स्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव
काठमाडौं । पर्यटनको महत्त्वपूर्ण ‘प्याकेज’का रूपमा रहेको स्पा तथा वेलनेस सेवाका लागि आवश्यक दक्ष जनशक्ति अभाव भइरहेको यस पेसा व्यवसायका सरोकारवालाले औँल्याएका छन् । नेपालको पर्यटनमा महत्त्वपूर्ण सेवाका रूपमा रहेको स्पा र वेलनेस सेवाको माग दिनप्रतिदिन बढिरहे पनि दक्ष जनशक्ति अभावले उपभोक्ताको माग धान्न हम्मेहम्मे परिरहेको छ । यसै परिप्रेक्ष्यमा ट्रयान्क्विलिटी स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टीसहित तीनमहिने ‘स्पा थेरापिष्ट’को तालिममा नयाँ भर्ना खोलेको छ । एकेडेमीले विगत लामो समयदेखि स्पा तथा ब्यूटीसियनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म एक हजार पाँच सय स्वदेशी तथा तीन सय विदेशी प्रशिक्षार्थीलाई स्पा थेरापिष्टसहित विभिन्न तालिम दिइएको एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए । एकेडेमीले नयाँ पाठ्यक्रमसहितको भर्ना खोलेको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पुरीले अथाह सम्भावना र माग भइरहेको यो क्षेत्रमा दक्ष जनशक्ति अभाव भइरहेको सन्दर्भमा एकेडेमीले विभिन्न कक्षा सञ्चालनमा ल्याउन लागेको बताए । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीले ‘स्पा थेरापिष्ट’ सहित विभिन्न तालिममा रोजगार ग्यारेन्टीसहित नयाँ भर्ना खोलेको कम्पनीले उल्लेख गरेको छ । एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले हालसम्म तालिम लिएका कोही पनि बेरोजगार नभएको बताए । सन् २००९ मा ट्रयान्क्विलिटी ब्यूटी एकेडेमीका रूपमा स्थापना भएको र हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नाममा सञ्चालन भएको हो । एकेडेमीका तालिम संयोजक राजेश फैजुले आवश्यकतानुसार छ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेर एकेडेमीमा तालिम दिइन्छ । रोजगारको आवश्यकता भएकाहरूलाई बैकिङ लोन तथा जब ट्रेनिङको समेत व्यवस्था गरिएको उनले बताए । एकेडेमीले भारत, दुबई, थाइल्याण्ड, स्वीजरल्याण्डलगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सक ऐश्वर्य श्रेष्ठबाट प्रशिक्षण गराइरहेको जानकारी दिएको छ । तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै एकेडेमीले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउण्डेशन कोर्ष तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्टजस्ता कोर्षहरू डिजाइन गरी सुरुआत गरेको हो । स्पा एकेडेमीबाट तालिम लिएपश्चात स्वरोजगार तथा व्यावसायिक सुरुआत गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेले आकर्षक तलबसहित सम्मानजनक जागिर प्राप्त गर्न सक्ने एकेडेमीले विश्वास लिएको छ । ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नेपालका अधिकांश पाँचतारे होटलमा सेवा दिइरहेको स्पा तथा वेलनेस जगत्मा नेपालकै सबैभन्दा ठूलो र स्तरीय स्पा चेन भएको ट्रयान्क्विलिटी स्पा प्रालिको भगिनी संस्था हो । यकिन तथ्याङ्क नभए पनि नेपालको प्रमुख पर्यटकीय क्षेत्रमा आठ सयदेखि एक हजार स्पा सञ्चालनमा रहेको व्यवसायीको अनुमान छ । रासस
अप्रिलमा १ लाख ११ हजार बढी पर्यटक नेपाल भित्रिए
काठमाडौं । नेपालमा पर्यटक आगमनमा वृद्धि हुदै गइरहेको छ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा यो संख्या १२.७६ प्रतिशतले बढी हो। अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१जना नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५ जनाले नेपाल घुमेका छन् । यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । २०२४ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक भ्रमणमा आइसकेका छन् ।
नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने
काठमाडौंं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।
भन्सार छलेर ल्याइएका ८ लाखका स्क्रीन टच मोबाइल डिस्प्ले बरामद
काठमाडौं । भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख रुपैयाँ बराबरका मोबाइल डिस्प्ले बाँके प्रहरीले बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यी डिस्प्ले नेपालगञ्जबाट बरामद गरेको हो । भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका ४०० पिस डिस्प्ले बरामद गरिएको हो । प्हरीका अनुसार डिस्प्ले भित्र्याउने व्यक्तिलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
सन सेक्युरिटिजले ल्यायो विदेशका नेपाली श्रमिकलाई निःशुल्क रेमिट डिम्याट खाता
काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्न सहज हुने कम्पनीको विश्वास छ । कम्पनीले विदेशमा रहेका नेपालीले आफ्नो पेसाबाट जम्मा गरेकाे बचतबाट केही रकम नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर यो सेवाको सुरुवात गरेको बताएको छ । सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेसामा आबद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीको वेबसाइट www.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनको पालना गरी भिडियो केवाइसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकका लागि बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिएस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्न सक्नेछन् ।
गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले लिए शपथ
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीले शपथ लिएका छन् । फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् । सपश ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिए पश्चात् रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक गौरव बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् । हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कारोबारहरुलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसावले काम गर्ने वातावरण बन्ने जिकिर गरे । आइटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए । आइटीको क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको क्षेत्र भएको जानकारी दिए । उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्युबाट र मान्य मन्त्रीज्युबाट नेपालकै तर्फबाट जुन एउटा आइटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ । हामीले जतिपनि कारोबारहरु हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ ।’ अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए ।
एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।