विकासन्युज

सम्मान संस्कारको सुरुवात

पायोनियर सञ्चार माध्यमको काम नविनतम् समाचार सम्प्रेषण गर्ने मात्र नभई सरोकारवालाको कार्यशैलीलाई उत्प्रेरणा जगाउँदै थप परिष्कृृत गर्नु पनि हो । सकारात्मक समाचारको एउटा वाक्यले व्यक्ति वा संस्थालाई समेत ठूलो उत्प्रेरणा मिल्छ भने एउटा पायोनियर सञ्चार माध्यमले सरोकारवाला निकायले गरेको कामलाई प्रशंसास्वरुप सम्मान गरियो भने त्यसले एउटा व्यक्ति वा संस्था मात्र नभई त्यो क्षेत्र र सिंगो देशको अर्थतन्त्रमा पनि सहयोेग पुग्छ, प्रोत्साहन मिल्छ र थप काम गर्न बल पुग्छ । तर, पछिल्लो समय राम्रो गर्नेलाई पनि खोजी-खोजी खेदो खन्ने सोच र अभ्यास समाजमा हावी हुँदै गएको छ । राम्रो काम गरेर समाज र सिंगो देशलाई समेत टेवा पुर्याइरहेका उदाहरण र अभ्यास हाम्रोसामू धेरै छन् । ती कामलाई नजरअन्दाज गर्दै खराब प्रवृति र गलत गतिविधिलाई बढावा दिने परिपाटीले थप स्थान ओगट्दै गएको छ । हो, समाजमा खराब काम पनि भइरहेका छन् । खराबलाई खराब भन्नु र राम्रोलाई राम्रो भनेर थप प्रशंसा गर्दै उत्प्रेरणा जगाउनु एउटा सभ्य व्यक्ति, संस्था र समाजको धर्म हो । एउटा क्षेत्रमा व्यक्ति खराब हुने वित्तिकै त्यो क्षेत्र नै बदनामी हुनु पर्ने वातावरणको सिर्जना हुँदै गएको छ । एउटा नेता वा कलाकार, उद्यमी वा व्यवस्थापक, डाक्टर वा इन्जिनियर, वकिल वा पत्रकार विभिन्न रूपमा आलोचित, बहिस्कृत र तिरस्कृत हुन थालेका छन् । जे नहुनु पर्ने हो, त्यो भइरहेको छ । यो परिपाटीको पर्दाफास गर्नु पत्रकारितका मुल कर्म हो । साथसाथै, समाजमा सकारात्मक सोच प्रवाह गर्नु र असल अभ्यासहरुको तरङ्लाई विस्तार गर्नु पनि आम सञ्चार क्षेत्रको जिम्मेवारी हो । यही जिम्मेवारीबोधसहित आर्थिक जगतमा भइरहेको राम्रा कामहरूको खोजी गर्ने, अर्थतन्त्रमा टेवा पुग्ने गरी व्यावसायिक क्षेत्रबाट राम्रो काम गर्ने संस्था वा नेतृत्वको खोजी तथा पहिचाहन गर्ने र सम्मानित गर्ने अभ्यासमा हामी लागि परेका छौं । यसको सुरुवात वाणिज्य बैंकहरूको कर्म, प्रभाव र नतिजाको विश्लेषणबाट गरेका छौं । अहिले बैंकहरूको खराब कर्जा बढ्दो छ । बैंकहरूको नाफामा उच्च गिरावट आएको छ । लगानी भएको ऋण असुल गर्न समस्या भइरहेको छ । यही समयमा केही अराजक व्यक्ति र समूहले यही बैंकिङ क्षेत्रमाथि हमला गर्ने प्रयास पनि भइरहेको छ । परिणामस्वरुप बैंकबाट लगानी गरेबापत् सेयरधनीले पाउनु पर्ने लाभांश घट्दै गइरहेको छ । बैंकमा काम गर्ने कर्मचारी तनाबमा छन् । निक्षेपकर्ताहरू कतै मेरो पैसा डुब्ने त होइन भन्ने त्रासमा छन् । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकिङ क्षेत्रमाथि यो किसिमको हमला हुनु सिंगो देशका लागि दुभार्ग्य हो । यो परिस्थिति र वातावरणको बिचमा रहेर यो त्रास, तनाब र नैराश्यताको अन्त्य गर्न सकारात्मक योगदानको जरुरी छ । यो बेला सकारात्मक सन्देश प्रवाह गरेर चोट लागेको घाउमा मल्हम लगाउन आवश्यक छ । यस विषयको मनन् गर्दै हामीले वित्तीय क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न खोजेका छौं । राम्रा काम गरिरहेका वित्तीय संस्थाहरूलाई श्रेय दिन खोजेका छौं । देश विकासले वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरूको