विकासन्युज

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान गरेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो । राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् । ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयहरू मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक प्रतिवद्ध रहेको छ ।  

रामेछाप उडेको जहाज प्राविधिक गडबडीपछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

पीपीपी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी, १० करोड लगानी गर्ने

काठमाडौं । काठमाडौंमा जारी तेश्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि वल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप) बीच महत्वपूर्ण समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर गरे । उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रि असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् । यस सहकार्यले नेपालमा पीपीपी सम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पीपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुप कुमार उपाध्यायले बताए । ‘यस समझदारीले पीपीपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यवहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ,’ उपाध्यायले भने । वापका अध्यक्ष जियाद–अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए । स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पीपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पीपीपी अभ्यासकर्ताहरूको संस्था हो । आजै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी आरएमबी पाँच करोडदेखि १० करोडसम्म लगानीका लागि सम्झौता भएको छ ।

घरको कोठा र १६ विद्यार्थीबाट सुरु भएको रातो बंगाला : सबैको रोजाइ, देशकै महँगो

काठमाडौं । एकताका रातो बंगला स्कुललाई बन्द गर्ने खुब चर्चा चल्यो । बन्द गर्नकै लागि केही समूह र व्यक्ति लागे पनि । तर, यो स्कुल बन्द हुनु भन्दा पनि दिनप्रतिदिन बलियो बन्दै गयो । कुनैबेला विद्यार्थी नेताको आँखाको तारा बनेको यो स्कुलको आलचोना अहिले पनि बेलाबखत हुन्छ । कारण अति महँगो भयो । निजी स्कुलको खरो विद्रोह गर्ने त्यतीबेलाको माओवादीले रातो बंगाला जस्ता केही विद्यालय बन्द पनि गरेको थियो । विद्यार्थीबाट लिने शुल्कको कुरा गर्दा अहिले पनि यो स्कुल उत्तिकै महँगो स्कुलमध्ये पर्छ । यो स्कुलमा पढ्ने विद्यार्थीको मासिक शुल्क न्यून आय र कमजोर वर्गका परिवारका लागि सुनि नसक्नु छ । स्कुलका निर्देशक शान्ता दिक्षितका अनुसार विगतको तुलनामा स्कुल अहिले झन महँगो छ । निजी स्कुललाई कसरी बन्द गर्ने ? यसको आयु कति हो भन्ने किसिमको चर्चा बेला बखत विभिन्न समूहबाट हुन्छ पनि । तर, रातो बंगलाकी निर्देशक दिक्षित निजी विद्यालय खोलेर ठूलो धनराशी बाहिर जानबाट यो रोकिएको बताउँछिन् मासिक ६० हजार शुल्क रातो बंगलामा मासिक शुल्क ६० देखि ७० हजार रुपैयाँको हाराहारीमा छ । यहाँ पढ्ने सबै विद्यार्थीको शुल्क एउटै हुन्छ । कक्षाको आधारमा शुल्क फरक-फरक नभएको स्कुलले जनाएको छ । निर्देशक दिक्षितका अनुसार ३/४ वर्षका बच्चादेखि १८ वर्ष सम्मका बच्चा अथवा प्रि कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीको शुल्क प्रायः एउटै हुन्छ । ‘ठूलो विद्यार्थी भन्दा सानो बालबालिकाको लागि बढी समय दिनुपर्छ,’ उनी भन्छिन्, ‘३/४ वर्षका बच्चाका लागि शिक्षकले बढी समय दिनुपर्छ, उनीहरूको ख्याल बढी राख्नुपर्छ, तीन/चार हजार तालमाथि हुन सक्छ नभए यहाँ पढ्ने सबै बालबालिकाको शुल्क एउटै हो ।’ १६ विद्यार्थीबाट विद्यालयको स्थापना रातो बंगला स्कुल सन् १९९२ बाट सञ्चालनमा आएको हो । यो स्कुल ललितपुरको पाटन ढोकामा अवस्थित छ । १६ जना विद्यार्थीबाट सुरू भएको यो स्कुल सुरुवातमा कक्षा तीन र चारबाट पढाउन सुरु गरिएको थियो । अहिले १२ कक्षासम्म पढाइ हन्छ । सुरूमा शान्ताले आफ्नो घरको कोठाबाट विद्यालय सञ्चालन गरिन् । दुई कोठामा दुई कक्षा सुरु गरियो । कक्षा, ३ र कक्षा ४ का विद्यार्थीलार्ई पढाउने योजना सहित स्कुल सुरू भयो । ‘३/४ र ५ कक्षा सम्म खोल्ने योजना थियो । तर, ५ कक्षामा कोही विद्यार्थी नआउँदा ३ र ४ लाईमात्र पढाउन सुरू गरियो,’ विगत स्मरण गर्दै उनले भनिन् । त्यो बेला शान्ताकी छोरी पनि कक्षा ४ मा पढ्थिन् । पहिलो वर्ष कक्षा ३ मा ६ जनाा र कक्षा ४ मा ९ जना बच्चा पढ्न आएका थिए । अर्को वर्ष केजीदेखि कक्षा ५ सम्म पढाउन सुरू गरियो । बिस्तारै बच्चाहरू पनि बढ्न थाले । त्यो बेला शुल्क ५ हजार थियो । सुरूवातीमै यो विद्यालयको शुल्कको बारेमा चर्चा भएको थियो । १६ जना बच्चा पढाएर सुरू गरेको विद्यालएका अहिले करिब १ हजार ५० जना विद्यार्थी छन् । ‘पैसा भन्दा पनि कसरी राम्रो काम गर्ने भन्ने हेतुले हिजो पनि काम गरेका थियौँ, आज पनि गरिरहेका छौं,’ उनले भनिन् । रातो बंगलाको परिकल्पना शान्ता काठमाडांकै रैथाने हुन् । उनका श्रीमान त्यो बेला यूएनडीपीमा काम गर्थे । सन् १९८० मा अमेरिका गएकी उनी नेपाल फर्केर पब्लिक हेल्थमा काम गर्ने योजनामा थिइन् । उनको इच्छा डाक्टर बन्ने थियो । तर, त्यो इच्छा पुरा भएन । डाक्टर बन्न नपाए पनि पब्लिक हेल्थबाट सेवा गर्ने तयारीमा रहेकी उनको एक दिन अमेरिकाको नियोर्कबाट आएको एक शिक्षकको टोलीसँग भयो । नेपाल आएको शिक्षकको टोली उनकी छोरी पढ्ने विद्यालयको थियो । उनीहरू अमेरिकाबाट नेपाल फर्केका अभिभावकसँग भेटघाट गर्ने योजनामा थियो । अमेरिकाबाट नेपाल फर्केकी शान्ता आफ्नो छोरी पढाउने राम्रो स्कुल खोजिरहेकी थिइन् । त्यो बेला सुभतारा, त्रियोग र सेन्ट मेरिज प्रचलित स्कुल थिए । उनका श्रीमान दिल्ली गएर छोरीलाई पढाउन शान्तालाई सल्लाह दिन्थे । तर, उनलाई नेपालमै राम्रो स्कुलमा पढाउन मन थियो । त्यही बेला नेपाल आएकी एक शिक्षिकाले आफू रिटायर्ड भएपनि इण्डियामा स्कुल खोल्ने योजना सुनाइन् । शन्ताले तिनै शिक्षिकालाइ समात्दै भनिन्, ‘किन राम्रो स्कुल भारतमा खोल्ने, नेपालमा पनि राम्रो स्कुलको आवश्यकता छ, मैले आफ्नो जमिन देखाउँदै, यति जग्गा म दिन सक्छु भनेँ, नेपालमै स्कुल खोल्नुपर्छ भनेँ,’ उनले त्यो क्षण स्मरण गर्दै भनिन् । शान्ताले यति भनिसकेपछि त्यही दिनबाट स्कुल सञ्चालनको कुरा चल्न थाल्यो । पब्लिक हेल्थ क्षेत्रमा काम गर्ने योजना बनाएकी शान्ताको यात्रा शिक्षा क्षेत्रमा मोडियो । र, सुरू भयो रातो बंगाला स्कुलको परिकल्पना । यसरी जुर्यो रातो बंगला विद्यालय सञ्चालन गर्ने योजनापछि शान्ता विद्यालयको नाम खोज्न थालिन् । उनको अधिकांश समय ल्यापटपमा नाम खोज्दै जान थाल्यो । तर, उनलाई चित्त बुझ्दो नाम भेटिएन । शान्ताका ससूराले तत्काल विद्यालय सञ्चालन गर्न घर नै प्रयोग गर्न भने । परिवार नजिकैको