विकासन्युज

तातो हावाको लहर अझै बढ्ने, बच्न के गर्ने ?

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ । ‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ’, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो । सूचनामा भनिएको छ, ‘तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।’ सम्भावित असर तथा सुझाव तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ । रासस

८.९९% व्याजमा घर कर्जा, १२ करोडसम्म ऋण सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्‍याउँदै आइरहेको छ ।

सानो पसलबाट सुरु भएको एभरेष्ट मसला कसरी बन्यो अर्बौंको ब्राण्ड ?

काठमाडौं । भारतको दिग्गज मसला ब्रान्ड एभरेष्ट मसला र एमडीएच मसलाको गुणस्तरमा प्रश्न उठिरहेको छ । सिंगापुर र हङकङमा परीक्षण गरेपछि यी मसलाहरूमा उच्च मात्रामा इथाइलिन अक्साइड भेटिएको थियो । त्यसपछि यी मसलालाई बजारबाट हटाउन निर्देशन दिइएको थियो । भारतमा पनि यी मसलाको गुणस्तर जाँच्न थालिएको छ । यद्यपि, यो ब्रान्ड आज प्रश्नमा भए पनि यसको सफलता कथा भने प्रेरणादायक छ । कसरी सुरु भयो एभरेष्ट मसला ? एभरेष्ट मसलालाई एउटा सानो पसलबाट अर्बौंको ब्रान्ड बनाउन जामनगरका वडिलाल शाह उर्फ ​​वडिकाका (एभरेष्ट मसाला मालिक वडिलाल शाह) को कडा मिहिनेत छ । गुजरातको जामनगरमा जन्मेका वडिलाल आफ्ना बुबाको मसला पसलमा काम गर्थे । काम गर्दागर्दै महिलाहरूले मसला किन्दा कुनै पनि संयोजनको पालना नगरेको उनले याद गरे। त्यसपछि वडिलालको दिमागमा आइडिया आयो कि किन पूरा मसला प्याक तयार गरी महिलालाई नदिने ? कति छ कम्पनीको कारोबार ? सन् १९६७ मा वडिलालले एभरेष्ट मसाला सुरु गरेका थिए । उनी एउटा सानो पसलमा मसला बनाएर बेच्ने गर्थे । आज उनको मसला स्वदेशमा मात्र नभई विदेशमा पनि रुचाइन्छ । आज कम्पनीको कारोबार लगभग २५ अर्ब भारु पुगेको छ । तर, पछिल्लो समय सुरु भएको विवादपछि कम्पनीको प्रतिष्ठामा असर परेको छ । के हो विवाद ? हङकङ र सिंगापुरमा एभरेष्ट र एमडीएच मसलामाथि प्रतिबन्ध लगाइएको छ । यससँगै बजारबाट ती मसला हटाउन पनि निर्देशन दिइएको छ । त्यसपछि यी दुई मसलासँगै भारत सरकारले अन्य ब्रान्डका मसलाको नमुना पनि जाँचका लागि पठाएको छ । एभरेष्ट र एमडीएच मसलाका केही प्याकेटमा कीटनाशक एथिलिन अक्साइड बढी मात्रामा भेटिएपछि विवाद सुरु भएको हो । त्यसपछि ग्राहकहरूलाई ती किन्न र हङकङ र सिंगापुरमा व्यापारीहरूलाई बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश जारी गरिएको छ । एजेन्सी