मूल्यांकन गर्दै बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण गरेको लाभांश दर, गत वर्ष सरकारलाई तिरेको कर रकम, रोजगारी सिर्जना तथा वित्तीय पहुँचमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको खर्च, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित प्रकाशित वार्षिक प्रतिवेदन, विगत तीन वर्षमा वार्षिक साधारणसभाको नियमितता, सुशासनसँग सम्बन्धित भएर नेपाल राष्ट्र बैंकले गरेको कारवाही सम्बन्धि विवरणहरू लगायत १५ वटा सूचकहरूको आधारमा बैंकहरुको रेटिङ गरेको छ । यसरी मूल्याङ्कन गर्दा सकेसम्म तथ्यपरक बनाउने कोसिस गरेका छौं । तथ्याङ्क केलाउँदा अङ्कगणित आधारमा ठूलोलाई राम्रो मानिएको छ । पुँजी लगानी, सम्पत्ति, निक्षेप, सेयरधनीलाई दिएको लाभांश दर, सरकारलाई तिरेको कर, सामाजिक क्षेत्रमा गरेको खर्च जस्ता सूचकमा ठूलो अंकलाई बढी महत्व दिइएको छ । रोजगारी सिर्जनामा गरेको योगदानस्वरुप कर्मचारी संख्या, वित्तीय पहुँच वृद्धिमा गरेको योगदानको आधारमा शाखा संख्या बढी हुनुलाई पनि राम्रो मानेका छौं । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १३ र निक्षेप-कर्जा अनुपात (सीडी रेसियो) ८५ लाई उत्तम बिन्दु मानेका छौं । राष्ट्र बैंकले तोकेको ११ र ९० को आधारमा यस्तो गरिएको हो । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १५ भन्दा बढी हुनु वा सीडी रेसियो ७५ भन्दा कम हुनुलाई व्यावसायिक वित्तीय असन्तुलनको रूपमा चित्रण गरेका छौं । असोज मसान्तभित्रै भएको साधारणसभालाई उत्कृष्ट, पुसभित्र भएको साधारणसभालाई राम्रो,चैत्रभित्र साधारणसभा हुनुलाई औसत, असारभित्र साधारणसभा हुनुलाई कमजोर र हरेक आर्थिक वर्षभित्र साधारणसभा नगर्नेलाई अनियमितको रूपमा मूल्याङकन गरेका छौं । सुशासनको कडीको रूपमा नियामकले गरेका कारवाहीको संख्या र प्रकृतिलाई हेरेका छौं । अनुभवका आधारमा आगामी दिन यसलाई अझ बहुआयामिक बनाउने छौं । आशा छ, यो कार्यले समग्र बैंकिङ क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।

नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौं : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएका छन् । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहमामा लगानीको सम्भावना रहेको बताए । अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने बताए । त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए । ‘अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन हो । यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्ने हुन्छ जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरूको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ,’ ढकालले भने । हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे । त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषदबाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्ने उनले बताए । मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए । उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए । उनले विदेशी लगानी पुँजी र प्रविधि भित्र्याउन मात्र नभई मुलुक भित्र राजस्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा लगानीका लागि १ सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ । यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

