१५ हजार घुससहित पक्राउ परेका महाराजगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत चैत १८ गते वडाध्यक्ष अलीलाई १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार टोलीले उनलाई रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।
उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् । राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने धारणा राखे । नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको धारणा राखे । भेटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालले भियतनामसँगको सम्बन्ध अझै विस्तार गर्न चाहेको र यसका लागि सहकार्य प्रगाढ बनाउनुपर्ने धारणा राखे । उपराष्ट्रपति र राजदूतबीचको भेटमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिहरु सहभागी थिए ।
नेक्सजेन म्यानेजमेन्टले ६ अर्ब विदेशी लगानी भित्र्याउने, कोरियन कम्पनीसँग सम्झौता
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालिले वैदेशिक लगानी भित्र्याउन कोरियन कम्पनीसँग सम्झौता गरेको छ । लगानी सम्मेलनको अवसरमा चीनका लागी नेपालका राजदूत बिष्णु पुकार श्रेष्ठको उपस्थितिमा नेक्सजेन म्यानेजमेन्टले कोरियन कम्पनी एमएबिसी इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता गरेको हो । एमएबिसी इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टका प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कोरियन कम्पनी एमएबिसी इन्भेष्टमेन्ट ग्रुपले उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा लगानी गर्न स्वीकृति पाएको छ । कम्पनीले विभिन्न क्षेत्रमा ६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी गर्ने भएको हो । वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालनमा आउने उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने अध्यक्ष रमेश कुमार भट्टराईले बताए ।
आइएमई लाइफकाे खुद नाफा ३३ करोड बढी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेत्रित्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागी काम गर्दै आएको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्द विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको छ । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सिलाई मेसिनहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो पहलले महिलाहरूलाई आत्मनिर्भर बन्न र उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे । विपन्न समुदायका महिलाहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफु हर्षित भएको पनि बताए । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौं : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूुसँगको साइडलाइन बैठकमा बोल्दै उनले सम्मेलन सफल भएको बताएका हुन् । उनले लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए । बैठकमा विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।’ सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएकामा खुसी व्यक्त गरे । नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए । ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं,’ उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।’ उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानूनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे । यस्तै विकास साझेदारहरूले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए । यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे । मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । । उनले नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए । नेपालको जैविक विविधता तथा प्राकृतिक स्रोतहरूको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो । आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए ।
बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंकलाई २६६ मतले पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत पाएका छन् भने काँग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका हुन् । तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९६७ मत पाए । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
लगानी सम्मेलन : स्वदेशी परियोजनामा विदेशी साझेदार
