भन्सार छलेर ल्याइएका ८ लाखका स्क्रीन टच मोबाइल डिस्प्ले बरामद
काठमाडौं । भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख रुपैयाँ बराबरका मोबाइल डिस्प्ले बाँके प्रहरीले बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यी डिस्प्ले नेपालगञ्जबाट बरामद गरेको हो । भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका ४०० पिस डिस्प्ले बरामद गरिएको हो । प्हरीका अनुसार डिस्प्ले भित्र्याउने व्यक्तिलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
सन सेक्युरिटिजले ल्यायो विदेशका नेपाली श्रमिकलाई निःशुल्क रेमिट डिम्याट खाता
काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्न सहज हुने कम्पनीको विश्वास छ । कम्पनीले विदेशमा रहेका नेपालीले आफ्नो पेसाबाट जम्मा गरेकाे बचतबाट केही रकम नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर यो सेवाको सुरुवात गरेको बताएको छ । सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेसामा आबद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीको वेबसाइट www.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनको पालना गरी भिडियो केवाइसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकका लागि बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिएस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्न सक्नेछन् ।
गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले लिए शपथ
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीले शपथ लिएका छन् । फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् । सपश ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिए पश्चात् रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक गौरव बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् । हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कारोबारहरुलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसावले काम गर्ने वातावरण बन्ने जिकिर गरे । आइटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए । आइटीको क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको क्षेत्र भएको जानकारी दिए । उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्युबाट र मान्य मन्त्रीज्युबाट नेपालकै तर्फबाट जुन एउटा आइटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ । हामीले जतिपनि कारोबारहरु हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ ।’ अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए ।
एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । ‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ’, प्रधानमन्त्रीले भने, ‘यही यथार्थलाई आत्मसात् गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।’ कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने उनले विश्वास व्यक्त गरे । उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट पारिने बताए । उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पारे । सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम नागरिकको आर्थिक, सामाजिक जीवनमा उन्नयन र रूपान्तरणका निम्ति सम्वद्ध सबैमा अपिल गरे । ‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’ प्रधानमन्त्रीले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दिनानुदिन बढ्दै गइरहेको साइबर अपराधसम्वन्धी घटनाहरू नियन्त्रण गरिने उल्लेख गरे । ‘संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत ‘डेटा’ दुरूपयोगको विषयलाई प्रभावकारी रूपमा नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई दृष्टिगत गर्दै नीति, कानुन र संरचना निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको छ,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा छ । साइवर सुरक्षाको जोखिम पहिचान, प्रतिकार्य अनुगमन गर्न राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गरिएको छ ।’ ‘अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर स्थापना प्राथमिकतामा छ’ प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टरहरूको स्थापनालाई प्राथमिकता दिने स्पष्ट पारे । उनले विद्युतीय ऊर्जाको प्रचुर सम्भावना एवं भौगोलिक अवस्थितिलाई समेत मध्यनजर सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए । ‘विश्वस्तरका तालिम प्रदायकहरूलाई आकर्षित गरी सीपयुक्त दक्ष जनशक्तिको निर्माण गरिनेछ’, प्रधानमन्त्रीले भने, ‘सूचना प्रविधि उद्योगको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गरिनेछ । साथै निर्यात प्रवद्र्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ गर्ने लागयतका विषयहरू सरकारको प्राथिमिकतामा छन् ।’ सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सोहीअनुरूप नै ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ लाई पुनरावलोकनसहित कार्यान्वयनमा ल्याउने रणनीति लिइएको बताए ।
४ दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान बिहीबार बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए’, सूचना अधिकारी कर्णले भने । मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि उडान नियमित भएका उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए । रासस
ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने
चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहकाबीच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका छन् । त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी-माडी-भरतपुर-रसुवागढी (केरुङ) को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गरे । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारे । नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए । भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निर्कयौल निस्किने उनको भनाइ थियो । भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए । अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताए । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे । विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे । भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।