ग्लोबल आइएमई बैंक ‘उत्कृष्ट बैंक’

काठमाडौं । ग्लोबल आइएमई बैंक उत्कृष्ट बनेको छ । सबैभन्दा धेरै सूचकाङ्कहरूमा अगुवाई गर्दै ग्लोबल आइएमई उत्कृष्ट बैंक बनेको हो । वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरू, बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण गरेको लाभांश दर, गत वर्ष सरकारलाई तिरेको कर रकम, रोजगारी सिर्जना तथा वित्तीय पहुँचमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको खर्च, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित प्रकाशित वार्षिक प्रतिवेदन, विगत तीन वर्षमा वार्षिक साधारणसभाको नियमितता, सुशासनसँग सम्बन्धित भएर नेपाल राष्ट्र बैंकले गरेको कारवाही सम्बन्धि विवरणहरु लगायत १५ वटा सूचकाङ्कहरूमा संकलित विवरणहरुका आधारमा विकास मिडियाले बैंकहरुको मूल्याङ्कन गरेको हो । विकास मिडियाको मूल्याङ्कनमा २० वाणिज्य बैंकहरु मध्ये नबिल दोस्रो र एनआईसी एशिया बैंक तेस्रो ठूलो र प्रभावकारी देखिएका छन् । पूणर् सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक चौथो स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक टप फाइभमा परेको छ । सेयर पुँजी, कुल सम्पत्ति, निक्षेप परिचालन र सरकारलाई तिरेको कर रकममा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि छ । बैंकको कुल पुँजी कोष, बैंकको शाखा संख्या र कर्मचारी संख्याको आधारमा यो बैंक दोस्रो स्थानमा छ । सामाजिक उत्तरदायित्वतर्फ गरेको खर्च, ब्याजदर अन्तर, सेयरधनीलाई दिएको लाभांश, पुँजी कोष अनुपात, निक्षेकर्जा अनुपात लगायत वित्तीय सन्तुलनका सूचकाङ्कमा राम्रा ७ वटा बैंकभित्र ग्लोबल आईएमई बैंक परेको छ । वार्षिक साधारणसभाको नियमितता, सेयरधनीलाई नियमित लाभांश वितरण गर्न सफल भए पनि बैंकले सेयरधनीलाई दिने लाभांश गत वर्ष एकल अंकमा झरेर सातौं नम्बरमा सीमित भएको छ । बढ्दो खराब कर्जा, खस्कँदो सेयर मूल्य र राष्ट्र बैंकले गत वर्ष गरेको कारवाही संख्या यो बैंकको कमजोर पक्ष हुन्, जसलाई सुधार गर्न बैंकले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ । सेयर मूल्यका आधारमा २० बैंकमध्ये ग्लोबल आईएमई बैंक १३औं स्थानमा छ । विगत तीन वर्षमा नबिल बैंकले सेयरधनीलाई ७८.५५ प्रतिशत लाभांश वितरण गरेको छ, जुन २० वाणिज्य बैंकमध्ये सबैभन्दा उच्चदर हो । सेयरधनीलाई उच्च लाभांश खुवाउन सफल यस बैंकले गत आर्थिक वर्षमा नेपाल सरकारलाई सबैभन्दा बढी कर बुझाएको लेखापरीक्षण भई प्रकाशित वार्षिक प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा नबिल बैंकले २ अर्ब ८० करोड ३० लाख ८३ हजार ३२९ रुपैयाँ कर तिरेको छ । यद्यपि, आर्थिक वर्ष २०७९/८० मा बैकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आईएमई बैंकलाई सम्मानित गरेको थियो । लेखापरीक्षण भई प्रकाशित वासलातमा ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड ८१ लाख २ हजार ४५२ रुपैयाँ कर तिरेको देखिन्छ । तर, बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा आव २०७९/८० मा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी करिवब ६ अर्ब ४० करोड रुपैयाँको योगदान गरेको उल्लेख छ । कुल निक्षेप परिचालन र कुल सम्पत्तिको आधारमा नबिल बैंक दोस्रो स्थानमा छ । पुँजी कोष र सेयर मूल्यका आधारमा यो बैंक तेस्रो स्थानमा छ । पछिल्लो समय यस बैंकको खराब कर्जा बढेर ४ प्रतिशत नाघ्नु र सेयरधनीलाई दिने लाभांश दरमा उच्च गिरावट आउनु यस बैंकको मुख्य चुनौती हो । विगत धेरै वर्षसम्म वाणिज्य बैंकहरु मध्ये सबैभन्दा महँगो रहेको नबिल नविलको सेयर तेस्रो स्थानमा झरेको छ । वित्तीय बजारमा नबिल बैंकलाई धेरैले अनुसरण गर्दै आएका छन् । यद्यपि कानूनको परिपालनामा कैफियत जनाउँदै केन्द्रीय बैंकले यस बैंकलाई पनि कारवाही गरेको देखियो । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको सबैभन्दा धेरै शाखा, सबैभन्दा धेरै कर्मचारी छन् भने गत वर्ष सरकारलाई बुझाएको कर र सेयरमा चौथो स्थानमा छ । निक्षेप र कुल सम्पत्तिका आधारमा पाँचौ स्थानमा रहेको यो बैंक गत आर्थिक वर्षको लाभांशबाट ३०.५२ प्रतिशत लाभांश दिएपनि अघिल्ला दुई आर्थिक वर्षमा यस बैंकका सेयरधनीले लाभांश नपाएको देखियो । वाणिज्य बैंकहरुको तीन वर्षको औषत लाभांशमा एनआईसी एशिया बैंक १२औं स्थानमा देखिन्छ । कर्जा निक्षेप अनुपात, पुँजी प्रायाप्तता अनुपात एवं सन्तुलित व्यवसाय विस्तार, वार्षिक साधारणसभाको नियमिततामा यो बैंकले सुधार गर्नुपर्ने देखिन्छ । चौथो स्थान रहन सफल राष्ट्रिय वाणिज्य बैंकको अन्तर ब्याजदर सबैभन्दा कम ३.८२ प्रतिशत छ । ७.४२ प्रतिशत बेस रेट हुनु, पुँजीकोष अनुपात, कर्जा निक्षेप अनुपातमा सन्तुलन हुनु, सेयरधनीलाई तीन वर्षमा ५१ प्रतिशत लाभांश खुवाउन यस बैंकको राम्रा पक्ष हुन् । ठूलो बैंक भएर पनि सरकारलाई बुझाएको कर र संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको न्यून खर्च यो बैंकको कमजोर पक्ष हो । १९ वटा वाणिज्य बैंक नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भई सेयर कारोबार गर्दै गर्दा राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचिकृत छैन । यो बैंक सरकारको सोलो बैंकको रूपमा चलेको छ । राष्ट्रिय वाणिज्य बैंकको मूल्याङकन गर्दा प्रतिसेयर आम्दानी (इपीएस)लाई आधार मानेर अंकभार जोड गरिएको छ । कुन सूचकमा कुन बैंक राम्रो ? पुँजी कोषका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा ठूलो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक वर्षमा यस बैंकले सबैभन्दा बढी खर्च गरेको छ । निक्षेप, कुल सम्पत्ति र सरकारलाई तिरेको करको आधारमा यो चौथो ठूलो बैंक हो । बैंकको शाखा, कर्मचारीका आधारमा यो पाँचौ ठूलो बैंक हो । गत चैत मसान्तमा सबैभन्दा कम अर्थात ०.