काठमाडौं । काठमाडौंमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ । लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एकैथलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उनीहरूलाई ठूला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ । उनीहरूलाई आश्वस्त पार्न नेपालमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाहका लागि पनि नेपालले भरमग्दूर प्रयास गरिरहेको छ । लगानी सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बाह्य र आन्तरिक लगानीका लागि उपयुक्त स्थान रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए। उनले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको बताएका थिए । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले पनि लगानी प्रवद्र्धन र कानुनी सुधारको सन्देशले लगानीकर्तामा सकारात्मक सन्देश प्रभाव भएको विश्वास व्यक्त गरेका थिए । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनले नेपालमा लगानीको राम्रो वातावरण बनेको सन्देश प्रवाह गरेको दाबी गरे । ‘हिजो साँझ प्रधानमन्त्रीसँग विदेशी लगानीकर्ताले भेटवार्तामा पनि विदेशी लगानीकर्ताहरू उत्साहित हुनुका साथै नेपालमा लगानी गर्न इच्छुक देखिनुभएको बुझ्न सकिन्थ्यो त्यसका साथै नेपालमा लगानीको सम्भावना रहेको र यहाँ लगानी गरेर नाफा पनि कमाउन सकिन्छ भन्ने उहाँहरूको बुझाइ पाए’, उपाध्यायले भने । पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद् रामेश्वर खनाल नेपालले अध्यादेश ल्याएर कानुनी सुधारमा देखाएको तत्परताले विदेशी लगानीकर्तालाई स्वदेशमा लगानीका लागि सहजीकरण गर्न सरकार सम्पूर्णरूपमा तयार छ भन्ने सन्देश प्रवाह भएको बताए । यसकार्यले विदेशी लागनीकर्तालाई लगानकिा लागि आकर्षित गर्ने उनको भनाइ छ । ‘पहिचान भएका मुख्य नीतिगत सुधार गरिसक्यौँ । अरु थप सुधार पनि गर्दै जानेछौँ भन्ने नेपालको सन्देश छ । नेपाल खुला र उदार अर्थतन्त्रमा विश्वास गर्छ भन्ने सन्देश प्रधानमन्त्रीले पनि दिनुभएको छ,’ खनालले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरणको सकारात्मक सन्देश दिएर विदेशी लगानी आकर्षित गर्न गरेको प्रयास प्रशंशनीय छ ।’ आजसम्म चल्ने सम्मेलनले विगतमा भएका कमजोरी सच्चाएर लगानीमैत्री वातावरण तय गर्ने विश्वास दिलाउन सकेमा स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित बनाउने पनि खनालको बुझाइ छ । ‘सम्मेलनको पहिलो दिनमा नै थप लगानीमैत्री वातावरण तय गर्न सरकारले देखाएको तत्परताले निकै राम्रो सन्देश प्रवाह भएको छ । अब बढिभन्दा बढी विदेशी लगानी, सीप र प्रविधि भित्र्याउन र आवश्यकताको आधारमा परियोजनाको प्राथमिकरण गर्दै अगाडि बढ्नुपर्छ’, खनालले भने । सम्मेलनको उद्घाटन सत्रकै क्रममा पहिलो दिनमै भएका मुख्य दुई वटा सम्झौताले सुरुआतमा नै सम्मेलन फलदायी रहने सन्देश प्रवाह भइसकेको धेरैको बुझाइ छ । पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टाका डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । सो सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो । यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान दातो थायन लाइले हस्ताक्षर गरे । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अभियन्ता कूल आचार्यले सम्मेलनले नेपालमा लगानीको वातावरण राम्रो बन्दैगएको र लगानीको प्रचुरसम्भावना रहेको सन्देश दिएकाले स्वदेशी तथा विदेशी लगानीकर्तामा उत्साह बढाएको बताए । ‘नेपाल लगानीका लागि प्रचुरसम्भावना भएको क्षेत्र हो । जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्र लगानीका प्रमुख क्षेत्र हुन्,’ उनले भने, ‘लगानीका लागि थप उपयुक्त वातावरण बनाउनसकेमा गैरआवसीय नेपाली पनि सच्चा विकासको साझेदारी बन्न सक्छन् ।’ यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले पनि लगानी सम्मेलनकै पूर्वसन्धामा सरकारले ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण बन्न सघाउ गुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले लगानीमैत्री वातावरण बनाउन रहेक पक्षमा सहजीकरण गर्न तयार छ भन्ने सन्देश प्रवाह भएको छ । यसले हामी स्वदेशी उद्यमीदेखि विदेशी लगानीकर्तालाई समेत उत्साहित बनाएको छ’, राणाले भने । जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले त लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि विदेशी लगानीकर्तालाई मात्र नभई स्वदेशी व्यावसायीलाई समेत उत्साहीत बनाएको धारणा राखे । सम्मेलनमार्फत विदेशी व्यवसायीले नेपाली व्यावसायीसँग सहकार्यको ढोका खोल्नेमा आफूहरू थप आशावादी बनेको उनको भनाइ छ । सम्मेलनमा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् । सम्मेलनको पूर्वसन्ध्यामा एक सय ५१ परियोजना प्रस्तुत गर्ने तयारी गरिएकोमा सम्मेलनसम्म आइपुग्दा थप तीन परियोजनाले समेत स्थान पाएका लगानी बोर्डले जनाएको छ । बोर्डका अनुसार सम्मेलनमा एक हजार चार सय भन्दा बढी व्यक्ति सहभागी भएका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल ९प्रदर्शनी कक्ष० राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत् विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ । रासस