विकासन्युज

भन्सार छलेर ल्याइएकाे ८८ लाखका सामान बरामद

महेन्द्रनगर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढंगले ल्याइएका ८८ लाख रुपैयाँबराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार ३ सय ४६ रुपैयाँबराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । सशस्त्र प्रहरी बल नंं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए । बितेका दुई महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार रुपैयाँबराबरको किराना सामान, १६ लाख ५२ हजारको कपडा, १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र २० लाख ६३ हजार रुपैयाँको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो । त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले चार सय किलोग्राम कुखुरा र १ सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ । ‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ १० लाख ५० हजार बढी मूल्यका सामान नष्ट गरियो,’ चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’ १ सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारे । ‘यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो,’ प्रधानमन्त्रीले भने, ‘श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठन विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।’ उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्दै उनले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गरेका हुन् । मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ । प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल वेयरहाउजिङको लकइन अवधि जेठ १९ गते सकिने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि जेठ १९ गते सकिने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते सकिन लागेको जानकारी दिएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँट गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँट भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँट भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान छ ।

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

  काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । यस सम्बन्धमा नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच मंगलबार सम्झौता भएको छ । उक्त सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि राजभण्डारीले हस्ताक्षर गरे । सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकासबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् । ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि टोयोटा ब्राण्डको सवारीसाधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौतापश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा रहेर अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौं आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

आज सेयर बजार बन्द रहने

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ । मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विसं २००७ मा विराटनगरमा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि आज बन्द रहनेछ । दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । दूतावासले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने गैरकानुनी काममा संलग्न हुने व्यक्ति÷समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ । यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।