७ प्रतिशत खराब कर्जा रहेको एभरेष्ट बैंकको धेरै परिसूचक राम्रा छन् । विगत तीन वर्षमा सेयरधनीलाई दिएको लाभांशका आधारमा यो बैंक दोस्रो राम्रो बैंक हो । चैत मसान्तको सेयर मूल्यका आधारमा पनि यो दोस्रो स्थानमा छ । सेयर मूल्य र आधारदमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा अगाडि छ । विगत तीन वर्षमा सेयरधनीलाई लाभांश दिनेमा यो बैंक चौथो स्थानमा छ । पछिल्लो समय कम खराब कर्जा हुने बैंकको सूचिमा यो बैंक चौथो स्थानमा छ । गत आर्थिक वर्षमा सरकारलाई बुझाएको कर र सामाजिक क्षेत्रमा गरेको खर्चको आधारमा यो बैंक छैटौं स्थानमा छ । राम्रो बैकिङ अभ्यास गरेर नेपालमा अनुकरणीय पदचिन्ह छोड्दै गएको स्ट्याण्डर्ड चार्टर्ट बैंक लगानी विस्तार, वित्तीय पहुँच विस्तार, रोजगारी सिर्जना लगायतका सूचकाङ्कमा पछाडि छ । कर्जा निक्षेप अनुपात, सीडी रेसियो अनुपातमा सन्तुलन गर्ने र नियमित रूपमा सबैभन्दा पहिला वार्षिक साधारणसभा गर्ने सवालमा सिटिजन्स बैंक इन्टरनेशनल अगाडि छ भने माछापुच्छ्रे बैंक दोस्रो स्थानमा छ । राष्ट्र बैंकको कारवाही भोग्ने सूचिमा नरहेकाले यी दुवै बैंकको सुशासन पनि राम्रो देखिन्छ । सम्पादकीय सम्मान संस्कारको सुरुवात

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री पुन

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए । उनले आफूहरूको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति आभार व्यक्त गरे । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो । उनले सम्मेलनले क्रममा लगानीकर्ता र सरोकारवाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए । सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रूपान्तरण हुने विश्वास मन्त्री पुनले लिए । नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको मन्त्री पुनले उल्लेख गरे । उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको उनको भनाइ थियो । हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने भन्दै पुनले ढुक्क भएर लगानी गर्न अपिल गरे । ‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं’, मन्त्री पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’ नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको मन्त्री पुनको स्पष्टोक्ति थियो । सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक९निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

व्यवसायी ज्योती र मल्होत्राले पनि विदेशी साझेदार खोज्दै, लगानी सम्मेलनमा यी १९ जलविद्युत आयोजना सोकेस

काठमाडौं । लगानी सम्मेलनका लागि जलविद्युत उद्यमीका विभिन्न १९ वटा परियोजनाहरू सोकेस गरिँदैछ । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा १९ वटा जलविद्युत आयोजनाहरूलाई प्रस्तुत गरेर विदेशी लगानी आव्हान गरिएको हो । जसमा नेपाली ठूला व्यवसायीहरू पनि संलग्न छन् । निजी क्षेत्रबाट सोकेस गरिने कुल ३१ परियोजनामध्ये जलविद्युत क्षेत्रका १९ वटा आयोजनाहरू छनोट गरिएको छ । जसमा सबैभन्दा ठूलो क्षमताको आयोजना आईएमएस ग्रुपको रहेको छ । यो समूहले डोल्पामा ३२५ मेगावाट क्षमताको अपर भेरी हाइड्रोइलेक्ट्रिक परियोजना निर्माण गर्दैछ । यो आयोजनाले पनि विदेशी लगानीकर्ता खोजिरहेको छ । आईएमस समूहको अध्यक्ष दिपक मल्होत्रा हुन् । यस्तै, ठूला व्यवसायीमध्येका ज्योती समूहका अध्यक्ष पद्म ज्योतीले पनि जलविद्युत आयोजना निर्माण गर्दैछन् । ज्योतीको नेतृत्व रहेको बुटवल पावर कम्पनीले १५९.