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गंगाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गंगाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ । संघीय राजधानी काठमाडौंबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गंगाजमुनानाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाइएको हो । पछिल्लो समय जथाभाबी रूपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गंगाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्गको कामलाई अगाडि बढाएको छ । आन्तरिक तथा वाह्य पर्यटक प्रर्द्धन गर्न अगाडि बढाइएको ‘गंगाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मक कार्य सुरु गरिएको छ । गंगाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले सुरु गरेको गंगाजमुना तीनसुरे पदमार्ग’ को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मको कामको आइतबार सोही गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गरे । गोरखाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको बुढाथुममा भव्य समारोहबीच शुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष लामा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक महत्व भएको गंगाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न उक्त पदमार्गलाई अगाडि बढाइएको बताउँछन् । यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवद्र्धन गर्न गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो । सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन, पदमार्ग विकास तथा प्रव्द्धन योजना, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवर्द्धनात्मक वृत्तचित्र निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गरिने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउँछन् । गंगाजमुनाभित्र ‘क्यानोनिङ’ गर्न ठूलाठूला झरना, ‘रक क्वाइबिङ’ का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाइन, अग्लो र लामो झोलुङ्गेपुल लगायतका पूर्वाधार रहेका छन् । यस्तै, उक्त गाउँपालिकामा ब्रह्माणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिको अनुभव लिन पाइन्छ । वरिष्ठ उपाध्यक्ष दाहालका अनुसार पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको छ । गंगाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गंगाजमुनाको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न चालु आर्थिक वर्ष २०८०÷८१ मा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउँछन् । ‘गंगाजमुनाबाट चुमभ्याली र रुवीभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’ लाई पालिकाले गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ,’ उनी भन्छन् । होमस्टे प्रवर्द्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण भइरहेको छ । गंगाजमुनाको पर्यटन प्रवर्द्धन गर्न ठाउँठाउँमा सूचना पाटी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गंगाजमुना पर्यटन पूर्वाधार विकास योजना’अन्तर्गत गंगाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माणलगायत काम अगाडि बढाइएको छ । ‘कृषि, पर्यटन र पूर्वाधार : ‘गंगाजमुना विकासको आधार’ नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गंगाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ । नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल बताउँछन् । पूर्वपर्यटन व्यवसायीसमेत रहेका उनी स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गंगाजमुना निर्माण गर्न पदमार्गबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् । उक्त पदमार्ग भएर समुद्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ । रासस

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा । भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन । स्थानीयकै पहलमा २०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनःनिर्माण तथा विकास समितिका अध्यक्ष सुककुमार श्रेष्ठले जानकारी दिए । ‘सरकारले उपलब्ध गराउने रु तीन लाख अनुदानसहित अपुग रकम घरधनीबाट पनि संकलन गर्ने र केही आर्थिक सहयोग जुटाएर बस्ती निर्माण गर्ने योजना बनाइएको थियो,’ उनले भने, ‘पहिलो किस्ताको रकम प्राप्त गर्न ढिलाइ हुने भएपछि ऋण नै खोजेर काम थाल्नुपर्ने बाध्यता भयो, अहिले ऋण पनि बढ्दै गएको छ, बस्ती निर्माण पनि सम्पन्न गर्न सकिएको छैन ।’ बस्ती निर्माण गर्न लामाचौरमा एक सय पाँच रोपनी जमिनमा प्रतिपरिवारलाई करिब ६ आना जग्गा पुग्ने गरी एक सय ३८ घर निर्माण थालिएको थियो । ‘निर्माण थालिएकामध्ये ९० घर निर्माण भइसकेका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘पचास घरमा अहिले स्थानीय बस्न थालिसकेका छन् ।’ उनले बाँकी रहेका घर निर्माणकै प्रक्रियामा रहेको बताए । कतिपय घरधनीबाट प्रतिबद्धता गरेअनुसारको रकम प्राप्त हुन नसक्दा पनि समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘निर्माण हुन बाँकीमध्ये केहीको अन्यत्रै घर भएकाले एकीकृत मिलन बस्तीमा घर बनाउन नचाहेको अवस्था छ,’ उनले भने, ‘तत्काल केही घर नबनाई नहुने अवस्था छ, बजेट नहुँदा समस्या भएको छ ।’ घरधनीले प्रतिबद्धता गरेअनुसारको रकम उठे ऋण तिर्न नसके पनि तत्काल बनाउनुपर्ने अवस्थामा रहेका बाँकी घर बनाउन सकिने समितिले जनाएको छ । उनले बाँकी रहेका घर निर्माण गर्न आर्थिक स्रोतको खोजी भइरहेको बताए । ‘घर निर्माण गर्न तत्काल बजेट प्राप्त हुने अवस्था देखिएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अन्यत्रबाट भए पनि आर्थिक स्रोत जुटाउन सकिन्छ की भनेर लागिपरेका छौँ ।’ बस्तीमा प्रत्येक परिवारका लागि चार कोठाको दुईतला भएको घर निर्माण गरिएको छ । एउटा घर निर्माण गर्दा करिब ६ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भएको समितिले जनाएको छ । बस्तीभित्र विद्युत, सडक, खानेपानी तथा ढल निर्माण लगायतका काम भइरहेका छन् । ३० वटा घर ‘अक्सफाम’ नामक गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएका हुन् ।

उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । ‘भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ,’ उनले भने, ‘वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।’ पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए । घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

सन नेपाल लाइफले डाक्यो ७औं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ९ गते बिहान १० बजे काठमाडौं कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा बस्ने निर्णय गरेकाे छ । उक्त सभामा कम्पनीको सञ्चाल समितिले प्रस्ताव गरेकाे २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यससँगै बोनस सेयर जारी गर्दा चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुगे पूँजी कायम गर्न उक्त चुक्तापूँजीको २७ प्रतिशत अर्थात १ः०ः२७ अनु्पातमा हकप्रद जारी गर्ने र बोनस सेयर र हकप्रद निष्कासन पश्चात कायम अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको पनि गत आवको वित्तीय विवरणहरू पारित गरिनुका सुाथै सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ । कम्पनीले आगामी वैशाख २७ गतेका दिन साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।

भारत छाड्ने ह्वाट्सएपको धम्कीले जुकरबर्ग चर्चामा

काठमाडौं । ह्वाट्सएपले भारत छाड्ने धम्की दिएपछि यसको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग चर्चामा छन् । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाका सीईओ जुकरबर्गको तलबबारे एक रिपोर्ट बाहिर आएको छ । यो रिपोर्टमा जुकरबर्गको आम्दानी र खर्चको लेखाजोखा देखेर तपाईं छक्क पर्नुहुनेछ। अर्बौं सम्पत्तिका मालिक मार्क जुकरबर्गको आधारभूत तलब १ डलर अर्थात भारतीय मुद्रामा ८३ रुपैयाँ मात्रै छ । जुकरबर्गको तलब मार्क जुकरबर्गले सन् २०२३ मा आधारभूत तलब १ रुपैयाँमात्र लिएका थिए । अचम्म नमान्नुहोस् किनभने यो केवल एक भ्रम हो । उनको अधिकांश तलब सुरक्षा र भत्ताको रूपमा रेकर्ड गरिएको छ । कम्पनी उनको सुरक्षाबारे यति चिन्तित छ कि जुकरबर्गको सुरक्षामा १ करोड ४८ लाख २९ हजार २ सय ४५ अमेरिकी डलर (लगभग १ अर्ब २० करोड रुपैयाँ) खर्च गर्दछ । यी खर्चसहित कुल २ करोड ४४ लाख डलर अर्थात् करिब १ अर्ब ९९ करोड रुपैयाँ जुकरबर्गको तलबमा खर्च भएको छ । जुकरबर्गको सुरक्षामा २ अर्ब खर्च ८३ रुपैयाँ मात्र तलब पाउने मार्क जुकरबर्गलाई पनि अनौठो तरिकाले तलब दिइन्छ । आधिकारिक रूपमा उनको तलब १ डलर मात्रै छ तर फर्च्युनको रिपोर्टले उनले कुल तलब २ करोड ४४ लाख डलर अर्थात् १ अर्ब ९९ करोड रुपैयाँ पाउने खुलासा गरेको छ । आधारभूत तलबपछि बाँकी रकम विभिन्न भत्ता, मुआब्जा, सेयरका रूपमा लिन्छन् । उनको सुरक्षामा लाग्ने खर्च पनि यसमा समेटिएको छ । पछिल्लो १० वर्षमा उनले ११ डलर मात्र तलब लिएका छन् । उनी २०१३ देखि १ डलर तलब क्लबमा सामेल छन् । कम पारिश्रमिक लिने भए पनि उनी विश्वका अर्बपतिको शीर्ष पाँचमा परेका छन् । जुकरबर्ग विश्वका चौथो धनी व्यापारी हुन् । उनको कुल कुल सम्पत्ति १ अर्ब ५५ करोड डलरभन्दा बढी छ । एजेन्सी