अर्को घरमा सर्यो । उनको घरको नाम नै रातो बंगला थियो । शान्ताले स्कुलको गतिलो नाम नभेटिरहेको बेला उनका श्रीमानले रातो बंगाला नाम राख्न सल्लाह दिए । शान्तालाई नाम मन परेको थिएन । आफुलाई चित्त बुझ्दो नाम नभेट्दा उनलाई मन नलागेपनि त्यही रातो बंगला राख्नुपर्छ भन्ने लाग्यो । एक दुई वर्षपछि नाम परिवर्तन गर्ने मनसायसहित रातो बंगाला राखेको स्कुल अहिलेसम्म पनि यही नामले सञ्चालन भइरहेको छ । ‘रातो बंगाला राख्नुको कारण खासै केही थिएन,’ उनी भन्छिन्, ‘हाम्रो घरलाई नै रातो बंगला भनिन्थ्यो, मैले पनि राम्रो नाम भेटिन, यो नाम यत्तिकै रह्यो ।’ देउरानी जेठानीको जोडी शान्ताकी जेठानी मिलन दिक्षित जो अहिले त्यो स्कुलकी प्राधानाध्यापक छिन् । उनी त्यो बेला फिलिपिन्समा बस्थिन् । न्यूयोर्कबाट आएको टोलीसँग भेट्दा उनी पनि घर आएकी थिइन् । उनीहरूबीच एक किसिमको छलफल नै भयो । त्यसपछि जेठानी देउरानी मिलेर नै स्कुल सञ्चालन गर्ने योजना बनेको थियो । सुरूमा शान्ताले पढाउने काम गरिन् । विस्तारै कामसँगै जिम्मेवारी र पद पनि बढ्दै गयो । त्यसपछि जेठानी मिलन प्रिन्सिपल र देउरानी स्कुलको निर्देशक बनिन् । दुवैजना मिलेर अहिले रातो बंगला चलाइरहेकी छिन् । यो स्कुल १५ रोपनी जग्गामा फैलिएको छ । त्यो मध्ये धेरै जग्गा शान्ता र मिलनको आफ्नै छ । कसरी बन्यो महँगो स्कुल ? रातो बंगला महँगो भयो भन्ने प्रश्न आजको होइन । पहिलेदेखि नै यो प्रश्न उठ्दै आएको छ । अहिले पनि १ महिनाको शुल्क प्रति विद्यार्थी ६० हजार छ । किन यति महँगो भन्ने प्रश्नमा शान्ता भन्छिन्, ‘किन महँगो भयो भन्नुभन्द्या एकछिन समय मिलाएर कक्षाहरू हेरिदिनुस्, यसरी पढाएको स्कुलले कति लिन्छ भन्ने थाहा पाउनुहुन्छ, यो स्कुल महँगो छ, अझ महँगिदै जान्छ, यसका लागि हामी अभिभावकसँग छलफल गर्छौं ।’ यो विद्यालयबाट वर्षमा १ सय ५० जना विद्यार्थी ग्राजुएट हुन्छन् । अहिलेसम्म रातो बंगलाले (सन् २००१ देखि २०२४ सम्म) २ हजार ४८१ विद्यार्थी उत्पादन गरेको छ । शुभतारा स्कुलजस्तै यो स्कुल बन्द हुने सम्भावना कति छ भन्ने जिज्ञासमा उनी भन्छिन्, ‘भविश्यवाणी नगरौं, अहिलेसम्म हामी जे जस्तो काम गरिरहेको छौं, यो स्कुल पुस्तौं पुस्तासम्म रहनुपर्छं, यो स्कुल पुस्तौं पुस्तासम्म रहनुपछ, चल्नुपर्छ।’ उनी यो विद्यालयका लागि लामो भिजन रहेको बताउँछिन् । रातो बंगलाको अन्य ठाउँमा पनि यस्तो स्कुल खोल्ने योजना थियो तर, भएन । यो वर्षदेखि रातो बंगलालाई अझै राम्रो बनाउँदै लगिने योजना स्कुलको छ । सोसियल इमोस्नल डेभलपमेन्ट भनेर काउन्सिलर राखेको छ । जसले विद्यार्थीलाई मानसिक र शारीरिकरूपमा जाँच गर्ने गरिन्छ । यो स्कुलमा भर्ना भएका विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई अन्य शारीरिक तथा मानसिक ज्ञानको पनि शिक्षा दिइन्छ । यसले पनि नेपाली शिक्षामा रातो बंगला रोल मोडल हो । ‘रातो बंगला साझेदारी कार्यक्रम’ द्धन्द्धकालमा महँगो स्कुलले शुल्क घटाउनुपर्छ भन्ने चर्चा चलेको थियो । विद्यालयको शुल्क हेरेर १५ देखि २५ प्रतिशत शुल्क घटाउन विद्यालयलाई पत्र नै पठायो । रातोबंगला २५ प्रतिशतको रेञ्जमा पुग्यो । यो पत्र पाएपछि विद्यालयले अभिभावक, सिनियर व्यक्तिसँग छलफल भयो । छलफलमा घटाउने शुल्कले एउटा कार्यक्रम बनाउने निर्णय भयो । त्यसपछि स्थापना भयो ‘रातो बंगला साझेदारी कार्यक्रम’ यो कार्यक्रममार्फत् रातो बंगलाले