६२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाका लागि लगानी आव्हान गरेको छ । ज्योती बुटवल पावर कम्पनीका अध्यक्ष हुन् भने यो व्यवस्थापन प्रमुख उत्तककुमार श्रेष्ठ हुन् । श्रेष्ठ ईप्पानको सञ्चालक पनि हुन् । नबिल डेभलपर्सले पनि २०३ मेगावाट क्षमताको माथिल्लो बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी आव्हान गरेको छ । जुन आयोजना गोरखामा बन्दैछ । यस्तै, लालुपाते जलविद्युत कम्पनीले ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण गर्दैछ । सो कम्पनी स्वतन्त्र उर्जा उत्पादक संस्था संघका वरिष्ठ उपाध्यक्ष मोहन कुमारी डाँगीको हो । यो आयोजना मनाङमा निर्माण हुनेछ । यो आयोजनालाई पनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको छ । कम्पनीले आयोजना निर्माणको लागि विद्युत विकास विभागबाट अनुमति पनि पाइसकेको छ । यो परियोजना रन अफ दि रिभर (आरओआर)मा आधारित छ । यस्तै, पेल्मा जलविद्युत परियोजनालाई पनि लगानी सम्मेलनमा प्रस्तुत गरिँदैछ । ८० मेगावाट क्षमताको यो जलविद्युत आयोजना रुकुममा बन्ने भएको छ । यसको नेतृत्व चार्टर्ड एकाउन्टेन्ट नारायणप्रसाद पौडेलले गरेका छन् । रुकुममा नै पेल्मा जलविद्युत परियोजनाले नै १५० मेगावाट क्षमताको अपर सानी भेरी आयोजना निर्माण गर्नका लागि लगानी आव्हान गरेको छ । यो आयोजनाको लागि नेतृत्व मोहिता डाँगीले गरेकी छन् । उसो त डाँगी पनि लालुपाते हाइड्रोपावरमा नै संलग्न छिन् । उनी सो कम्पनीको परियोजना प्रमुखका रुपमा काम गरिरहेकी छन् । यस्तै, रामजानकी जलविद्युत कम्पनीले संखुवासभामा ३५.१५ मेगावाट क्षमताको उपर उप्सुवा जलविद्युत र २३ मेगावाटको उप्सुवा १ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यी आयोजनाको नेतृत्व होमकान्त चौलागाईंले गरेका छन् । यस्तै, अपरमस्र्यादी हाइड्रोपावर कम्पनीले लमजुङमा १०२ मेगावाटको जलविद्युत बनाउँदैछ । जसको नेतृत्व सरोज बस्नेतले गर्दैछन् । समिट पावर कम्पनीले सोलुखुम्बुमा १८८ मेगावाटको सुर्के जलविद्युत आयोजना निर्माण गर्दैछ । जसको नेतृत्व कम्पनीका अध्यक्ष सुशिल गुप्ताले गर्दैछन् । बिजबेल इनर्जीले हुम्लामा ९८.१७ मेगावाट क्षमताको चुवाखोला क्यासकेड जलविद्युत आयोजना निर्माण गर्दैछ जसको नेतृत्व दिवाकर गिरीले गरेका छन् । यस आयोजनालाई पनि लगानी सम्मेलनमा विदेशी लगानीका लागि सोकेस गरिनेछ । नेपाल पोर्टफोलियो इनर्जीले हुम्लामा ११० मेगावाट क्षमताको अपर चुवाखोला जलविद्युत आयोजना निर्माण गर्दैछ । यो आयोजनालाई पनि लगानी सम्मेलनमा प्रस्तुत गरिँदैछ । जसको नेतृत्व जलविद्युत उद्यमी सुशिल पोखरेलले गरेका छन् । अन्नपूर्ण विद्युत विकास कम्पनीले कास्कीमा ८६.५९ मेगावाटको ल्याण्डलक मोदी जलविद्युत आयोजना निर्माण गर्दैछ । जसको नेतृत्व कम्पनीका अध्यक्ष जगत पोखरेलले गर्दैछन् । यस आयोजनाले पनि विदेशी लगानी खोजिरहेको छ । बीजी हाइड्रो इन्भेष्टमेन्टले सिन्धुपाल्चोकमा ४० मेगावाट क्षमताको बलेफी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको नेतृत्व कम्पनीका सञ्चालक सुदिप खड्काले गर्दैछन् । नरखोला हाइड्रोपावर कम्पनीले मनाङमा नरखोला हाइड्रोपावर निर्माण गर्दैछ । जुन ६१ मेगावाट क्षमताको हो भने यसको नेतृत्व कम्पनीका अध्यक्ष बटु लामिछानेले गर्दैछन् । यो आयोजनाले पनि विदेशी लगानी खोजिरहेको छ । लगानी सम्मेलनमा ५४ मेगावाटको महाकाली सेती क्यासकेड पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना र ७२ मेगावाट क्षमताको सेती नदी पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना प्रस्ताव गरिँदैछ । यी आयोजनामा पनि विदेशी लगानी खोजिँदैछ ।

