संशोधन गर्नुपर्ने भएका कारण काममा केही ढिलाइ हुन पुगेको जानकारी दिए । अहिले पुलको फाउण्डेशन निर्माणसहित स्टीलका पार्टमा प्वाल पार्ने, जोड्ने र आकार निर्माणका काम भइरहेको छ । बडीगाढ खोलाको झेँदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६ दशमलव ३० मिटर रहेको छ । अहिले स्टील ट्रस ब्रिज निर्माण भइरहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले बताए । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यसपटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । उनले ठूलो मेहनत गरेर डिजाइन परिवर्तन गरी तीव्र रुपमा काम अगाडि बढिरहेको दाबी गरे । रासस
कृषि विकास बैंकले संचालन गर्यो विद्यार्थीसँग बैंक कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकले पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासीको अमलटारी होमस्टे, रुपन्देहीको धकधही र कपिलबस्तुको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतिय सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए । आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो । बिश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्युचर’ भन्ने नारा ग्लोबल मनी विकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।
ढोलाहिटीमा ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ
काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुरेण्टमा आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको बताए । घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ । जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको लागि अन्य ८ जना व्यक्तिहरु पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ । प्रहरीले पाँच जनालाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यलाई अनुसन्धान जारी रहेको बताएको छ ।