धादिङ, मकवानपुर, ललितपुर, म्याग्दी , दैलेख गरी पाँच जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो । अहिले पनि यो कार्यक्रममार्फत् ववभिन्न कामहरू सञ्चालन भइरहेका छन् । यसरी ठाउँ–ठाउँमा गएर प्रशिक्षण कार्यक्रम गर्दा टेर्नरको आवश्यकता प¥यो । टेर्नर उत्पादन गर्न स्कुलले अर्को संस्था रातो बंगला फाउण्डेशन कार्यक्रम थप गर्यो । फाउण्डेशनले टेर्नर उत्पादन गर्ने काम पनि गर्छ । यो फाउण्डेशनले आफैं कार्यक्रम ल्याउँछ । यो पटक दुई वटा नयाँ कार्यक्रम ल्याइएको छ । रमणीय वातावरण हरियाली वातावरण, रंगिचंगी फुलहरू, प्रयाप्त खेल मैदान, झट्ट हेर्दा कुनै रमाइलो पार्क जस्तो । जहाँ विद्यालय जस्तो कोकाहल छैन । शान्त वातावरण कोही पढ्दै, कोही खेल्दै । यो दृश्यले धेरैलाई आकर्षित बनाउँछ । प्रि स्कुलका बच्चाहरूका लागि खेल्ने ठाउँ, मन पर्ने गुडिया । अन्य ठूला विद्यार्थीका लागि खेल्ने मैदान प्रयाप्त छ । यहाँको शिक्षण विधि पनि फरक छ । पाठ्यक्रमलाई शिक्षकले बोर्डमा उभिएर छडी देखाएर पढाइ हुँदैन । यहाँ व्यवहारिक पढाइ हुन्छ । जस्तै, वातावरण के हो ? कसरी स्वच्च राख्ने ? भन्ने विषयमा पढाइ गर्दा विद्यालय भित्रकै वातावरणमा गई त्यसलाई स्वछ कसरी राख्ने भन्ने प्रत्यक्ष देखाएर सिकाइन्छ । विद्यालयमा पढाइ हुने हरेक विषयको यसरी नै पढाइ हुन्छ । जहाँ विद्यार्थीले पढेका कुरा व्यवहारमा पनि लागू हुने गर्छ । ‘पढाउनु/लेखाउनु मात्र स्कुलको काम होइन, सत्यम यसको धर्म हो, ‘उनी भन्छिन्,‘ पोजेटिभिटी, ग्रेट, सोसेल कमिटमेन्ट, लर्निङ क्रियटिभिटी लगायत ७/८ कुरामा विद्यालयले मुख्य ध्यान दिन्छ, यसका लागि विद्यार्थीलाई यो कुरा कसरी ग¥यौँ, भनेर सोध्नेसँगै विद्यार्थीलाई कसरी जान्न सक्ने बनाउने भन्ने शिक्षण विधीमा बडो जोड दिइन्छ ।’ बच्चाको विकासको चरणको अध्ययन गरेर सिकाइन्छ । २ वर्ष, ४ वर्षको १०, १६ वर्षका बच्चाहरूको रुचि के छ, उसले कसरी शिक्षक, साथीभाईसँग अन्तक्रिया गर्छ, घरबाट के कुरा सिकेर आउँछ सबैभन्दा पहिले यी कुरालाई हेरिन्छ । किनकी यी सबै कुरा महत्वपूर्ण हुन्छ । पछिको लागि पढेर डाक्टर, इन्जिनियर हुने होईन । आजैदेखि सिकाउनुपर्छ । विद्यार्थीसँगै अभिभावकलाई पनि बच्चाको अगाडि गर्न हुने र नहुने कुरा पनि सिकाइन्छ । विद्यालयमा पढ्न आउने बच्चाका अभिभावक डाक्टर, इन्जिनियर, सिंगर, म्युजिसियनलाई पनि कहिलेकाहीँ बोलाएर आ-आफ्नो कुरा विद्यार्थीलाई ‘सेयर’ गर्नेदेखि विद्यार्थीलाई देखाएर सिकाइन्छ । यो विद्यालयले विद्यार्थीहरूलाई सोधेर उनीहरूकै आइडियामा करिकुलम तयार पार्छ । २० विद्यार्थीलाई निःशुल्क शिक्षा यो विद्यालयले प्रत्येक वर्ष २० जना पिछडिएका विद्यार्थीलाई निःशुल्क पढाइरहेको छ । उनीहरूलाई खान बस्न होस्टेलको व्यवस्था पनि गरिएको छ । विभिन्न पिछडिएका ठाउँका विद्यार्थीहरूको परीक्षा लिएर उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइने गरिन्छ । शैक्षिक सत्र सुरू हुनुअघि नै शिक्षकहरूलाई कसरी सिकाउने, कसरी पढाउने भन्ने बारे पनि विद्यालयमा सिकाइन्छ । विगतमा धेरै जसो शिक्षकहरू सकिँदैन भन्दै फर्केर जान्थे । यो विद्यालयमा सकिँदैन भनेर बाहिरिएका शिक्षकले अन्य विद्यालयमा राम्रो गरेका धेरै अभ्यास रहेको उनी बताउँछिन् ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको गत मंसिर २८ गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।