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

पर्यटकीय गन्तव्य बन्दै रणकालिका किराञ्चोक भगवती मन्दिर क्षेत्र

काठमाडौं । धादिङ जिल्ला गल्छी गाउँपालिका- ४ मा रहेको किराञ्चोक भगवती (रणकालिका) मन्दिर क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गल्छी गाउँपालिका तथा स्थानीय सक्रिय भएका छन् । विसं १२०० मा यो स्थानमा भएको मानिएको यो कालिका भगवतीको मन्दिरमा पृथ्वीनारायण शाह नुवाकोट जाक्रमणमा पराजित भएपछि किराञ्चोक कालिका माताको आराधना गरी रणमा जाँदा बाइसे चौबिसे राज्यहरूलाई पराजित गर्दै एकीकरणकर्ता बनेकोले कालिञ्चोकबाट यस मन्दिरको नाम रणकालिका रहन गएको विश्वास छ । पहिले यो क्षेत्र किराँतहरुले राज्य गरेको र किराँतचोकबाट अपभ्रमश भई किराञ्चोक रहन गएको भन्ने जनश्रुतिले यस मन्दिरको एतिहासिकता झल्किने पुरातत्व विभागका पूर्वइन्जिनियर एवं स्थानीय बासिन्दा धुव्र अधिकारीको धारणा छ । काठमाडौंमा बस्ने किराञ्चोकका स्थानीय तथा पुरातत्व विभागको सहयोगमा २०७१ देखि कालिका मन्दिर पुनः निर्माण सुरु गरिएको थियो । २०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निर्माण, अन्य गुरुयोजना अनुरूपका निर्माण कार्यले धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक विकास एवम् पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षक बन्दै गएको छ । काठमाडौं चितवन राजमार्गको मास्टारबाट माथि डाडाँमा रहको यस स्थानबाट त्रिशुली नदी,धादिङ र मकवानपुरका विभिन्न गाउँबस्ती देख्न सकिन्छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर निर्माण भएपछि यसको प्रचार प्रसार गर्न पालिका तथा मन्दिर व्यवस्थापन समिति खटिरहेको यसको उचित प्रचार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्ने इन्जिनियर अधिकारीको धारणा छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले धादिङ र खासगरि त्रिसुली नदी जल पर्यटनको रूपमा परिचित रहेको अवस्थामा यसलाई समग्र पर्यटकीय गतिविधिमा जोड्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना रहको बताए । गाउँ पालिकाका अध्यक्ष केदारनाथ खतिवडाले यो क्षेत्र धार्मिक तथा एतिहासिक क्षेत्र भएकोले यसको विकास र विस्तार र प्रवर्द्धनका लागि पर्यटन बोर्ड र पुरातत्व विभागसंग सहयोगको अपेक्षा गरिएको बताए । स्थानीय मनिदर समितका अध्यक्ष शंकरबहादुर भण्डारीले मन्दिर निर्माणमा पुरातत्व विभागको सहयोगमा मसन्दर निर्माण भइसकेकोले यसको प्रर्वद्धनको लागि बोर्डको सहयोग आवश्यक रहेको बताए । यसैबीच शनिबार स्थानीय जनप्रतिनिधि, पुरातत्व विभागका पूर्वअधिकारी, पर्यटन बोर्डका अधिकारी, स्थानीय समाजसेवी तथा गाउँलेहरूको सहभागितामा रणकालिका मन्दिर क्षेत्रलाई कसरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।