महानगरमा ३३ जनाले लिए निशुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको लक्षित वर्ग उपचार सेवाबाट अहिले सम्म ३३ जना बिरामीले सेवा लिएका छन् । तीन महिनाअघिबाट महानगरले सुरू गरेको उपचार सेवाबाट ३३ जनाले सेवा लिएको महानगरले जनाएको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ  । यस्तै १२ जना बिरामी डिस्चार्ज भएका छन् । जसमा तीनजना दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसूति रोग सेवा, एकजनाले पेटसम्बन्धी, एकजनाले आँखासम्बन्धी सेवा लिएको महानगरले जनाएको छ । यस्तै उपचार सेवा लिँदालिँदै दुईजना बिरामीको मृत्यु भएको छ ।

काठमाडौं महानगरले देशभरका विपन्न प्रहरीको निशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न, असहाय बिरामीको उपचार गर्ने भएको छ । देशभरका कुनैपनि पालिकाको भएपनि महानगरका अस्पतालमा गरिने महानगरले जनाएको छ । विपन्न, असहाय बिरामीले आफ्ना पालिका बाट सिफारिस लिएर आएमा निशुल्क उपचार हुने महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरले ५२ अस्पतालका ३ सय ७४ बेडबाट निशुल्क सेवा दिदै आएको छ । महानगर प्रमुख बालेनले कसैको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा रहेको भएपनि जानकारी गराइदिन आग्रह गरेका छन् । यस्तै उनले आफ्नो फेसबुक मार्फत यो सेवा पाउनका लागि ११८० मा फोन गर्न वा महानगरको स्वास्थ्य विभागमा सम्पर्क राख्न शाहले आग्रह गरेका छन् ।

उपनिर्वाचन : बझाङमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा, इलाममा सुहाङको अग्रता

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा फेरि नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहँदा अहिले एमालेका उम्मेदवारले अग्रता कायम गरेका हुन् । पछिल्लो परिणाम अनुसार एमालेका दमन भण्डारीले ९ हजार ८ सय ८९ मत पाएर ९ मतले अगाडि छन् भने काँग्रेसका अषिशेक बहादुर सिंह ९ हजार ८ सय ८० मतले पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६सय ६३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएका छन् । कुल ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ । यस्तै, प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा अगाडि छन् । सुहाङले १० हजार ४ सय १९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ७ सय ५३ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४ सय ५१ मत पाएका छन् । इलाममा रास्वपाको चर्चा बढी थियो । तर, रास्वपाले इलामा खासै प्रभाव देखाउन सकेन । हालसम्म रास्वपा चौथो स्थानमा छ ।